भर्खरै :

जुलाईमा तेस्रो लहरको सम्भावना, बालबालिका बढी प्रभावित हुने आकलन

छिमेकी देश भारतमा कोभिड–१९ को नयाँ प्रजातिको महामारी तह नलाग्दै तेस्रो लहरको जोखिम बढेको भन्दै भारतीय विद्वान्हरूले चिन्ता व्यक्त गर्न थालेका छन् । भारतको माथिल्लो राज्य सभाका सदस्य तथा अर्थशास्त्री सुब्रमानियम स्वामीले बुधबार ट्वीट गर्दै तेस्रो कोरोना भाइरसको लहर नजिकिएको भन्दै अबको लहरले केटाकेटीलाई बढी असर गर्नसक्ने बताएका छन् । उनले भारतको नीति आयोगका सदस्यहरूले समेत तेस्रो लहरको जोखिम पुष्टि गरेको बताए ।
सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राज्यसभा सदस्य स्वामीले भारतमा कोभिडको महामारी रोकथाम गर्न प्रधानमन्त्री कार्यालयको प्रयासमात्र अपुग भएको भन्दै त्यसको निम्ति विशेष सङ्कट व्यवस्थापन समितिको आवश्यकता भएको ट्वीटमा लेखेका छन् ।
कोभिड–१९ को पहिलो लहरले विशेषतः ज्येष्ठ नागरिकको निम्ति खतरा भएको थियो भने हाल उत्कर्षमा रहेको दोस्रो लहरले कम उमेरका युवकहरूबीच समेत घातक प्रभाव पारिरहेको छ । अहिले नेपालमा समेत व्यापक बन्दै गएको दोस्रो लहरले ३० देखि ५० वर्ष उमेरका व्यक्तिहरूलाई घातक असर गरिरहेको छ । यसअघिको भाइरसले विशेषतः ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई प्रभावित बनाएको थियो ।
वैज्ञानिकहरूले तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित बनाउने भएकोले सजग बन्न आग्रह गर्दै आएका छन् । भारतका विभिन्न प्रान्तमा तेस्रो लहरले केटाकेटीलाई प्रभावित बनाउन सक्ने भएकोले पूर्वतयारी थालिसकेका छन् । भारतको ‘द त्रिब्युन इन्डिया’ पत्रिकाका अनुसार महाराष्ट्र सरकार र बिरहनमुम्बई नगरपालिकाले बालबालिकाको लागि कोभिड वार्डहरू बनाउन थालिसकेका छन् । भारतीय वैज्ञानिकहरूका अनुसार तेस्रो लहरको सङ्क्रमण जुलाईमा फैलिने सम्भावना प्रबल छ ।
बिरहनमुम्बई नगरपालिकाले १२ वर्षभन्दा कम उमेरका केटाकेटीको लागि सात सय शय्याको बालबालिका अस्पताल बनाउने तयारी गरिरहेको ‘द इन्डियन एक्सप्रेस’ मा लेखिएको छ । त्यसमा निओनाटल सघन उपचार एकाइ
(एनआईसीयू) र बालबालिका सघन उपचार एकाइ (पीआईसीयू) पनि समावेश हुने बताइएको छ । अघिल्लो लहरभन्दा फरक दोस्रो लहरमा केटाकेटीबीच कोभिड–१९ सङ्क्रमण बढेको महाराष्ट्रको स्वास्थ्य विभागको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार महाराष्ट्र विभागको कुल सङ्क्रमितमध्ये झन्डै दुईतिहाइ सङ्क्रमितको सङ्ख्या ५० वर्षभन्दा कम उमेरका छन् । ० देखि १० वर्ष उमेरका बालबालिकाबीच, ३.०४ प्रतिशत, १० देखि २० वर्ष उमेरका बालबालिकाबीच ६.०८ प्रतिशत सङ्क्रमण फैलिएको देखिएको छ ।
वैज्ञानिकहरूले बालबालिकाको लागि पनि कोभिड–१९ को खोप बनाउन अनुसन्धान गर्दै छन् । ‘हेल्थलाइन’ अनलाइनअनुसार अमेरिकाको बालबालिकाका चिकित्सकहरूको प्रतिष्ठान (एएपी) ले बालबालिकाको खोपको परीक्षणको तयारी भइरहे पनि सन् २०२१ को मध्य अथवा अन्त्यसम्म पनि त्यस्तो परीक्षण गरिने सम्भावना न्यून छ । बालबालिकाको खोप परीक्षणको लागि महिनौँ लाग्ने बालरोग विज्ञहरू बताउँछन् । विकसित देशमै बनिनसकेको खोप नेपाल र भारतजस्तो विकासशील देशमा आउन अझ लामो समय लाग्ने देखिन्छ । तर, भारतीय वैज्ञानिकहरूका अनुसार आगामी दुई महिनामा नै तेस्रो लहरको सम्भावना अधिक भएकोले नेपालमा पनि सरकारले त्यत्तातिर पनि पूर्वतयारी थाल्नुपर्ने देखिन्छ । भारतको राजनीतिक नेतृत्वले वैज्ञानिकहरूले भाइरसको दोस्रो लहर भारतमा आउन सक्ने सम्भावनालाई न्युनाङ्कन गर्दा अहिले भयावह अवस्थामा निम्तिएकोमा नेतृत्वको चर्को आलोचना भइरहेको छ । तेस्रो लहर आउन सक्नेबारे अहिले नै वैज्ञानिकहरूले चेतावनी दिएको सन्दर्भमा नेपालले पनि आवश्यक सावधानी अपनाउन जरुरी छ । महामारीले विकराल रूप लिएपछि मात्र हतारमा आत्तिएर काम गर्ने पुरानो बानी त्याग्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *