सरकारी अस्पतालमै स्वास्थ्य उपचार गराउनुपर्ने मानसिकताको विकास गराउनुपर्ने
- बैशाख २९, २०८३
बुटवलमा भयावहरूपमा फैलिएको कोरोना भाइरस दोस्रो लहरको मूलस्रोत भारत नै रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले दाबी गरेका छन् । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय (ओम शान्ति) का पदाधिकारीहरू भारतको माउन्टआबुमा गएर फर्केपछि ५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये एक जना वरिष्ठलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । बुटवलकै एक प्रतिष्ठित सामुदायिक विद्यालयको टोली पश्चिम नेपालको भ्रमण गरी फर्केपछि १८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नगर प्रमुख सुवेदीले ती दुवै समूहलाई भ्रमण नगर्न पटक–पटक सम्झाएका थिए । नगर प्रमुख सुवेदीका अनुसार विद्यालयको भ्रमण टोली पश्चिम नेपालको सीमा नाघेर भारतको हरिद्वारलगायत सहरहरूमा भ्रमण गरेर फर्केको थियो । त्यसैले भारतबाट आएकाहरूबाटै बुटवलमा कोभिड–१९ को दोस्रो लहर बुटवलमा फैलिएको नगर प्रमुख सुवेदीले दाबी गरेका हुन् । नगर प्रमुख सुवेदी भन्छन्, “तर अहिले समुदायमै फैलिसकेकोले कसैको पनि हिस्ट्री लिने अवस्था छैन ।”
कोभिड–१९ को दोस्रो लहरले बुटवलका प्रतिष्ठित व्यक्तिहरूलाई बढी प्रभावित पारेको देखिएको छ । कोभिड–१९ बाट सङ्क्रमित भएका राजनीतिक दल, सामाजिक तथा व्यावसायिक सङ्घ संस्थाका अगुवाहरूलाई स्वास्थ्यलाभको कामना गरिएका सन्देशहरू सामाजिक सञ्जालमा बग्रेल्ती देखिएका छन् । कतिपय सङ्क्रमितहरू आफू सङ्क्रमित भएको हुँदा नजिक सम्पर्कमा रहेकालाई सतर्क रहन सामाजिक सञ्जालमार्फत प्रकाशमा आएका छन् भने कतिपय सङ्क्रमितहरूलाई शुभचिन्तकहरूले प्रकाशमा ल्याएका छन् । यद्यपि, कतिपय सङ्क्रमित सामाजिक अगुवाहरू सङ्क्रमित भएको कारण सहानुभूति लिनुभन्दा पनि समाजमा थप त्रास फैलिने हुँदा चर्चा आउन नचाहेको बताउने गर्छन् । बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, एमाले नगर अध्यक्ष बाबुराम आचार्य, काङ्ग्रेस नगर सचिव ज्योति भण्डारी, नेविसङ्घका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेल, विभिन्न वडाका वडाध्यक्षहरूसमेत कोभिड–१९ बाट सङ्क्रमित छन् । तीमध्ये थप उपचारको लागि काङ्ग्रेसका नगर सचिव भण्डारीलाई सोमबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । थप उपचारको लागि हवाई मार्ग तथा सडक मार्गबाटै काठमाडौँ जानेको ताँती लागेको छ । लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा आइसीयू बेडमा रहेका बिरामी मृत्यु हुनासाथ तुरुन्तै एमाले नगर अध्यक्ष पन्थीलाई मङ्गलबार सारिएको स्रोतले बताएको छ ।
समाजका अगुवा र सचेत धेरै व्यक्तिहरू कोभिड–१९ बाट सङ्क्रमित हुनुलाई नेपाल पत्रकार महासङ्घ रूपन्देहीका उपाध्यक्ष अमृता अनमोलले सामान्यरूपमा लिएकी छिन् । पत्रकार अनमोल भन्छिन्, “सङ्क्रमित नै धेरै सङ्ख्यामा भएपछि प्रतिष्ठित व्यक्तिहरू पनि परेका हुन् ।”
नगर प्रमुख सुवेदी सक्रिय समाजका अगुवाहरूको हेलचक्य्राइँको कारण सङ्क्रमणबाट प्रभावित भएको बताउँछन् । समाजका अगुवाहरू विवाह, पार्टीमा मुख देखाउन जानुपर्ने र मास्क खोलेर ‘ऐतिहासिक’ फोटो खिच्नुपर्ने कारण पनि सङ्क्रमण बढेको बताउँदै नगर प्रमुख सुवेदीले कार्यक्रमहरूमा मन्तव्य राख्नुअघि माइक्रोफोनसमेत निर्मलीकरण गरेर बोल्ने गरेकोले आफू अहिलेसम्म सुरक्षित रहेको अनुभव सुनाए । दूरी कायम गर्न र निर्मलीकरण गरेपछि मात्र सामानहरूको प्रयोग गर्न, सङ्क्रमित हुनुअघि नै रोग प्रतिरोधात्मक खानेकुरा खान नगर प्रमुख सुवेदीले सुझाव दिएका छन् ।
Leave a Reply