भर्खरै :

अन्धराष्ट्रवाद र सङ्कीर्णवाद के हो ?

केही नेता र प्राध्यापकहरू राष्ट्र, ‘राष्ट्रियता’, ‘राष्ट्रवाद’ र ‘राष्ट्रवादी’ शब्दहरूमा ठूलो भ्रम राख्छन् ।
भारत एउटा राज्य हो तर भारतमा धेरै राष्ट्रहरू छन् । निश्चित भूमि, जनसङ्ख्या, सरकार र सार्वभौमिकता सम्पन्न देशलाई राज्य भनिन्छ । भारत एक सार्वभौम देश हो भन्नुको अर्थ त्यसको सीमा (भूमि) भित्र भारत सरकारले शासन गर्छ भन्ने हो ।
प्रजग कोरिया एउटै जातजाति र भाषाभाषीको देश हो । प्रजग कोरिया एक सार्वभौम देश हो । तर, एउटै जाति र भाषाभाषीको यो देश साम्राज्यवादीहरूको कारण उत्तर र दक्षिणमा विभाजित छ ।
राज्य र निश्चित सीमामा बसोबास गरेका सबै किसिमका जात–जाति र भाषाभाषी, रीतिरिवाज, कला, संस्कृति भएका राष्ट्रहरू मिल्ने आशयमा ‘राष्ट्रिय एकता’ को अर्थ लाग्छ ।
पृथ्वीनारायण शाहको विजयपहिले नेपालमा धेरै राज्य थिए, ती राज्यले आ–आफ्ना सार्वभौमिकता गुमाए । तर, ती विजित राज्यहरूका सीमाभित्र रहेका जातजाति र भाषाभाषीहरूको कला–संस्कृति, रीतिरिवाजको सामूहिक भावना, तत् पराजित राज्यहरूका बाँकी भएको तत्व नै ‘राष्ट्र’ थियो र त्यो अपनत्वको भावना नै ‘राष्ट्रियता’ हो ।
राज्यसत्ताको सुरुमा अर्थात् ‘नगर राज्यहरू’ को बेला एउटै जाति, भाषाभाषी तथा एउटै रीतिरिवाज र संस्कृतिका बासिन्दा रहन्थे । ती नगर राज्यहरू राष्ट्रहरू पनि थिए । मध्ययुगमा आएर ठूल्ठूला राज्यहरू बने । पराजित राज्यहरू ‘राष्ट्र’ को रूपमा मात्र रहे ।
दासयुगले नगर राज्यहरूमा समेत जातीय विविधता ल्यायो । जितिएका जातिहरू नै त्यसबेलाका दासहरू थिए । ठूल्ठूला राज्यहरूले धेरै देशहरू जिते र धेरै राष्ट्रहरूको समूह बने । राज्यसत्ताको विकासले स–साना जातजाति, भाषाभाषी र राष्ट्रहरू एक भएजस्तै विजयी राष्ट्रले अरू राष्ट्रहरूलाई पनि राज्य मिलाएजस्तै ‘एउटै भाषा, एउटै धर्म र राष्ट्र’ बनाए । अनि, एउटै राज्य र राष्ट्रले रीतिरिवाज र संस्कृतिमा विविधता प्रदान गर्थे ।
त्यही राष्ट्रिय भावनाको जगमा बनेको जनताको एकतालाई शासकहरूले राज्य विस्तारमा लगाए । मुसोलिनीले ‘रोमको गौरव’ फर्काउने र ‘राष्ट्रियता’ को नारामा प्रजातान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र अन्य राज्यको सार्वभौमिकता तथा राष्ट्रियतालाई मिच्दै लगे ।
त्यसरी नै हिटलरले जर्मन भाषा, संस्कृति र जर्मन राष्ट्रको नाममा युद्ध र आक्रमणलाई अगाडि बढाए । यसरी नै नेपोलियनले फ्रान्सेली राष्ट्रलाई सबभन्दा ठूलो राष्ट्र सम्झे र चाउभिनिज्म अर्थात् ‘ठूलो राष्ट्र अहङ्कारवाद’ को जन्म भयो ।
नेपालको वर्तमान सन्दर्भमा भारतीय विस्तारवादको विरोधमा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत सीमाका विभिन्न ठाउँमा भएको थिचोमिचोबारे अडान लिनु देशको सार्वभौमिकतासँग सम्बन्धित विषय हो । यसको ‘राष्ट्र’ र ‘राष्ट्रियता’ सँग कुनै नाता छैन । तर, भारतको वर्तमान भाजपाको ‘राष्ट्र’ र ‘राष्ट्रियता’ बडा राष्ट्र अहङ्कारवाद हो । नेपाली र भारतीय जनताले त्यसको विरोध गर्नुपर्ने हो । जात, भाषा, धर्म र राष्ट्रको नाममा गरिने शासनको अत्याचार नै फासीवाद हो । अन्धराष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवाद प्रतिक्रियावादी दृष्टिकोण हो । ट्रम्पको राष्ट्रवाद र मोदीको हिन्दू अतिवाद नयाँ फासीवाद र नाजीवाद हो । अरू जाति, भाषा, धर्म, संस्कृति र रीतिरिवाज सबैलाई मिचेर अघि बढ्ने फासीवाद ‘एमसीसी’ को नाममा आउनेछ ।
नेपालका शासकवर्ग नेपाली काङ्ग्रेस, एमाले (ओलींमाधव ं झलनाथ), प्रचण्ड आदि सबै पार्टी र समूह सबैको सङ्गठित बनावट र व्यवहारलाई ‘खस बडाराष्ट्र अहङ्कारवाद’ नाम दिएमा फरक पर्ने छैन । यसबारे छलफल चालु राख्नु आवश्यक छ । किनभने, कुनै पनि राष्ट्रवाद देशभक्ति होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *