भर्खरै :

कोभिडले जकडिएका आमाका मनहरू

  • बैशाख २८, २०७८
  • सुनिता गाइसी
  • विशेष

हाल विश्व कोभिड–१९ को चपेटामा परेको छ । दिनहुँ हजारौँ मानिसहरूको मुत्युको खबर नचाहँदा पनि पढ्न र सुन्न बाध्य भएका छौँ हामीहरू । यो खबरले सबै मर्माहतमा परेका छन् । पहिला पहिला कोही आफन्त बिरामी भएमा उसको हालचाल बुझ्न जाने या दुःख पर्दा जानुपर्छ भन्ने मान्यता थियो । तर, हाल कोभिडबाट कोही आफन्त सङ्क्रमित छन् भन्ने सुनेमा उनीहरूबाट टाढा हुनुपर्ने अवस्था छ । समय र परिस्थिति सधैँ एकैनास नहुँदोरहेछ । कोभिडकै कारणले कैयौँ आमाहरूको मायालु काख शून्य पारेको छ । कोभिडको तेस्रो लहरमा त झन् साना बालबालिकाहरूलाई असर गर्छ भन्ने समाचार छ । आफ्नो मुटुका टुक्राहरू आफ्नै आँखा अगाडि लडेको हेर्दा ती आमाहरूको मन कसरी सम्हालिन्छ होला ? कोभिडले मानिसहरूलाई रोगी बनाइरहेको छ । त्योभन्दा पनि विभिन्न सञ्चारमाध्यमहरूले कोभिड सङ्क्रमित र यसैका कारण मृत्यु भएका विभिन्न समाचारहरू छाप्दै छन् । अनावश्यकरूपमा फेसबुकलगायतका मिडियाहरूमा सङ्क्रमितका फोटोहरू राख्ने वा कोभिडका कारण मृत्यु भएकाहरूको फोटो शेयर गरी समवेदना दिनेजस्ता कार्यहरू दिनानुदिन बढ्दै छन् । यस कार्यले कतिपय मानिसहरू मानसिक रोगको सिकार हुन पुगेका छन् । हरेक व्यतिmले सोच्ने बेला आइसकेको छ, आफूले सामाजिक सञ्जालमा सकारात्मक सन्देश दिने, मानिसहरूको आत्मबल बढ्ने खालका कुराहरूमात्र शेयर गर्नुपर्ने पो हो कि ?
वास्तवमा दुःख पीडामा सबैको मन रुन्छ नै । आज आमाको मुख हेर्र्ने दिन भएकोले यसै विषयमा केही चर्चा गर्ने जमर्काे गरेकी छु । वैशाख कृष्णा पक्षको औँसीलाई मातातीर्थ औँसीको रूपमा मनाइन्छ । सामान्यतया माता शब्दलाई दुई किसिमले व्याख्या गर्न सकिन्छ । माता भन्नाले एक अर्थमा हामीलाई जन्म दिने आमा भन्ने बुझिन्छ भने अर्को अर्थमा मातृभूमिलाई बुझाउने गर्दछ । हाम्रो जीवनमा यी दुवैको महत्वपूर्ण स्थान छ । जन्मदिने आमाले भोक तीर्खा नभनी आफ्ना बालबच्चाको हेरचाह गर्ने गर्छिन् । यो सुन्दर संसार देखाउने ममतामयी आमालाई हरपल खुसी राख्नु सन्तानहरूको कर्तव्य हो । आधुनिकताको लहरमा हाम्रा संस्कृतिहरू पनि धुमलिँदै छन् । हामी पनि त्यही लहलहैमा लाग्दै छौँ । वर्षको ३६४ दिन आमालाई वास्ता नगर्ने तर आजको दिन उज्यालो हुन नपाउँदै विभिन्न सामाजिक सञ्जालमा आमाको फोटो पोस्ट गर्दै ‘ह्याप्पी मदर्स डे’ लेख्न औँलाहरू मोबाइलका स्क्रिनमा कुदाउँछौँ । फेरि गलत अर्थ नलागोस् यस्ता कार्यहरू गर्न नै हुन्न भनेको होइन । तर, हरेक दिन आफ्नो आमाबुबालाई त्यतिकै सम्मान र माया दिनुपर्दछ भन्ने आशयमात्र व्यतm गर्न खोजेको हो ।
हामी आफ्नो जन्मभूमिलाई आमासरी पुज्छौँ र यसको रक्षार्थ हरदम तत्पर हुनुपर्दछ । मातृभूमि रहेमा हामी रहन्छौँ । हाम्रा छिमेकी देशहरू आर्थिकरूपमा सम्पन्न छन् । यसले गर्दा बेला–बेलामा उनीहरूको कुदृष्टि हाम्रो भूमिमाथि पर्ने गर्दछ । कहिले सुस्तातिर सिमाना मिचिन्छ त कहिले कालापानी र लिपुलेकमा । सुनिन्छ, सिमानाका नेपाली दाजुभाइहरू सुत्दा नेपाली बिहान उठ्दा भारतीय भइसकेका हुन्छन् रे । हाम्रा सिमानाका जङ्गे पिलरहरू खै के जादुले हो एकाएक नेपाली सिमानातिरै सर्दै छन् रे । हामी हाम्रो मातृभूमिको रक्षार्थ हरदम तयार हुनुपर्दछ । एकातिर जन्मदिने आमाहरू आफ्ना सन्तानहरू गुमाएर विवशताका साथ बाँचिरहेका छन् भने अर्कोतिर छिमेकी देशले गरेको सीमा अतिक्रमणले आहत भई नेपाल आमा रोइरहेकी छिन् । समय–समयमा आइरहने विभिन्न प्राकृतिक विपत्ति, बाढी पहिरो, महामारी रोग, भोक, खडेरीले मानव जीवनलाई अस्तव्यस्त पारेको छ । यस्ता विपत्तिबाट जोगिन आफै सचेत र सजग हुनुपर्दछ ।
कोभिड १९ बाट विश्व नै प्रभावित भइरेहको छ । आफ्नो आमाबुबालाई सुखसँग राखौँला भनी विदेशतिर होमिएका छोराहरू कोभिड–१९ का कारणले कहिले नफर्कने गरी अस्ताएका कुराले बाआमा विक्षिप्त बनेका कुराहरू नौलो होइन । चाडपर्वमा घर फर्कने छोराछोरीको बाटो हेर्ने ती बुढी आमाको आँखा पनि थाकिसकेको छ । आँसु पनि सुकिसकेको छ । हुन त हरेक चाडपर्वले विशेष महत्व बोकेको हुन्छ । यस्ता पर्वहरूले हाँसो, खुसी र बाच्ने आधार समेटेको हुन्छ । तर, ती समय र परिस्थिति हेरेर अघि बढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *