अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सधैँ सम्झिने भाइबहिनीहरू,
युग छिटछिटो दगुरिरहेको छ । लमी र साथीहरूको सल्लाहमा दायाँ–बायाँ, अगाडि– पछाडि नहेरी अर्थात् विवाहपछिको परिणामबारे ध्यानै नदिई साथीहरूमाझ चियापानबाटै बिहे टुङ्ग्याउने चलन पनि बढ्दै छ । तर, युवाहरूको सरलता र साथीहरूको अनुभवको कमीले जीवनमा नयाँ नयाँ समस्या झेल्नुपर्ने व्यहोरा सुन्दा कहिलेकाहीँ ‘रुनु न हाँस्नु’ भन्ने स्थितिमा पु¥याउँछ ।
अर्जुन र प्रभाको चिनजान दुई–चार वर्षअगाडि नै भएको थियो – सानोठिमीको एक तालिममा । अर्जुन उपत्यकाका एक शिक्षक र प्रभा उपत्यका बाहिरकी एक जनजाति समुदायकी शिक्षिका थिइन् । विवाह हुनुभन्दा पहिले साथीहरूमा दुई राय थिए । एक, उपत्यकाका अभिभावकहरू परम्परावादी हुनेछन्, घरमा बस्न गा¥हो हुन्छ । पहिले नै डेराको बन्दोबस्त गर्नुपर्छ । दोस्रो राय थियो, अर्जुन एक कमाएर खानसक्ने छोरो हो र ट्युसनबाट थप आम्दानी हुने भएको हुँदा घरमा गा¥हो हुनेछैन ।
प्रभालाई भित्र्याउँदा अर्जुनको बुबाको भन्दा आमाको मुख खुसीले चम्केन, जूनबिनाको रातजस्तो थियो । मुस्किलले एक हप्ता पनि बितेको थिएन । प्रभाले गुनासो गरिन्–चुलोको नजिकै पस्न दिइएन, परिवारको सदस्यको रुपमा नलिई बाहिरी व्यक्तिलाई जस्तै व्यवहार गरियो, धूलो बढार्न खोज्दा सासूले कुचो छिनियो, सँगै बसेर खाना खुवाइएन आदि ।
विवाह अघिसम्म आँखाको नानी बनेको छोरा अर्जुन एक हप्ताभित्रै आमाको आँखाको कसिङ्गर बन्यो । पालन–पोषणमा आमाको अत्यन्त ठुलो हात हुन्छ र छोराछोरी हुर्काउन आमा बुबाले रातदिन नभई स्याहारेको हुन्छ । यसकारण, आमाको मनमा ‘मेरो छोरालाई मैले हेरेकै बुहारी भित्र्याउनुपर्छ’ भन्ने भावनाले जरा गाडेको हुन्छ ।
छोरालाई आमाको मनको कुरा थाहा नहुनु आश्चर्यको कुरा होइन । पुरानो तथा उपत्यकाको बन्द समाजमा आमा–बुबासँग आफ्नो केटी साथीबारे खुलेर कुरा गर्ने चलन कम हुन्थ्यो । नामै त ‘भागी विवाह ¤’ अभिभावकहरू सुन्नै चाहँदैनथे । सहरको ज्योतिको विवाह चमेलीसँग राजीखुसीसाथ नेपालगञ्जमा भयो । तर, घरमा खुसियालीभन्दा गुमसुम र मौनता देखियो ¤ आमा ज्योतिलाई ठुल–ठुलो आँखाले हेर्दै माथि उक्लिन्, बुहारीको ढोगलाई समेत बेवास्ता गर्दै मुख अर्कैतिर फर्काइन् । दिदी र भाइहरू तमासेजस्ता देखिए ।
आमा नेपाली भाषा नबोल्ने चमेलीलाई काठमाडौँको भाषा नआउने, दिदी र भाइहरू प्रवेशिका उत्तीर्ण भए पनि आमाको डर र अदबको कारण बुहारी र भाउजूसँग नखुल्ने । ज्योतिले चमेलीलाई सम्झाएको थियो, “घरमा पुग्दा सबै खुसी हुनेछन् । हाम्रो परिचय प्रेम र विवाहको निर्णयको बेलिविस्तार लगाउँदा कुनै समस्या आउँदैन ।” पौडी खेल्न नआउने स्कूले विद्यार्थी एकैबाजी पानीमा हामफालेको जस्तो परिस्थितिले चमेली आत्तिइन् र गुनासो पोखिन् । चमेलीले हरेस खाने भयो भन्ने चिन्ताले तर्सायो ज्योतिलाई । उत्साहको निम्ति के भन्ने पनि उनलाई थाहा भएन । ज्योतिले कोठामा गएर दुई तीन दिनसम्म अब के गर्ने हो त्यो सोचौँ भनी सम्झाइन् । “हरेस नखाऊ चमेली बिस्तारै सबै ठीक हुन्छ ।”
१५–२० दिनपछि सानो ठिमीमा शिक्षक तालिममा भेटिएकी एक शिक्षिकाको विद्यालयमा गएर घरको स्थितिबारे बताइन्, “मैले त केही बुझ्न सकिनँ, साहु र क्षेत्री बाहुनको घरमा जस्तो किन बिहान–बेलुकी लिपपोत गरेको भनी सासू कराउनुहुन्छ । भाँडा पखाले पुग्नेमा किन माझ्नुप¥यो ? छिट्टै भाँडाकँुडा प्वाल पर्छ आदि गनगन गर्नुहुन्छ । हरेक हप्ता लुगा किन धुनुप¥यो… आदि !”
मिसले भनिन्, “आत्तिनु पर्दैन चमेली मिस, यो सांस्कृतिक भिन्नता र सांस्कृतिक स्तरकै विषय हो । जहाँसम्म आमाजू र देवरको कुरा छ, कलेज पढेको भए पनि तिनीहरू उपत्यकाबाट बाहिर कहिल्यै नगएको र स्थानीय जनतासँग मात्र उठबस भएको हुँदा नेपालको अरू जातजाति र भाषाभाषी तथा तिनीहरूको रीतिरिवाजबारे केही थाहा हुन्न ।
दुई महिनापछि माइती गएकी चमेली फर्किनन् । ज्योतिले दुई चार पटक ससुराली गएर अनेक बिन्तीभाउ ग¥यो । तर, कसैको मन पग्लेन र पाँचौँ महिनापछि पारपाचुकेको पुर्जी लिएर घर फर्कियो । आमा, दिदी र भाइ खुसी थिए ।
काठमाडौँ उपत्यकाकै गुलाब मैयाँ र कृष्णबहादुरको परम्पराअनुसार विवाह भयो । भोजभतेरको काम, ‘मुख हेर्ने’ र सम्धी भेट आदि सबै टुङ्गियो । नयाँ दुलहीले चुलो सम्हालिन् सासू, ससुरा, श्रीमान् र नन्दलाई पनि खाना पस्किएर दिइन् ।
अचानक सासू कराइन्, “बुहारी ¤ कचौरामा दाल, रिकापीमा तरकारी र सानो रिकापीमा अचार, यसरी किन प्रदर्शन गर्नुपर्ने ? भात खाने हो कि कचौरा र रिकापी खाने ?”
नयाँ दुलही अकमक भइन् । के मिलेन भन्नै सकिनँ । ससुराले बुढीको कुरोमा कुरा मिलाई भातको थालमै दाल, तरकारी र अचार राख्यो । सोअनुसार सासू र नन्दले पनि गरिन् । तर, आश्चर्यको विषय हो, स्नातक तह पढेकी नन्दले कसरी नयाँ समयलाई चिन्न नसकेको भन्ने सोची गुलाब मैयाँ चुलोमै टाउको निहु¥याएर बसिन् ।
सावित्रीले माइतीमा आमा, बुबा, दिदी–बहिनी र भाइहरूलाई रुँदै बताइन् । ‘राम्रो परिवार भनेर मलाई बा–आमाले दिनुभएको होइन ? म एक्लैले बुढा–बुढी बिरामीको स्याहार गर्ने हो कि भात पकाउने र घरको सफाइ गर्ने हो ? बी.ए. पास गरेको श्रीमान्ले पनि मलाई मद्दत गर्नुपर्दैन ? म पनि त कलेजको विद्यार्थी हुँ । पढाइ नसकी विवाह गर्दिनँ भन्दा बाआमाले मलाई तिनीहरूले नै पढाउने वचन दिएको छ भनी भन्नुभएको होइन ?”
सावित्रीको कुरा सुनेर आमा रोइन् । दिदीबहिनी सुँक्कसुँक्क रोए । बुबाले सावित्रीलाई सम्झाउनुभयो, “के गर्नु सावित्री तिनीहरूले वचन राखेनन् भनी हामीले चित्त दुखाउनु भएन । बिस्तारै सब ठीक हुन्छ । सामान फेरेजस्तो ज्वाइँ फेर्न भएन, दुःख नमान्नु छोरी । दुई चार दिन यतै बस् । म लमि र टोल छिमेकका भलाद्मीहरूसँग कुरा गर्छु ।”
सावित्रीले आमा र बुबासँग रुँदै दुःख बिसाइन्, “कमसेकम श्रीमान् भन्नेले त सघाउनु पथ्र्यो नि ! के स्वास्नी र बुहारी भनेको दास हो ? मलाई सहयोग ग¥यो भनी मेरो बुढा–बुढीले श्रीमान्लाई गाली गरे । त्यो कस्तो परिवार हो ? अब यो कुरा म कलेज, टोल, साहित्य सम्मेलनमा सबै ठाउँमा बताउँछु । माफी नमागेसम्म म त्यो घरमा फर्किन्न ।”
भाइबहिनीहरू, माथिका कथाहरू सत्य घटनाहरू हुन् – हाम्रो नेपाली दिदीबहिनीहरूको ¤
ठुला र सम्पन्न परिवारमा विवाह भएका एक बहिनीको कथा आफन्त भाउजूलाई बताउँछिन्, “शाह, राणा, सिंह, कार्की, बस्नेत आदि माथिल्ला भनिने जात र परिवारका छोरी दिनु जस्तो माइतीका परिवारको अपमान कुनै अरू अपमानसँग तुलना हुनसक्दैन ।”
‘भाउजू, बिहान सबेरै उठेर बढानुपर्छ, लिपपोत गरी कोठा–कोठा सफा गर्नुपर्छ, सासू–ससुराको कोठा र जेठाजुहरूको कोठामा चिया लिएर गई ‘दर्शन’ गर्नुपर्ने, मन्दिर गएर प्रसाद र फूल लिएर फेरि ‘दर्शन’ गर्न जानुपर्छ, सबैलाई ‘ज्यूनार’ गराई आफूले खाना खाई कलेज जान फेरि कोठा कोठामा ‘दर्शन’ गरेरमात्र कलेज पुग्छु । कलेजबाट आएर फेरि ‘दर्शन’ गर्ने र बेलुकीको भान्छाको सबै काम सिध्याएर आफ्नो कोठा जान फेरि ‘दर्शन’ गरेर बच्चा स्याहार्छु ।”
मध्यम दर्जाको क्षेत्री बाहुनको घरमा पनि गाउँतिर लोग्नेले आफूले मासु भात खाएर महिलाहरूलाई मकै भुटेर खाउ भनी उठ्छन् । अब गाउँ र सहर कहीँ पनि पुरानो चलन चल्दैन भाउजू !
भाइ बहिनीहरू, देशमा आमूल परिवर्तन नभएसम्म स–साना सुधारले सयौँ वर्ष कामदार वर्ग र महिलाहरूले दुःख झेल्नुपर्ने हुन्छ । यसकारण, पुँजीवाद र समाजवादको भेदबारे सबैलाई बताउनैपर्छ र त्यसपछि कुनकुन देशमा समाजवादी क्रान्ति कसरी भयो भनी राम्रो अध्ययन गर्नु आवश्यक छ ।
Leave a Reply