सभ्यताको बग्दो ऐना
- श्रावण १, २०८३
एक थान थर्मोमिटर
एक थान अक्सिमिटर
भिटामिन औषधीका केही चक्की
पानी उमाल्ने भाँडो
बाफ लिने भाँडो
पानी तातो राख्ने ससाना थर्मस
बस्, यति हतियार लिएर
अनि आँगनमा छोडेको ‘दान’को रसदपानी,
(मानौँ अझै छुवाछूत यतै पनि बाँँकी छ !!!)
थोरै साथ र दूरदेखिको सान्त्वनाको भरमा
एउटा आधुनिक जमानाको अत्याधुनिक मानिस
विशाल मानव समुदायको वैभवशाली मानिस
घरैमा एक्लै एक्लै लडाइँ लडिरहेछ
असङ्ख्य अदृश्य भाइरसविरुद्घ !
गुहार मागौँ कसलाई ?
सरकार आफै सिकिस्त छ
केही दिनदेखि होस समेत खुलेको छैन
होस कहिले आउने ठेगान पटक्कै छैन !
(दक्षिणबाट धामीझाँक्री आउँदै छन् क्या र !)
त्यसैले रामभरोसा भए रामभरोसा नै सही
घरकै एकान्तवासमा भाइरसविरुद्घको लडाइँ जारी छ !
बाहिर लगातार साइरन बज्दै छ
अस्पतालमा रुरुरुरुरु भरिभराउ छ
अक्सिजन अभावले सर्वत्र हाहाकार छ
अस्पताल स्वयम् उपचार मागिरहेछ, गुहार्दै छ
सेता पोशाकका सिपाहीको सक्रियता भने जारी छ
छिन छिनमा डरलाग्दो खबर आइरहेछ
तैपनि,
एकान्तवासमा भाइरसविरुद्घको लडाइँ जारी छ !
म त लड्दै छु, लड्छु अन्तिम साससम्म
तर,
नदेखिने भाइरसको आतङ्क सुरु भएसँगै
मेरो ‘बलियो’ सरकार पनि नदेखिने भयो !
कतै कतै पनि नभेटिने भयो !
अदृश्य भाइरस आउँदा सरकार नै अदृश्य !
यो पो तनावको विषय भो !
Leave a Reply