सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
(सन् १९४६ मा प्रकाशित पुस्तक ‘टमिगनबाट प्रजातन्त्र’ (Democracy with a Tommygun) दोस्रो विश्वयुद्धको उत्कर्षतिर दक्षिणपूर्वी एसियाका देशहरूको भ्रमण गरेका अस्टे«लियाली पत्रकार विल्फ्रेड बर्चेटको रिपोर्ताज हो । पुस्तकमा जापानी आक्रमणले आक्रान्त चीन र अङ्ग्रेजहरूले छोड्दै गरेको भारतमा आफूले देखेभोगेका विवरण बर्चेटले उतारेका छन् । पुस्तक पढ्दै जाँदा आजको चीन र भारत निर्माणको पृष्ठभूमि उजागर हुन्छ । चिनियाँ नेतृत्व जनताप्रति कति संवेदनशील थियो र भारतीय नेतृत्व कसरी जनताभन्दा पनि मानवीय सङ्कटमा मोटाउने दलाल र नाफाखोर पुँजीपति एवम् साहुमहाजनहरूको सेवामा तल्लिन थियो भन्ने कुरा पुस्तकले खुलस्त पार्छ । किसान समस्या र कोरोना महामारीले रन्थनिएको वर्तमान भारतको कहालीलाग्दो दृश्यले पुस्तकको निम्न अंश सान्दर्भिक देखिएको हुनाले यहाँ प्रस्तुत गरिएको छ । सं.)
पुरातन कृषि प्रणाली
बङ्गाली अकालको चर्चा गर्दैगर्दा भारतमा हुने अनिकालका कारणहरू खोतल्नु अर्थपूर्ण हुन्छ ।
भारतीय खेतीपातीको तौरतरिका पुरानो खालको छ । अत्यन्त मलिलो माटो भए पनि भारतको धान उत्पादन दर अमेरिकाको भन्दा आधा छ भने जापानको भन्दा एकतिहाइ छ । विश्वका वस्तुभाउमध्ये एकतिहाइ वस्तुभाउको गोबर भारतमा उपलब्ध छ जुन उत्कृष्ट प्राकृतिक मल हो । तर, त्यसलाई माटोको उर्वरता बढाउनुभन्दा सुकाएर घरघरमा खाना पकाउने इन्धन बनाइन्छ ।
हजारौँ वर्षदेखि चिनियाँ खेतबारीमा धान उत्पादनको लागि मानव मल प्रयोग भइरहेको छ । तर, भारतमा यो समुद्रतिर बग्छ । बालीनालीले माटोबाट जीवनरस सोस्छ तर त्यसलाई पुनः उर्वर बनाउन त्यसमा केही थपिन्न । मानवनिर्मित मल बहुसङ्ख्यक किसानको पहुँचबाहिर छ ।
धेरैजसो खेत काठको फाली जडेको पुरातन हलोले केही इन्च गहिरो जोतिन्छ । त्यसको ठाउँमा गतिलो स्टीलको फालीले अझ गहिरो जोत्न सकिन्छ । माटोको माथिल्लो तहको उही केही इन्च पुस्तौँपुस्तादेखि प्रयोग भइरहेको छ । मलको उचित प्रयोग नहुँदा माटोको उर्वरा शक्ति घटिरहेको छ । त्यसैले उत्पादन घट्नु आश्चर्य रहेन । पञ्जाब र मैसुर राज्यमा बाहेक अन्त धेरै कम सिँचाई आयोजनाहरू सञ्चालनमा छन् । दसौँ हजार एकड जमिन अहिलेसम्म बाँझै छ । त्यसमा सिँचाईको व्यवस्था गरेर खेतीपाती थाल्न सकिन्छ । बर्सेनि ५० लाखको दरले बढिरहेको भारतको जनसङ्ख्यालाई धान्न यति गर्नैपर्छ । केही अनुमानअनुसार भारतको ५० प्रतिशत जमिनमा मात्र खेती भइरहेको छ । बाँकी जमिन बाँझै छ किनभने प्रचलित कृषि विधिमार्फत त्यहाँ खेती गर्नु फलदायी हुँदैन ।
केही कृषि कलेज र अनुसन्धान केन्द्रहरू खुलेका छन् । पहिलो कृषि अनुसन्धान संस्थान १९०४ मा सिकागोका हेनरी फिप्सले स्थापना गरेका थिए । भारतको खाद्य उत्पादनमा आधुनिक विज्ञानको प्रयोग नै भएको देखिन्न । उच्च शिक्षा लिएका थोरै भारतीयहरू कोही पनि गाउँ फर्किँदैनन् । केही धनाढ्य जमिनदारहरूले आफ्ना छोराछोरीलाई महँगा शिक्षा दिन सक्छन् तर उनीहरूले तिनलाई अन्य पेशामा रहेको देख्न चाहन्छन् । सहरिया पेशाको झिलिमिली परित्याग गरी गरिब किसानहरूको भाग्य सुधार्नतिर पढेलेखेकाहरूलाई तान्ने खालका कुनै प्रयास भइरहेका छैनन् ।
अनुसन्धान संस्थानहरूले प्रायः विदेशी पुँजी लगानी भएका र विदेशी बजारमा निर्यात हुने बालीनालीबारे अध्ययन गर्छन् । चिया, जुट, सुर्ती र सुतीजस्ता उत्पादनको गुणस्तरअनुसार निर्यात हुन्छ । धान त भरियाहरूको खाना मानिन्छ ! ९० प्रतिशत किसान निरक्षर भएको देशमा जनतामाझ नयाँ प्रविधिका कुरा पुग्ने बाटा हुँदैनन् । उनीहरूले नौलो तरिकाहरू सिके मात्र पनि नयाँ प्रविधि वा मलहरू किन्न सक्दैनन् । अथवा, उनीहरूले नयाँ बिउबिजन र विधिहरू प्रयोग गर्ने जोखिम मोल्न सक्दैनन् । एउटा मौसम बर्बाद भएपछि किसान टाट पल्टिन्छ । सोभियत सङ्घको जस्तो ठूलो आकारमा कृषि क्रान्ति नहुँदासम्म भारतमा बारम्बार दोहोरिने अनिकालहरूको अन्त्य नहुने देखिन्छ ।

बङ्गाल अकालसँग जोडिएको एउटा अनौठो प्रसङ्ग के हो भने पीडितहरूले चामलबाहेक अर्थोक खान मानेनन् । धेरैचोटि के पाइयो भने उनीहरूको पेट चामलमा अभ्यस्त भइसकेको थियो जसले गर्दा उनीहरूले कोदो, गहुँ वा मकै खान मानेनन् । पटकपटक मैले ग्रेट इस्टर्न होटलको भान्साबाट रोटी बटारेर खल्तीमा राख्ने गर्थेँ र त्यसलाई सडकछेउ बसेका दीनदुःखीहरूलाई दिन्थेँ । कसैले त्यसलाई बिस्तारै चपाउँथे, कसैले भने घण्टौँपछि म फर्किँदै गर्दा पनि हातमा लिएर बसिरहेका हुन्थे ।
जापानी बमबारी
अकाल चलिरहेकै बेला चिटगोङ्ग र अन्य बङ्गाली क्षेत्रहरूमा बमबारी गरेर जापानीहरूले ननिको बिराम गरे । बमबारीले चरमचुलीमा पुगेको भोकमरीमा त्रासदी थपिदियो । एकजना बेलायती अफिसरले मलाई भने ः “जापानीहरूले गाउँहरूमा आएर धानका बोराहरू खसालिदिएका भए उनीहरूले महिनौँसम्म रेडियोबाट चलाएको प्रचारयुद्धले भन्दा छिटो केही दिनभित्रै भारतीयको मन जित्ने थिए । उनीहरूले चामलका थैलाहरूसँग आफूहरूले एसियाली दाजुभाइलाई जोगाउन बर्माको बाटो चामलका बोराहरू लिएर अघि बढिरहेको भन्दै पर्चाहरू फालेका भए के हुँदो हो ? उनीहरूसँग बर्मामा टनका टन चामलको जगेडा थियो । उनीहरूले त्यसो गरेको भए हामी अक्करमा पर्ने थियौँ ।”
मित्र राष्ट्रहरूको भाग्य, जापानीहरूमा त्यस्तो अभियान थाल्ने कल्पनाशीलता थिएन । त्यसले गर्दा उनीहरूले सदाका लागि हजारौँ बङ्गालीहरूको घृणा कमाए किनभने जापानी बमबारीपछि चलेको उद्धार कार्य तिनले आफ्नै आँखाले देखेका थिए ।
दोषी को ?
झुक्याउने खेलमा लाग्ने हो भने बङ्गाल अकालको लागि जिम्मेवार केही दर्जन ‘बलिका बोका’ को नाम सजिलै दिन सकिन्छ । कसैले चक्रवात र बाढीपहिरोलाई मुख्य दोष दिन सक्छ, पर्याप्त धान उत्पादन नगर्ने किसानमाथि दोष थोपर्न सकिन्छ, बनियाँ (व्यापारी) हरूलाई जथाभावी अन्न बेचेकोमा उनीहरूमाथि धारे हात लगाउन सकिन्छ, सोझासिधा किसानलाई लोभ्याएर अन्न किन्ने व्यापारीहरूलाई दोष दिन सकिन्छ, अन्नलाई बजारबाट अलप पार्ने र भित्रभित्रै अचाक्ली नाफा खाएर बेच्ने साहुमहाजनलाई दोष दिन सकिन्छ, कालोबजारी गर्नेहरूका विरुद्ध तत्काल कदम चाल्न आनाकानी गर्ने र केन्द्र सरकारसँग सहयोग माग्न ढिलासुस्ती गर्ने प्रान्तीय सरकारलाई दोष दिन सकिन्छ, अनिकाल लागेको बङ्गालमा छिट्टै अन्न पठाउन अस्वीकार गर्ने छिमेकी प्रान्त सरकारहरूलाई दोष दिन सकिन्छ । नयाँ दिल्लीस्थित केन्द्र सरकारमा माथि उल्लेख कारणमध्ये केहीलाई वा एकमुष्ट सबैलाई सङ्कटको कारकका रूपमा हेर्ने धेरैजना थिए ।
साहुमहाजन, व्यापारी वा प्रान्त सरकारलाई यो त्रासदीको दोषबाट उम्किन दिन सकिन्न । तर, प्रमुख दोषीहरूलाई बाहिर खोज्नुपर्ने हुन्छ ।
बेलायत सरकारले भारतको प्रशासनलाई जिम्मेवार मानेको छ । तर, उसले त्यसलाई औपचारिकरूपमा उद्घोष गर्न सक्दैन किनभने सन् १९३५ मा बेलायतले थोपरेको संविधानअनुसार ९ प्रतिशत जनताले चुनेको प्रान्तसभाले त्यो काम गर्नुपर्ने हुन्छ । भारतीय जनताले आफ्नो भाग्य आफ्नो हातमा नलिएसम्म भारतको कुनै पनि भागमा हुने घटनाको अन्तिम जिम्मेवारी बेलायत सरकारले लिनुपर्छ ।
बङ्गालमा अनिकाल लाग्ने देखापरेको क्षणदेखि नै केन्द्र सरकारसँग हस्तक्षेप गर्ने अधिकार थियो । विगतमा पनि प्रान्तको मामिलामा केन्द्रले ढिलासुस्ती देखाएको थिएन । जस्तो, आफूलाई हानिकारक लागेको अखबार बन्द गर्न केन्द्रले तत्काल हस्तक्षेप गरेको थियो । आफ्नै जातिका मान्छेको रगतमासुको व्यापार गर्ने भारतीय व्यापारीहरूको अमानवीय कर्तुतको निन्दा गर्ने कुनै शब्द छैन । तैपनि, कहिलेकाहीँ गर्नेभन्दा लुकाउने ‘पाप’ ठूलो हुन्छ । केन्द्र सरकार तथा लर्ड लिनलिथगोदेखि मुनिका सबै जनालाई मामिला लुकाएको दोष जान्छ । उनीहरूलाई आधा शताब्दीयताको भारतको सबैभन्दा ठूलो त्रासदीको मुख्य जिम्मेवारी जान्छ ।
पाँच गाउँको भ्रमण
समस्याको एउटा कारण भारतको सैन्य र निजामति अधिकारीहरूबीचको तानातान वा ‘पन्छिने’ प्रवृत्ति पनि थियो ।
बङ्गालका अकाल लागेका गाउँहरू भारतीय ग्रामीण जीवनका नमुना थिए । त्यसैले एक अब्बल भारतीय दोभाषेलाई लिएर म गाउँको छोटो भ्रमणमा निस्केँ । हामीले पाँचवटा गाउँ घुम्दै थियौँ । ती गाउँहरू नयाँ दिल्लीबाट ७ माइलको दूरीमा थिए । सामान्य स्थितिमा किसानहरू कसरी जिउँछन् भनी हेर्नु हाम्रो उद्देश्य थियो ।
प्रत्येक गाउँमा जीवनचर्या एउटै थियो । मैलाधुस्रा केटाकेटीहरू हामी पस्दाबित्तिकै पछि सर्थे अनि छोरीमान्छेहरू माटाका घरहरूका ढोकामा देखापरेपछि तिनीहरूको फरियाको फेरो समातेर हामीलाई चियाउन केटाकेटीहरू पुनः प्रकट हुन्थे । दोभाषेले गाउँमा देखिने व्यक्तिहरूलाई अभिवादन गथ्र्यो र उनीहरूसँग कुराकानी गथ्र्यो । केही मिनेटपछि किसानहरू आफ्नो खेत छोडेर, शिल्पकारहरू आफ्ना कामधन्दा छोडेर मानिसहरूको जमघटमा देखापर्थे । त्यसपछि हामी कुनै छायादार रुखमुनि जान्थ्यौँ । महिलाहरू पृष्ठभागमा बस्थे ।
एउटा घटना मेरो मनमा गढ्यो । हामीले एक माइल धुलाम्य सडक पार ग¥यौँ । त्यो औडाहा बाटोको मुखमा नै हामीले आफ्नो कार पार्क गरेका थियौँ । यत्तिकैमा एउटा यामानको बनियानको रुखमुनि मैलो पेटीमा टुक्रुक्क बसेका दुईजना दाह्रीवाल बुढाहरू देखापरे । उनीहरू जुरुक्क उठे, आफ्ना टिमिक्कका टोपीहरू फुकाले र हामीलाई सलाम ठोके । एकजनाले आफ्नो टोपीले बस्नको लागि खस्रो ढुङ्गा पुछे र दुवैले हामीलाई त्यहाँ बस्न बिन्तिभाउ गरे । अलि पर महिलाहरूको एउटा समूहले गाईको गोबर भिजाउँदै थिए । उनीहरूले गोबरका ससाना डल्ला बनाउँदै र झ्यालविहीन घरका भित्ताहरूमा टाँस्दै वा गुइँठा बनाउँदै सुकाइरहेका थिए । तिनलाई पछि इन्धनको रूपमा प्रयोग गरिन्थ्यो । गाउँ र सडकको दुवैतिर मान्छे र गोरुहरू गोडमेल र खनजोतमा व्यस्त थिए ।

ती दुवै बुढालाई म सरकारी उच्च अधिकारी होइन भनी सम्झाउन दोभाषेलाई हम्मेहम्मे भयो । उनीहरूले जीवनमा कहिल्यै पनि कुनै पश्चिमालाई देखेका थिएनन् । ती गाउँमा कुनै पश्चिमा व्यक्ति गएको थिएन । दोभाषेले म अस्टे«लियाको किसान हुँ, यहाँ घुमघामको लागि आएको हुँ र भारतीय किसानहरूको स्थिति बुझ्न चाहन्छु भनी अन्तमा उनीहरूलाई मनायो ।
लगत्तै वरपरका घरहरूबाट आधा दर्जनजति मान्छे हामीसँग कुराकानी गर्न आए । खेतमा काम गरिरहेका मान्छे पनि भीड देखेपछि दुईतीन जनाको समूह बनाउँदै काम छोडेर आए । कसैले आफूसँगै निर्दोष आँखासहितका गोरुहरू ल्याइरहेका थिए । गोरुका सेता नरम रौँहरूबीच गुलाबी छाला देख्न सकिन्थ्यो । तिनले आफ्ना गाईवस्तु कि त बनियानका बाहिर निस्केका जराहरूमा बाँध्थे । अथवा, अर्धनग्न केटाकेटीलाई तिनको दाम्लो समात्न दिन्थे । केटाकेटीहरूले ठूलाबडाका टाङ वा पिठ्यूँपछाडिबाट लुकीचोरी हेर्दै थिए । बाहिरी घेरापछाडि साना केटीहरू थिए । उनीहरूमध्ये धेरैजसोले आफ्नो कोखमा बच्चाबच्ची बोकिरहेका थिए । केटाकेटीका खुट्टा निकै मैला थिए ।
बेलाबेला टाउकोमाथि काँस वा माटाका घैला बोकेर महिलाहरू साझा कुवामा पानी लिन आउँथे । कुवा किनारको रुखछेउ थियो । झट्ट हेर्दा पानी लिन आएजस्ता देखिए पनि उनीहरू कुराकानी सुन्न आइरहेका थिए । एक बथान मैना चरी कुवा वरपरको हिलोमा भेटिने किरा फट्याङ्ग्रा खान यताउति गरिरहेका थिए । गाईको गोबर र खाने तेलको गन्ध मिसिएर हामीतिर आयो । घरहरूबाट हलुका निलो धुवाँ अल्छी पाराले आकाशतिर उडिरहेका थिए । एकाध माइल टाढा राजमार्गमा उँटले तानिरहेका पाङ्ग्रेगाडीहरू गइरहेका थिए । ती गाडीहरूमा ऊखु लादिएको थियो । अघि बढ्दै जाँदा उँटका टाउकाहरू सर्पझैँ लच्किरहेका थिए ।
सुरुमा प्रश्नको उत्तर पाउन गाह्रो भयो । छोरामान्छेहरू अरू कोही बोल्ला भनेर मुख तन्काई मुस्काउँथे । बोल्ने व्यक्ति वा प्रवक्ता तयार भएपछि सबैले उसलाई सही उत्तर सुझाउँथे । आउँदो बालीसम्बन्धी प्रश्नले संसारभरिका किसानलाई उचाल्ने गर्छ । भारत अपवाद भएन । “साहेब । हाम्रो बाली राम्रै हुन्छ । तर, पानी परेन भने सबै बर्बाद हुनेछ । तिनको जरा पहेँलिन थालिसकेको छ ।” (दिल्लीआसपास सुक्खा याम चलिरहेको थियो ।)
“हो साहेब ¤ धानको भाउ बढेको छ । तर, हामीले किन्ने सबै चीजको भाउ पनि बढिरहेको छ । लडाइँले महँगी बढाइदियो । अब हामीले लुगा किन्न नसक्ने भइसक्यौँ । खाने भुटुन र बत्ती बाल्ने तेलको अभाव भइसक्यो ।”
धेरै गाउँमा यस्ता प्रश्नले प्रायः उस्तै उत्तर पाए । सबैभन्दा नजिकको विद्यालय २ देखि ५ माइलको दूरीमा थिए । केटाकेटीहरू विद्यालय जाँदैनथे किनभने तिनको श्रम खेतबारी वा घरका लालाबालाको हेरचाहमा चाहिन्थ्यो । र, आमाबुवाले पनि केटाकेटीको पढाइ खर्च व्यहोर्न सक्दैनथे । ‘औषधी बेच्नेहरू’ नै स्वास्थ्य सेवा थिए । उनीहरू नियमितजसो गाउँमा आउँथे र कुनै महामारी भएमा सुई लगाइदिन्थे ।
सबै गाउँ घुम्दा मैले सिनेमा हेरेको व्यक्ति एकजना मात्र फेला पारेँ । जब कि दिल्लीमा अङ्ग्रेजी र भारतीय भाषाका थुप्रै सिनेमा हल छन् र ती गाउँबाट दिल्ली पैदल नै जान सकिन्छ । सिनेमा हेर्ने उक्त टाठो युवक हामीले भेटेमध्ये सबैभन्दा जान्नेबुझ्ने गाउँले थियो । हामीले भेटेका गाउँलेमध्ये मोहम्मद अलि जिन्हा र मुस्लिम लीगको नाम सुनेको ऊ एकमात्र व्यक्ति थियो । उसलाई युद्धको बारेमा अलिअलि थाहा थियो । उसलाई इटाली हारिसकेको थाहा थियो । चीन पनि युद्धमा छ भन्ने थाहा पाएर ऊ चकित भयो ।
अनुवाद :गणेश
Leave a Reply