क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३

क्वारेन्टिनमा पुण्यराम
बुधबार दिउँसो फोनमा सम्पर्क गर्दा पुण्यराम खत्री भक्तपुर नगरपालिकाले आफ्ना कर्मचारीहरूको लागि बनाएको क्वारेन्टिन केन्द्रमा थिए । नगरपालिकाले कोभिड–१९ सङ्क्रमित बिरामीको लागि निःशुल्क सञ्चालन गर्दै आएको एम्बुलेन्समा वैशाख २३ गतेदेखि चौबीसै घण्टा दस दिनको ड्युटी पछि उनी अहिले क्वारेन्टिनमा बसेका छन् । पीसीआर परीक्षणको लागि उनको स्वाब सङ्कलन गरिएको छ । पीसीआर परीक्षणको नतिजा नेगेटिभ आउनेमा उनी आशावादी छन् । कदाचित पोजिटिभ आए उनी दस दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।
कोभिड–१९ भाइरसको फैलिँदो सङ्क्रमणले देशको अधिकांश भू–भागमा अहिले निषेधाज्ञा लागु छ । सङ्क्रमित र मर्नेको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ । तीव्रगतिमा सङ्क्रमण हुने यो भाइरसको रोकथाम र नियन्त्रणको लागि देशभर लाखौँ स्वास्थ्यकर्मीहरू जोखिममा रहेर अहोरात्र खटिरहेका छन् । चिकित्सक, नर्स, सफाइ मजदुरदेखि एम्बुलेन्स चालकहरू समेत महामारी प्रतिरोधको अग्रमोर्चामा लडिरहेका छन् । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवाका चालक पुण्यराम खत्री घातक महामारीविरुद्ध अग्रमोर्चामा लडिरहेका एक जना स्वास्थ्यकर्मी हुन् ।
“एक जना बिरामी लिएर टिचिङ अस्पतालमा गएँ । अस्पतालमा शय्या थिएन । बाहिर नै बिरामीको उपचार भइरहेको थियो । एम्बुलेन्सभित्र बिरामीको अनुहार हेर्दाहेर्दै अर्कै हुन थालिसकेको थियो । वीर अस्पतालमा सम्पर्क गर्दा पनि अवस्था उस्तै थियो । त्यो अवस्था देख्दा कस्तो समय आयो जस्तो अनुभव भयो”, खत्रीले भने ।
देशभर अक्सिजनको अभाव अझै हल हुन सकेको छैन । अस्पतालमा अझै पनि अक्सिजनको कमी छ । अक्सिजनको कमीकै कारण गत साता देशभर मृत्युदर वृद्धि भयो । अक्सिजन नभएकै वा अपुग भएकै कारण अस्पतालहरूले बिरामी लान मानिरहेका छैनन् । पुण्यराम ती सबै कारुणिक अवस्थाको प्रत्यक्षदर्शी बने । भक्तपुरबाट कोरोनाको गम्भीर बिरामी एम्बुलेन्समा लिएर काठमाडौँका अस्पताल–अस्पताल भौँतारिँदा पनि शय्या नपाउँदा दुःख लाग्ने गरेको उनले बताए ।
“एक जना बिरामी लिएर टिचिङ अस्पतालमा गएँ । अस्पतालमा शय्या थिएन । बाहिर नै बिरामीको उपचार भइरहेको थियो । एम्बुलेन्सभित्र बिरामीको अनुहार हेर्दाहेर्दै अर्कै हुन थालिसकेको थियो । वीर अस्पतालमा सम्पर्क गर्दा पनि अवस्था उस्तै थियो । त्यो अवस्था देख्दा कस्तो समय आयो जस्तो अनुभव भयो”, खत्रीले भने ।
“अक्सिजन नहुँदा मर्न नपर्ने मानिस पनि मरिरहेको देख्दा सरकार किन यस्तो लाचार भयो जस्तो लाग्यो”, उनले भने । बिरामी आफैले अक्सिजनको व्यवस्था गरेमात्र अस्पतालमा भर्ना हुन पाउने समय पीडादायी भएको पुण्यरामले बताए ।
पुण्यराम आपत्मा परेको बिरामी र आफन्त निकै आँत्तिदा आफै हौसला दिन अघि सर्छन् । बिरामीहरू अब आफू नबाँच्ने भनी निराश हुन्छन् । त्यस्ता बिरामीलाई आफै अघि सरेर पनि उत्साहित गर्ने गर्छन् उनी ।
महामारीविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गर्न पाउँदा पुण्यरामले गौरव अनुभव गरेका छन् । चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूजस्तै आफू पनि महामारीसँग लडाइँमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको उनले बताए । “डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरू नै डराए वा आत्तिए महामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ र ! रोगसँग कहिल्यै पनि डराउने होइन । बरु, सामना गर्ने हो । त्यसकारण, आत्मबल बलियो बनाउनुपर्छ”, खत्रीले भने ।
ड्युटीमा लाग्दा उनले सुरक्षाका सबै सावधानीको पालना गर्ने गरेका छन् । पीपीई, मास्क, पञ्जा, टोपी र जुत्तासम्म सबै अलग लगाउने गर्छन् । स्यानिटाइजर प्रयोग गर्छन् ।
जोखिम उठाएर रातदिन खटेका पुण्यरामलाई परिवार र छोराछोरीले पनि हौसला दिएका छन् । उनका छोरा प्रज्ज्वल आफै पनि स्वास्थ्यकर्मी हुन् । आफ्नो बुबाले एम्बुलेन्स चालकको रूपमा बिरामीको सेवा गरिरहेकोमा गौरव गर्दै बुवाको तस्वीरसहित फेसबुकमा पोस्ट गरेका छन् ।
आफू बिरामी बोकेर अस्पताल अस्पताल जाने पुण्यरामका बहिनी ज्वाइँलाई सघन उपचार कक्षको खाँचो पर्दा भने भेटाउन नसकेकोमा अफसोस पोख्दै थिए । “सरकारले अझै निजी अस्पताललाई पुग्दो अक्सिजन दिन सकेको छैन । सरकारी अस्पतालमा शय्याको अभाव छ । अहिले आफ्नै मान्छेलाई खाँचो पर्दा एउटा शय्या पनि मिलाउन नसक्दा थकथक लागिरहेको छ”, उनले भने ।
भक्तपुर नगरपालिकाले कोभिड–१९ का बिरामी बोक्न अलगै एम्बुलेन्सको व्यवस्था गरेको छ र त्यसको जिम्मेवारी चालकहरू पुण्यराम खत्री, विकास दुमरु र राजेश भैनात्वलाई दिइएको छ । तीन जना चालकले दस–दस दिन चौबीसै घण्टा ड्युटी गर्ने व्यवस्था गरिएको छ । दस दिनको ड्युटीपछि उनीहरूको पीसीआर परीक्षण गरिन्छ र नेगेटिभ आएको अवस्थामा मात्र घर जान दिने गरेको छ । पोजिटिभ आए क्वारेन्टिनमै बस्ने व्यवस्था गरिएको छ । कोभिडको बिरामीलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइएको छ ।
प्रस्तुति : सुमन
Leave a Reply