अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मैले बुझेको माक्र्सवादले स्वर्ग, नर्क, यो लोक, परलोक, पूर्वजन्म, परजन्म, पुनर्जन्म, मान्दैन । हो, यहाँ प्रश्न उठ्न सक्छ, मैले नै माक्र्सवाद कति पढेको छु, कति अभ्यास गरेको छु ? माक्र्सवाद विज्ञानमा अडेको ज्ञान हो । यहाँ ज्ञान शब्द मैले अध्यात्मवादसँग आबद्ध गर्न खोजेको पनि छैन । यहाँ ज्ञानको अर्थ नलेजको रूपमा लिएको छु । माक्र्सवाद जब आफैँ ईश्वर, परमात्मा मान्दैन भने मरेपछि श्रद्धाञ्जली, श्रद्धाञ्जली सभाको तात्पर्य के ? शोकसभा शोक प्रकट गर्न आयोजना गर्नुको औचित्य पुष्टि हुन्छ जब श्रद्धाञ्जली सभा गरिन्छ त्यसमा मान्छे मरेपछि मान्छेको केही न केही तत्व शेष रहन्छ भन्ने अज्ञानले त हामीलाई घुमाइरहेको हुँदैन ? मरेर जाने त गइसक्यो । तर, हामी मृत व्यक्तिको, नेताको तस्बिरमा माल्यार्पण गर्छौँ । कतिले आफ्नो कुल परम्पराअनुसार तीन दिन, पाँच, नौ दिन अखण्ड बत्ती बाल्छौँ । ढिकुरो राख्छौँ, क्रिया गर्छौँ । समवेदना दिन मान्छेहरू आउँछन्, दुःख व्यक्त गर्छन्, जान्छन् । सुख–दुःख आफन्तमा बाँड्नु बुझिने कुरा हो । तर, श्रद्धाञ्जली नबुझिनेमा प¥यो । श्रद्धाञ्जली कसलाई ? यो मुद्दामा व्यापक छलफल चलाउनु असान्दर्भिक नहोला जो पूर्वजन्म, पुनर्जन्म, स्वर्ग, नर्क मान्छ । उसका लागि श्रद्धाञ्जली, पुष्पार्पण, माल्यार्पण, मुक्तिको कामना गरौँ । यसमा मेरो टिप्पणी वा आलोचना कत्ति छैन । तर, मेरो जिज्ञासा हो माक्र्सवादमा विश्वास गर्ने नेता मर्दा श्रद्धाञ्जली सभाको औचित्यको दार्शनिक पक्ष के ?
मूर्ति नचाहनेकै अग्लो मूर्ति ?
विश्वका सबैजसो देशमा माक्र्स, लेनिन, माओ त्सेतुङ, हो चि मिन्ह, फिडेल क्यास्ट्रो, किमको जन्मजयन्ती वा मरेको दिनको सम्झनामा श्रद्धाञ्जली सभा गर्छौँ । त्यो हामी बुझेर वा नबुझी गर्छौँ ? त्यसबारे स्पष्ट नभएर यो विषय छलफलमा ल्याएको ? राजनीतिक नेताहरूमा मात्र होइन साहित्य, नाटक, नृत्य, सितार, गितार, उपन्यास, प्राणीशास्त्र, कलाकृति, थाङ्का आदि कुनै पनि क्षेत्रमा खासै योगदान गरेको व्यक्तिको बारेमा पनि हामी जयन्ती दिवस वा केही न केही मनाइरहेका हुन्छौँ । त्यसको पारमार्थिकता केही छ ? मान्छे वा प्राणीको मरणोपरान्त केही पारमार्थिकता शेष रहन्छ र ? कुनै माक्र्सवादीको ? मरण नै अन्तिम सत्य होइन र ? गौतम बुद्ध मूर्ति पूजाको पक्षमा थिएनन् मात्र हो र मूर्ति पूजाको विपक्षमा थिए । तर, यही संसारमा बुद्धको संसारभरमा सबैभन्दा अग्लो मूर्ति बनाउने प्रतिस्पर्धा भयो । अनुयायीहरू अन्धभक्त भए भने कसको के लाग्दोरहेछ र ? सिद्धार्थ गौतम बुद्ध आज बाँचेका भए आफ्ना अग्ला मूर्ति बनाउने भक्त मण्डलीलाई के भन्दा हुन् ? संसारमा नेताहरूको सालिक राख्ने प्रचलन आयो । अझ कति जना नेताको त मृत शरीर नै सुरक्षित रहने रसायन पत्ता लगाएर सुरक्षित राखे, राखेकै छन् । जो एउटा पक्ष भो । अर्को पक्ष भो श्रद्धाञ्जली ।
झन्डा पनि नपोल्ने हो कि ?
माक्र्सवाद कुनै इतिहासमात्र होइन । वास्तवमा माक्र्सवाद वर्तमान हो । इतिहासले वर्तमान जन्माउँछ र मानवलाई हस्तान्तरण गर्छ । भूल गर्दा वा जानेर प्रयोग नगर्दा परिणाम खोजेको भन्दा उल्टो आउनसक्छ । परिश्रम ग¥यो तर बेलामा परिणाम आएन वा उल्टो परिणाम आयो भने के हालत होला ? हामी आफूलाई क्रान्तिकारी भन्नेहरू नै श्रद्धामात्र गरे पर्याप्त हुनेमा किन श्रद्धाञ्जली अर्पण गर्छौँ ? श्रद्धा र श्रद्धाञ्जली शब्दको गूढार्थ नबुझेर वा बुझ्न नखोजेर वा बुझ्न नसकेर त त्यसो भएको होइन र अथवा बुझ्न नखोजेर पो भएको हो कि ? यसो घोत्लिएका छौँ ? यता माक्र्सवादी रे तर जाने कुनै माक्र्सवादी मर्दा कामरेडहरू श्रद्धाञ्जली अर्पण गर्न आर्यघाट ? त्यहाँ पनि समयमा लाश आइनपुग्दा शोकको होइन पुनर्मिलनको वातावरण बन्छ । कोही गम्भीर छैन, कोही शोक मुद्रामा छैन । शोक मुद्रामा नभएको मान्छेले शोक प्रकट गर्दा त्यो कृत्रिमता देखिने रहेछ । अर्को कुरा मृत व्यक्तिलाई पार्टीको वा राष्ट्रिय झन्डा ओढाइ दिइन्छ । यो पार्टीको वा राष्ट्रिय झन्डा लाशलाई ओढाइन्छ, के हो यसको तात्पर्य ? त्यो झन्डा लाशसँगै जलाइन्छ । त्यसको प्रतीकात्मक सङ्केत के हो ? आफ्नो पार्टीको वा राष्ट्रकै झन्डा बालेर खरानी पार्नुको परिणाम ? यसरी झन्डासमेत जलाउनुको पनि आधार फेला पारिन मैले । मेरो अर्को दृष्टिकोण पनि प्रस्तुत गर्न अनुमति मागौँ । ती झन्डाहरू नपोल्ने हो कि ? नडढाउने हो कि ?
मैले सकिन तपाईँ लेख्ने कि ?
यो विषयमा म सशक्तरूपमा, तर्कसङ्गतरूपमा प्रस्तुत हुन सकिन । यस मामलामा पनि बुढ्यौली लाग्यो कि ? माक्र्सवाद र श्रद्धाञ्जली, मुक्तिको कामना, लालसलाम, अन्तरसम्बन्धित छन् वा अन्तरविरोधी छन् । सूक्ष्म छलफल हुनु जरूरी लागेर यो मुद्दा उठाएको हुँ । गणतन्त्रको राष्ट्रपति धर्म, सम्प्रदाय, मूर्ति पूजा, दिवसजस्ता कुनै तिथि–मिति, चाडपर्व छाड्नुहुन्न । राष्ट्रपतिका सबै ढाँचाकाँचा राजाका जस्ता देखिन्छन् । जनताका राष्ट्रपतिले त जनताको नजिक हुन खोज्नुपर्ने, आम र सर्वसाधारण जनताको तातो काख खोज्नुपर्ने । जनताको चुल्होमा के पाकेको छ बडो स्वाद मानेर सँगै बसेर खानुपर्ने जसले आम जनतामा गणतन्त्र भनेकै यस्तो हुन्छ । राजा र जनतामा जस्तो अन्तर हुँदैन । राष्ट्रपति भनेको जनता हो भन्ने पार्नुपर्ने कुरा एक जना बौद्धिक वामपन्थी व्यक्तित्व प्रदीप नेपालले ६ जेठको गोरखापत्रमा लेखेका छन्, नेपालको सबैभन्दा चर्को सामन्तवाद राष्ट्रपति कार्यालयमा छ । सबैको मुखबाट ‘सम्माननीय’ शब्द निस्कनु अनिवार्य छ । राष्ट्रपतिज्यू अथवा राष्ट्रपति महोदय शब्द निकाल्नुभयो भने तपाईँको निष्काशन अनिवार्य हुन्छ । यो त कलपुर्जाको समाजवाद ल्याउन खोजेको होइन जीवनको समाजवाद ल्याउन खोजेको हो । ‘सम्माननीय’ समाजवाद हो र ? हो, यस्ता विषयमा गम्भीर छलफल चलाउन मन लागेको हो वास्तवमा । तर मैले लेख्न सकिन तपाईं लेख्ने कि ?
२०७८ जेठ १०
Leave a Reply