भर्खरै :

भोकविरूद्धका योद्धालाई श्रद्धाञ्जली

संसारका अधिकांश देशको लागि आफ्ना जनताको भोक मेटाउनु अहिले पनि सबभन्दा प्राथमिक विषय हो । मानिसको भोक नै सबै समस्याको कारण हुने गर्छ र भोक मेटाउनु नै सबै समस्या समाधानको आरम्भ हुने गर्छ । संसारकै सबभन्दा बढी खाने मुख भएको हाम्रो छिमेकी देश चीनमा सन् १९७० को दशकसम्म जनताको पेट भर्नु त्यत्तिञ्जेलका हरेक चिनियाँ सरकारको लागि सबभन्दा चुनौतीपूर्ण काम हुने गथ्र्यो । अमेरिकी लेखक हार्भे जोडिनले सीजीटीएनमा लेखेका छन्, “पाँच हजार वर्ष लामो अभिलेखीकृत चीनको इतिहासमा धेरै सत्ता उदाए र ढले । तीमध्ये कुनै पनि सत्ताको उमेर भने विशाल भोका जनतालाई खुवाउन पुग्ने कृषि उत्पादन भयो वा भएन भन्नेमा निर्भर हुने गथ्र्यो ।” विभिन्न देशको उपनिवेशवाद र चीनकै प्रतिक्रियावादी सत्तासँगको लामो लडाइँपछि सन् १९४९ मा नयाँ चीनको स्थापना भयो । निकै पुरानो भोकको समस्या एकाएक फुमन्तर भएन । तर, सन् १९७३ मा चीनमा युगान्तकारी घटना भयो । चिनियाँ कृषि वैज्ञानिक युआन लोङपिङले हाइब्रीड धानको उत्पादनमा गरिरहेको प्रयोग सफल भयो । झन्डै एक दशकअघि सन् १९६४ बाट हाइब्रीड धानबारे युआनले थालेको प्रयोगबाट धेरै फसल धान उत्पादन हुने धानको बीउ विकास भयो । भात नै प्रमुख खाना भएको चीनजस्तो देशमा विगतको भन्दा निकै धेरै उत्पादन हुने धानको बीउ उत्पादन हुनु ठुलो खुसी र उपलब्धिको विषय बन्यो । त्यसको अर्थ चीनका जनताको युगौँदेखिको भोक मेटिनु थियो ।
युआनले आफ्नो जीवनको बाँकी समय पनि हाइब्रीड धानको उत्पादनमा बिताउनुभयो । उहाँको नेतृत्वको अनुसन्धानकै परिणामस्वरूप अहिले तेस्रो पुस्ताको धानको बीउको विकास भइसकेको छ । चीनका आज कुल धानखेतमध्ये ५७ प्रतिशत खेतमा हाइब्रीड धान लगाउने गरिएको छ ।
युआनले विकास गरेको हाइब्रीड धान चीनको लागि त बरदान भयो नै, चीनका साथै नेपालजस्ता संसारका गरिब, विकासशील देशहरूको लागि पनि अभूतपूर्व उपलब्धि बन्यो । संसारका धेरै जनताको भोक मेटाउन युआनले विकास गरेको हाइब्रीड धानले ठुलो भूमिका खेल्यो । नेपाली किसानहरूलाई युआनको विषयमा त्यत्ति धेरै थाहा नहुनु स्वाभाविक हो । किनभने नेपाली सञ्चार क्षेत्रमा यो नाम प्रचारमा आउने गरेको छैन । ९१ वर्षको उमेरमा युआनको निधन हुँदा पनि नेपालमा अधिकांश सञ्चारमाध्यमले कुनै समाचार राख्न आवश्यक देखेनन् । तथापि, धेरै किसानहरूलाई हाइब्रीड धान लगाउन थालेपछि आफ्नो जीवन र आर्थिक अवस्थामा आएको परिवर्तनबारे धेरै थाहा छ ।
पहिला जग्गाधनीलाई तिरेरै धान सकिने र वर्षभरि खानै नपुग्ने अवस्था थियो भने हाइब्रीड धान लगाउन थालेपछि कम्तीमा वर्षभरि खान पुग्ने र उस्तै परे बेच्न पनि सकिने भएको छ । हाइब्रीड धानको कारण उत्पादन वृद्धिले नेपाली किसानको आर्थिक, सामाजिक र शारीरिक विकासमा मात्र योगदान गरेन, बरु देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान ग¥यो । देशजस्तै संसारकै र विशेषतः भात नै प्रमुख खाना रहेका एसियाली देशहरूमा युआनले हाइब्रीड धानको विकासपछि उल्लेखनीय परिवर्तन भएको छ ।
निःसन्देह, भोक फेरि पनि संसारसामु ठुलो चुनौती हो । अझै पनि भोककै कारण जीवन गुमाउनेहरूको सङ्ख्या कम छैन । तर, वैज्ञानिक अनुसन्धानको कुनै सीमा हुँदैन । युआनको निधन भयो । तर, उहाँले तयार गर्नुभएका लाखौँ कृषिविज्ञहरूले भविष्यमा हाइब्रीड धानको सन्दर्भमा गर्ने नयाँ नयाँ आविष्कारले संसारबाट भोक मेटाउन महत्वपूर्ण भूमिका खेल्नेछ । यतिबेला गत शनिबार चीनको हुनान प्रान्तको चाङ्सामा बित्नुभएका वैज्ञानिक युआनप्रति भोकविरूद्धको उहाँको जीवनभर लामो सङ्घर्षको लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु नेपाली जनताको पनि कर्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *