भर्खरै :

जेठ २० गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौँ, ११ जेठ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मङ्गलबार अलग अलग आदेश जारी गरी जेठ २० गते मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेका छन् । निषेधाज्ञाअन्तर्गत तरकारी, फलफुल, दुधडेरी, मासु, खानेपानी र ग्यास पसलहरूलाई बिहान ९ बजेसम्म खुला गर्न दिइने भएको छ । खाद्यान्न तथा किराना पसल, डिर्पाटमेन्टल स्टोरलगायतका पसल पनि निषेधाज्ञा अवधिमा बन्द गराइने जारी आदेशमा उल्लेख छ । त्यस्तै तरकारी र फलफुलको थोक बजारमा फुटकर बिक्री वितरण गर्न दिने र तोकिएको तरकारी बजारबाहेक अन्य सार्वजनिक स्थल÷बाटोमा तरकारी तथा फलफुल बेच्न नदिने पनि आदेशमा उल्लेख छ ।
आदेशमा भनिएको छ, “औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति बाहिर ननिस्कने । प्रातःकालीन भ्रमण र सन्ध्याकालीन भ्रमण बन्द गर्ने ।”
निषेधाज्ञाका पहिला नियमहरूलाई नै निरन्तरता दिइने बताइएको छ ।
आठ हजार ६३६ मा सङ्क्रमित थप
मङ्गलबार आठ हजार ६३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ पीसीआर र ६३० एन्टिजिन परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।
कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङख्या एक लाख १७ हजार २६१ पुगेको छ । आज ६ हजार ४०४ जना सङ्क्रमण मुक्त भएका छन् । निको हुनेको सङ्ख्या चार लाख ४ हजार ८८७ पुगेको छ ।
निषेधाज्ञा अवधिभर थप शुल्क नलिन केन्द्रीय बैङ्कको निर्देशन
कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैङ्क तथा वित्तीय संस्थाले आफना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले आज एक निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाब नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन स्पष्टसँग निर्देशन दिएको छ ।
ऋणीलाई कुनै पनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ । त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको ब्याजदरमा परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ ।
यसैगरी लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीलाई समेत केन्द्रीय बैङ्कको पछिल्लो व्यवस्थाले राहत दिएको छ । लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्न नलिन निर्देश गरेको छ ।
क्यान्सर अस्पतालमा अक्सिजन अभाव
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । पर्याप्त अक्सिजनसहितका सिलिन्डर नहुँदा सङ्क्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि दैनिक करिब १ सय ८० सिलिन्डर अक्सिजन खपत हुने गरेको छ ।
अस्पतालमको अक्सिजन प्लान्टको ५० वटामात्रै सिलिन्डर भर्न सक्ने क्षमता छ । बिरामीलाई आवश्यक अक्सिजन जुटाउन स्थानीय प्रशासनसँग हरेक दिन समन्वय गर्नुपर्ने अवस्था छ । पुरानो भवनका १ सय ४४ शøयामा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । अस्पतालमा कोभिडका लागि जनरल बेड ९०, एचडीयू ४०, आइसीयू ११ र ३ भेन्टिलेटर छन् ।
कोभिडको दोस्रो महामारीलगत्तै क्यान्सरका बिरामीको चापमा कमी आएपछि अस्पतालले क्यान्सरबाहेकका अन्य कोरोना सङ्क्रमितको पनि उपचार गर्ने गरी वार्ड तयार पारेको हो । अस्पतालको आफ्नै कोभिड–१९ प्रयोगशालासमेत छ । अहिलेसम्म जेनेतेन अक्सिजनको व्यवस्थापन गरिरहेको बताउँदै कार्यकारी निर्देशक डा. देजकुमार गौतमले भन्नुभयो, “बिरामी थपिँदै जाँदा चुनौति पनि थपिदै गएको छ ।” उहाँका अनुसार अधिकांश सङ्क्रमित अक्सिजनको सहारामा उपचार गर्नुपर्ने अवस्थाका रहेका छन् । अहिले हाइफ्लो अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो । “अहिलेको मुख्य समस्या अक्सिजन व्यवस्थापनै हो ।”
उहाँले आवश्यक उपकरण थप गर्दै सङ्क्रमितको उपचारलाई सहज बनाइने बताउनुभयो । अक्सिजन लिक्युड प्लान्ट जडानका लागि बोलपत्र प्रक्रिया अघि बढेको गौतमले जानकारी दिनुभयो । सो प्लान्ट सञ्चालनमा आउन करिब २ महिना लाग्ने देखिन्छ । सो प्लान्टले एकै पटकमा १ सय ५० सिलिन्डर भर्नसक्नेछ ।
अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माका अनुसार अस्पतालमा ३६ जना एचडीयुमा, ७ जना आइसीयू २ जना भेन्टिलेटरमा सङ्क्रमित उपचारमा रहेका छन् । कोभिड वार्डबाट हालसम्म २१ जना डिस्चार्ज भएका छन् । १७ जनाले ज्यान गुमाएका छन् । “हामीसँग १–२ घण्टाको पनि रिजर्व गर्ने क्षमता छैन”, शर्माले भन्नुभयो “अक्सिजन लिन गएको गाडी बीच बाटोमै बिग्रेमा वा प्लान्टमा केही ढिलो भएमा यता बिरामी थप जोखिममा पुग्ने अवस्था छ, यस्ता समस्या दिनहुँ भोगिरहेका छौँ ।”
स्थानीय प्रशासनले समन्वय गरिदिए कोभिडका जटिल बिरामीको उपचार गर्नसक्ने अवस्थामा आइपुगेको उहाँले बताउनुभयो ।
पीसीआर रिपोर्ट ढिला आउँदा बढ्यो जोखिम
तनहुँको व्यास नगरपालिकाले गत जेठ २ र ३ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठायो । कोरोना सङ्क्रमण बढेपछि नगरपालिकाले पीसीआरको दायरा बढाउँदै स्वाब सङ्कलन गरी परीक्षणका लागि पठायो ।
स्वाब पठाएको एक हप्ता बित्दासमेत प्रदेशले रिपोर्ट पठाएको छैन । रिपोर्ट आउनै ढिला भएपछि कोरोना जोखिम झन् बढेको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका–१० का एक व्यक्तिले स्वाब दिएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा मानसिक तनाव भएको बताउनुभयो ।
नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिपोर्ट ढिलाइ भएको बारे प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग जानकारी माग गरिएको बताउनुभयो । “पीसीआर रिपोर्ट आउन ढिलाइ भएकोले समस्या भएको छ, के कारणले ढिलाई भएको हो जानकारी मागेका छौँ”, न्यौपानेले भन्नुभयो ।
नगरपालिकामा हालसम्म ६ सय ५९ जनाको पीसीआर स्वाब परीक्षण गरिएकोमा तीन सय ५७ जना सङ्क्रमित भई एक सय २२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यसमध्ये दुई सय २४ जना उपचारको क्रममा छन् भने ११ जनाको मृत्यु भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने प्रदेशभरबाट स्वाब थुप्रिएकाुले रिपोर्टमा ढिलाइ भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *