भर्खरै :

भर्चुअल गतिविधि बढेसँगै बढ्यो मोबाइलको आयात, आयातको सूचीमा मोबाइल पहिलो

काठमाडौँ, ११ जेठ । कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल) गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक २०७७÷७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ ।
तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपैयाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल आयात गरेको छ । मोबाइल आयातबाटै नेपालले पाँच अर्ब रुपैयाँभन्दा बढी भन्सार राजस्व प्राप्त गरेको छ । जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपैयाँको मोबाइल आयात भएको थियो ।
तुलात्मकरूपमा यसअघि आव २०७४÷७५ को वैशाखसम्म सबैभन्दा धेरै २१ अर्ब १७ करोड रुपैयाँको मोबाइल आयात भएको तथ्याङ्क छ । चालू आवमा भने मोबाइल आयातको यसअघिको सबै ‘रेकर्ड’ तोडिएको हो ।
उच्च सङ्ख्यामा मोबाइल आयात हुँदा नेपालले धेरै आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा परेको छ । मोबाइलभन्दा धेरै आयात हुनेमा डिजेल, अर्धप्रशोधित फलामका उत्पादन, कच्चा भटमास रहेका छन् । विभागको तथ्याङ्कअनुसार वैशाखसम्म यी वस्तुको आयात क्रमशः ७० अर्ब, ५७ अर्ब र ३७ अर्ब रुपियाँ नाघेको छ । मोबाइलपछि सबैभन्दा धेरै एलपी ग्यासको आयात भएको देखिन्छ । जुन २९ अर्ब ५१ करोड रुपैयाँको आयात भएको तथ्याङ्क छ ।
गोरखापत्र अनलाइनका अनुसार चालू आवको १० महिनामै नेपालको निर्यात एक खर्ब नाघेको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहासमा एक खर्ब नाघेको पहिलो पटक हो । भन्सार विभागका अनुसार वैशाखसम्म नेपालले एक खर्ब आठ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु निर्यात गरेको छ । अघिल्लो आवको वैशाखको तुलनामा यो ३२.१९ प्रतिशतले बढी हो । त्यतिबेला नेपालको निर्यात करिब ८२ अर्ब रुपैयाँ थियो ।
वि. सं. २०६४ मा नेपालको निर्यात एक खर्ब पु¥याउने सरकारको लक्ष्य करिब डेढ दशकपछि पूरा भएको हो । चालू आवमा नेपालको निर्यात एक खर्ब नघाउन भटमास तेलको महत्वपूर्ण योगदान छ । वैशाखसम्म नेपालले ३५ अर्ब ७५ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात गरेको छ तर ठूलो परिमाणमा कच्चा भटमास ल्याएर नेपालमा प्रशोधनमार्फत मूल्य अभिवृद्धि गरी निर्यात हुँदै आएकाले यसको दिगोपनको सन्दर्भमा भने आशङ्का हुने गरेको छ ।
भटमासको तेलपछि पाँच अर्ब ९० करोड रुपैयाँको अलैँची निर्यात भएको छ । त्यसपछि तीन अर्ब २२ करोडको गलैँचा, तीन अर्ब एक करोडको ऊनी कपडा र तीन अर्बको कालो चिया मुख्य निर्यात भएका वस्तुहरू रहेका छन् ।
निर्यातले एक खर्बको सीमा पार गरे पनि आयात उत्तिकै चुलिएको छ । गत आवको तुलनामा चालू आवमा २२.३४ प्रतिशतले आयात बढेर १२ खर्ब ५४ अर्ब रुपैयाँ नाघेको छ । यसले व्यापार घाटाको आकार २१.४८ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब रुपैयाँ पु¥याएको छ । (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *