भर्खरै :

फ्रन्टलाइन फाइटर – ७, स्वाब सङ्कलन गर्न जाँदा शौचालय प्रयोग गर्न दिन अनकनाए

 (सोनी कोजू दुई वर्षदेखि म्याग्दी जिल्लाको बेनी अस्पतालमा प्रयोगशाला स्वास्थ्यकर्मीको रूपमा काम गरिरहनुभएको छ । कोभिड–१९ महामारीलाई अग्रमोर्चामा उभिएर सामना गरिरहनुभएका हजारौँ स्वास्थ्यकर्मीहरूका प्रतिनिधि पात्र उहाँले म्याग्दीका दुर्गम गाउँ–गाउँसम्म पुगेर कोभिड–१९ का बिरामीलाई समयमै उपचार गराउन मद्दत गर्दै आउनुभएको छ । कोभिड–१९ महामारीको प्रतिरोधमा फ्रन्टलाइनमा बसेर लडिरहेका फ्रन्टलाइन फाइटरहरूका भावना र विचार प्रकाशित गर्ने क्रममा सोनीसँगको कुराकानीमा आधारित लेख प्रस्तुत छ । यो संवाद गर्दासम्म बेनीको दुई वर्षे सेवा सकेर सोनी पोखरामा सरुवा भइसक्नुभएको छ ।)
कोभिडसँगको लडाइँ
अघिल्लो वर्ष कोभिड–१९ को पहिलो लहर सुरु भएदेखि नै म्याग्दी जिल्लामा कोभिड परीक्षणको जिम्मेवारी समाल्दै आएको छु । जिल्ला स्वास्थ्य कार्यालयका एक जना अधिकारी र बेनी अस्पतालको तर्फबाट म समेत म्याग्दी जिल्लाबाट दुई जनाले कोभिड–१९ परीक्षणको तालिम लिएका थियौँ । तालिमपछि हामी दुई जनाले कोभिड परीक्षणको जिम्मेवारी समालिरहेका थियौं । स्वास्थ्य कार्यालयका कर्मचारी पीसीआर परीक्षणको जिम्मेवारीसहित अन्यत्र खटाइनुभयो । त्यसपछि बेनी अस्पतालमात्र होइन, सिङ्गो म्याग्दी जिल्लाकै कोभिड–१९ को स्वाब सङ्कलनको काम मैले नै समाल्दै आएकी छु ।
प्रारम्भिक दिनहरूमा तालिम प्राप्त जनशक्ति नहुँदा काम गर्न सजिलो थिएन । तालिम लिएका हामी दुई जनामात्र थियौँ । अस्पतालको नियमित प्रयोगशाला परीक्षणको कामका साथै स्वाब सङ्कलनको काम पनि थपिँदा हामीलाई भ्याइनभ्याइ थियो । त्यसकारण, गत वर्ष कोभिड–१९ को सङ्क्रमण सुरु भएयता म एक दिन पनि बिदामा बसेकी छैन ।
म्याग्दी जिल्लामा पहिलो लहरको सङ्क्रमणको व्यवस्थापन निकै राम्रो भएको थियो । त्यत्तिबेला कोरोना सङ्क्रमणको सङ्ख्या कमै थियो । विदेशबाट फर्केकाहरूमा मात्र कोरोनाको सङ्क्रमण देखिएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति (डीसीएमसी) ले विदेशबाट फर्केकाहरूलाई क्वारेन्टिनमा राख्न एउटा विद्यालय र क्याम्पसमा व्यवस्था गरेको थियो । विदेशबाट फर्केकालाई त्यहीँ राखिन्थ्यो । क्वारेन्टिनमा बसेको चार–पाँच दिनपछि मात्र पीसीआर परीक्षण गरिन्थ्यो । परीक्षणमा पोजिटिभ आए अलगै आइसोलेसन केन्द्रमा पठाइन्थ्यो र निगेटिभ आएमात्र घर फर्काउने व्यवस्था गरिएको थियो । त्यसले सङ्क्रमण गाउँ गाउँ फैलिन दिएन । तर, कोही कोही मानिस भने अनेक बहानाबाजीमा होल्डिङमा नबसी घर गइदिँदा केही ठाउँमा कोभिडको सङ्क्रमण देखाप¥यो । त्यसपछि हामी कन्ट्याक्ट ट्रेसिङको लागि बेनी नगरपालिकाका विभिन्न वडा र म्याग्दीका अन्य स्थानीय पालिकाहरूमा दौडिनुप¥यो । म्याग्दी भौगोलिकरूपमा ठुलै जिल्ला हो । त्यसकारण, स्वाब सङ्कलनको लागि जान–आउन कम्तीमा एक दिन त लाग्थ्यो नै । त्यही क्रममा म्याग्दी जिल्लाका विभिन्न हिमाली क्षेत्रमा पुग्ने अवसर प्राप्त भयो । हामी विभिन्न ठाउँमा गएर स्वाब सङ्कलन गथ्र्यौँ र प्याकिङ गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाउने गथ्र्यौं ।
सुरु सुरुमा त कोरोना भनेबित्तिकै गाउँ–घरमा मानिसहरू निकै डराएका थिए । लकडाउन पनि थियो । स्वाब सङ्कलनको लागि हामी गाडीमा जान्थ्यौँ । गन्तव्य पुग्न कम्तीमा तीन–चार घण्टा यात्रा गर्नुपथ्र्यो । स्वाब सङ्कलन गर्न गएको टोली भन्ने कुरा थाहा पाएपछि बीच बाटोमा हामीलाई शौचालयसमेत प्रयोग गर्न दिन मानिसहरू मान्दैनथे । नमिठो लाग्थ्यो । तर, हामीले त्यो अवधिमा राम्रै काम ग¥यौँ जस्तो अनुभव हुन्छ । स्वाब सङ्कलनबाहेक अस्पतालको प्रयोगशालाका अन्य परीक्षण पनि गरिरह्यौँ ।
दोस्रो लहरको सङ्क्रमण फैलिएपछि हामीलाई काम गर्न अझ चुनौतीपूर्ण बन्यो । यो पटकको सङ्क्रमणमा सङ्क्रमितहरू विदेशबाट फर्किनेमात्र त थिएनन् । स्थानीयरूपमै सङ्क्रमण फैलिएको थियो । बिरामीको सङ्ख्या बढ्दै गएपछि उनीहरूलाई राख्न ठाउँ हामीलाई समस्या भयो । पहिला तालिम केन्द्रको भवनमा आइसोलेसन केन्द्र राखिएको थियो । तालिम केन्द्रले सो भवन आफ्नै प्रयोजनको लागि दिन नसकिने भनेपछि बिरामीलाई राख्ने ठाउँको अभाव भएको थियो । अहिले अस्पतालकै अलग आइसोलेसन केन्द्र बनाएपछि त्यो त्यत्ति ठुलो समस्या रहेन ।
बेनी अस्पतालले चार–पाँच महिनाअघि नै आफ्नै अक्सिजन प्लान्ट स्थापना गरेकोले त्यहाँ अक्सिजनको त्यत्ति समस्या भएन । अस्पतालमा भर्ना भएका बिरामीलाई अस्पतालको प्रणालीबाटै अक्सिजन दिन मिल्ने व्यवस्था गरिएको छ । बेलैमा अक्सिजन प्लान्ट बनाउने निर्णय गरेर बुद्धि पु¥याए जस्तो लाग्छ ।
दोस्रो सङ्क्रमण चुनौतीपूर्ण थियो । बिरामीको सङ्ख्या धेरै भएपछि अस्पतालमा राख्ने ठाउँ भएन । बिरामीको अवस्था हेरी गम्भीर खालका बिरामीलाई अस्पतालमा भर्ना गरियो भने अरूलाई घरमै आइसोलेसनमा बस्न फर्काइयो । घरमा बस्ने सङ्क्रमितलाई अस्पतालका सबै चिकित्सकको फोन नम्बर दिइएको हुन्छ । कुनै स्वास्थ्य समस्या भए बिरामी वा परिवारले चिकित्सकसँग सीधा सम्पर्क गर्नसक्ने व्यवस्था गरिएको छ ।
बीचमा केही साता उच्च चापीय (हाइफ््लो) अक्सिजन नै लिनुपर्ने बिरामीको सङ्ख्या बढ्न थालेपछि अस्पताल र स्वास्थ्यकर्मीहरूलाई गा¥हो भएको थियो । तर, अस्पतालले तत्कालै निर्माणाधीन भवनमा पनि आकस्मिक प्रबन्ध मिलाउँदा अहिले अलि सहज बन्दै गएको छ ।
बिरामीले आफूसँग भएको रोग लुकाउनाले अहिले महामारी नियन्त्रण गर्न गा¥हो भइरहेको देखिन्छ । आफूलाई केही असजिलो भए एकपल्ट पीसीआर परीक्षण गराउनु नै उत्तम उपाय हो । भोलि के हुन्छ, कसलाई के थाहा ¤ अस्पताल वा स्वास्थ्यकर्मीको सम्पर्कमा ढिला आउँदा स्वास्थ्यकर्मीको हातमा पनि केही उपाय बाँकी रहँदैन । जसोतसो अक्सिजन चलाए पनि बिरामीलाई बचाउन नसक्ने हुन्छौँ । अस्पतालमा शøया अभावको समस्या त छँदैछ । बिरामी अस्पतालमा ढिला आइदिँदा म्याग्दीजस्तो जिल्लामा त बिरामीलाई चाहेर पनि जोगाउन कतिबेला समस्या हुने गर्छ । बेनी अस्पतालबाट उपचार सम्भव नभए या त पोखरा या त काठमाडौँ पठाउनुपर्ने हुन्छ । बेनीबाट पोखरा पुग्नै नपाई कति बिरामीको निधन भइरहेको हुन्छ ।

बेनी अस्पतालमा सोनी


कतिपय अवस्थामा ‘माथिल्लो’ निकायको दबाबबीच काम गर्नुपर्ने हुन्छ । सरकारले बनाएको नियमअनुसार पीसीआर पोजिटिभ आएको दसपछि भाइरस नसर्ने भएकोले पुनःपरीक्षण गर्न आवश्यक हुँदैन । तर, बेनीमा एक दुई जना उच्चपदस्थ सरकारी अधिकारीहरूले पुनः परीक्षणको लागि दबाब दिन थालेपछि हामीले सरकारी नियम देखाएर फर्काउनु परेको छ । सुरुमा एकाधबाहेक म्याग्दीमा हामीले कसैको पनि पुनः परीक्षण गरेनौँ । म्याग्दीमा स्वयम्सेवी भावनाले काम गर्ने सामाजिक कार्यकर्ताहरू पनि भएकाले हामीलाई काम गर्न अझ सहज अनुभव भएको छ ।
अस्पतालमै कोभिड–१९ का बिरामीको निधन हुनथालेपछि शव व्यवस्थापनमा पनि सक्दो सहायता गर्न हामी अघि स¥यौँ ।
पहिलो र दोस्रो लहर
पहिलो लहरको सामना गर्न हामीसँग तयारी गर्ने समय थियो । त्यसकारण, व्यवस्थितरूपमा काम गर्न सक्यौं । दोस्रो लहरको सामनाका लागि तयारी गर्न हामीलाई समय पुगेन । पहिले जस्तै क्वारेन्टिनको व्यवस्थापन गर्न सकेनौं । पहिला कोभिडका बिरामीहरूको सङ्ख्या नै कम थियो । एक सय जनामा परीक्षण गर्दा १०–१५ जनामा मात्र पोजिटिभ देखिन्थ्यो । तर, अहिले एक सय जनाको परीक्षण गर्दा ६० जनामा पोजिटिभ आइरहेको देख्छौं । अहिले गाउँ–गाउँसम्म सङ्क्रमण फैलिसकेको छ । आइसोलेसनमा बस्नुपर्ने मान्छे नबसिदिंदा सङ्क्रमण अनियन्त्रित भएको छ । पहिलो लहरमा स्वाब सङ्कलन गर्न म आफैं सबैतिर भ्याउँथेँ । तर, यो पटक भने बिरामीको सङ्ख्या बढेसँगै एक्लैले भ्याउन सम्भव नै भएन । सबै स्थानीय तहले पनि सजगतापूर्वक काम गरिरहेको हुनाले अहिले काम गर्न सहज भएको अनुभव हुन्छ ।
पहिलो लहरमा अहिलेभन्दा मानिसहरू निकै डराउँथे । अस्पतालका अरू स्वास्थ्यकर्मीहरूसमेत हामीसँग डराएजस्तो लाग्थ्यो । कोभिडको तालिम लिएलगत्तै ‘सकेसम्म सुरक्षित रहने, लागिहाले पनि नमरोस्, तर जे गर्नुपर्ने हो, हामीले नै गर्नुपर्छ’ भन्ने भावनाले काम थालेका थियौं । दोस्रो लहरको चापसँगै केही हुने हो कि भन्ने भावना आएको थियो । तर, समयमै रोग पहिचान गरी उपचार गरे केही हुँदैन भनी मन बलियो बनाउँदै गयौं । खोप लगाइसकेकोले पनि अलि आत्मविश्वास बढेको हो कि जस्तो लाग्छ ।
परिवार
प्लस टु सके यता मेरो आफ्नोबारेमा सबै निर्णय म आफैले गर्दै आएको छु । अरू काम गर्दा पनि सुरुमा परिवारले सजग बनाउँछ । उपत्यका बाहिर कस्तो हुन्छ भनेर स्नातक पढ्न उपत्यकाबाहिर गएँ । स्नातकपछि दुर्गम क्षेत्र कस्तो हुन्छ भनी अनुभव गर्न म्याग्दीमा काम गर्न आएँ । म्याग्दी बसेको पनि दुई वर्ष भयो । आमाबुबा कहिले काठमाडौँ आउने भनी सोधिरहनुहुन्छ । व्यस्तताको कारण दैनिक घरमा सम्पर्क गर्न सकिरहेको छैन । उहाँहरूको माया र भावनालाई सम्मान गर्दै अहिले नगरे कहिले गर्ने भन्ने भावनाले आफ्नो काम गर्दै छु ।
सन्देश
कोरोनालाई ख्यालठट्टाको रूपमा नलिऔँ । कुनै लक्षण देखिनेबित्तिकै परीक्षण गरौँ, उपचार गरौँ । समयमै चिकित्सकको सम्पर्कमा जानुहोला । समयमै रोग पत्ता लागे स्वास्थ्यकर्मीले पनि केही गर्नसक्नुहुन्छ । नत्र, समाजमै सङ्क्रमण फैलिन्छ । परिवारलाई पनि हामीले बिरामी बनाउँदै गरेको हुनसक्छ । लकडाउनको समय छ । घरबाहिर ननिनस्कनु होला । सुरक्षित रहनुहोला ।
प्रस्तुति : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *