अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
आज देशमा कोरोना महामारीको दोस्रो लहर चरममा छ । दैनिक आठ हजारको दरमा नयाँ सङ्क्रमित बढिरहेका छन् । तर, यो सङ्ख्या त पीसीआर परीक्षण भएकाहरूको मात्र हो । कोरोनाको लक्षण देखिएर पनि पीसीआर जाँच नगराएकाहरू पनि कम छैनन् । हाम्रो टोल समाजमा कतिपय लक्षण देखिएका र नदेखिएका सङ्क्रमितहरू खुला घुमिरहेका छन् । यसको सबैभन्दा मुख्य कारण समाजमा वैज्ञानिक शिक्षाको कमी हो । त्यसैले हामी हेलचक्राइँ गर्नेहरूको मुखबाट सुनिरहेका छौँ – आँखाले नदेखिने भाइरस पनि हुन्छ र ? भए पनि त्यसलाई मास्क वा भाइजरले रोक्न सक्छ र ?
रोगप्रतिरोध क्षमता भनेको केही होइन, भाग्य मुख्य हो । भाग्य बलियो भए कुनै रोगले मार्न त के छुन पनि सक्दैन, भाग्य बलियो नभए जे पनि हुनसक्छ । तर, तिनीहरूको त्यस्तो हेलचक्राइँको परिणामस्वरूप तिनीहरूले मात्र होइन तिनीहरूका परिवारका अरू सदस्यहरू, छिमेकी र टोल समुदायले नै अकल्पनीय पीडा र समस्या भोग्नु परिरहेको छ ।
यसमा प्रत्यक्षतः अज्ञानी मानिसहरूमात्र होइनन् राज्य र सरकारहरू पनि उत्तिकै जिम्मेवार छन् । राज्यले आजसम्म विज्ञानमा आधारित शिक्षालाई जोड नदिँदा समाजमा वैज्ञानिक ज्ञान विस्तार हुन सकेको छैन । यो कोरोना सोरोना केही पनि होइन, सामान्य रूघाखोकी हो, यसो बेसारपानी तताएर खाएपछि चट हुन्छ, नेपालीहरूको रोग प्रतिरोध क्षमता प्राकृतिकरूपमै बढी छ, कुनै भाइरसले केही लछार्न सक्दैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नै विज्ञान र रोगको समझदारीबारे हाम्रो समाजको स्तर छर्लङ्ग भएको छ । रामायण, महाभारत, कुरान र बाइबल पढेर शिक्षित भएका सर्वसाधारणले माथिका अभिव्यक्ति दिनु कुन आश्चर्य भयो र ?
आज हामीसित कोरोना भाइरसको महामारीसित लड्न मास्क बनाउने कपडा छैन, पीपीई बनाउन प्लास्टिक मिसिएको कपडासम्म छैन । हामी आफ्नो देशमा भेन्टिलेटर बनाउन सक्दैनौँ, अक्सिजन सिलिन्डरसम्म बनाउन सक्दैनौँ । अक्सिजनका लागि मात्र होइन, मास्क, पञ्जा, बुट, भाइजर आदिका लागि छिमेकी देशहरूकै भरमा छौँ । यी वस्तुको अभावमा पनि कोरोनाजन्य रोगको महामारीको सामना गर्न सकिरहेका छैनौँ र सङ्कट विकराल बनेको छ । आजको यो सङ्कट विज्ञान शिक्षालाई बेवास्ता गर्दाको परिणाम हो । विदेशमा विज्ञान पढेर स्वदेशमै केही गरौँ भनेर देशमा फर्केका र बसिरहेका वैज्ञानिक, चिकित्सक, इन्जिनियरहरूलाई प्रोत्साहनको कुरै छोडौँ, अवसरसम्म छैन । हाम्रा जरूरतका हरेक कुरा विदेशबाट आयात गरेर सरकारले भन्सार कर उठाउने र निर्णयको स्थानमा रहेका अधिकारीहरूले कमिसन खाने नै हाम्रो राष्ट्रिय संस्कारजस्तै बनेको छ ।
Leave a Reply