भर्खरै :

जसपाभित्र स्पष्टीकरणको दोहोरी

जनता समाजवादी पार्टी एकीकरण भएको स्वाद लिन नपाउँदै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्र देखिएको एउटा विवाद ओली सरकारलाई समर्थन गर्ने या नगर्नेसम्बन्धी हो । एक पक्ष ओलीको सरकारमा कुनै हालतमा नजाने र अर्को जान्नैपर्ने पक्षमा छ । एक थरीका नेताहरू सरकार ढाल्ने पक्षमा छन् भने अर्का नेताहरू सरकार कायम राख्ने पक्षमा छन् । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओली सरकार ढाल्न या विरोधमा लागेको कारण उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका नेताहरूसँग स्पष्टीकरण लिएको छ भने यादव र भट्टराई पक्षले पार्टीको निर्णयविना ओली सरकारको समर्थन ग¥यो भनी महन्थ ठाकुर पक्षसँग स्पष्टीकरण लिएको छ । यसरी अहिले जसपाभित्र स्पष्टीकरणको दोहोरीमात्र होइन कारबाहीको प्रक्रिया अघि बढाउने होड चलेको छ । सारमा अन्तरविरोधको कारण सत्तामुखी राजनीति नै हो ।
जसपाभित्र विभिन्न विचार र दृष्टिकोणका नेताहरू छन् । नेका, एमाले, माओवादी छोडेका नेताहरू सम्मिलित पार्टी हो जसपा । तराईका उत्पीडित, शोषित जनजातिमाथि हैकम जमाउने सामन्त र जमिनदारहरूको सम्मिलित दल हो जसपा । जसपाले कुनै दर्शन र विचारको प्रतिनिधित्व गरेको छैन । जसपाको स्पष्ट दृष्टिकोण छैन । जसपाभित्र कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेझैँ अनेक चिन्तन र सोचका नेताहरू सम्मिलित भएकोले पनि दलले स्पष्ट दृष्टिकोण राख्न नसकेको हो, स्पष्ट निर्णय गर्न नसकेको हो ।
जसपा शोषित पीडित जनताको हित या सेवामा गठन भएको दल होइन । तराईका उत्पीडित जनजातिमाथि हैकम चलाउन, दमन गर्न या उनीहरूको जीवनस्तर नउठाउन खोलेको जसपा सरकारमा गए पनि नगए पनि केही फरक पर्नेछैन । सङ्कीर्ण, साम्प्रदायिक, जमिनदार, शोषक(हरूको हकहितमा खोलिएको जसपा बहुमत जनताविरोधी दल हो । पार्टी ठुलो बनाउन, बढी सीट जित्न र सरकारमा गएर सेवा सुविधा बढीभन्दा बढी लिन नै एकीकृत भएको पार्टी हो । सानो दल टिक्न सकिँदैन, केही गर्न सकिँदैन भन्ने मानसिकताका कारण एकता भएको पार्टी हो जसपा । यो कुरा विगतमा मधेसी दल खोलेर गरेको गतिविधि र पछि विभिन्न दल छोडेका नेताहरूको क्रियाकलापले पुष्टि गर्छ । जसपाभित्रको अन्तरकलह विगतमा नेकपाभित्र रहेका एमाले र माओवादी केन्द्रको जस्तै अन्तरकलह हो । सत्ताको लागि उनीहरू छिनछिनमा मिल्छन् छिनछिनमा फुटको सङ्घारमा पुग्छन् । दलको स्पष्ट विचार र दृष्टिकोण नहुनाले पनि यो समस्या देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *