भर्खरै :

फ्रन्टलाइन फाइटर – ९ / बिरामीको सेवा नै नर्सको धर्म

कोरोना सङ्क्रमितहरूको सङ्ख्या फेरि बढेपछि भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्र (कोभिड युनिट) सञ्चालन ग¥यो । उक्त केन्द्रमा जेठ १३ गतेसम्मको अभिलेखअनुसार ४२ जना सङ्क्रमितहरू थिए । दुई देखि ७२ वर्षसम्मका सङ्क्रमित पीडितहरू रहेको सो केन्द्रमा २४ सै घण्टा स्वास्थ्यकर्मीहरू सेवामा संलग्न छन् । कोरोना सङ्क्रमितहरूको स्वास्थ्य सेवामा संलग्न स्टाफ नर्सहरूमध्ये भनपा वडा नं. ४ गपली बस्ने सन्दिपा नागाजू पनि एक हुन् ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थान, च्याह्मासिहमा अध्ययन गरेका स्टाफ नर्स सन्दिपा २०७७ चैत १० गतेदेखि भनपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा कार्यरत छिन् ।
ब्रह्मायणीस्थित आइसोलेसन केन्द्रमा रहेका कोरोना सङ्क्रमितहरूको स्वास्थ्य सेवा गर्न ८/८ घण्टाको समय मिलाएर २४ सै घण्टाको सेवा सुविधा मिलाइएको छ ।
स्टाफ नर्स नागाजुका अनुसार ख्वप अस्पतालको कोभिड युनिटमा बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरू पनि सङ्क्रमित रहेका छन् । केन्द्रमा बिरामीको आवश्यकताअनुसार औषधिदेखि अक्सिजनको व्यवस्था गरिएको छ । बिहीबारसम्मको तथ्याङ्कअनुसार उक्त केन्द्रमा ७ जना सङ्क्रमितको लागि अक्सिजनको व्यवस्था गरिएको छ । अशक्तहरूलाई शौचालय पु¥याउने, खानपिनको व्यवस्था, बिरामीको स्थिति र आवश्यकताअनुसार औषधि, तातोपानी आदिको व्यवस्था मिलाइएको छ । स्वास्थ्यकर्मीहरूको लागि पनि मास्क, पञ्जा, फेस शिल्ड, क्याप, जुत्ता, स्यानिटाइजर र पोशाकको व्यवस्था छ ।
कोरोना सङक्रमितहरूको के–कस्तो सेवामा संलग्न भएर काम गरिरहेको छ भन्ने प्रश्नको जवाफमा स्टाफ नर्स नागाले भनिन्, “पहिलो चरणको कोरोना सङ्क्रमणमा स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम गथ्र्यौँ, सङ्क्रमितहरूलाई नछोइकन आवश्यक स्वास्थ्य सेवा र अन्य सेवा पु¥याउँछौँ । अहिले त रोग डरलाग्दो भने तापनि बिरामीसँगै भिजेर हातले समाइसमाइ सेवा पु¥याउनुपर्छ ।
सङ्क्रमितहरूको सेवामा लाग्दा आइसोलेसन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूलाई कोरानाले छोएन त भन्ने अर्को प्रश्नको जवाफमा उनले भनिन्, “रोगको लक्षण त खासै देखिएन । तर, स्वाब परीक्षण गर्दा चिकित्सक, नर्स, सरसफाइ कर्मचारी र एम्बुलेन्स चालक पनि कोरोनाबाट पीडित भए । उनीहरूको आइसोलेसन केन्द्रमै राखेर उपचार भएको छ ।
“रोग लाग्ला भनेर पछि हट्न पनि मिलेन । बिरामीहरूको सेवा गर्नु नै स्टाफ नर्सको दायित्व हो, सजिलो–गा¥हो, डरलाग्दो भने पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ”, स्टाफ नर्स नागाले भनिन् ।
आइसोलेसन केन्द्रमा गरिएको स्वास्थ्य सेवा र भइरहेको सहयोगबारे कोरोना पीडितहरूको राय–सुझाव या गुनासो केही छ कि भन्ने जिसामा उनले भनिन्, “यहाँको स्वास्थ्य सेवा, हेरविचार, खानपिन तथा अन्य बन्दोबस्त चित्त बुझेर निको भएका नागरिकहरूले आशीर्वाद मात्र दिएनन् चन्दा पनि राखेका छन् । हाम्रो सद्भाव र व्यवहार देखेर धेरै मानिसहरू खुसी भए । कतिले ढाडस दिए । कतिले यस्तै खालको सेवामा निरन्तरता दिनुपर्छ भनी सल्लाह, सुझाव पनि दिए । सङ्क्रमितहरू आइसोलेसन केन्द्रमा ल्याउँदा ल्याउँदै रोग चर्को भएर नबसी अस्पतालमा जाने सङ्क्रमितहरू पनि देखिए ।”

दोस्रो चरणमा कोरोना सङ्क्रमितहरू एकाएक बढ्न थालेपछि आइसोलेसन केन्द्रमा ६० जनासम्म पीडितहरूको सङ्ख्या पुगेको थियो ।
स्टाफ नर्स सन्दिपा नागाका अनुसार सुरूमा अक्सिजन दिनुपर्ने सङ्ख्या १२ पुगेको थियो ।
स्टाफ नर्स भएर कोरोना रोगीहरूसँग काम गर्नुपर्दा माता–पिता के भन्नुहुन्छ भन्ने जिज्ञासामा स्टाफ नर्स नागाले भनिन्, “स्टाफ नर्सको काम नै रोगी या बिरामीको सेवा गर्नु हो । कामबाट मातापिताहरू सन्तुष्ट नै हुनुहुन्छ । तर, घर–परिवारबाट अलग या टाढा बस्नुपर्दा केही समस्या आउनु या अभिभावकहरू चिन्तित हुनु स्वाभाविकै हो ।”
२०७५ मा पीसीएल नर्सिङ्ग गरेकी सन्दिपाले मध्यपुर अस्पतालमा पनि ५/६ महिना काम गरिसकेकी छिन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डाइलासिसको तालिम प्राप्त गरेकी सन्दिपा आफ्नो कामप्रति सन्तुष्ट नै छिन् ।
आइसोलेसन केन्द्रलाई अझ भरपर्दो, विश्वासिलो र प्रभावकारी बनाउन थप केही गर्नुपर्ने खाँचो छ कि भन्ने जिज्ञासा राख्दा उनले भनिन्, “एउटा बेडमा कोरोना सङ्क्रमित बसेपछि त्यो बेड ७२ घण्टा खाली गर्नुपर्ने मान्यता छ । कोरोना सङ्क्रमितहरूको चाप बढेको बेला सोही बेडमा राख्नुपर्ने स्थिति पनि आयो । आईसीयू राख्न पाए सुनमा सुगन्ध हुनेछ ।”
आफ्नो कामप्रतिको सन्तुष्टिबारे प्रश्नको जवाफमा उनले भनिन्, यो क्षेत्रमा काम गर्न पाउँदा हर्षित छु, आफ्नो कामप्रति सन्तुष्ट छु ।
आइसोलेसन केन्द्रमा साथी सन्दिपा नागालाई मञ्जु छुकां र सुमि खर्बुजा पनि साथ दिन्छन् ।
कोरोना पीडितहरू आइसोलेसन केन्द्रमा कति दिन बस्नुपर्छ भन्ने जिज्ञासाको जवाफमा दुवैले पीसीआर गरेदेखि १० दिन बस्नुपर्छ, एघारौँ दिनमा घर पठाइन्छ तर घर पठाए पनि एक हप्ता अलग्गै बस्न आग्रह गर्छौँ भने । “स्वास्थ्य स्थिति सुधार नभएमा बिरामीको केसअनुसार थप समय आइसोलेसन केन्द्रमा राख्न पनि सकिन्छ, दुवैले भने ।
“बुद्धि र विवेकले भ्याएसम्म काम गरिरहेका छौँ । एक स्वास्थ्यकर्मीको हिसाबले आफ्नै नगरवासीहरूको स्वास्थ्य सेवा गर्न पाउँदा हामी अझ बढी खुसी छौँ”, दुवैले एकै स्वरमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *