भर्खरै :

“डाक्टर साहेब ! म औषधि खान्न !”

कथा
अस्पतालको ओपीडीमा बिरामीहरू जाँच्दै थिएँ । एक्कासि मोबाइलको घण्टी बज्यो । मैले बिरामीलाई एकछिन भन्दै मोबाइल उठाएँ । उठाउनेबित्तिकै “डा. साहेब मलामी जानुप¥यो, हाम्रो घरसँगैको काका बित्नुभएछ, हनुमानघाटमा छिटो आउनू” भनी फोन राख्नुभयो । दोहोरो कुरा नै गर्न पाइन । अनि म केही बिरामी हेरी बाँकी बिरामी आफ्नो डाक्टर साथीलाई हेर्नू भनी म हतारमा अस्पतालबाट निस्किएँ । काका कसरी बित्यो होला भनी मनमा कुरा खेलाउँदै हनुमानघाट पुगेँ । त्यहाँ थुपै्र आफन्त, साथीभाइहरू आइसकेका रहेछन् । गुठीयारहरू सबै आइनसकेकाले त्यहाँ सहभागीहरू झुन्ड झुन्ड बसेर कुरा गर्दै थिए । कुरा बुझ्दै जाँदा उहीँ काका पो रहेछ, जो मैले २–३ वर्ष पहिले मेरो क्लिनिकमा जाँच्न आउँदा उच्च रक्तचाप हुँदा औषधि खानुपर्छ भन्दा पछि खान्छु भनेर गएका थिए ।
लास उठाउन ढिला भएकोले मानिसहरू समूह समूहमा कुरा गर्दै थिए । हरेक समूहमा मृतककै बारे कुरा हुँदै थियो, “कति राम्रो मान्छे ! सबैलाई सहयोग गर्ने । कसैसँग झगडा नगर्ने । त्यस्तो व्यक्ति युवा उमेरमै बिते !” एउटा समूहमा टोलको एउटा भट्टी साहु पनि थिए जो पहिले काकालाई पैसा नलिइकन आउँछ, खाएर जान्छ भन्थे । आज त्यही साहुजी भन्दै थिए, “कस्तो इमानदार ! पसलमा आउँदा सुत्त एक गिलास रक्सी खाएर हो–हल्ला नगरी, कसैसँग झगडा नगरी जाने । अहिले कसरी बिते ?” जो व्यक्ति पैसा कमाउनकै लागि स्वास्थ्यलाई खराब गर्ने रक्सी खुवाउँथे, अहिले मरेकै व्यक्तिको उनले गुणगान गरे ।
एउटा समूह थियो जग्गा दलाली गर्नेहरूको । त्यही समूहका एकजनाले प्लानिङ्गमा परेको ब्यासीको जग्गा हात पार्न पैसा बैना दिएर रक्सी–चुरोट खानलाई सजिलो बनाइदिएको थियो । काकाका घरका सदस्यहरूले यो जालसाजी थाहा पाएपछि जग्गा पास गर्न नपाएकोले काकालाई जहाँ भेटे पनि गाली गर्ने, थर्काउने र तनाव दिने त्यो व्यक्तिले अहिले कस्तो राम्रो काका हुनुहुन्थ्यो, जहाँ भेटे पनि हास्ँदै चिया खानुभयो भनी भन्थ्यो !
यी तीन समूहको कुरा सुनेपछि मलाई अर्को समूहमा जान मन लागेन । यो कस्तो समाज रहेछ ! बाँचुञ्जेल रक्सी, चुरोट खान दियो, पैसा दिएन भनेर जथानाम गाली ग¥यो, घरका परिवारलाई नै थाहा नदिई सस्तोमा जग्गा पास गर्न रक्सी, चुरोट खान पैसा दियो आज मरेपछि यस्तो राम्रो, उस्तो राम्रो भन्ने !
काका उच्च रक्तचापको बिरामी भएको मैले झल्याँस सम्झिएँ । कतै हृदयघात वा मस्तिष्कघात भएर त बित्नुभएन ? दुई–तीन वर्षपहिले हात–खुट्टा दुखेर हो वा कुन्नि के भएर मलाई भेट्न आउनुभएको सम्झिएँ । त्यसबेला उहाँको रक्तचाप जाँच्दा १८०/१०० थियो । रक्तचाप उच्च देखिएकोले नियमित औषधि खान सुझाएको थिएँ । त्यसबेला काकाले आफूलाई केही नभएको भनी औषधि खान नपर्ने जवाफ दिएका थिए । मैले काकालाई भनेको थिएँ, “हेर्नुस् काका ! अहिले विश्वमा नसर्ने रोगबाट वर्षमा ४ करोड मानिसको ज्यान जान्छ । त्यसमध्ये १ करोड ५० लाख ३० देखि ६९ वर्षका व्यक्तिहरू पर्छन् । ८५ प्रतिशत मर्नेहरू हाम्रो जस्तो अविकसित र विकासोन्मुख देशका हुन्छन् । नसर्ने रोगबाट धेरै अर्थात् १ करोड ८० लाख जति त मुटुरोग र उच्च रक्तचापले मर्दछ । त्यस्तै क्यान्सरबाट ९३ लाख, श्वासप्रश्वास (दम) बाट ४१ लाख र चिनी रोग (डाइबिटिज) बाट १५ लाख मानिस मर्छन् । यसरी हेर्दा नसर्ने रोगबाट मर्नेको सङ्ख्या झन्डै ८० प्रतिशत हुन्छ । काकाले मेरो कुरा गम्भीरतापूर्वक सुन्नुभयो । मैले काकालाई उच्च रक्तचापको औषधि खान र आफूले थाहा पाएका रोगसम्बन्धी जानकारीहरू पनि बताएको थिएँ, “हेर्नुस् काका ! यी नसर्ने रोगहरू भनेको चुरोट, रक्सी अत्यधिक खाने र नियमित व्यायाम एवम् कसरत नगर्ने, सन्तुलित आहार नखानेहरूलाई लाग्छ । सायद, तपाईंले पनि धेरै रक्सी, चुरोट खानु भएकोले यस्तो भएको होला । त्यसकारण अहिलेदेखि नियमित औषधि सेवन गर्नुहोला । जाँड–रक्सी–चुरोट खाने बानी छोड्नुहोला ।”
मेरो कुरा सुनिसकेपछि काकाले जवाफ दिनुभयो, “होइन ! यो औषधि खाएपछि त सधैँ खानुपर्छ र बिर्सनु हुँदैन भन्छ नि ! मलाई उच्च रक्तचापको लक्षण देखापरेको पनि छैन ।” मैले फेरि सम्झाउने प्रयास गरेँ, “हेर्नुस् काका ! यो उच्च रक्तचापको लक्षण ६०–७० प्रतिशतलाई देखिँदैन । कसैकसैलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, स्वाँस्वाँ आउने, हात–खुट्टा झमझम हुने, समय–समयमा नाकबाट रगत आउनेजस्ता सामान्य लक्षण देखापर्छ । तर, कोही कोहीमा त विनालक्षण हृदयघात, मस्तिष्कघात, मृगौलाको खराबी तथा दृष्टि कमजोर हुँदै जान्छ भन्ने कसैको हृदयघातबाट एक्कासि निधन हुन्छ ।”
मेरो कुरा सुनेपछि काकाले थप जिज्ञासा राख्नुभयो, “होइन ! यो औषधिले अरू के–के असर गर्छ ? बरु, यो औषधि खान नपर्ने अरु उपाय छ कि ?”
मैले भनेँ, “हेर्नुस् काका ! उच्च रक्तचापको कुनैकुनै औषधिले कसैकसैलाई सामान्य असर गर्नसक्छ । तर, तपाईँको यति उच्च रक्तचापलाई त औषधि नखाई हुँदैन । बरु जाँड–रक्सी–चुरोट छोड्नुस् । बिहान–बेलुका दिनको एकघण्टा हिडडुल गर्नुस्, कसरत गर्नुस्, सन्तुलित आहार (साग–सब्जी, फलफुल बढीमात्रामा) सेवन गर्नु, चिल्लोपदार्थलगायत नुन कम सेवन गर्नुस् । यसरी गर्दै गएमा औषधि कम गर्दा अथवा कहिलेकाहीँ छुटेमा फरक पर्दैन ।” यसरी उहाँलाई करिब एकघण्टा उच्च रक्तचापबारे विस्तृत जानकारी गराएको थिएँ । तर, काकाले मेरो सुझावलाई एक कानले सुनेर अर्को कानले उडाउनुभएछ ।
दिन बित्दै गए । कतै भेटघाट हुँदा काकाको स्वास्थ्य अवस्था र रक्तचापबारे सोध्ने गर्थँे । अहिले सबै ठीक भएको उहाँ जवाफ दिनुहुन्थ्यो । उहाँले रक्सी र चुरोट छोड्न नसकेको मलाई थाहा थियो ।
केही महिनाअगाडि उहाँसँग भेट हुँदा रक्तचाप ठीक नभए नियमित औषधि खान पुनः सुझाउँदा उहाँले जवाफ दिनुभयो, “मेलै केही महिनादेखि आयुर्वेदिक औषधि खान थालिसकेँ ।” किन आयुर्वेदिक औषधि खाएको भनेर जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “हाम्रो टोलमा आयुर्वेदिक उपचार केन्द्र उद्घाटन गर्दा त्यहाँ देशी औषधिको असर धेरै हुन्छ, त्यो एकचोटि खाएपछि सधैँ खानुपर्छ र छोड्नुहुँदैन । तर आयुर्वेदिक औषधिको कुनै असर हुँदैन र यसले निको पनि हुन्छ भनेकोले खान सुरु गरेँ ।” मैले काकालाई आयुर्वेदिक औषधिमा मात्र भर पर्न नहुने सुझाव दिएको थिएँ । काकाको जवाफले मेरो मनमा कुरा खेल्न थाल्यो, “आयुर्वेदिक औषधिको केही असर नहुने र उच्च रक्तचाप निको हुने भए के देशी औषधि बन्ने थियो र ? ती आयुर्वेदिक औषधि विकसित राष्ट्रले लग्दैनथ्यो ? र हामीले खान पाउँथ्यौँ होला ? । हो, आयुर्वेदिक औषधि नराम्रो होइन । यसले पनि केही रोगलाई निको र राम्रो गर्दछ । तर हरेक रोगलाई निको गर्छ भन्न सकिँदैन ।”
यस्तैयस्तै एक्लै सोच्दै गर्दा सबै गुठीयारहरू आए र काकाको पार्थिव शरीरलाई उठाउँदै दीपतिर लगे । हामी पनि मलामी गयौँ । आवश्यक विधि पु¥याइसकेपछि उहाँको छोराले पार्थिव शरीरमा दागबत्ती दिनुभयो । हामी केहीबेर बसेर घर फर्कियौँ ।
यदि समयमै डाक्टरको सल्लाहअनुसार उच्च रक्तचापको सही औषधि खाएको भए र जाँड–रक्सी र चुरोट सेवन नगरेको भए उहाँ अझै बाँच्नुहुन्थ्यो भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *