‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
फुर्सदको समय ! के गरी, कसो गरी बिताउँ भएर अत्यास लागेकोले ख्याल–ख्यालमै कुनै काम माग्छु । केही समयपछि मेसेन्जरमा एउटा चलचित्रको युट्युब लिङ्क आउँछ–चिनियाँ चलचित्र क्रिस्टल गर्ल । चिनियाँ चलचित्रको लिङ्क देख्नासाथ केही मनपर्ने चिनियाँ चलचित्रहरू ‘ग्रिफ ओभर द एल्लो रिभर’, ‘द पर्पल सनसेट’ को सम्झना आउँछ । त्यही क्रममा मेनेन्जरमा सन्देश आएको घण्टी बज्छ– ‘लौ यसको मूभी रिभ्यू लेख !’
अर्थात् फिलिम हेरेरमात्र भएन, अलि ध्यान दिएर हेर्नुपर्ने भयो । मैले मनमनै सोचेँ र हेर्न थालेँ ।
चलचित्रको शीर्ष भूमिका गोअ गोअ नामकी ८ वर्षकी सानी केटी छिन् जो नाच्न, गाउन र पढ्नमा निपुण छिन् । जन्मिनेबित्तिकै उनलाई जन्म दिने आमाले एउटा तालको किनारामा मातृत्व वात्सल्य र अथाह माया भएर पनि कुनै बाध्यतावश छोडेकी हुन्छिन् । निम्न मध्यम वर्गीय परिवारका एक इमानदार र विशिष्ट शिल्पकार ‘जुन मा’ ले परित्यक्त बच्चीलाई आफूसँग लिएर जान्छन् । त्यसपछिको कथा उनै सानी केटीको हुर्काइको सेरोफेरोमा घुमेको छ ।
चलचित्रको कथा सरल छ । पात्रहरू पनि समाजकै साधारण व्यक्ति नै छन् । अनावश्यक तडकभडक र मरमसला छैन । घटनाक्रम सरल छ । कथाले तीन वटा फरक–फरक पाटो समाएको छ । पहिलो–एकजना बुबाको आफ्ना छोरीप्रतिको स्नेह र प्रेम । दोस्रो–छोरीले आफ्नी आमाको जीवन बचाउन गर्ने सङ्घर्ष र तेस्रो– एउटी आमाले आफ्नी हराएकी छोरीको खोज र मातृत्व प्रेम । यीमध्ये चलचित्रमा पहिलो र दोस्रो पाटो पक्ष सशक्त देखिन्छ भने तेस्रो पाटो अलि फितलो वा छायाँमा परेको देखिन्छ । यद्यपि, गोअ गोअकी साख्खै आमा सकारात्मक विचार र व्यवहारले दर्शकको मन सन्तुष्ट र शान्त पार्न पूर्णतः सक्षम छिन् ।
चलचित्रको सुरुआतमा जुन माकी श्रीमती नि लिओलाई नकारात्मक भूमिकामा उभ्याउन खोजिएको छ । आफ्नै कोखबाट सन्तान जन्माएर आमा बन्ने उनको उत्कट इच्छा पूरा हुन पाएको हुँदैन । यसको सम्पूर्ण दोष आफ्नो श्रीमानले गोअ गोअलाई दिने गरेको अगाढ मायालाई दिन्छिन् । गोअ गोअलाई आफ्नो श्रीमानले गरेको माया देखेर कहिलेकाहीँ इष्र्या पनि गर्छिन् । कतै गोअ गोअ आफुलाई लुकाइएको आफ्नो श्रीमानको प्रेमिकाबाट जन्मेको बच्चा पो हो कि भन्ने शङ्का पनि गर्छिन् । त्यसैले उनले गोअ गोअलाई गर्ने व्यवहार निकै रुखो र कठोर देखिन्छ जसलाई चलचित्रमा स्वाभाविक देखाउन खोजिएको छ । पछि आफू रगतको क्यान्सरले बिरामी भएर थला पर्दा छोरीले गरेको माया र हेरचाहले उनको मनको मैलो पर्दा हट्छ र हृदत्रि माया भरिन्छ ।
छोरीले कागजमा पियानोको चित्र कोरेर अभ्यास गरिरहेको देखेर जुन माले पियानो किनिदिने मन गर्छन् । तर, आर्थिक अवस्था कमजोर रहेकोले आफूले काठको पियानो बनाइदिने दृश्य जस्तै अभावको बीचमा पनि अभिभावक आफ्ना सन्तानको हर इच्छा पूरा हर कोसिस गर्छन् भन्ने कुराको दृश्तान्त हो । तर, छोरी भने आफूले पियानो बजाउन चाहेर आमाबुबाबीच झगडा भएको र आमा बिरामी भएकोले अबदेखि कहिल्यै पियानो नबजाउने भनी रुँदा दर्शकको मन चिसो हुन्छ र ती सानी नानीको आँसुसँगै हाम्रा आँखा पनि भिज्छन् । मेरी आमाको रोग निको पार्न म आफूलाई पनि बेच्न चाहन्छु । तपाईंले आमालाई बचाउनुभयो भने म तपाईंको लागि हरेक दिन नाच्न सक्छु, गाउन सक्छु, लुगा धुन सहयोग गर्छु …” सरल बालमनोविज्ञानका संवेदनशीलता र स्वच्छन्दतालाई प्रस्ट बनाइदिन्छ यो दृश्यले ।
आफ्नी आमाका उपचारको लागि आर्थिक सङ्कलन गर्न नाचगान प्रस्तुत गर्छिन् । सानो उमेरमै परिवारप्रतिको जिम्मेवारीबोधले उनका आमाबुबासँगै दर्शकका मन पनि गौरवान्वित हुन्छ । जब सहयोगको निम्ति अपिल गर्दै रुन्छिन्, दर्शकको मन पनि सायदै मात्र थामिएलान् । बाल मनोरञ्जनमा भुल्न सक्ने कैयन् अवसरहरू हुँदा पनि आफ्नो परिवार र आमालाई पहिलो प्राथमिकतामा राख्ने स–साना दृश्यहरूले पनि स–साना खुसी दिएको र कथालाई बलियो बनाउने ठुलो भूमिका खेलेको छ ।
बोन प्यारो ट्रान्सप्लान्टको लागि पूर्णतया मिल्दो दाताले ट्रान्सप्लान्टको लागि अस्वीकार गरेको र उनका आमा–बुबाले जति अनुरोध गरे पनि केही सीप नलागेबाट चलचित्रको उत्कर्षमा ल्याउन खोजिएजस्तो देखिन्छ । तर, त्यो बिन्दु उत्कर्ष हुन भने चुकेको हो कि भन्ने अनुभूति हुन्छ । अन्त्यमा, ती सानी केटी आफै गएर रातको अँधेरीमा मुसलधारे वर्षामा रुझ्दै ती व्यक्तिसमक्ष अनुनय गर्दै रुन्छिन्, बाल्यकालको निर्दोष जिद्दीसामू दाताको मन भावविह्वल बनेर पग्लिन्छ र अनुरोध स्वीकार गर्छन् । सूक्ष्मरूपले केलाउने हो भने फिलिमको अन्त्य अलि नमिल्दो वा नाटकीय लाग्न सक्छ तर उस्तो भद्दा भने छैन । परिवारका सदस्यहरूबीचको आपसी समझदारी, माया र सकारात्मकतामा कथाको सुखान्त हुन्छ ।
फिल्ममा ‘क्रिस्टल गर्ल’ एउटा प्रतीक हो । वास्तुकार जुन माले एउटा पत्थरलाई सात वर्ष मेहनत गरेर, हरेक दिन कुँदेर, घोटेर, छाँटेर एउटा अत्यन्त सुन्दर मूर्तिको आकृति दिएको हुन्छ । त्यो प्रतिमा उत्कृष्टताको एउटा उदाहरण बनेर गरिमामय म्युजियममा सजाइएको हुन्छ । आफ्नी छोरी हुर्काउने क्रममा अनुभव गरेका प्रत्येक क्षण र संवेगहरू समेटेर बनाएको हुनाले जुन माको ‘क्रिष्टल गर्ल’ सँगको भावनात्मक सम्बन्ध प्रगाढ र विशेष हुन्छ । आमाबुबाको प्रत्येक दिन, प्रत्येक पलको अथक मेहनत र धैर्यता, असीम ममता र प्रेरणाले कोही पनि सन्तान ‘क्रिस्टल गर्ल’ बन्नसक्छ । श्रीमतीको उपचारको निम्ति जुन माले नचाहेर पनि आफ्नो सपना उनेर बनाएको त्यो प्रतिमा बेच्ने निधोमा पुग्छन् । तर, त्यही बीच छोरी खोज्दै गोअ गोअसम्म पुगेकी उनलाई जन्म दिने आमा (जो आर्थिक रूपमा सम्पन्न हुन्छिन्)ले त्यो प्रतिमा नबेच्न बरु आफुले उपचारको लागि सहायता गर्ने वचन दिन्छिन् ।
आठ वर्षकी सानी बाल कलाकारको अभिनय प्रशंसनीय छ । साथै अरू सबै पात्रहरूले पनि आफ्नो भूमिकामा न्याय गरेका छन् । चलचित्र मनको भावनात्मक पाटोको गहिराईसम्म पुगेर मस्तिष्कमा छाप बनाउन सफल छ । हाँसोठट्टाको मनोरञ्जनलाई छोडेर मर्म, खुसी र सङ्घर्षमा चलचित्रको आनन्द लिने दर्शकको निम्ति ‘क्रिष्टल गर्ल’ हेर्न उपयुक्त चलचित्र हो । कथा मार्मिक छ । धेरै ठाउँमा गोअ गोअसँगै हाम्रो मन पनि बोझिला बन्छन् र हामी रुन थाल्छौँ त कहिल्यै उनको मुस्कानसँग मुस्काउन थाल्छौँ । भाषाको समस्या नहुँदो हो त बालचलचित्रको रूपमा आफ्नो छोराछोरीको साथमा परिवारसँगै बसेर हेर्न उपयुक्त छ । छोराछोरीले यस चलचित्रबाट कर्तव्य, जिम्मेवारीबोधसम्बन्धी धेरै पाठहरू सिक्न सक्छन् ।
Leave a Reply