भर्खरै :

स्मार्ट फोन, कम्प्युटर र आँखा

कोरोना महामारी रोगको रूपमा फैलिरहेको छ । यो उच्च जोखिममा नपरोस् भनी निषेधाज्ञा गरिएको अवस्था छ । मानिसहरू निषेधाज्ञाका कारण घरमै बस्न बाध्य छन् । यो समयमा प्रायःजसो मानिस समय व्यतीत गर्न स्मार्ट फोन वा कम्प्युटर चलाइरहेका हुन्छन् । कोही अनलाइन कक्षाको तयारीका कारण इन्टरनेटमा जोडिएका छन् त कोही मनोरञ्जन तथा जानकारीका लागि युट्युब, फेसबुक, इन्स्टाग्राम र अरू कुनै सामाजिक सञ्जालमा व्यस्त देखिन्छन् । ती सबै उपकरण चलाउन स्मार्ट फोन वा कम्प्युटरको पर्दामा आँखा गाडिएकै हुन्छ ।
कोभिड १९ को कारण निषेधाज्ञामा बस्दा लगातार स्मार्ट फोन र कम्प्युटर चलाउँदा आँखामा हुनसक्ने प्रभावबारे यहाँचर्चा गरिएको छ । आँखा एउटा यस्तो अङ्ग हो जसले कुनै वस्तुलाई हेर्न, रङ छुट्याउन र वस्तुको गहिराइ मापन गर्ने गर्छ । आँखालाई आँखीभौ, पलक र परेलाले सुरक्षित राखिएको हुन्छ । पलक र परेलाले आँखा झिम्काउने काम गर्छ । यसले वाष्पीकरण र कीरा छिर्नबाट बचाउँछ । आँखाले कुनै वस्तुलाई तबमात्र देख्न सकिन्छ जब त्यस वस्तुबाट परावर्तित भएको प्रकाश आँखामा पर्दछ ।
प्रकाशमा प्रमुखतः निलो, हरियो, पहेँलो, सुन्तला र रातो रङका किरण हुन्छन् । त्यसमध्ये निलो रङको किरणमा तरङ्ग–लम्बाइ (Wave Length )कम र ज्यादा शक्ति हुन्छ । मानिसले प्रयोग गर्ने स्मार्ट फोन र कम्प्युटरबाट पनि निलो प्रकाश उत्सर्जन हुने गर्छ । वैज्ञानिकका अनुसार निलो प्रकाशले मानिसको शरीरलाई नकारात्मक असर पारेको देखिन्छ । आँखाको भित्री भागमा रेटिना रहेको हुन्छ जसमा वस्तुको चित्र बन्छ । स्मार्टफोन र कम्प्युटरको पर्दा निकै बेर हेरिरहँदा पर्दाबाट फालिएको निलो प्रकाशले रेटिना कोषमा छिरी आँखाको दृष्टिमा असर गर्छ । एक अध्ययनअनुसार यस कुरामा बालबालिकाहरू सबैभन्दा जोखिमपूर्ण मानिन्छ किनभने बालबालिकाका आँखाले धेरै निलो प्रकाश सोस्ने गर्छ ।
यसबाहेक दैनिक लगातार औसतमा दुई घण्टा स्मार्ट फोन वा कम्प्युटर प्रयोग गरेको केही अध्ययनले देखाउँछ । यसले गर्दा टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखा चिलाउने, निद्रा नलाग्ने, धमिलो दृश्य हुने आदि लक्षणहरू देखिने वैज्ञानिकहरूको भनाइ छ । यसै सन्दर्भमा दैनिक दुई घण्टा चलाउनेमध्ये ५० प्रतिशतको आँखामा Digital Eye Strain (DES) प्रभाव परेको हुन्छ । डिजिटल आँखाको तनाव (DES) कुनै दीर्घकालीन समस्या नभएको तर Myopia अर्थात् टाढाको वस्तु ठम्याउन नसक्ने दृष्टिदोष हुनसक्ने र दैनिक काममा निकै ठुलो अप्ठ्यारोपना निम्त्याउन सक्ने आँखा विशेषज्ञको धारणा छ ।
उसो भए के निषेधाज्ञामा स्मार्ट फोन र कम्प्युटर नचलाउने त भन्ने प्रश्न उठ्न सक्छ तर सावधानीपूर्वक चलायो भने निषेधाज्ञाको समय र कोभिड १९ पछिको समयमा पनि आँखा स्वस्थ राख्न सकिन्छ । यसका लागि निम्न तरिकाका सावधानी अपनाउन सकिन्छ ः
१. धेरै बेरसम्म स्मार्ट फोन–कम्प्युटर हेरिरहनु परेमा निलो किरण फिल्टर गर्नसक्ने चस्मा लगाएर आँखा बचाउन सकिन्छ ।
२. सामान्यतया एक मिनेटमा १६ देखि २० पटकसम्म आँखा झिम्काउनुपर्नेमा लगातार पर्दा हेरिरहँदा ५० प्रतिशत घट्न जाने हुनाले बेला – बेलामा आँखा झिम्काउन बिर्सनुहुन्न ।
३. २०–२०–२० नियम पालना गर्न सकिन्छ अर्थात् हरेक २० मिनेट पर्दामा हेरिसकेपछि २० फिट टाढा रहेको वस्तुलाई २० सेकेन्डसम्म केन्द्रित गरेर हेर्नुपर्छ । विकल्पमा २० सेकेन्डसम्म आँखा चिम्लेर बस्दा पनि उपयुक्त हुन्छ ।
४. राति अँध्यारोमा स्मार्टफोन नचलाउने, सुत्नुअघि र बिहान उठ्नेबित्तिकै केही समय (कम्तीमा १ घण्टा) स्मार्ट फोन र कम्प्युटर नहेर्ने ।
५. पर्दा हेर्दा आँखा सुख्खा हुने खतरा भएका कारण आई ड्रोप प्रयोग गर्न सकिन्छ ।
६. पर्दा र आँखाबीचको दूरी कम्तीमा १८ देखि २० इन्च टाढा राखेर चलाउन सकिन्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागअन्तर्गत पर्यावरण र वातावरणका स्नातकोत्तर तहका विद्यार्थी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *