भर्खरै :

जेठ २५ गतेदेखि ६० – ६४ उमेरका नागरिकलाई खोप

काठमाडौँ, १९ जेठ । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र बुधबार थप एक लाख मात्रा तिब्बत सरकारबाट आएको छ ।
चीन सरकारले अनुदानमा दस लाख डोज खोप उपलब्ध गराएको हो । प्रवक्ता डा. पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेरमात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकसँगै चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लागि पनि खोप दिइने जानकारी दिनुभयो । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसङ्ख्या रहेको छ ।
मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ । नेपालमा खोपको पहिलो मात्रा २१ लाख १३ हजार ८० र दोस्रो मात्रा सात लाख १४ हजार १६३ लगाएका छन् । अहिलेसम्म नेपालमा भारत सरकारको अनुदानमा कोभिशिल्ड १० लाख मात्रा र खरिद गरेर १० लाख मात्रा, चीनबाट यसअघि आठ लाख र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आएको छ ।
कोरोनाबाट निको हुने दर ८०.८ प्रतिशत
पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा सात हजार २१९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा देशभर पाँच हजार ३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो । पीसीआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमुना पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस अवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको उहाँले सुनाउनुभयो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ । काठमाडौँ उपत्यकामा आजमात्र एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *