भर्खरै :

निषेधाज्ञा लम्ब्याइँदै, पालनामा बेवास्ता बढ्दै

भरतपुर, २३ जेठ । चितवन जिल्ला प्रशासन कार्यालयले चौथो चरणको निषेधाज्ञा जेठ २७ गतेसम्म लम्ब्याइएको छ । यसअघिको निषेधाज्ञा जेठ २० गते सकिएको थियो । सात दिन थप निषेधाज्ञा जारी गरेतापनि मानिसहरूको चहलपहल भने दिनप्रतिदिन बाक्लिँदै गएको छ । खाद्यान्न पसलहरू हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार बिहान ६ देखि ९ बजेसम्म खोल्न पाइनेछ । त्यस्तै बैङ्क, वित्तीय सङ्घ–संस्थाहरू हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न पाइनेछ । अत्यावश्यक वस्तु तथा सेवाहरू फलफुल, तरकारी, दूध, स्वास्थ्य सामग्रीसम्बन्धी सवारी साधनहरू स्वास्थ्य मापदण्ड अपनाएर चलाउन पाउनेछ ।
जिल्लामा कोरोना सङ्क्रमण दैनिक झन्डै सयको हारहारीमा देखा परिरहेको छ । स्वास्थ्य कार्यालय चितवनको जेठ २२ गतेको तथ्याङ्कअनुसार ६८ जना नयाँ सङ्क्रमित थपिएका छन् । जिल्लामा चरणबद्धरूपमा निषेधाज्ञा जारी हुँदा आइतबारबाट एक महिना आठ दिन भयो । कोरोना सङ्क्रमण नियन्त्रण भने अझै हुन सकेको छैन । सडक तथा बजारमा मानिसहरूको बढ्दो चहलपहलले सङ्क्रमण झन् फैलिन सक्ने जोखिम त्यत्तिकै छ । जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गरेको दाबी गरे पनि दिनैजसो मानिसको भीडभाड अनियन्त्रितरूपमा बढ्दै गएको छ । दैनिक ज्याला गरी खाने मानिसलाई रोगसँगै भोकले सताउन थालेको सत्य हो ।
बजारमा मानिसको चहलपहल देखिन थालेपछि सरकारले कर उठाउनको लागि खुकुलो गरेको एकथरीको बुझाइ छ । नयाँ आर्थिक वर्ष प्रवेश हुनैलाग्दा सरकारले कर उठाउन निषेधाज्ञालाई लचिलो गरेको उनीहरूको धारणा छ । स्वास्थ्यजस्तो संवेदनशील कुरामा कोही कसैले पनि खेलाँचीपन गर्नुहुँदैन । यो महामारीमा नागरिक स्वयं पनि सचेत हुनुपर्दछ । राज्य त झनै जिम्मेवारी बन्नुपर्दछ ।
कोरोना सङ्क्रमण नियन्त्रणको एकमात्र विकल्प निषेधाज्ञा ठानेको सरकारले जिल्लामा जारी निषेधाज्ञालाई कडा गर्न नसकेको कुरा जनमानसमा परेको छ । सडकमा सवारी साधन चलेको देख्दा कसैले पनि निषेधाज्ञा लागू छ भन्न सक्ने अवस्था छैन । गरिब जनतालाई सरकारले रोगले पनि मार्ने भयो भोकले पनि मार्ने भयो भनी नागरिकमा चिन्ता पर्न थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या कम देख्न थालेमा लचिलो बन्ने र सङ्क्रमितको सङ्ख्या बढ्न थालेमा निषेधाज्ञालाई कडा गर्ने प्रशासन कार्यालयको भुरा खेलाइ व्यवहारले नागरिकको जिन्दगीमाथि नै खेलबाड भएको अर्कोथरी मानिसको बुझाइ छ । प्रशासन समयमा नै ठीक निर्णय लिएर व्यवहारिक बन्न सके सङ्क्रमण नियन्त्रण हुनेमा शङ्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *