भर्खरै :

संरा अमेरिकाको मानवताविरोधी अपराधको निरन्तरता

संरा अमेरिकी शासकहरूले आफ्रूलाई विश्वकै मानव अधिकार र स्वतन्त्रताको रक्षकको रूपमा दाबी गर्न चुक्दैनन् । संरा अमेरिकाका मित्रमण्डली राष्ट्रहरू र तिनीहरूका सञ्चारमाध्यमहरू पनि त्यसैलाई जोडतोडका साथ प्रचार गर्छन् । तर, संरा अमेरिकाले आफ्नो स्वार्थका लागि मानव अधिकार र स्वतन्त्रताको रक्षाको नाममा गरिरहेको मानवताविरोधी अपराधबारे कमै प्रचार हुने गरेका छन् । स्वतन्त्र संरा अमेरिकाका पहिलो एक शताब्दीका शासकहरू सबै दास मालिकहरू थिए । उनीहरू अफ्रिकाबाट जबरजस्ती पक्रेर ल्याइएका मानिसहरू किनेर दास तुल्याई आफ्ना विशाल खेतीपाती र उद्योगमा दिनको १८ घण्टासम्म काममा लगाउँथे । जब संरा अमेरिकामा पुँजीवादको विकास भयो, त्यस देशका लागि आफ्नै भूमि, बजार र स्रोतसाधन पर्याप्त हुन छाड्यो र साम्राज्यवादी नीति अपनाई छिमेकी देश र विश्वका विभिन्न देशहरूमाथि हमला र कब्जा गर्नथाल्यो । मुनरो डक्ट्रिनदेखि रूजबेल्ट थ्यौरी, आइसेनहावर डक्ट्रिन, जोनसन थ्यौरी, रेगन थ्यौरी सबै संरा अमेरिकाको साम्राज्यवादी नीतिका नयाँ नयाँ संस्करण हुन् । संरा अमेरिकाका दुइटा शासक पार्टीमध्ये जुनसुकै पार्टीको नेता राष्ट्रपतिमा निर्वाचित भए पनि उनीहरूको राजनीतिक, सामाजिक, आर्थिक र विदेश नीतिमा तात्विक भिन्नता हुने गर्दैन । उदाहरणको निम्ति डेमोक्रयाटिक पार्टीका उम्मेदवार बनी २०२० को निर्वाचनमा विजयी बनेर आएका वर्तमान राष्ट्रपति जोसेफ (जो) बाइडनको राजनीतिक, सामाजिक, आर्थिक र विदेश नीति उनका पूर्ववर्ती रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको भन्दा तात्विक भिन्न छैन । उनीहरूको अभिव्यक्ति शैलीमात्र फरक छ ।
त्यसैले कुनै एक राष्ट्रपतिले लागू गरेर गएको अपराधपूर्ण नीति र कार्यक्रम पछिल्ला राष्ट्रपतिहरूको शासनमा पनि विरलै परिवर्तन हुने गरेका छन् । संरा अमेरिकाले एसियाली देश प्रजग कोरिया, क्यारिबियाली देशहरू क्युवा, निकारागुवा र भेनेजुयलाविरूद्धका नृशंस आर्थिक नाकाबन्दी यसका उदाहरण हुन् । कोरियाली जनताले बलिदानीपूर्ण जापानी साम्राज्यवादविरोधी लडाइँमा विजय प्राप्त गरी १९४५ मा प्रजातान्त्रिक जन गणतन्त्र कोरिया स्थापना स्थापनातिर अघि बढेदेखि नै आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । त्यस्तै क्युवामा १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवाली समाजवादी क्रान्तिको विजय भएदेखि नै क्रूर आर्थिक नाकाबन्दी लगाउँदै आएको सर्वविदित्तै छ । क्युवाली जनता र विश्वका न्यायप्रेमी जनताले अन्यायपूर्ण र क्रूर आर्थिक नाकाबन्दी अविलम्ब अन्त्य गर्नुपर्ने माग निरन्तर उठाउँदै आएका छन् तर अमेरिकी शासक वर्गले विश्वका न्याय र शान्तिप्रेमी जनताको बुलन्द माग सुनिरहेको छैन । उल्टो म्याद नाघेका ऐनहरू पुनः पारित गर्दै र नयाँ नयाँ ऐन अमेरिकी सदनबाट पारित गरी वा राष्ट्रपतिद्वारा कार्यकारी आदेश जारी गरी असफल भइसकेको नाकाबन्दीलाई अझै कस्सिलो बनाइरहेका छन् ।
६ दशक लामो अमेरिकी नाकाबन्दीले क्युवाली अर्थतन्त्र र क्युवाली जनताको जीवनमा पु¥याएको क्षतिको हिसाबै गर्न कठिन छ । अर्थशास्त्रीहरूले आ–आफ्नो अध्ययनअनुसार क्युवाली अर्थतन्त्रमा पु¥याएको क्षति सयौं अर्ब अमेरिकी डलरमा निकाल्ने गरेका छन् । अरू त अरू अबोध शिशु तथा बालबालिकाहरूको उपचारका लागि अत्यावश्यक खोप र औषधिसमेत रोकेर र खोसेर संरा अमेरिकाले आर्थिक नाकाबन्दी र प्रतिबन्धको नाममा मानवताविरोधी अपराध गरिरहेको छ । संरा अमेरिकाले त्यस्तो अपराध आज प्रजग कोरिया र क्युवाविरूद्ध मात्र होइन, भेनेजुयला, निकारागुवा, बोलिभिया, सिरिया, इरानलगायत विश्वका धेरै देशहरूविरूद्ध गरिरहेको छ । कोभिड–१९ को महामारीले आज विश्वका सबैजसो देश प्रभावित भइरहेका छन् । कोभिड–१९ को विरूद्धको लडाईँमा पछिल्लो चरणमा विभिन्न देशमा उत्पादन भएका खोपहरू निर्णायक हतियार सावित भएका छन् । तर, संरा अमेरिकाले नाकाबन्दीको सूचीमा रहेका देशहरूलाई खोप र उपचारमा सहायक औषधिहरू बेच्नमा कडा रोक लगाइरहेको छ । अमेरिकी नाकाबन्दीका कारण संरा अमेरिका र युरोपमा उत्पादित खोप त पाउन नै सकेनन्, अहिले क्युवाले उत्पादन गरेका तीनथरी खोप सोबेराना –१, सोबेराना–२ र अब्डेला खोपहरू निर्यातमा र विभिन्न ल्याटिन अमेरिकी देशबाट खोप लगाउन प्रयोग हुने सिरिन्ज आयातमा अवरोध गरिरहेको समाचार आएका छन् । संरा अमेरिकाको त्यो संवेदनहीन कदम मानवताविरोधी अपराधको निरन्तरता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *