भर्खरै :

भक्तपुर इँटा कारखानाको जग्गा बाँडचुँड !

भक्तपुर, २७ जेठ । स्थानीय किसानको कुल २५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरी भक्तपुर इँटा कारखाना नेपाल सरकारको पूर्ण स्वामित्वमा २०३५ सालदेखि सञ्चालन भएको हो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भक्तपुर जगातीमा स्थापना भएको यो कारखाना २०६० सालदेखि सञ्चालन करारको नाममा निजीकरण गरियो । चिनियाँ जनताको रोयल्टी काटेर नेपाली जनतालाई सहयोग गरिएको यो कारखानामा अहिले पनि उद्योग र अर्थ मन्त्रालय तथा उद्योग विभागका मुख्य मुख्य पदाधिकारी र मुठीभरका व्यक्तिहरूको रजाइँ चलिरहेको छ ।
भौतिक पूर्वाधार विकास गर्न नेपाललाई गुणस्तरीय इँटा र टायल अझै आवश्यक छ । तर, सरकारहरू विदेशी मित्र देशले सहयोग गरेको कारखाना सञ्चालन गर्नसक्दैनन् । बजेटमा विकासको मूल फुटाउने पञ्चायतदेखिको नारा हो । बहुदल र गणतन्त्रमा पनि यो दोहोरिँदै छ ।
चिनियाँ सहयोगमा प्राप्त मेशिन र गाडी ‘कवाडी’ मा बिक्री गरियो । कतिपय भवन जीर्ण हुँदैछ । अलिकति सद्दे भवनमा सरकारी कार्यालय– आन्तरिक राजस्व कार्यालय, महानगरीय प्रहरी वृत्त सञ्चालित छन् । अहिले सूर्यविनायक नगरपालिकाले कारखानाको जग्गामा अस्पताल बनाउँदै छ । यी सबै जनताको लागि आवश्यक छ । तर, इँटा–टायल कारखानाको लागि सरकारले जग्गा अधिग्रहण गरेको हुँदा सो उद्देश्यअनुसार काम नभएपछि सम्बन्धित जग्गावाला किसानलाई फिर्ता गर्नु जरुरी छ । सूर्यविनायक नगरपालिकाको जनघनत्व कटुन्जे, गुण्डु, बालकोट, दधिकोट, सिरुटारमा छ । सेवा सुविधा जगातीमा बनाएर समीचीन हुँदैन । यतातिर नेका, माओवादीको सरकारको जस्तै एमाले सरकारको पनि ध्यान गएन । उद्देश्यबमोजिम काम नभएमा अधिग्रहण गरिएको जग्गा सरकारले सम्बन्धित जग्गावालालाई फिर्ता दिने परम्परा सुरु गर्नु उपयुक्त हुनेछ ।

One response to “भक्तपुर इँटा कारखानाको जग्गा बाँडचुँड !”

  1. नारायण दुवाल says:

    नेमकिपाले बिराेध नगरेकाे भए, त्यसैबेला हरिसिद्धि जस्तै काैडीकाे माेलमा ब्यक्तिलाई बिक्री नेका सरकारले गरि सक्थ्याे त्याे ईट कारखाना । आज एमाले भक्तपुरका केही ब्यक्ती लागेर कारखाना बांड्चुड् गर्न खाज्दैछ । त्यसकाे बिराेध स्थानीयले गर्ने छ र राेक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *