भर्खरै :

बालबालिकामा सङ्क्रमणपछिको जटिलता देखिँदै

काठमाडौँ, २७ जेठ । नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआईएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जटिलता हो  ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको तेस्रो र चौथो लहरमा एमआईएस–सी सङ्क्रमण बढी देखिने जनाएको छ ।
एमआईएस–सी भनेको कोरोना सङक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गाैला, छाला, आँखाजस्ता अङ्ग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सङ्क्रमणको पहिलो लहर सकिन लाग्दा नै बालबालिकामा त्यस्तो सङ्क्रमण देखिन थालेको पुष्टि गर्नुभयो ।
उहाँले कोभिड–१९ विरूद्ध शरीरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरीरमा हानि गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गाैला, छाला, आँखाजस्ता अङ्ग सुन्निने समस्या देखिने गरेको बताउनुभयो । उहाँले ती सङ्क्रमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताउनुभयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. आर.पी. बिच्छाले पनि पहिलो लहरको ओरालो लाग्ने बेलादेखि नै उक्त सङ्क्रमणको बालबालिका देखिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत छन् । “नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआईएस–सी को सङ्क्रमण देखिएको हो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार पहिलो लहरमा २३ बालबालिका र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ । यस्तो खालको सङ्क्रमणको उपचारको लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ ।
पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । “यो रोग पनि कोभिड–१९ कै कारण देखिने सङ्क्रमण हो । यो बालबालिकामा देखिने बित्तिकै आत्तिहाल्नु हुन्न,” उहाँले भन्नुभयो, “समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।” उहाँका अनुसार बेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ ।
यो सामान्यतः कोरोना सङक्रमण भएको दुईदेखि चार हप्तापछि देखापर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गा¥हो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनुजस्ता देखिने गर्दछन् । मन्त्रालयले सङ्क्रमित वा सङ्क्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशनअनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारको लागि छुट्याउने तयारी गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा. विच्छाले एमआईएस–सी को सङ्क्रमण भएका बालबालिकाको उपचारको लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आईसीयू), २५ हाइ डिपेडेन्सी युनिट (एचडीयू) रहेका छन् । यस्तै १० आईसीयू र २५ एचडीयू थप्ने क्रममा रहेको छ । अहिले कोभिड–१९ सङ्क्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *