अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नेपालको राजनैतिक इतिहासलाई फर्केर हेर्ने हो भने सरकारलाई सधैँ अस्थिर बनाउन चाहने शासक दलमा रहेका देशी विदेशी शक्तिका दूतहरूले दल र नेताहरूलाई एक आपसमा फुटाउने, भिडाउने काम गर्दै आएका छन् । विभिन्न गुट उपगुटको स्वार्थमा उनीहरूले पदको लागि कुकुरझगडा गरिरहेका छन् । उनीहरू जनताको स्वास्थ्य, ज्यान र दानापानीको लागि होइन आफ्नो स्वास्थ्य र दानापानीको लागि झगडा गरिरहेका छन् । तिनीहरूले आफ्नो दल र देशमा नेपाल र नेपालीलाई खाने देशी विदेशी सर्पलाई पाल्दै आएका छन् । त्यसैले ती नेताहरूले नेपाललाई पनि निल्ने या खाने दाउ हेरिरहेका छन् । त्यो दुश्मनरुपी सर्पले सिक्किम र फिजीलाई निलिसकेको छ । देशभक्त नेपाली जनताले यस्ता कार्यको विरोध र खबरदारी गरिरहेका छन् ।
भारतीय विस्तारवादले सिक्किमका दलहरूमा विभिन्न बहानामा आफ्ना मान्छेहरू या रअका गुप्तचरहरू पठाएको थियो । तिनीहरूले त्यस देशका दलका नेताहरूलाई विभिन्न प्रभाव र दबाबमा पारेका थिए । नेपालमा जस्तै त्यहाँ पनि दल, नेता र राजालाई फुटाउने, भिडाउने गर्दै आएका थिए । भारतको सहयोगमा ती दलाल नेताहरू जनतालाई प्रभाव पार्न सफल भएका थिए । अन्ततः सन् १९७५ मा त्यहाँको संसदीय निर्वाचनमा कुल ३२ सीटमध्ये ३१ सीटमा दलाल सांसदहरू जनताको मतबाट जितेर आउन सफल भए । देशको रक्षा र सञ्चालन गर्न बनेको संविधानको मर्म र भावनालाई घात गरेर ती ३१ जना देशघाती सांसदहरूको समर्थनमा तिनीहरूका नाइके देशद्रोही प्रम लेण्डुप डोर्जेले बहुमतको नाममा स्वतन्त्र राज्य सिक्किम भारतलाई बुझाएका थिए । नेपालका राष्ट्रघाती नेताहरूले पनि बहुमतका नाममा कोसी, गण्डकी, महाकाली भारतलाई दिइसकेका छन् । मित्र राष्ट्रहरूले उपहारस्वरूप दिएका उद्योग कारखानाहरू पनि अर्पण गरिसकेका छन् । यसरी भारतले छिमेकी राष्ट्र सिक्किमलाई निल्यो । लेण्डुप डोर्जे भारतको गुलियो पोतेको विषमा फसे । आफ्नो मातृभूमि सिध्याउने नेताले पछुताएर कुकुर मरेजस्तै मरेको इतिहास छ । नेपाललाई सिक्किमीकरण गर्ने भारतको दुष्प्रयासलाई देशभक्त नेपाली जनताले सशक्त विरोध गरेर आजसम्म सफल हुन दिएका छैनन् । बलभद्र कुँवर, भक्तिथापा, भीमसेन थापाजस्ता वीर योद्धाहरूको रगत पसिनाले सिँचेको देश नेपाललाई जोगाउन वीर नेपाली जनता सधैँ विदेशी वैरीसँग लडिरहनेछन् ।
छिमेकी मित्र भारत नेपाललाई फिजीकरण गर्ने रणनीतिमा अगाडि बढिरहेको छ । सके सिक्किमीकरण गर्ने नसके फिजीकरण गर्ने उसको लक्ष्य रहेको देखिन्छ । नेपालमा प्रम ओलीको नागरिकतासम्बन्धी अध्यादेशलाई यससँग जोडेर हेर्न सकिन्छ । भारतले नेपाललाई सधैँ आन्तरिक द्वन्द्व र अस्थिरतामा फसाएर घात गरिरहेको इतिहास छ । चतुर स्यालले खोरबाट कुखुरा लगेजस्तै नेपालमा उपद्रो गर्न लगाएर महाकाली, गण्डकी, कोसी लगिसकेको छ भने अन्तर्राष्ट्रिय नियमविपरीत टनकपुर बाँध, रसियावाल खुर्दलोटन बाँधहरू बनाएर नेपाललाई डुबानमा पारेको छ । नेपाली भूमि कालापानी, लिपुलेकमा रणनीतिक सडक बनाइएको छ । विभिन्न ७१ भन्दा बढी स्थानमा सीमा मिचिएको छ । यसरी विभिन्न समयमा आन्तरिक उपद्रोमा फसाई नेपालीको ध्यान अन्त केन्द्रित गराइयो । नेपाललाई अतिक्रमण गरेजस्तै भारतले देशलाई संसद पुनः स्थापनाको मुद्दामा अल्मलाएर ध्यान केन्द्रित गरायो । देशघाती नागरिकता अध्यादेशमार्फत धेरैभन्दा धेरै भारतीय नागरिकलाई नेपाली नागरिकता बाँड्न लगाउन खोजेको त होइन भन्ने देशभक्त जनताले आशङ्का गरिरहेका छन् ।
सकिन्छ भने पूरै नेपाल, नसके तराईलाई भए पनि भारतमा गाभ्ने उनीहरूको लक्ष्यअनुसार लाखौँ भारतीय नागरिक नेपाली नागरिक बन्न सफल भएको पूर्व रअ प्रमुखले लेखेको रअ मिसन पुस्तक र अन्य भारतीय नेताहरूले बोलेको अभिव्यक्तिबाट थाहा हुन्छ । विसं २०३६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाका पूर्व प्रम सूर्यबहादुर थापाले जनमतसङ्ग्रहमा बहुदललाई हराउन या पञ्चायती व्यवस्थालाई जिताउन मतदाता नामावलीमा भारतको सहयोगमा लाखौँ विहारी भारतीय नागरिकहरूलाई निर्दललाई जिताउन गरेको त्यसबेलाका जानकारहरू बताउँछन् । विद्यार्थी आन्दोलनबाट प्राप्त जनमतसङ्ग्रह खोटा विचारको कारण हिजोका कम्युनिस्ट र प्रजातन्त्रवादी भनिएका दलहरूले जनमतसङ्ग्रहको सदुपयोग नगरी बहिष्कार गरेका थिए । जनमतसङ्ग्रह निरङ्कुश पञ्चायती व्यवस्थाले कुल खसेको सदरमतको ५४.८ प्रतिशत बहुमत पाएर जितेको थियो भने बहुदलीय पक्षले ४५.२ प्रतिशत मत पाएर पराजित भएको थियो । यदि यी दलका नेताहरूले बेलैमा बुद्धि पु¥याएका भए ४२ वर्षअगाडि नै नेपालमा बहुदलीय व्यवस्था आउने थियो । त्यस जनमतसङ्ग्रहमा नेपाल मजदुर किसान पार्टीको प्रभाव भएको जिल्ला भक्तपुरले मात्र बहुदललाई अत्यधिक मतले जिताएको थियो । भक्तपुरका ८० प्रतिशत मतदाताले बहुदलको पक्षमा मतदान गरेका थिए । यसैको परिणाम नेपाल मजदुर किसान पार्टीले २०४५ सालको भक्तपुर काण्डको सामना गर्नुपरेको थियो । आन्दोलन चर्केपछि निरङ्कुश व्यवस्थाको नै अन्त्य भयो । पछि तराईमा नागरिकता बाँड्दा त्यस बेलाका शासकहरूले त्यस जनमतसङ्ग्रहताकाको मतदाता नामावलीको आधारमा लाखौँ लाख भारतीय नागरिकहरूले नागरिकता पाएका वा बाँडेका जानकारहरू बताउँछन् ।
भारतको इसारामा नाच्ने नेताहरूमध्ये अर्का नेता थिए गिरिजा सरकारका गृहमन्त्री कृष्णप्रसाद सितौला । उनले सजिलैसित भारतीयलाई नेपाली नागरिक बनाउने विधेयक ल्याएर राष्ट्रघाती काम गरेका थिए भने नेका, एमाले, नेका प्रजातान्त्रिक, जनमोर्चा, सद्भावना (आनन्ददेवी) संयुक्त वाममोर्चा र नेकपा माओवादी दलले त्यसमा सघाए । ती दलका विभिन्न बैठक र संसदमा यो देशघाती कदम हो भन्दै नेपाल मजदुर किसान पार्टीले खबरदारी गरेको थियो । विसं २०६३ मङ्सिर १० गते नेमकिपाले आठ दलको बैठक र संसदमा यो राष्ट्रघाती काम हो भनेर सचेत गराउँदा गराउँदै, विरोध गर्दागर्दै तिनीहरूले नागरिकतासम्बन्धी नेपालको कानुनलाई संशोधनसंहित पारित गरे । यो विधेयक पारित भएपछि त्यसबाट बनेको ऐन, नियमावलीमा टेकेर ४० लाख भारतीय नागरिकले नेपाली नागरिकता लिन सफल भएको विश्लेषकहरू बताउँछन् । त्यस विधेयकको दफा ३ मा संवत्् २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायीरूपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुने भन्ने उल्लेख थियो ।
त्यस नागरिकतासम्बन्धी ऐन २०६३ बनेपछि सो ऐन निर्माण भएलगत्तै गृहमन्त्री सितौलाले मन्त्रिपरिषद्बाट पारित गराए । नियमावलीको नियम ४ (३) (ख) मा सम्बन्धित वडामा बसोबास गर्ने नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त ३ जना नेपाली नागरिकले सरजमिन स्थलमै गरेको सनाखतको आधारमा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त हुने उल्लेख गरियो भने नियम ८ (१) मा जन्मको आधारमा नेपाली नागरिकता जारी गर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिइयो ।
देशभक्त नेपाली जनताले विदेशीको भरमा आन्दोलन गर्न नहुने, विदेशीको सल्लाह र सुझावलाई आँखा चिम्लेर आत्मसात गर्न नहुने बारम्बार खबरदारी र सचेत गराउँदा गराउँदै देशलाई दाउमा राखेर प्रम ओलीले नेपालको नागरिकता ‘पहिलो संशोधन) अध्यादेश २०७८, जेठ ९ गते जारी गरे । त्यसको विरोध देशभरबाट भइरहेका छन् । यो अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर २१ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ । नागरिकता हकसम्बन्धी यो प्रावधानले हिजो जनमतसङ्ग्रहको मतदाता नामावलीमा नाम थपेर नेपाली नागरिकता पाएका र तीन जना नागरिकता प्राप्त नेपाली नागरिकको सनाखतको आधारमा लाखौँ सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने विश्लेषकहरू बताउँछन् । यसरी वंशजको नागरिकता प्राप्त गर्ने नेपालीले नेपालको संविधानअनुसार संवैधानिक पदहरू राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री, राजदूत आदि पदमा आउन सक्ने अधिकार राख्दछन् । यसरी नै फिजीमा सन् १९७७ मा नागरिकतासम्बन्धी खुकुलो प्रावधान बनाएपछि भारतीय मूलका नागरिकहरू बहुमत हुन गए र फिजीका आदिवासी नागरिकहरू अल्पमतमा परे । नागरिकतासम्बन्धी खुकुलो प्रावधान बनाएको २० वर्षपछि फिजीमा सन् १९९७ सम्ममा भारतीय मूलका नागरिकहरूले संसद्मा बहुमत कायम गरे । भारतीय मूलका नागरिक महेन्द्रपाल चौधरी फिजीको प्रधानमन्त्री बन्न सफल भए । यसरी फिजी भन्ने देशलाई भारतले निलेको विश्व इतिहास छ । नेपाललाई पनि भारतले त्यसरी नै निल्न दुष्प्रयास गरिरहेको हुँदा सबै देशभक्त नेपाली जनताले त्यसको सशक्त विरोध गर्नु आजको आवश्यकता हो ।
२०७० सालमा संसद्को राज्य व्यवस्था समितिले विदेशी महिलाले नेपालीसँग विवाह गरेमा ७ वर्षपछि मात्रै नेपाली नागरिकता पाउने बन्दोबस्त गर्नुपर्ने निर्णयहरूसहित प्रतिवेदन सरकारलाई बुझाउँदा बुझाउँदै पनि मधेसी दलहरू, केही कथित महिलावादीहरू आफ्नो दलालहरूमार्फत महिला अधिकारको एउटा हातले सिन्दुर लगाएर अर्काे हातले नागरिकता पाउनुपर्ने माग राख्न लगाएर नेपाललाई पछि निल्ने दाउ रचिएको थियो । भारतमै विदेशी बुहारीले नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । माल्दिभ्समा १२ वर्ष, बङ्गलादेशमा ५ वर्ष र पाकिस्तानमा पनि ५ वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था छ । भुटानमा १० वर्ष, अफगानिस्तानमा ५ वर्षभित्र कुनै अपराध नगरेको हुनुपर्ने व्यवस्था छ भने श्रीलङ्कामा विदेशी बुहारीलाई स्थायी बसोबासको अनुमति नै नदिने प्रावधान राखिएको छ । नेपालमा जन्मेको सन्तानका बाबु र आमाको हुनुपर्ने प्रावधान हताएर बाबु वा आमा नाउँबाट नेपालको नागरिकता पाउन सक्ने नियमको आधारमा धेरै भारतीय नागरिकहरूले नेपाली नागरिकता लिइसकेको समाचार नयाँ होइन ।
अब प्रतिनिधिसभाको निर्वाचन भएमा त्यस्ता राष्ट्रघाती नेताहरूलाई हराएर स्वच्छ छवि, नैतिक आचरण भएका देशभक्त नेताहरूलाई मतदान गरी जिताएर नेपाललाई सिक्किमीकरण र फिजीकरण हुनबाट जोगाऔँ । त्यस्ता राष्ट्रघाती नेताहरूलाई सबै देशभक्त जनता मिलेर निर्वाचनमा बहुमतले हराउनु आजको आवश्यकता हो ।
Leave a Reply