भर्खरै :

राजकुमार र एकारामको निधनले ललितकला क्षेत्रमा ठूलो क्षति

काठमाडौँ, २९ जेठ । कलाकारद्वय राजकुमार शाक्य र एकाराम सिंहको निधनले नेपाली ललितकला क्षेत्रमा ठूलो क्षति पुगेको कलाकारहरूले बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा कलाकारद्वयको निधनको दुखद् अवसरमा आज भर्चुअल माध्यमबाट आयोजित श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली ललितकलाको क्षेत्रमा उहाँहरूको योगदान अविश्मरणीय रहेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले शाक्य र सिंहसहित कोरोनाका कारण दिवंगत कलाकारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यसबेला नेपाली कला क्षेत्र नै शोकमा रहेको प्रतिक्रिया दिनुभयो । उहाँले कलाकार सिंह राष्ट्रिय सम्पदा, संस्कृति र इतिहासको गहिरो अनुसन्धान गर्ने र बालसाहित्यमा समेत दख्खल भएका लेखकको रुपमा आफूले चिनेको बताउनुभयो । दृष्टान्त चित्रकार एकारामको ‘लोप भएका हाम्रा चित्रकला’ भन्ने पुस्तकको पाल्डुलिपी तयार भइसकेको कर्माचार्यले जानकारी दिनुभयो ।
कलाकार शाक्यको कोरोना रिपोर्ट नेगेटिभ आए पनि फोक्सोमा देखिएको समस्याका कारण यही जेठ २२ गते र सिंहको कोरोनाका कारण २४ गते निधन भएको थियो । शाक्यले अन्तरराष्ट्रिय क्षेत्रमा समेत मूर्ति बनाएर पहिचान दिलाउनुभएको थियो ।
प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार कलाकारको निधनले कला क्षेत्रमै राष्ट्रिय क्षति पुगेको स्मरण गर्नुभयो । उहाँले विगतमा एकाराम सिंहका चित्रहरू गोरखापत्रको मुनामा पनि समावेश रहेको जानकारी दिनुभयो । कला अभियन्ता राकेश अवालेले मूर्तिकलाका अब्बल चित्रकार राजकुमार शाक्य बुबाबाटै मूर्ति बनाउन सिक्नुभएका र उहाँका आफ्नै लगनशिलताका कारण आज ख्याति कमाउन सफल भएको बताउनुभयो ।
बालसखा अवालेले २०५५ सालतिर कला सहयात्राको क्रममा सँगै मूर्ती बनाउने परियोजना सम्पन्न गरेको स्मरण गर्नुभयो । अवालेले भन्नुभयो, “उहाँको चित्र लेख्ने, कोर्ने र जोड्ने आफ्नै शैली थियो, त्यस्तो कुशल अनुभव अन्य कलाकारमा कमै हुन्छ ।”
अर्का कलाकार धर्मराज शाक्यले नेपाली शब्दकोषमा समेत शब्द थप्न सफल धातुपत्र कलाकार राजकुमार अन्य कलामा समेत उत्तिकै सक्रिय रहेको जानकारी गराउनुभयो । ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोविन्द डङ्गोल कलाकार एकाराम सिंह थाङ्का चित्र र दृष्टान्त चित्रकलाका उत्तिकै अनुभवसिद्ध कलाकार भएको बताउनुभयो ।
“चित्रकार मात्रै होइन किन चित्र बनाउनुप¥यो भन्ने विषयमा गहिरो ज्ञान राख्ने कलाकार हो एकाराम”, डङ्गोले थप्नुभयो, “अरुले बनाएका थाङ्का भन्दा उहाँका कला धेरै फरक हुन्थ्यो, इतिहास र पृष्टभूमिलाई स्पष्टपार्ने गर्नुहुन्थ्यो ।” बालसहित्यकार धु्र्रब घिमिरे बालसाहित्यको लेखनसँगै चित्राङ्कन गर्न सक्ने सिंहको सांस्कृतिक कथामा पनि महत्वपूर्ण अनुभवी व्यक्तिको रुपमा चिनेको बताउनुभयो ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख, तथा प्राज्ञ लालकाजी लामाले आगामी वर्ष दुवै कलाकारका व्यक्तित्व र कृतित्वको बारेमा रिसर्च गराउने प्रतिबद्धता जनाउनुभयो । श्रद्धाञ्जली सभामा प्राज्ञ शुष्माराज राजभण्डारी, कलाकारहरू कृष्ण मानन्धर, प्रचण्ड शाक्य, प्रमोद प्रधानलगायतले उहाँहरूको योगदानको स्मरण गर्नुथियो । श्रद्धाञ्जलीसभामा अन्य कलाकार स्वर्गीय सागर शाक्य र लक्ष्मण श्रेष्ठप्रति पनि श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *