भर्खरै :

(सन्दर्भः चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकोत्सव) चीनका ती विद्यार्थी जो युरोपमा क्रान्तिकारी बने

चीनको पैसाबाट बनेको त्यो कलेजले आफ्नो जीविकोपार्जनको आधार भेटाउन नसक्ने काम–अध्ययन अभियानअन्तर्गत आएका विद्यार्थीहरूलाई पनि त्यो वर्ष भर्ना लिएको थिएन । खान–बस्न सक्ने विद्यार्थीलाई मात्र भर्ना लिइएको थियो । कलेज कब्जा गर्ने प्रयास असफल भएपछि धेरै विद्यार्थी पक्राउ गरिएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीले यो वर्ष आफ्नो स्थापनाको एक सय वर्ष मनाउँदै छ । यस परिप्रेक्ष्यमा बीसौँ शताब्दीको सुरुमा युरोपमा युवक विद्यार्थीको रूपमा गएका चीनका प्रारम्भिक विद्यार्थीहरूको स्मरण प्रासङ्गिक छ ।
सन् १९१९ मा ‘काम–अध्ययन अभियान’ अन्तर्गत ती विद्यार्थीहरू पश्चिम युरोप पुगेका थिए । आफ्नो पढाइ खर्च जुटाउन उनीहरूले त्यहाँ धेरै थरी काम गरेका थिए । सँगै उनीहरूले युद्ध, गरिबी र साम्राज्यवादी हमलाले अस्तव्यस्त बनेको चीनको मुक्तिको बाटो पनि खोजिरहेका थिए ।
माक्र्सवादबाट प्रभावित भएका उनीहरूमध्ये केहीले युरोपमै त्यत्तिबेला चिनियाँ कम्युनिस्ट समूह गठन गरेका थिए । तिनै चिनियाँ युवकहरूले त्यसपछिका दशकहरूमा चीनलाई जोगाउन अग्रसरता लिएका थिए । तिनै व्यक्तिहरू आज चीनको नयाँ पुस्ताको निम्ति प्रेरणाको स्रोत बनेका छन् ।
युरोपमा पलाएको बीउ
फ्रान्सको राजधानी पेरिसभन्दा झन्डै एक सय किलोमिटर दक्षिणमा करिब १५ हजार मानिस बस्ने एउटा नगर छ – मोन्टाग्रिस । त्यही नगरमा देखेका थिए – चिनियाँ कम्युनिस्टहरूले मुक्तिको सपना !
१५ ¥यु रेमन्ड टेलिएरमा एउटा ३ सय वर्ष पुरानो एउटा घर छ । त्यो घर चीनका प्रारम्भिक कम्युनिस्टहरूको विगतसँग जोडिएको घर हो । सन् १९२० को दशकमा त्यही घरमा बसेका थिए – चिनियाँ विद्यार्थीहरू । आज त्यसलाई पुनःनिर्माण गरी सङ्ग्रहालय बनाइएको छ । झन्डै एक हजार तस्बिर, दस्तावेज र अन्य सामग्री प्रदर्शनमा राखिएको छ । यिनले चीन र फ्रान्सबीचको मित्रवत सम्बन्धलाई उजागर गरिरहेको छ ।
“सङ्ग्रहालय घुम्न आउने आगन्तुकहरू ती युवक विद्यार्थीहरूको आकाङ्क्षा र आफ्नो सपना र आस्थाप्रतिको दिगो विश्वास देखेर प्रभावित भएर फर्कन्छन्”, मोन्टाग्रिसको चीन–फ्रान्स मैत्री सङ्गठनका सभापति तथा सङ्ग्रहालयका प्रमुख वाङ पेइवेनले भने । चीनको सुधार र खुलापन कार्यक्रमका प्रमुख वास्तुकार मानिने चीनका नेता तङ स्याओपिङ सन् १९२० को अक्टोबर महिनामा फ्रान्स पुग्दा उनी भर्खर १६ वर्षका थिए ।

फ्रान्सको होटेल नेप्ट्युनमा चाओ एन लाइको ढलोटको आकृति
 
सन् १९२२ मा उनी मोन्टाग्रिस पुुगे । त्यहाँ आफ्नो पढाइ अघि बढाउन हचिनसन रब कारखानामा काम गरे । त्यहीँबाट उनले कम्युनिस्ट विचारधारा सिके ।
काम–अध्ययन अभियानमा गएका चिनियाँ विद्यार्थीहरूको स्मरण गर्दै मोन्टाग्रिसले सन् २०१४ मा मध्य रेलमार्ग स्टेसनको अघिल्लो चोकलाई तङकै नाम जोडेर नामकरण गरे । सन् २०१९ मा काम–अध्ययन अभियान एक सय वर्ष पुगेको अवसर पारेर त्यही चोकमा एउटा भव्य स्मारकको उद्घाटन पनि भयो ।
मोन्टाग्रिसका प्रमुख बेनोट डिजिओनले भने, “त्यो स्मरणले युवा चिनियाँलाई प्रतिबिम्बित गरेको छ । चीनमा आ–आफ्ना प्रान्तमा उत्कृष्ट बनेका विद्यार्थी आफ्नो देशलाई अघि बढाउने बाटो खोज्न फ्रान्स आइपुगेका थिए । उनीहरू साम्यवादी सिद्धान्तबाट प्रभावित थिए र चीनमै कम्युनिस्ट पार्टी स्थापना गर्न सक्रिय थिए ।”
फ्रान्स औद्योगिक क्रान्तिको लागि विख्यात थियो । फ्रान्सेली क्रान्तिको विचार र भावनाबाट चीनका युवकहरू प्रभावित थिए । त्यही भएर काम–अध्ययन अभियानअन्तर्गत फ्रान्स धेरै चिनियाँ विद्यार्थीको प्रमुख गन्तव्य बनेको थियो ।
साङ्घाई सामाजिक विज्ञान प्रतिष्ठान र अन्य संस्थाहरूमा संरक्षण गरिएका विभिन्न ऐतिहासिक दस्तावेजहरूले सन् १९१९ को मार्चदेखि सन् १९२० को अन्त्यसम्ममा फ्रान्स जान साङ्घाईबाट झन्डै १६ सय विद्यार्थीले चीन छोडेको उल्लेख छ । सबभन्दा पहिले सन् १९१९ को मार्च १७ मा साङ्घाईबाट ८९ जना विद्यार्थीहरू फ्रान्सतिर गएका थिए । त्यत्तिबेला त्यो घटना समाचारको विषय बनेको थियो ।
सिक्ने अवसर
पेरिसको मुख्य बजारमा अवस्थित होटेल नेप्ट्युनको भुइँ तलामा छ एउटा सानो कोठा । सन् १९२२ देखि १९२४ सम्म युवक विद्यार्थीको रूपमा जनवादी गणतन्त्र चीनका प्रथम प्रधानमन्त्री चाओ एन लाईले त्यो कोठामा निकै कष्टकर जीवन बिताएका थिए । एउटा खात, टेबुल र कुर्सीसम्म मुस्किलले राख्न मिल्ने सानो कोठामा चाओले पढाइ पनि गरे र काम पनि । युरोपमा आफूले सिकेका नयाँ विचारको प्रवद्र्धन गर्न र कम्युनिस्ट गतिविधि सङ्गठित गर्न उनी उत्तरी चीनको तान्जिङ सहरबाट प्रकाशित हुने एउटा अखबारको निम्ति त्यही कोठामा बसेर लेख लेख्थे ।
झन्डै एक वर्षपछि हिजोआज त्यो होटेल चिनियाँ–फ्रान्सेली लि चियाङ्लीले चलाइरहेका छन् । त्यो इतिहास बोकेको भवनको रक्षा गर्ने आफ्नो दायित्व ठानेर उनले त्यो भवन किने । उनले सन् २००१ मा त्यो भवन किनेका थिए । त्यसयता उनले त्यो भवनमा चिनियाँ र विदेशी पाहुनालाई स्वागत सत्कार गरिरहेका छन् ।
बजारतिर फर्केको होटेलको भित्तामा फ्रान्सका विख्यात मूर्तिकार पाउल बेलमोन्डोले बनाएको ढलोटले बनाइएको चाओ एन लाईको मूर्ति सन् १९७९ मा राखिएको छ । पेरिसको ¥यु जोडफ्रोएमा अझै उही शानका साथ उभिएको झन्डै १६० वर्ष पुरानो यो भवनले कुनै बेला त्यहाँ बसेका डेरावालको कथा भनिरहेको छ ।
आफ्नो जीवन निर्वाहको लागि कडा मिहिनेत गरेका चिनियाँ विद्यार्थीहरूले युरोपमा धेरै अनुभव हासिल गरे । उनीहरूले युरोपका कामदार जनताको अवस्थाबारे बुझे । माक्र्सवाद बुझ्नुअघि नै उनीहरूले पुँजीवादका कुरुप अनुहार पढे ।
कार्ल माक्र्सका कृतिको गम्भीर अध्ययनपछि माक्र्सवादी बनेका काई हेसेन सुरुका चिनियाँ विद्यार्थी थिए । उनले माक्र्सका कृतिहरू चिनियाँ भाषामा अनुवाद गरेका थिए । सन् १९१७ मा रुसमा भएको रूसी अक्टोबर क्रान्तिबारे चिनियाँ जनतालाई जानकारी दिन उनले ठुलो भूमिका खेलेका थिए । साथै उनले संसारभर भइरहेका श्रमिक जनताको आन्दोलनबारे चिनियाँ जनतालाई जानकारी दिइरहे ।
फ्रान्सको तेस्रो ठुलो सहर लिओनमा सन् १९२१ मा केही चिनियाँ विद्यार्थीहरूले पढ्न पाउने आफ्नो अधिकारलाई लिएर सङ्घर्ष गर्नुपरेको थियो । चिनियाँ विद्यार्थीहरूकै लागि भनेर स्थापना गरिएको फ्रान्स–चिनियाँ कलेजमा उनीहरूलाई पढ्न नदिएपछि उनीहरूले सङ्घर्ष गर्नुपरेको थियो ।
चीनको पैसाबाट बनेको त्यो कलेजले आफ्नो जीविकोपार्जनको आधार भेटाउन नसक्ने काम–अध्ययन अभियानअन्तर्गत आएका विद्यार्थीहरूलाई पनि त्यो वर्ष भर्ना लिएको थिएन । खान–बस्न सक्ने विद्यार्थीलाई मात्र भर्ना लिइएको थियो ।
कलेज कब्जा गर्ने प्रयास असफल भएपछि धेरै विद्यार्थी पक्राउ गरिएको थियो । सन् १९२१ मा १०४ जना विद्यार्थीलाई चीन फर्काइएको थियो ।
“त्यो समानता र न्यायको लडाइँ थियो । विद्यार्थी पढ्न पाउनुपर्ने आफ्नो अधिकारको निम्ति लडेका थिए”, फ्रान्स–चीन सङ्गठनका प्रमुख तथा नयाँ फ्रान्स–चीन कलेजका उपसभापति एलियन लाबाटले भने ।
“उनीहरूको असफलतापछि पनि उनीहरूले धेरै अनुभव हासिल गरे । चीनमा माक्र्सवाद र साम्यवादको प्रचारको निम्ति उनीहरूले नेतृत्वदायी भूमिका खेले”, उनले भने ।
जीवन्त सम्झना
जनवादी गणतन्त्र चीनका संस्थापकहरूमध्ये एक जना थिए – मार्सल चु तेह । उनी ३० वर्षको छँदा सन् १९२३ मा जर्मनीको गोइटिनजेन विश्वविद्यालयमा भर्ना भएका थिए । मध्य जर्मनीको गोइटिजेन विश्वविद्यालय नगरले आज त्यो पुरानो सम्झनाको रक्षा गरिरहेको छ ।
आज पनि चु तेहले आफ्नै हस्ताक्षरमा भरेको दर्ता फारम विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित राखिएको छ । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तका स्थायी बासिन्दा चु तेह दर्शनशास्त्र विभागअन्तर्गत समाजशास्त्रका विद्यार्थी भएको फारमबाट प्रस्ट देखिन्छ ।
चुले सन् १९२२ मा चाओलाई बर्लिनमा भेटे । चाओकै प्रभावबाट चु चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए ।
चु अलि जेठो थिए । उनले सैनिकमा धेरै वर्ष बिताइसकेका थिए । गोइटिजेन सहरको अभिलेखालयका इतिहासकार रोफ कोल्डस्टिडले भने, “उनी औद्योगिकृत पश्चिमा सहरमा गएर आफ्नो दृष्टिकोण फराकिलो बनाउन चाहन्थे ।”
नगरको अभिलेखालयमा स्थानीय प्रहरीमा चाओले आफू बस्ने कोठाको दर्ता फारम भरेको अभिलेख राखिएको छ । त्यसमा चाओको तस्बिर पनि टाँसिएको देखिन्छ । उनी प्लाकस्ट्रास ३ को एउटा स्थानीय परिवारसँगै बस्थे । १ लाख २० हजार जनता बसोबास गर्ने त्यो विश्वविद्यालय नगरमा आउने धेरै पर्यटकलाई रातो इटाको त्यो भवनलाई धेरैले आकर्षित गरेको छ ।
सन् १९८६ मा चु तेहको एकसयौँ जन्म दिनको अवसर पारेर सो भवनको बाहिर मार्बलको शिलापत्र राखिएको थियो । त्यसमा लेखिएको छ – ‘चु तेह – जनवादी गणतन्त्र चीनका मार्सल (१९२३–१९२४) ।
ब्रसेल्सभन्दा ६० किलोमिटर दक्षिणमा अवस्थित चार्लेरिओ श्रम विश्वविद्यालयमा पनि चीनका कम्युनिस्ट अगुवाहरूको धेरै सम्झना सुरक्षित छन् ।
सन् १९०३ मा कामदार जनताको लागि बहुप्राविधिक कलेजको रूपमा स्थापना भएको यो विश्वविद्यालयमा सन् १९२० को दशकमा धेरै चिनियाँ विद्यार्थीहरू पढेका थिए । उनीहरूमध्ये एक जना थिए – नेई रोङचेन । उनी त्यत्तिबेला रसायन इन्जिनियरिङका विद्यार्थी थिए । बेल्जियममा उनले साम्यवादी सिद्धान्तबारे थाहा पाए र चिनियाँ कम्युनिस्ट पार्टीको त्यहाँको एकाइमा आबद्ध भए ।
ती दिनहरूमा युरोपमा धेरै विद्यार्थीहरू समाजवादी व्यवस्थाले मात्र चीनलाई जोगाउन सक्ने निक्र्योलमा पुगिसकेका थिए ।
इतिहासकारहरू काम–अध्ययन अभियानले इतिहासमा महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गर्न र सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनाको निम्ति त्यो अभियानले योगदान गरेको थियो । उनीहरूले इतिहासमा छोडेको पदचाप आजको पुस्ताको लागि प्रेरणा बनिरहेको छ ।
चीनको सामाजिक विज्ञान प्रतिष्ठानमा आबद्ध इतिहासकार त्वानमु मेइले सो अभियानका ती प्रमुख अगुवाहरूले चीनको भावी क्रान्ति, विकास र सुधारमा युगान्तकारी भूमिका खेलेको बताए ।
“युरोपमा उनीहरूको अनुभवले उनीहरूलाई दीर्घकालीन सोच, व्यापक दृष्टिकोण र खुला हृदय दियो । ती तीन विशेषताले उनीहरू क्रान्ति, पार्टी र देशका नेता बन्न सफल भए”, उनले भने ।
चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चीन र फ्रान्सका ४० भन्दा बढी किशोर–किशोरीहरू अनलाइन जुम सम्मेलनमा सहभागी बने । उनीहरूले शताब्दीअघि युरोपमा प्रारम्भिक चिनियाँ कम्युनिस्टहरूको जीवनको स्मरण गरे ।
फ्रान्सेली भाषाका विद्यार्थी वाङ चियानको शब्दमा क्रान्तिकारीहरू आशाका स्रोत हुन् ।
“बितेको शताब्दीका ती आदर्श पात्रहरूबाट हामीले धेरै कुरा सिक्न सक्छौँ । नयाँ परिस्थितिमा तुरुन्तै घुलमिल हुनसक्ने उनीहरूको क्षमता, सिक्ने उत्साह र सबभन्दा महत्वपूर्ण कुरा आफूले सिकेका कुरा आफ्नो देशको लागि समर्पित गर्ने उनीहरूको देशभक्तिपूर्ण भावनाबाट हामीले धेरै सिक्न सक्छौँ ।”
स्रोतः सिन्ह्वा
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *