भर्खरै :

सैन्य जनरल राउल क्यास्त्रोले १६ अप्रिल, सन् २०२१ मा क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत गर्नुभएको केन्द्रीय प्रतिवेदन – ५

साथीहरू,
यी पाँच वर्षमा ऐतिहासिक मित्रता र ऐक्यबद्धताले गाँसिएका समाजवादी एसियाली देशहरू जनगणतन्त्र चीन, समाजवादी गणतन्त्र भियतनाम, लाओ जनतान्त्रिक गणतन्त्र र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका दल र सरकारहरूसँगको सम्बन्ध अझ प्रगाढ भएको छ । हाम्रो अर्थतन्त्रका विभिन्न क्षेत्रमा क्युवा र भियतनामसँगको हाम्रो सहकार्यमा चलाइएका आर्थिक परियोजनाहरू महत्वपूर्ण छन् । तिनले २०३० सम्मको आर्थिक र सामाजिक विकास योजना ९भ्अयलयmष्अ बलम क्यअष्ब िम्भखभयिऊभलत एबिल० मा योगदान गर्दै छन् ।
यी वर्षहरूमा रुसी सङ्घसँगको उच्चस्तरीय राजनीतिक सम्बन्ध प्रगाढ भएको छ । यस देशसँग अन्तर्राष्ट्रिय मुद्दाहरूका विविध पक्षहरूमा हाम्रो विस्तृत सहमति छ र यस देशले क्युवामाथि संरा अमेरिकाले थोपरेको आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दीको विरुद्ध निरन्तर अडान लिँदै आएको छ ।
राजनीतिक विमतिहरू छँदाछँदै पनि परस्पर सम्मान र आदानप्रदानको आधारमा राजनीतिक संवाद र सहकार्य सम्झौता Political Dialogue and Cooperation Agreement) कार्यान्वयन गर्दै युरोपेली युनियनसँग सम्बन्ध बढाउनमा हामीले प्रगति गरेका छौँ । नवीकरणीय ऊर्जा, कृषि र संस्कृतिजस्ता क्षेत्रमा सहकार्यमा भएको प्रगति उल्लेखनीय छ ।
इतिहास, संस्कृति र मित्रताको बलियो गाँठोले जोडिएको महादेश अफ्रिकाका देशहरूसँगको हाम्रो सहकार्य र ऐक्यबद्धता हामी कायम राख्छौँ । त्यहाँका ३० चानचुन देशहरूका स्वास्थ्य र अन्य फाँटमा हजारौँ सहकर्मीहरूले आफ्नो सेवा दिइरहेका छन् । यी वर्षहरूमा क्युवाप्रतिको ऐक्यबद्धता र नाकाबन्दीको विरोधमा अफ्रिकी युनियनले लिएको एकमतको अडानप्रति हामी कृतज्ञ छौँ ।
प्यालेस्टाइनी र साहारावी जनताको ध्येयप्रतिको हाम्रो समर्थन अटल रहिरहनेछ ।
माथिको विशद चर्चा र भविष्यमा यसको विकासक्रमले हाम्रो प्रतिरक्षालाई सदा प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँछ । यो प्रथम महाधिवेशनको केन्द्रीय प्रतिवेदनमा फिडेलले जोड दिनुभएको धारणासँग ठ्याक्कै मेल खान्छ । उहाँले भन्नुभएको थियो, “साम्राज्यवाद रहेसम्म पार्टी, राज्य र जनताले हाम्रो प्रतिरक्षा सेवाहरूमा उच्चतम ध्यान दिनेछन् । हाम्रो क्रान्तिकारी सेनालाई कहिल्यै बेवास्ता गरिनेछैन । इतिहासले प्रस्ट मुखरतासाथ देखाएको छ, जसले यो सिद्धान्त बिर्सेको छ तिनको अस्तित्व नामेट भएको छ ।”
क्युवाली गणतन्त्रको संविधानको धारा २१७ मा स्थापित समस्त जनताको युद्ध ९ध्बच या भ्लतष्चभ एभयउभि० को रणनीतिक अवधारणा पूर्णतः तम्तयार छ । यस धाराले प्रत्येक नागरिकलाई पार्टीको नेतृत्वमा शत्रुसँग लड्ने ज्ञान र साधन, स्थान र तरिकाबारे बताउँछ ।
यो सिद्धान्तले हाम्रो लडाकु क्षमता र तत्परतालाई सुदृढ पार्न हरदम ध्यान दिनुपर्ने, देशको प्रतिरक्षा योजनालाई अद्यावधि गरिरहनुपर्ने तथा योजनाबद्ध क्रियाकलाप सञ्चालन गर्न विभिन्न तहमा निर्देशक, प्रमुख र नेतृत्वदायी अङ्गहरूको तालिम गर्नुपर्ने मान्यता राख्छ । यस अर्थमा हामीले कोभिड–१९ को लडाइँले अनुमति दिएसम्म हाम्रा जनताको व्यापक सहभागिताका साथ राष्ट्रिय प्रतिरक्षा दिवसहरूबिना झिलिमिली पुनः मनाउनुपर्ने ठान्छौँ । यिनलाई कुनै औपचारिकता वा गीतसङ्गीतबिना मनाउनुपर्ने हुन्छ । यसले जनताको तालिममा असरदार र उपयोगी भूमिका खेल्छ । हामी नबिर्सौँ, अविरल सुधारबाट हाम्रो सैन्य सुरक्षा हासिल भएको छ ।
यस अवधिमा क्रान्तिकारी सैन्य बलले दस्ताहरूको तयारी, सैन्य प्रविधि र हतियारको उत्पादन, आधुनिकीकरण, मर्मतसम्भार तथा सैन्य अपरेसन थियटरको तयारी जारी राखेको छ । सँगसँगै, भैपरी र सबैखाले प्राकृतिक प्रकोपको सामनामा हेलिँदै छ । यसले कोभिड–१९ लाई विशेष जोड दिएको छ ।
प्राप्त वैज्ञानिक क्षमताको आधारमा सैन्य उद्योग सङ्घले हाम्रा हातहतियार र सैन्य प्रविधिको उल्लेख्य हिस्साको आधुनिकीकरण र तयारी सुनिश्चित गरेको छ । साथै, यसले जनताबीच उच्च माग रहेका सामग्री र पार्टपुर्जाहरूको बढ्दो उत्पादन गर्दै छ ।
पार्टीको प्रथम महाधिवेशनमा बुझाउनुभएको केन्द्रीय प्रतिवेदनमा सेनानायक फिडेलले उल्लेख गर्नुभएको थियो– “विद्रोही सेना क्रान्तिको आत्मा थियो र त्यसका विजयी हतियारहरूबाट मुक्त, सुन्दर, उन्नत र अजेय नयाँ मातृभूमि उत्पन्न भयो ।” यो वाक्य आज पूर्णतः सही सिद्ध भयो । त्यसैले म जोड दिन्छु, विद्रोही सेनाबाट जन्मेको क्रान्तिकारी सैन्य बल क्रान्तिको आत्मा बन्ने अभिभाराबाट पन्छिएको छैन र कहिल्यै पन्छिनेछैन । (तालीको गडगडाहट)
जनता, पार्टी र जनसङ्गठनहरू, क्रान्तिकारी सैन्य बल तथा राज्य र सरकारका अन्य संस्थानहरूसँग नजिकको सम्बन्ध राखेर गृहमन्त्रालयका जोधाहाहरूले शत्रुका चालबाजी, सत्तापलटका योजना, अपराध, अवैध धन्दा र भ्रष्टाचार, सामाजिक अनुशासनहीनता र नकारात्मक व्यवहारको रोकथाम र सामना सुदृढ तुल्याउने कामलाई निरन्तरता दिँदै छन् ।
पछिल्ला पाँच वर्षमा यस मन्त्रालयले आफ्नो साङ्गठनिक संरचनाको चुस्तता र परस्पर लगावमा संयोजन र युनिटहरूप्रतिको ध्यानाकर्षणमा उच्च प्रगति गरेको छ । यस निर्णायक योगदानको जस उप–एडमिरल जुलियो सिजर गान्डारिल्ला बर्मेजोलाई जान्छ । गत वर्ष उहाँको निधन हुनुअघिसम्म उहाँ पार्टीको केन्द्रीय समिति सदस्य, जनसत्ताको राष्ट्रिय सभाका सांसद र गृहमन्त्री हुनुहुन्थ्यो । क्रान्तिको सेवामा उहाँको उज्ज्वल कीर्तिमानमा मैले आज थप्नैपर्छ, संस्थानको नयाँ पुस्ताको सही, दूरदर्शी छनोट र तयारीमा उहाँले योगदान गर्नुभएको छ । यो पुस्ताले संस्थानको नयाँ नेतृत्वलाई सुरक्षितरूपमा निरन्तरता दिनेछ ।
खाद्यान्न उत्पादनमा क्रान्तिकारी सैन्य बल र गृहमन्त्रालयको योगदानको उल्लेख गर्नु म उपयुक्त देख्छु । यसले गर्दा दुवै संस्थानहरू आफ्ना सदस्यहरूको पोषणका निम्ति चाहिने अधिकतर उत्पादनमा आत्मनिर्भर छन् । क्रान्तिकारी सैन्य बल र गृहमन्त्रालयको आवश्यकता पूर्तिको तह क्रमशः ८३ र ७२ प्रतिशत छ ।
हाम्रो योजनाबमोजिम आठौँ पार्टी महाधिवेशनले व्यवस्थितरूपमा ऐतिहासिक पुस्ताबाट नयाँ पुस्तामा प्रमुख जिम्मेवारीहरू हस्तान्तरण गर्ने प्रक्रिया टुङ्गोमा पुगेको जनाउ दिनेछ ।
१० वर्षअघि छैटौँ पार्टी महाधिवेशनमा मैले भनेको थिएँ, नयाँ पुस्तालाई प्रमुख पदहरूमा ल्याउने अनेक प्रयासहरूमा हामी विफल नभए तापनि छनोट सधैँ सही थिएनन् र फलस्वरूप हामीसँग त्यसबेला पार्टी, राज्य र सरकारको नेतृत्व गर्ने नयाँ, जटिल अभिभारा वहन गर्नसक्ने प्रशस्त अनुभव र परिपक्वतासहितको खारिएको नयाँ पुस्ताको समुदाय थिएन ।
मैले बिना कुनै ठाडो निर्णय वा पूर्वतयारी, बिस्तारै यो अड्को फुकाउनुपर्छ पनि भनेको थिएँ । किनभने, देशको प्रशासनिक र पार्टी पङ्क्तिहरूको समग्र कडीमा व्यवस्थित कायापलट गर्न पार्टी, राज्य र सरकारमा नेतृत्वदायी अङ्गहरूको कामकारबाहीको सामूहिक चरित्र र प्रजातान्त्रिक भावनालाई थप सबल तुल्याउनुपर्ने थियो ।
तथापि, हामी यो रणनीतिक मोर्चाको काम पूरा भइसकेको मान्न सक्दैनौँ । हामीले तल्लो तहदेखि उच्चतम जिम्मेवारीको तहसम्म आउँदा दशकौँका अनुभवहरूले खारिएर तम्तयार भएको तथा क्रान्ति र समाजवादका सिद्धान्त र मूल्यमान्यतामा प्रतिबद्ध नेताहरूको समूहलाई देशको नेतृत्व हस्तान्तरण गरेकोमा म सन्तुष्ट छु । यो समूह राष्ट्रको इतिहास र संस्कृतिका जरा र मान्यताहरूसँग परिचित छ, गहन संवेदनशीलताका साथ जनतासँग गाँसिएको छ, उत्साह र साम्राज्यवादविरोधी भावनाले भरिपूर्ण छ । उनीहरू आफूले १० अक्टोबर, सन् १८६८ मा केसपेडीजले थालनी गरेको, गोमेज, मासियो, क्यालिक्स्टो गार्सिया र एग्रामोन्टेले निरन्तरता दिएको, क्युवाली क्रान्तिकारी पार्टीको प्रमुखको रूपमा मार्टीले नयाँ थालनी गरेको, प्रथम क्युवाली कम्युनिस्ट पार्टी गठन गरेर बालिनो र मेल्लाले, भिल्लेना, गिटेरास, जिजस मेनेन्डेज, एबेल, होसे एन्टोनियो, फ्रान्क पाइस, कामिलो, चे, ब्लास रोका, सिलिया, हायडी, मेल्बा र भिल्मा, अलमेइदा र हाम्रा सदावहार सेनानायक फिडेलले अघि बढाएको कार्यको अविच्छिन्नतालाई प्रतिनिधित्व गर्ने विषयमा सचेत छन् । (ताली)
धेरै पहिले हामीले छनोट गरेका युवाहरूमध्ये एकजना राजनीतिक ब्यूरोका सदस्य र गत तीन वर्षदेखि गणतन्त्रका राष्ट्रपति साथी मिगुएल डायज–कानल बेर्मुडेज हुनुहुन्छ । पार्टी नेतृत्वको निष्कर्षअनुसार उहाँले राम्रा परिणामहरूका साथ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँलाई छनोट गरेयता हामीले उहाँमा कैयन् गुणहरू पाउँदै गएका थियौँ ।
हामीले भनिसक्यौँ डायज–कानल पूर्वतयारी नगरिएका व्यक्ति हुनुहुन्न । बरु, सोचविचार गरेरै ठूलो जिम्मेवारीको पदमा लैजाने आशयले एक युवा क्रान्तिकारीको छनोट गरिएको थियो । उहाँले सफलतापूर्वक अघि बढ्दै भिल्ला क्लारा र होलगुइनमा पार्टी प्रथम सचिवको रूपमा १५ वर्ष पूरा गर्नुभयो । त्यसपछि उहाँलाई क्रमशः उच्च शिक्षामन्त्री, मन्त्रिपरिषद्को उपराष्ट्रपति र राज्य एवम् मन्त्रीहरूको परिषद्को प्रथम उपराष्ट्रपतिमा नियुक्त गरियो । पार्टीको सैद्धान्तिक मोर्चामा पनि खटिँदै उहाँले यी पदभार सम्हाल्नुभयो ।
गत तीन वर्षमा डायज–कानल एउटा समूह बनाएर पार्टी, राज्य र सरकारका नेतृत्वदायी अङ्गहरूबीच आत्मीतव हुर्काउन सक्षम हुनुभएको छ ।
जहाँसम्म मेरो सवाल छ, क्युवाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रथम सचिवको मेरो जिम्मेवारी आफ्नो कर्तव्य पूरा गरेको सन्तुष्टिका साथ मातृभूमिको भविष्यप्रति निर्धक्क हुँदै यही टुङ्गिन्छ । मैले पार्टी सङ्गठनको उच्च अङ्गमा बस्नलाई आउने प्रस्ताव नस्वीकार्नेबारे सावधानीपूर्वक विचार गरेको छु । पार्टी सदस्यको रूपमा मैले अर्को एक क्रान्तिकारी सेनानीको रूपमा जीवनपर्यन्त सक्दो योगदान गर्न छोड्नेछैन । (तालीको गडगडाहट)
मलाई यो निर्णय लिन केहीले कर गरेको होइन, बरु म उदाहरणको शक्ति र महत्वमा र मेरा देशवासीहरूको बुझाइमा दह्रो विश्वास गर्छु । यसमा शङ्का नहोस्, रिकाबमा खुट्टा राखेर मातृभूमि, क्रान्ति र समाजवादको रक्षाका निम्ति म अन्तिम साससम्म तम्तयार रहनेछु ।
सर्वथा चर्को स्वरमा नारा लगाऔँ :
क्युवाली मुक्ति जिन्दावाद ! (जिन्दावाद !)
फिडेल क्यास्त्रो जिन्दावाद ! (जिन्दावाद !)
मातृभूमि वा मृत्यु !
हामी जित्नेछौँ !
(सम्मानमा सहभागीहरू उभिनुहुन्छ)
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *