भर्खरै :

दैलेखका गाउँघरमा ढिकीजाँतो र हाते मुसलको आवाज

दुल्लु, ३० जेठ । नारायण नगरपालिका–२ का जगत थापाका घरमा ढिकीको ओखल प्रयोगमा नआउँदा फालिएको ढुङ्गाको रूपमा परिणत हुँदै गएको थियो । ओखलको आकृतिलाई उहाँका बुबा र आमालाई मात्र त्यो ढिकीको हो भन्ने थाहा थियो बाँकी कसैलाई पत्तो थिएन । उहाँहरू बाहेकलाई काम नलाग्ने ढुङ्गा नै लाग्थ्यो । आजभोलि त्यो काम नलाग्ने ढुङ्गा नै घरको भान्सा तयार गर्ने पीठो, चामल र दाल तयार गर्ने मेसिन भएको छ ।
आजभोलि प्रत्येक दिन पिसानी कुटानीमा प्रयोगमा आएको छ । जीर्ण बनिसकेको ओखललाई पुनर्निर्माण गरी ढिकीमा परिणत गरी कुटानी पिसानी गर्न थालिएको छ । आफ्नो पालाको ढिकी फेरि छोराले बनाएर कुट्ने पिस्ने काममा ल्याउँदा उहाँका बुबा ९० वर्षीय भीमबहादुर थापा पनि हर्षित हुनुहुन्छ । आफू तत्कालीन समयमा भारतीय सेनामा कार्यरत भएको पहिलो छुट्टीमा आउँदा २०३० सालमा ढिकी घरमा हालेको सम्झना गर्नुहुन्छ ।
उहाँ धेरै वर्ष यो ढिकीमै कुट्ने पिस्ने गरियो, यी सबै केटाकेटी नै त्यही ढिकीको भात र रोटी खाएर हुर्केको बताउनुहुन्छ । २०४३ सालमा पानी मिल र घट्ट पनि बन्यो अनि बल्ल त्यहाँ जान थालेको उहाँको अनुभव छ । २०५२ सालमा गाउँमै टुकटुके मिल बनेपछि यो ढिकीको प्रयोग हुन छोड्यो, छोराबुहारीलाई नि सजिलो भयो, सबै मिलमा जान थाले । त्यसपछि यो ढिकी भत्केको हो यो ओखलमात्र थियो फेरि पुरानै ढिकी ठडियो । उहाँले भन्नुभयो, “आफ्ना त हातखुट्टा आउँदैन । अहिले सबै मिलमा जान्छन् तर यो कोरोनाले फेरि ढिकी घरमा छोराले बनायो । अब यी सबै रोगभोग हेर्दा पुरानै जमाना आउन लागेको छ ।”
विसं २०५२ मा ढलेको ढिकी थापाको आगनमा, फेरि जस्ताको उस्तै बनेको छ । अहिले प्रत्येक दिन थापाको घरमा ढिकीको आवाज सुनिन्छ, त्यसैको कुटानी पिसानीबाट भान्सा तयार हुन्छ । भुलिसकेको ढिकीजाँतो फेरि कोरोनाले बनाएर कुट्ने पिस्ने बनाएको जगत थापाले बताउनुभयो । गाउँका मिल सबै बन्द छन्, त्यसमा नि कोरोना सर्ला भन्ने डर, अहिले आफूलाई न कुट्ने पिस्नेको चिन्ता न कोरोना सर्ने डर, घरमा सबै मिलेर काम गर्दा सहज अनि मिलमा जाने पैसाको नि बचत भाको उहाँको भनाइ छ । अहिले उहाँको मात्र होइन प्रायः जीर्ण र भत्काइसकेका ढिकीजाँतो र हाते मुसल घरघरमा निर्माण गरिएका छन् ।
भैरवी–३ का सर्वराज थापाको घरमा पनि अहिले जाँतो र ढिकी छ । उहाँ अहिले कुटानी पिसानी ढिकीजाँतोबाटै गर्ने गरेको बताउनुहुन्छ । मिलमा पिसेको– कुटेको भन्दा स्वाद पनि मीठो भएको र त्यहाँ जाने पैसा नि बचत भएको अनि मिलबाट रोग सर्ने खतरा पनि आफूहरूलाई नभएको उहाँले जानकारी दिनुभयो । आजभोलि गाउँघरमा बिहानबेलुकी ढिकीजाँतोको आवाज आउन थालेको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी बताउनुहुन्छ । आधुनिक मिल र पानीघट्टले लोभ नै हुन थालेका यी हाम्रा परम्परागत कुटानी–पिसानीका साधन कोरोनाका कारण मिल बन्द हुँदा पुनः निर्माण अनि पुनः प्रयोगमा आएकोमा आफूखुसी भएको उहाँको भनाइ छ ।
“हाम्रो मौलिकता हराइसकेको थियो भने अग्र्यानिक खाना खान छोड्दा अनेकौँ रोगको सिकार नि भएका थियौँ । कम्तीमा आत्मनिर्भर र अग्र्यानिक खाना त खान पाउने भए अर्को नयाँ पुस्ताका लागि यी सामग्रीका बारेमा बुझ्ने मौका मिल्यो ।”, उहाँले भन्नुभयो । आधुनिक मिल र पानीघट्टको प्रयोगले लोभ हुनै थालिसकेको ढिकीजाँतो र हाते मुसलको पुनः प्रयोग हुन थालेको छ । कोरोनाका कारण प्रशासनले लगाएको निषेधाज्ञा र आफूलाई नि कोरोना सर्ने डरले सञ्चालकहरूले मिल र घट्ट बन्द गरिदिँदा ढिकीजाँतो र हाते मुसलको प्रयोग गर्नेको सङ्ख्या बढेको हो । अहिले अधिकांश गाउँमा कुटानी–पिसानी कार्यमा यी पुराना साधनको प्रयोग हुन थालेको हो ।
मिल र पानीघट्ट सञ्चालकले बन्द गर्दा यी पुराना परम्परागत साधनको पुनर्निर्माण र पुनः प्रयोग गर्न बाध्य भएको स्थानीयवासी बताउनुहुन्छ । लकडाउनदेखि आफूले मिल बन्द गरेको थापा कुटानी–पिसानीका सञ्चालक हस्तबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब त गाउँमा कोरोनाको जोखिम छ भन्ने सुनिन्छ कति त मिलमा आउँछन् । आफैँले नचलाउने भनी फर्काउने गरेको छु ।” पैसाको लोभले मिलमा आएकाबाट कोरोना गाउँमा फैलिने हुँदा आफूले सबैलाई बरु ढिकीजाँतोबाटै कुटानी–पिसानी गर्न सल्लाह दिएको उहाँले बताउनुभयो । अहिले गाउँमा सबैले ढिकीजाँतो प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।
लोप नै भइसकेका ढिकीजाँतो र हाते मुसल पुनः प्रयोगमा आउँदा अग्र्यानिक खाना पनि खान पाउने परम्परागत संस्कृति पनि जोगिने अवसर आएको शिक्षक पार्वती पोख्रेलले जानकारी दिनुभयो । विद्यार्थीलाई ढिकीजाँतोका बारेमा पढाउँदा के हो यो कस्तो हुन्छ भन्ने प्रश्न गर्थे ? अब उनीहरूका लागि प्रयोगात्मक शिक्षा हुने उहाँको तर्क छ । अहिले सबै गाउँमा ढिकीजाँतोको र हाते मुसलको आवाज फेरि गुञ्जिन थालेका छन् । गाउँहरू पुरानै मौलिकता फर्किएको भान भएको रमेश खड्का बताउनुहुन्छ । करीब २० वर्षपछि पहिलेकै गाउँमा बसेको अनुभव भएको पुरानो गाउँको कुनै अनुभव हुन्थेन, सबै आधुनिक जीवनशैलीको रहनसहनमा थिए, बल्ल ढिकीजाँतोको आवाजले उस्तै अनुभव भएको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *