भर्खरै :

पुटिनसँग बाइडेनको भेट : तातो न छारो

‘म जे गर्न आएको हुँ, मैले त्यही गरेँ ।’ संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले यसो भने तापनि उनी र उनका इमानदार समर्थकहरूले भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटवार्ता वास्तवमै खराब भएको स्वीकारोस् भन्ने सबैको अपेक्षा छ । भेटवार्ताको खास महत्व के भयो र त्यो भेटवार्ताले संरा अमेरिकी विदेशी नीतिबारे केही सङ्केत ग¥यो वा गरेन भन्ने विषयमा जो कोही अन्योलमा छन् ।
पर्यवेक्षकहरू कुनै पनि कुरामा स्पष्ट छैनन् । चार वर्षसम्म बाइडेनको डेमोक्रेटिक पार्टीले पुटिनमाथि नानाभाँतीका अपुष्ट आरोप लगाएर खेदो खन्यो । तनाव कम गर्न हुनुपर्छ, बाइडेनले हालै आफ्ना रुसी समकक्षीलाई ‘हत्यारा’ भने र पछि हतारमा त्यो भनाइ फिर्ता लिए ।
संरा अमेरिका र रुसबीचको सम्बन्ध शीतयुद्धको बेलाभन्दा खराब हुँदै गएको परिस्थितिमा बाइडेन र पुटिनको भेटवार्ता तीन साताअघि मात्र घोषणा गरिएको थियो । त्यसकारण, भेटको लागि तयारी पक्कै पनि अपुग थियो । भेटघाटको निम्ति दुवै देशले हतारमा विषयवस्तु जम्मा पारेको देखिन्थ्योः अमेरिकी चुनावमा चलखेल, युक्रेन, बेलारुस, मानवअधिकार, साइबर सुरक्षा, आणविक हतियार नियन्त्रण अनि के के हो के के । डेमोक्रेटिक दलभित्रका रुसविरोधी आक्रामक शक्तिबाट निर्देशित बाइडेनको औँला हल्लाइरहने भावभंगिमाले सहकार्यलाई उचाइमा लान गाह«ै छ । जी ७ को बैठकपछि बाइडेन जेनेभा पुगे । संसारमा जी ७ बैठकको निरर्थकताकै बढी चर्चा भयो । नाटोको सम्मेलनबाट बाइडेनले त्यसका सदस्यहरूबीचको बेमेलको सन्देश लिएर घर फर्के । कुनै चमत्कारले मात्र बाइडेनको युरोप भ्रमणको महत्व दर्शाउन सक्ला । बाइडेनको क्याथोलिक ईश्वरले उनलाई साथ दिएको देखिएन ।
पुटिनले निकै डराएर आफ्नो विमति सुनेको होला भन्ने बाइडेनले सोचेको छ भने त्यो प्रस्टतः असत्य हो । बाइडेनसँगको भेटपछि आयोजित एक घण्टा लामो अमेरिकी र रुसी पत्रकारहरूसँगको भेटघाटमा पुटिन निकै ढुक्क पाराले आफूसँग भएका तथ्य र तर्क प्रस्तुत गरिरहेका थिए, जसरी अमेरिकी समकक्षीसँग भेट्नुअघि संरा अमेरिकाको एउटा टेलिभिजनलाई दिएको ९० मिनेट लामो अन्तर्वार्तामा उनी प्रस्तुत भएका थिए । उता बाइडेनले संरा अमेरिकी पत्रकारहरूसँग तीस मिनेटको भेटघाटमा गफैमात्र दिएका थिए । एकचोटि त उनले पुटिनलाई ट्रम्प पनि भन्न भ्याए । पत्रकार भेटघाट उनको रिस र क्षमायाचनासँगै समापन भएको थियो ।
दुई नेताको भेटपछि जारी जम्मा १४० शब्दको सङ्क्षिप्त वक्तव्यमा सुन्दर पाराले ‘रणनीतिक क्षेत्रमा स्थीरता सुनिश्चित गर्ने, सशस्त्र द्वन्द्व र आणविक युद्धको खतरा कम गर्ने’ जस्ता कुरा लेखिएको छ । तर, वास्तवमा वस्तुस्थितिमा केही पनि परिवर्तन भएको छैन । त्यसमा ‘भविष्यमा प्रस्ट र बृहत् आकारको दुईपक्षीय रणनीतिक स्थायित्वको लागि एकीकृत संवाद आयोजना गर्ने’ वाचा गरिएको छ । संरा अमेरिकी आक्रामक व्यवहार चालु रहे के यी सबै कुरा सम्भव हुनसक्ला ?
पुटिनसँगको भेटमा राष्ट्रपति बाइडेनले के भन्ने विचार गरेका थिए होलान् ? पुटिनलाई भेट्नुअघि बाइडेनको युरोप भ्रमणअन्तर्गतका दुई वटा बैठककै कुरा दिमागमा बोकेर उनले चीनसँग रुसको बढ्दो निकटताको शिकार गर्ने आशा गरेको हुनुपर्छ । यो कुरा प्राप्त गर्न पनि उनले पुटिनलाई केही न केही दिने प्रस्ताव गर्नुपर्ने हुन्छ । तर, शीतयुद्धपछिको संरा अमेरिकी विदेशी नीतिले यस्तो कुनै प्रस्ताव अघि सार्न असम्भव बनाएको छ । उनको डेमोक्रेटिक पार्टीको अवस्था पनि उस्तै छ ।
सोभियत सङ्घको विघटनपछि संरा अमेरिकाले रुसको आर्थिक आत्मनिर्भरतालाई घटाउन भरपुर प्रयास ग¥यो । त्यसको निम्ति अमेरिकाले उसलाई आफ्नो स्रोत पनि उपलब्ध गरायो । एल्सिन सरकारसँग काम गर्दै अन्तर्र्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले घातक ‘सक थेरापी’ जस्ता नीति थोप¥यो । त्यस्तो नीतिले रुसलाई औद्योगिकीकरणबाट विमुखमात्र गरेन, बरु रुसलाई तेल र ग्यासजस्ता आधारभूत वस्तुमा परनिर्भर बनायो । रुसमाथि अमेरिकाले थोपरेको आर्थिक निषेधको नीतिले शीतयुद्ध पछि रुसी जनताको आयु नै कम भएको थियो । नाटोलाई पूर्वतिर विस्तार नगर्ने वाचा पनि संरा अमेरिकाले पूरा गरेन । सन् १९९९ मा पोल्यान्ड, चेक गणतन्त्र र हङ्गेरीलाई नाटोको सदस्यता दिइयो । त्यसपछि पनि अरू धेरै देशलाई नाटोको सदस्यता दिइयो ।
सन् २००० मा पुटिन रुसका राष्ट्रपति बने । त्यसपछि आन्तरिक र अन्तर्राष्ट्रियरूपमा उनले स्थायित्व ल्याउन मिहिनेत गरे । संरा अमेरिकाले यी सबै कुरालाई सावधानीपूर्वक नियालिरहेको थियो । सन् २०१४ मा युक्रेनलाई युरोपेली सङ्घको सदस्यता दिने प्रश्नमा विवाद सुरु भयो । समयान्तरमा नाटोको सदस्य बनाउन त्यो प्रारम्भिक चालबाजी चालिएको थियो ।
पश्चिमा सञ्चारमाध्यममा अझै पनि युक्रेनमा रुसी ‘हस्तक्षेप’ र क्रिमियालाई ‘आफूमा मिलाउन खोजेको’ जस्ता चर्चा हुने गरेका छन् । युक्रेन र क्रिमियाको सन्दर्भमा संरा अमेरिका र नाटोले रणनीतिकरूपमा रुसलाई जे ग¥यो, त्यो भनेको सोभियत सङ्घ वा रुसले मेक्सिको वा क्यानाडालाई निकटको सैनिक मोर्चामा सामेल गर्दाकै परिस्थिति हो भन्ने कुरा अमेरिकाले बिर्सेको छ । गत वर्षसम्ममा संसारका आणविक हतियारमध्ये ८० प्रतिशतभन्दा बढी आफ्नो नियन्त्रणमा रहेका दुई वटा देश (रुस र अमेरिका) बीच आणविक हतियार नियन्त्रणका सबै सन्धिबाट अमेरिका पछि हट्यो ।
रुसका विरोधीहरू यसको निम्ति सबभन्दा सक्रिय थिए । सन् २०१६ मा राष्ट्रपति निर्वाचनमा पराजित भएपछि डेमोक्रेटिकहरू निर्वाचनमा रुसी हस्तक्षेपकै रटान लगाइरहे । पुटिनलाई खराब देखाएर उनीहरू आफ्ना सम्भ्रान्त र नवउदारवादी नीतिको दोष लुकाउन खोजिरहेका थिए । राजनीतिक नेताहरूप्रति अमेरिकी जनताको विश्वास क्षीण बन्दै गएको कुरालाई बेवास्ता गरिरहेका थिए । पछिल्लो चुनावमा बाइडेन जिते । तर, ट्रम्पसँग सानो मतान्तरमा उनी जिते ।
यस्ता शक्तिहरूको निर्देशनमा चालिएका बाइडेनका कदमबाट कसरी मेलपूर्ण विदेश नीति बन्न सक्छ ?
(लेखक क्यानाडाको मनीतोबा विश्वविद्यालयअन्तर्गत राजनीतिशास्त्रका प्राध्यापक हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *