भर्खरै :

पर्यटक आगमन पुरानै लयमा फर्कन अझै दुई वर्ष लाग्ने

काठमाडौँ, ६ असार । कोरोना भाइरसको महामारीको कारण अति प्रभावित बनेको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कने अझै दुई वर्ष लाग्ने भएको छ । सरकारले स्वयम्ले यस्तो प्रक्षेपण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचनाको प्रक्षेपणअनुसार पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्काउन अर्को दुई वर्ष लाग्नेछ । आर्थिक वर्षअनुसार २०७६/७७ मा ११ लाख ९७ हजार जना रहेको पर्यटक आगमन भएको थियो ।
आगामी आव २०७८/७९ मा यो सङ्ख्यामा सामान्य वृद्धि भई ५ लाखसम्म पुग्ने अनुमान सरकारले गरेको छ । त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा मात्र पर्यटक आगमन ११ लाख रूपैयाँ पुग्ने भएको छ । यो सङ्ख्या आव २०७६/७७ मा आएको पर्यटक सङ्ख्या हाराहारी हो । १५ औँ आवधिक योजनाको अन्तिम वर्ष आव २०८०/८१ मा भने वाषिर्क १५ लाख पर्यटक पुग्ने अनुमान गरिएको छ । सरकारले सन् २०२० मै वार्षिक २० लाख पर्यटक भित्याउने लक्ष्य लिएको थियो । आगामी तीन वर्षमा यो लक्ष्य भने पूरा नहुने स्वीकार सरकारले गरेको छ ।
निजी क्षेत्रसमेत अन्योल कायम रहेको कारण तत्काल पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ भन्ने नसक्ने अवस्थामा रहेको छ । होटेल सङ्घ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाहले अहिले यो क्षेत्र कुहिरोभित्र हराएको कागजस्तै भएको बताउनुभयो । “हामी अब कसरी अगाडि बढ्ने हो, लक्ष्य भेटाउन के गर्ने भन्नेबारे स्पष्ट नै छैन ।”
अनलाइन खबरका अनुसार नेपालमा विदेशी मुद्रा भित्याउने मुख्य माध्यम विदेशी पर्यटक मानिन्छन् । स्वयम् पर्यटकबाट हुने आम्दानीभन्दा बढी होटेल, हवाई यातायात, होमस्टे, पर्यटक यातायात र साहसिक पर्यटकीय गतिविधि र कृषिमा यो क्षेत्रले ठुलो योगदान गरेको छ । तर, सरकारसँग कोभिड महामारीका बीच सुरक्षितरूपमा पर्यटक ल्याउने वातावरण बनाउने सम्बन्धमा ठोस रणनीति भने छैन । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिसा निःशुल्क प्रदान गर्ने उल्लेख छ ।
तर, नेपाल आउन सहजीकरण गर्ने सम्बन्धमा सरकारले थप तयारी भने गरेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू अहिले महामारीको अवस्था हेरी स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने स्वास्थ्य प्रोटोकलमै आधारित भई पर्यटक आगमनसम्बन्धी नीति लिनुपर्ने भएकाले ठोस रणनीति नआएको बताउँछन् ।
बजेटले आन्तरिक पर्यटक प्रवद्र्धन गर्न लिएको सरकारी कर्मचारीको काज बिदालाई मात्र प्रभावकारी बनाउँदा मुलुकभित्र पर्यटकीय गतिविधि भने अगाडि बढ्ने उनीहरूको भनाइ छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी यो कार्यक्रमले पर्यटनलाई जीवित राख्न ठुलो योगदान पुग्ने बताउनुहुन्छ । विदेशी पर्यटक आगमन नबढेसम्म पर्यटन बोर्डको आम्दानी बढ्दैन । केन्द्रको नक्कल गर्दै प्रदेश सरकारहरूले पर्यटन काज बिदालाई बजेटमा राखेका छन् ।
पर्यटन काज बिदाले विदेशी पर्यटक नआएसम्मका लागि नेपालभित्र पर्यटकीय गतिविधि कायम राख्न र व्यवसाय बचाउन योगदान पुग्ने नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्इँले बताउनुभयो ।
व्यवसायीहरू सरकारले कम्तीमा खोपको मात्रा पूरा गरेर आउनेहरूलाई आगमन सहज गर्ने, क्वारेन्टिनका कडा प्रावधानलाई सहज बनाई परीक्षण बढाइ आगमन सहज बनाउने हो भने आगमन छिट्टै सामान्य हुने बताउँछन् ।
मध्यमकालीन खर्च संरचनामार्फत सरकार स्वयम्ले स्पष्टसँग पर्यटनमा आगामी आवहरूका लागि तोकिएका लक्ष्य प्राप्तिमा चुनौती देखेको छ । उक्त प्रक्षेपणमा भनिएको छ, “कोभिड १९ बाट पर्यटन क्षेत्रमा परेको प्रतिकूल असरबाट पर्यटन क्षेत्रको पुनरूत्थान गर्न तथा पर्यटन क्षेत्रका कार्यक्रमको प्राथमिकीकरण गरी उपरोक्तअनुसारको कार्यक्रम कार्यान्वयन गर्न उपयुक्त वातावरणको निर्माण हुनेछ ।” (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *