नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
–जेस्सी पापापाभोलो
के हुन्थ्यो, यदि संसारको महानतम दिमाग समाजवादी भए ? के होला यदि यो सत्य संसारलाई थाहा नभए ? सन् १९५५ मा आइन्स्टाइनको निधन नभएसम्म संरा.अमेरिकाको घरेलु मामलासम्बन्धि गुप्तचर निकाय (एफबीआई)ले उनको गुप्तचरी गरेको थियो ।
अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मा जर्मनीमा भएको थियो । आइन्टाइनलाई समाजवादी बनाउन स्तालिनले आइन्स्टाइनका छोरोलाई सोभियत संघमा कैद बनाएको भनी एफबीआईले कथा बुनेको थियो । तर एउटै समस्या भनेको आइस्टाइनको सोभियत संघमा कोही छोरा नै थिएन । सम्मानित तथा ‘त्रसित’ एफबीआईको लागि यो मसिनो जानकारी । जसरी छोरो जर्ज डब्ल्यु बुशले आफ्ना जनतालाई तरबारको पछाडि धकेले र विश्वका अरु जनतालाई तरबारको धरिलो धारमा पु¥याए, आइन्स्टाइनले सेप्टेम्बर ४ सन् १९३१ मा आयोजित निशस्त्रीकरण सम्मेलनमा भनेका थिए,‘सबै मानिसहरुले सबभन्दा घृणित अपराध(युद्ध) मान्ने काम गर्न बाध्य बनाउनु के त्रासदीपूर्ण काम होइन र ? निशस्त्रीकरण नभएसम्म कुनै स्थायी शान्ति सम्भव छैन । निशस्त्रीकरणको पक्षमा जनमत श्रृजना गर्नु विश्वमा बाँचिरहेका सबै मानिसहरुको सबै कार्य र सबै शब्दहरुको कर्तव्य हो । आज मानिसहरुको काम परिणामको प्रतिक्षा गर्नु र आलोचना गर्नु मात्र होइन ।’
सन् १९३२ मा जेनेभामा भएको निशस्त्रीकरण सम्मलेनमा आइन्स्टाइनले बेलायत र संरा.अमेरिका गरीब देशहरुमाथि युद्ध र आर्थिक प्रभुत्व जमाउने आफ्ना भविष्यका कामको लागि दण्डहिनताको अवस्था स्थापित गर्न खोजिरहेको कुरा पत्ता लगाए । त्यसकारण उनीहरुले ती साम्राज्यवादी देशहरुले मात्र बुझ्ने सुत्र शब्दहरु प्रतिपादन गरे । आज ती शब्दहरु प्रशोधन भएर आएका छन्, इराकी मुक्ति कार्यबाही । साथै ‘सहकार्यपूर्ण क्षति अर्थात महत्वहीन मृत्यु’, ‘मैत्रीपूर्ण गोली प्रहार अर्थात हाम्रो निशानामा थोरै फरक परेको हुनसक्छ’, राष्ट्रिय सुरक्षा अर्थात विश्वमा हमला गर्ने खाली चेक’, ‘संसारमा प्रजातन्त्र स्थापना गर्न अर्थात संरा.अमेरिकी व्यापारिक कम्पनीहरुलाई सस्तो ज्यामी र स्रोतहरु ल्याउनु’ । यो पनि हेरौं, ‘प्रजातन्त्रको लागि राष्ट्रिय अनुदान अर्थात सत्ताकब्जाको लागि कालो धन’, तारा युद्ध अर्थात संरा.अमेरिकाले शुरुमा परमाणु हमला गर्नु अनि आइलाग्ने प्रतिरोधी मिसाइलहरुबाट पुछ्नु’, ‘हाम्रो स्वतन्त्रताको लागि उनीहरु हामीलाई घृणा गर्छन् अर्थात एक चिम्टी उपनिवेशवाद, दुई चम्चा साम्राज्यवाद र ३ सय वर्षमा पाक्छ र दैनिक २ अमेरिकी डलरको दरमा तिरेर किनेका ४ अर्ब दास श्रमिक भन्दा बढी धन भएको १० वटा संरा.अमेरिकी कर्पोरेटहरुको सेवा गर्दछ ।’
अल्बर्ट आइन्स्टाइन जेनेभामा भएको निशस्त्रीकरण सम्मेलनमा भ्रममुक्त भए किनभने ती ठूला शक्ति देशसंग निशस्त्रीकरणबारे कुनै योजना थिएन । बरु उनीहरु कमजोर देशहरुलाई निशस्त्र बनाउन चहान्छन् ताकि उनीहरुमाथि बेलायत र संरा.अमेरिका जस्ता देशहरुले कम लागतमा शोषण गर्न सक्दछ । आइन्स्टाइन धनी साम्राज्यवादी देशहरुले रचेका युद्ध र नाफालाई घृणा गर्थे । उनले भनेका छन्,‘युद्धलाई मानवीय बनाउन सकिन्न । त्यसलाई उन्मुलन मात्र गर्न सकिन्छ ।’
लौ संरा.अमेरिकाले साना तथा कमजोर देशहरुमाथि गरेको हमलाको केही विवरण हेरौं– चीनमा सन् १९४५–४६ मा, कोरिया र चीनमा सन् १९५०–५३ मा, ग्वाटेमालामा सन् १९५४,१९६०,१९६७–६९ मा, इन्डोनेसियामा सन् १९५४ मा, क्युवामा सन् १९५९–६१ मा, कंगोमा सन् १९६४ मा, पेरुमा सन् १९६५ मा, लाओसमा सन् १९६४–७३ मा, भियतनाममा सन् १९६१–१९७३ मा, कम्बोडियामा सन् १९६९–७० मा, चिलीमा सन् १९७३ मा, ग्रेनेडामा सन् १९८३ मा, लेवनानमा सन् १९८३–८४ मा, लिवियामा सन् १९८६ मा, एल साल्भाडोरमा सन् १९८० को दशकभरि, निकारागुआमा सन् १९८० को दशक, इरानमा सन् १९८७ मा, पानामामा सन् १९८९ मा, इराकमा सन् १९९१ मा, सोमालियामा सन् १९९३ मा, वोस्नियामा सन् १९९४–९५ मा, सुडानमा सन् १९९८ मा, अफगानिस्तानमा सन् १९९८ मा, युगोस्लाभियामा सन् १९९८ मा र इराकमा सन् २००३ मा ।
सन् १९८७ मा संरा.अमेरिकाले इरानी जहाजमा वमबारी गरी समुद्रमा डुबाएको थियो । एउटा इरानी यात्रुवाहक विमान फ्लाइट ६६५ मा संरा.अमेरिकाले गोली हानी खसाएर २९० जना निर्दोष सर्वसाधारणको हत्या गर्दा बुवा जर्ज डब्ल्यु वुशलाई प्रतिक्रिया सोध्दा भनेका थिए,‘म कहिल्यै संरा.अमेरिकाको लागि माफी माग्न सक्दिनँ । मलाई तथ्य के हो संग मतलब छैन ।’
यदि अल्बर्ट आइन्स्टाइन अहिले पनि ज्युँदो भएको भए उनले धेरै अघि नै संरा.अमेरिका छोडिसकेका हुन्थे र संरा.अमेरिकी साम्रज्यबाट भाग्न उनले नयाँ भूमिगत रेलमार्ग चलाइसकेका हुन्थे ।
सन् १९३२ को अक्टोबर १७ मा आइन्स्टाइनको बारेमा एफबीआईले एउटा फाइल बनाएको थियो । उनको निगरानी गरिएको थियो र उनका टेलिफोन टेप गरिएको थियो । उनका चिठ्ठीपत्रहरु सबै खोलिन्थ्यो । उनका सबै गतिविधिमा निगरानी हुन्थ्यो । उनको विषयमा मात्र २ हजारभन्दा बढी फाइलहरु बनाउनु परेको थियो । त्यसकारण उनलाई ‘नचित्ताएको विदेशी’ को नाम दिइएको थियो । आणविक वम परियोजनामा काम गर्दा पनि उनलाई सुखले काम गर्न दिइएको थिएन ।
सन् १९४९ को मे महिनामा एउटा मँक्र्सवादी पत्रिकाको लागि ‘समाजवाद किन?’ शीर्षकको लेख लेखेका थिए । उनले पूँजीवादी समाजको अस्तित्वप्रति नै घृणाभाव प्रकट गरे । उनले लेखेका थिए,‘मेरो विचारमा आज पूँजीवादी समाजमा व्याप्त आर्थिक अराजकता नै खराब कुराको मुल स्रोत हो र्। उत्पादनका साधनहरुमा स्वामित्व भएकाहरु मजदुरहरु हुन् । उत्पादनका साधनहरुका मालिकहरु कामदार जनताको श्रम खरिद गर्ने हैसियतमा छन् । कामदार वर्गले आफूले काम गरे वापत पाउनु पर्ने हिस्साको सट्टा थोरै मात्र मूल्य पाउने गरेका छन् । तसर्थ मजदुरहरुले ‘न्युनतम आवश्यकता’ पाउने गर्दछ र रोजगारको लागि प्रतिस्पर्धा गरिरहेका कामदारहरुको तुलनामा पूँजीपतिलाई आवश्यक पर्ने श्रमशक्तिको हिसाब गरेर मात्र मजदुरले ज्याला पाउने गर्दछ ।’
उनले अझ अगाडि लेखेका थिए, ‘संरा.अमेरिकाका राजनीतिक दलहरु मूलतः निजी पूँजीपति वर्गको पैसा र प्रभावमा चलेका छन् । पूँजीपति वर्गले प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चारका क्षेत्रहरुमाथि नियन्त्रण जमाएको छ । जस्तै प्रेस, रेडियो र शिक्षा । तसर्थ कोही एक जना व्यक्तिको लागि वस्तुुगत निचोडमा पुग्न र आफ्नो राजनीतिक अधिकारको बुद्धिमत्तापूर्ण उपयोगको लागि निकै कठिन हुने गर्दछ ।’
आइन्स्टाइनले युरोपमा संरा.अमेरिका र फासीवादबीचको सम्बन्ध देखेका थिए । एफबीआईप्रतिको वितृष्णाका कारण आइन्स्टाइनले अब्राहम लिङ्कन ब्रिगेडलाई समर्थन गरेका थिए । त्यो ब्रिगेडले संरा.अमेरिकाको कथित ‘तटस्थता’ को नीतिको विरोध गर्दथ्यो जबकि संरा.अमेरिकाको तेलको धनाढ्य टेक्साकोले फासीवादी फ्रान्कोका विमानहरुलाई फासीवादी इटालीबाट नाजी जर्मनीसम्म पुग्न तेलको बन्दोबस्त गरेको थियो ।
विख्यात कालो वर्णका कवि ल्याङ्स्टोन ह्युगले सन् १९३७ मा फासीवादी फ्रान्कोको स्पेनबारे लेखेका थिए,‘संरा.अमेरिकाका हामी कालाहरुलाई फासीवाद व्यवहारमा कस्तो हुन्छ भनिरहनु पर्दैन । हामीलाई ज्ञात छ, फासीवादको नोर्डेक सर्वोच्चता र आर्थिक शोषण हाम्रो सन्दर्भमा पनि सत्य बनेको छ ।’
अल्बामामा एउटा रेलमा एक जना श्वेत महिलालाई बलात्कार गरेको झुठ्ठा आरोप लागेका स्कोट्सबोरोका केटाहरुको बचाउमा आइन्स्टाइनले बोले यता उनी मुश्किलले संरा.अमेरिकामा बसे । सन् १९४६ मा आइन्स्टाइनले पाउल रोबिसनसंग मिलेर काला अमेरिकीहरुको गैरकानुनी यातनाको विरोधमा काम गरे । त्यत्तिबेला उनी काम गरेको संगठनको नाम ‘गैरकानुनी यातनाविरुद्ध अमेरिकी युद्ध’ थियो ।
संरा.अमेरिकाका राष्ट्रपति रुजवेल्टले कम्युनिष्ट भएको आशंकामा ४ सयभन्दा बढी कर्मचारीहरुलाई कामबाट निकालेको कुरा स्मरणीय छ । अमेरिकी नागरिक स्वतन्त्रता संघसमेतले मजदुर संगठनभित्र काम गरिरहेका कम्युनिष्टहरुलाई निकाल्न एफबीआईसंग मिलेर काम गरेको थियो । स्तालीन विरोधी धेरै वामपन्थीहरु सिनेटर म्याकार्थीको ‘लाल आतंक’ संग काम गरेको कुरा इलेन स्चरेकरले बताएकी छिन् । उनका अनुसार लिओन ट्रोत्स्की नक्कली वामपन्थीहरुमध्ये पनि सबभन्दा पतीत थिए । तर ट्रोत्स्कीपन्थीहरु आफू पूँजीवादविरोधी भएकाले स्तालीनविरोधी भएको बताउँदै हिंड्छन् ।
स्तालीनको निधन भएको आज ५० वर्ष भइसकेको छ । पूर्व सोभियत संघमा पूँजीवादी व्यवस्था फर्किसकेको छ । तर आज पनि पूर्व सोभियत संघमा दैनिक २ अमेरिकी डलरमा काम गर्न बाध्य मजदुरहरुको पक्षमा यी ट्रोत्स्कीपन्थीहरु एक शब्द बोल्दैनन् । के यो हाँस्यास्पद कुरा होइन ? के यो विरोधाभास होइन ? यो कस्तो दृष्टिकोण हो ?
यी ‘वास्तविक ट्रोत्स्कीपन्थी कम्युनिष्ट’हरु आज पूर्व सोभियत संघ विघटन हुनु र अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र साम्राज्यवादसामू भिख माग्न बाध्य १५ वटा भिखारी देशहरुमा परिणत हुनुको दोष तेस्रो विश्वको अवस्थामाथि थोपरिरहेका छन् ।
साथै यो पनि विरोधाभासपूर्ण कुरा हो कि संरा.अमेरिकाको एउटा संगठन ‘रङ्गीन मानिसहरुको उत्थानको लागि राष्ट्रिय संगठन’ले खुला रुपमा पाउल रोविसन र कम्युनिष्टहरुको समेत विरोध गरिरहेको छ । तर अल्बर्ट आइन्स्टाइन दृढतापूर्वक पाउल रोविसनको पक्षमा उभिएका थिए । सन् १९५२ को डिसेम्बर १२ मा पाउल रोविसनले भनेका थिए,‘सोभियत जनता, उनीहरुका बुद्धिमान नेताहरु र समाजवाद, समानता तथा शान्तिको भूमिको पक्षमा म हिजो पनि, आज पनि र भोलि पनि सधैं दृढ र नमोडिने साथी हुँ ।’
आइन्स्टाइनले सोभियत जनतासंग सम्बन्ध स्थापना गर्न निकै कठिनताका साथ काम गरेका थिए । उनले भनेका थिए,‘साम्यवादी दर्शनभित्र धेरै कुरा राम्रा छन् । सामान्य मानिसमाथि हुने शोषणको अन्त्य गर्ने र आवश्यकता तथा क्षमताअनुसार वस्तुको वितरण गर्ने कुरामा चासो राख्नु नै पनि त्यसको राम्रो पक्ष हो ।’
सन् १९४२ मा आइन्स्टाइनले वास्तवमा अमेरिका के हो र त्यो कसको पक्षमा उभिएको छ भन्ने कुराको भेउ पाए । उनले त्यतिबेला सोधेका थिए,‘संरा.अमेरिकाले किन फासीवादी स्पेनसंग सम्बन्ध गाँसेको छ ? किन फासीवादी फ्रान्समा संरा.अमेरिकाको आधिकारिक प्रतिनिधि छ ? किन सोभियत संघमाथि हमला भएको अवस्थामा उसलाई अत्यावश्यक भएको क्षण संरा.अमेरिका उसलाई सहयोग गर्न किन कुनै गम्भीर पहल गदैन ? यो तथ्यले पुष्टि गर्दछ, संरा.अमेरिकाको सरकार मानसिक रुपमा फासीवादी मनस्थितिसंग नजिक रहेको वित्तीय पूँजीसंग धेरै कोणबाट नियन्त्रित छ ।’
अफसोस आज आइन्स्टाइन आज जीवित छैनन् । नत्र म उनलाई भन्थें, रकफेलरको ‘गुणस्तरीय तेल’ले जर्मनीका यु–जहाजहरुलाई तेल दिएका थिए जसले धेरै अमेरिकी जहाजहरुलाई डुबाएका थिए । साथै अन्तर्राष्ट्रिय टेलिफोन र टेलिग्राफले जर्मनीको फकउल्फ वमवर्षक बनाएको रहेछ जसले धेरै अमेरिकी जनताको हत्या गरेको थियो । जनरल मोटर्स जुङ्कर ८८ वमवर्षकको इन्जिन निर्माता थियो । जुङ्कर ८८ नाजी जर्मनीको हातमा भएको सबभन्दा खतरनाक हतियारमध्ये एक थियो । आइबीएम प्रविधिले नाजी जर्मनीलाई कम्युनिष्ट, समाजवादी, मजदुर नेताहरु र यहुदीहरुको हत्या गर्नुपर्ने वा मृत्यु शिविरमा पठाउनु पर्नेको नामावली तयार पर्न सहयोग गरेको थियो ।
आइन्स्टाइन सन् १९५३ मा जुलियस र इथेल रोजेनवर्गलाई मार्न लागेको समयमा उनीहरुको रिहाइको पक्षमा लडेका थिए । एफबीआईले खुला रुपमा आइन्स्टाइन र चार्ली च्याप्लिनमाथि हमला गर्न सकेन । एफबीआईका प्रमुख जी.एड्गर हुबरले संरा.अमेरिकी नाजी र स्तालीनविरोधीहरुलाई आइन्स्टाइन गुप्तचर र आतंकवादी भएको भनी प्रचार गर्न लगाए ।
आइन्स्टाइनले भनेका थिए,‘अमेरिका जर्मनीलाई निलेको त्रासदीपूर्ण सैन्यवादका सामू पूर्णतः आत्मसमर्पण गर्न सक्ने कुरामा म विश्वास गर्छु । सत्ताले शक्ति प्रयोगमाथि मात्र भर पर्दैन बरु शिक्षा प्रणाली र सार्वजनिक सुचनाका सञ्चारमाध्यमहरुमार्फत नजानिंदो प्रोत्साहन र भ्रमको वितरणबाट पनि सत्ता चलाइरहेको हुन्छ । यो खराब दुष्प्रभावविरुद्ध लड्न संसारमा मानिसहरुको एकताको खाँचो भएको कुरामा हामीले आशा गर्नै पर्दछ ।’
आज संरा.अमेरिकाले संसारको कुनै पनि अरु देशहरुको तुलनामा मृत्यु निम्त्याउने हतियारहरुमा खर्च गरिरहेको छ । यो विषयमा आइन्स्टाइनले भनेका थिए,‘हामीले युद्धको तयारी र युद्ध रोक्ने काम एकै पटक गर्न सक्दैनौं ।’
यदि तपाई आमनरसंहारकारी हतियार बनाउँछौं र संसारका निर्दोष मानिसहरुविरुद्ध प्रयोग गर्दछौं भने त्यसको अर्थ तपाई शान्ति चहानु हुन्न । तपाई युद्ध, भोक, हत्या र यो अमूल्य धर्तीमाताको विनाशको पक्षमा उभिनुभएको कुरा प्रष्ट हुन्छ ।
आइन्स्टाइन आफ्नो अन्तिम क्षणसम्म पनि समाजवादी रहे । सन् १९५५ को अप्रिल १८ मा प्रिन्सटन अस्पतालमा उनको सुतेकै अवस्थामा निधन भयो ।
थाहा पाउनु तर त्यो अनुसार काम नगर्नु वास्तवमा थाहा पाएकै होइन । त्यो त थाहा नपाउनुभन्दा पनि खत्तम कुरा हो । त्यो मौनताले त खराब शक्तिलाई बलियो बनाउन चुपचाप सहयोग गरिरहेको हुन्छ जुन शक्तिले आफ्नो फाइदाको लागि बच्चाहरुसमेतलाई चोट पु¥याउन छोड्दैन । सामान्य अवस्थामा पनि यो संसारका ५ लाखभन्दा बढी केटाकेटीहरु भोक भोकै बस्नु पर्ने गर्दछ ।
सबै कुरा नत्याग बरु आफैलाई समर्पण गर । साझा लक्ष्य, समुदाय र समाजको लागि आफूलाई समर्पण गर । त्यसो गरेर हामी अपूर्ण मानिसहरु भएको अझ सुन्दर समाज बनाउन सक्छौं । अनि हामी मानिसहरु अझ अलि पूर्णता तर्फ जान सक्छौं ।
सहृदयका साथ तपाईको मित्र ।
The FBI File On Einstein By Jesse Papapavolou -NorthStar Compass
अनुवादःसुमन
Leave a Reply