भर्खरै :

नाकाबन्दी नाउँको युद्ध सदाका निम्ति अन्त्य गर !

क्युवाविरुद्धको नाकाबन्दीबारे राष्ट्र सङ्घमा मतदान हुँदै
यही जून २३ अर्थात् असार ९ गते बुधबारको दिन संयुक्त राष्ट्र सङ्घमा क्युवाविरुद्धको नाकाबन्दीलाई लिएर मतदान हुँदै छ । त्यस विषयमा हरेक वर्ष महासभामा छलफल चल्छ र मतदान हुन्छ । हरेक पटक संयुक्त राष्ट्र अमेरिका एक्लो पर्छ । क्युवाको पक्षमा संसारभरका एक या दुई देशबाहेक सबैले मत जाहेर गर्छन् । विश्वको त्यो मतको कदर संरा अमेरिकी प्रशासनले कहिल्यै गर्दैन ¤ प्रजातन्त्रको ठेकेदार ठान्ने संरा अमेरिका हरेक मतदानमा उदाङ्गो हुन्छ तर त्यसको कुनै पर्वाह गर्दैन । प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासको वकालत गर्ने तर व्यवहार त्यसको ठिक विपरीत प्रदर्शन गर्नु प्रजातन्त्र नभई पाखण्ड हो । बहुमतको अनादर गर्नेलाई प्रजातन्त्रको परिभाषा दिने नैतिक अधिकार छैन । यो पटक हुने मतदानमा पनि क्युवाको शानदार विजय हुनेछ जसरी विगतका वर्षमा भयो । विश्व जनमतको विरुद्ध उभिने संरा अमेरिका पतनको दिशामा उन्मुख छ ।
क्युवामाथिको नाकाबन्दी अन्त्यको माग गर्दै युरोप, अफ्रिका, ल्याटिन अमेरिका र एसियाका विभिन्न देशमा प्रदर्शनी, गोष्ठीलगायत गतिविधि गत सातादेखि तीव्र बन्दै छ । नेपाली न्यायप्रेमी जनताको तर्पmबाट पनि क्युवाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै संरा अमेरिकी नाकाबन्दी अन्त्यको जोडदार माग गर्नु आजको आवश्यकता हो । नेपाल मजदुर किसान पार्टी तथा सचेत नेपाली जनताले त्यो अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गर्दै आइरहेको जगजाहेर छ ।
किन लगायो नाकाबन्दी ? संरा अमेरिका बदला लिँदै छ !

सन् १९५९ अगाडिसम्म ल्याटिन अमेरिकी देश क्युवामा संरा अमेरिकी कठपुतली शासक बाटिस्टा सत्तामा थियो । क्युवा संरा अमेरिकाको उपनिवेशको रूपमा थियो । उद्योग, कलकारखानाहरू अमेरिकी धनाढ्यद्वारा सञ्चालित थिए । हरेक क्षेत्रमा संरा अमेरिकी पुँजीपतिहरूको लगानी थियो । क्युवाको अर्थतन्त्र, बजार, राजनीति संरा अमेरिकाको कब्जामा थियो । तर, क्युवाली क्रान्ति सन् १९५९ जनवरी १ मा सफल भएपश्चात् उद्योग, कलकारखाना राष्ट्रियकरण गरिए । संरा अमेरिकी उद्योग मालिकहरू ज्यान जोगाएर क्युवाबाट भागे । बैङ्कहरू राष्ट्रियकरण गरिए । संरा अमेरिकी व्यापारीहरू मात्र होइनन् संरा अमेरिकी प्रशासन नै रिसले बहुलायो । क्युवामा भूमिसुधार लागु गरियो । भूमिमाथिको स्वामित्व समेत अन्त्य भएपछि संरा अमेरिकी प्रशासनलाई सह्य हुने कुरै भएन ¤ यही पृष्ठभूमिमा संरा अमेरिकाले क्युवाविरुद्ध नाकाबन्दी सुरु गरेको थियो । त्यो नाकाबन्दी आज ६० वर्ष पुग्यो । संरा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले सन् १९६२ फेब्रुअरीमा औपचारिकरूपमा नाकाबन्दीको घोषणा गरेका थिए ।
सन् १८९८ मा स्पेनसँग लडेर संरा अमेरिकाले क्युवामा आफ्नो उपनिवेश कायम गरेको थियो । सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले पाइला टेकेपछि स्पेनको उपनिवेशमा परिणत भएको क्युवामाथि सन् १८९८ को फेब्रुअरी १५ मा संरा अमेरिकाले सैन्य हस्तक्षेप थालेको थियो । सोही वर्षको अप्रिल २५ मा स्पेनविरुद्ध युद्ध सुरु गर्ने संरा अमेरिकी संसद्ले निणर्य गर्‍यो । सन् १८९८ डिसेम्बर १० मा फ्रान्सको पेरिसमा स्पेन र संरा अमेरिकाबीच शान्ति सम्झौता सम्पन्न भयो । यसप्रकार, क्युवामा उपनिवेश कायम गरेको झन्डै ६४ वर्षपश्चात् सम्पूणर् हिसाबले क्युवा छाड्न बाध्य हुँदा संरा अमेरिकाले अपमानित महसुस गर्नु अस्वाभाविक होइन । त्यस घटनाको बदला आज ६० वर्षपछि पनि लिँदै छ । यस आधारमा भन्ने हो भने संरा अमेरिकाले क्युवाली जनतालाई विगत एक सय पच्चीस वर्षदेखि दुःख दिँदै छ । संरा अमेरिकी साम्राज्यवादको क्युवामाथिको दमन तथा अत्याचार निकै लामो भइसकेको छ । आधुनिक विश्व इतिहासमा यो अत्यन्त लामो नाकाबन्दीलाई मानवताविरोधी अपराध तथा मानव सभ्यताकै कलङ्कको रूपमा लिइँदै छ ।
गत वर्ष सन् २०२० मा संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा नाकाबन्दी हटाउन माग गर्दै क्युवाली विदेशमन्त्री बु्रनो रोड्रिगुयज पारिल्ला (Bruno Rodriguez Parrilla) ले भन्नुभएको थियो – “यो मानवअधिकारको गम्भीर उल्लङ्घन हो । …. सन् १९४८ को जेनेभा सम्मेलनको आधारमा यो नरसंहारको कार्य हो । राजनीतिक, नैतिक तथा कानुनी आधारमा पनि यो गलत छ ।”

संयुक्त राष्ट्र सङ्घको महासभामा क्युवाविरुद्ध नाकाबन्दी अन्त्यबारे छलफल हुँदै आएको तीस वर्ष पूरा भइसकेको छ । सन् २०१९ को नोभेम्बर ७ मा २८ औँ पटक मतदान भयो । त्यस मतदानमा १८७ देशले नाकाबन्दी अन्त्यको पक्षमा मत दिए । ब्राजिल र इजरायलले संरा अमेरिकाको पक्ष लिए भने कोलम्बिया र युक्रेन अनुपस्थित रहे । गत वर्ष अर्थात् २०२० मा स्थगित गरिएको मतदान यो वर्ष जून २३ मा हुन लागेको हो । यो २९ औँ पटकको मतदानमा पनि क्युवाप्रति अपार ऐक्यबद्धता प्रकट हुने सुनिश्चित छ ।
नाकाबन्दी, संरा अमेरिकी स्वार्थ र क्युवाली सफलता
संरा अमेरिकाजस्तो विश्व महाशक्तिको आँगनमै समाजवादको रातो झन्डा फहरिँदा विश्वभरि जाने सन्देशबारे अनुमान लगाउन गार्‍हो छैन । तसर्थ, उसले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्‍यो र दीर्घकालीन असरप्रति सजगता अपनायो । कलिलो अवस्थामै क्युवाली समाजवादलाई निमोठ्न उसले अनेक षड्यन्त्र गर्‍यो । क्युवाली नेतृत्व समाप्त पार्ने उद्देश्यका साथ फिडेल क्यास्ट्रोमाथि ६०० पटकभन्दा बढी हमला गर्‍यो । ती सम्पूणर् हत्या प्रयास या भौतिक हमलामा नेता क्यास्टा्रे बाँच्न सफल हुनुभयो । संरा अमेरिकाले क्युवाली जनतालाई भड्काउने, हवाइजहाजबाट पर्चा छरेर विद्रोह गर्न उक्साउने, आतङ्क पैmलाउने आदि कुकृत्य चौबीसै घण्टा गर्‍यो । तर, उसले सोचेजस्तै क्षति पुर्‍याउन भने सकेन ।
समाजवादको बिउ पैmलिन नदिने, समाजवादको वृक्ष झाङ्गिन नदिने या त्यसमा फल नलागोस् भन्ने चाहना या उद्देश्य संरा अमेरिकी प्रशासनको थियो । त्यसको ठिक विपरीत क्युवाली जनताले आत्मसमर्पण होइन सङ्घर्षको कठिन बाटो रोजे । स्वाभिमानको जिन्दगी बाँच्ने अठोट गरे । समाजवादका निम्ति बलिदान दिन तयार भएको घोषणा गरे । फलस्वरूप क्युवा ल्याटिन अमेरिकाको पहिलो पूणर् साक्षर मुलुक बन्यो । संसद् र अन्य जनप्रतिनिधिमूलक सस्थाहरूमा महिला-पुरुष बराबरी भयो । आमाबाट शिशुमा एचआईभी (HIV) र सिफिलिस (Syphilis) सर्ने समस्या उन्मूलन गर्ने पहिलो देश बन्यो । बाल मृत्युदर संरा अमेरिकाको भन्दा कम भयो । विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षा निःशुल्क बन्यो । मेनिन्जाइटिस-बी (Meningitis-B), हेपाटाइटिस-बी(Hepatitis-B) र डेङ्गु (Dengue) को खोप आविष्कारमा अभूतपूर्व सफलता मिल्यो । १५८ देशमा ३ लाख २५ हजार ७ सय १० जना चिकित्सक, नर्स तथा महामारी विज्ञ पठाएर स्वास्थ्य सेवा जगतमा अपूर्व योगदान पुर्‍याउन सक्षम बन्यो । क्युवाले अफ्रिकी महादेशका विभिन्न देशको उपनिवेशविरुद्धको स्वतन्त्रता लडाइँमा साथ दियो । कङ्गो, अङ्गोलाको मुक्ति र दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी सङ्ग्राम क्युवाको साथविना कठिन या ढिलो हुन्थ्यो ।
उदाङ्गिन किन तयार भयो संरा अमेरिका ?
संरा अमेरिकाको नाकाबन्दी नीति असफल सिद्ध भइसकेको जगजाहेर छ । क्युवाविरुद्धको हिजोका हमला, ध्वंसात्मक गतिविधि, अन्तरध्वंस, मन्त्रयुद्ध केहीले पनि क्युवालाई गाल्न सकेन । सानो देशलाई व्यापार तथा वाणिज्यमा प्रतिबन्ध लगाएर संरा अमेरिकाको इज्जत पटक्कै बढेन । बरु क्युवाली जनताले प्रतिरोध क्षमता विकास गर्दै छन् । सन् १९९० को दशक या सोभन्दा अगाडिकै शीतयुद्धको मनस्थितिमा रहिरहनु संरा अमेरिकाका निम्ति लायक कुरा होइन । प्रजातन्त्र, विश्वशान्ति आदिको वकालत गर्ने संरा अमेरिकी प्रशासनका निम्ति त यो प्रत्युत्पादक हुने निर्विवाद छ । अब संरा अमेरिकाको ॅप्रजातन्त्र’, ॅस्वतन्त्रता’ को मसला बिक्ने दिन गए । त्यो नारा दिएर नेतृत्व परिवर्तन, व्यवस्था परिवर्तन सम्भव छैन । लिविया, इराकमा जनताले पछुताए । सिरियाली जनताले त्यो गल्ती दोहोर्‍याएनन् । क्युवाली जनता त निकै परको कुरा हो । भेनेजुयाली जनताको प्रतिरोध क्षमताबाट पाठ सिक्नु बाइडेन प्रशासनका निम्ति हितकर होला । नत्र ट्रम्पकै दुर्भाग्य बाइडेनले पनि भोग्नु पर्नेछ । ट्रम्पका बदनामी र दुःखद अन्त्य दोहोर्‍याउने मूर्खता बाइडेनले नदेखाऊन् !
क्युवाद्वारा कोभिडविरुद्धको खोप विकास
क्युवाले कोभिडविरुद्ध लड्न विश्वलाई सहयोग गरिरहेको छ । यसले चारैतिर उत्साह जगायो । क्युवाले देशभित्र कोभिड रोकथाम तथा नियन्त्रण गरी विश्वलाई अभिप्रेरित गर्दै छ । चीनसम्म पुगेर सहकार्य गर्दै छ । आपतमा आशाको सञ्चार गरेको छ । पछिल्लो समय क्युवाले खोप विकासमा जोड दिएको छ । आजसम्म पाँच वटा खोप विश्व जगतमा प्रस्तुत गरी सबैलाई अचम्भित तुल्याएको छ । सोबेराना-१, सोबेराना-०२, सोबेराना प्लस, अब्डाला र माम्बिसा गरी पाँचथरिका खोप अगाडि सारिएका छन् । सोबेरानाको अर्थ सम्प्रभुत्ता हो । अब्डाला (Abdala) क्युवाली स्वतन्त्रताका प्रतिमूर्ति खोसे मार्टीद्वारा लिखित कविताको नाम हो । माम्बि (Mambi) को अर्थ क्युवाको स्वतन्त्रताका निम्ति स्पेनियाली उपनिवेशवादविरुद्ध लडेका वीर हुन् । त्यस युद्धमा लड्ने महिला योद्धा अर्थात् वीराङ्गनालाई माम्बिसा (Mambisa) भनिन्छ । यसप्रकार, कोभिड खोपको नामाकरण समेत गहिरो अर्थ रहने गरी गरिएको प्रस्ट छ । यी खोपले स्वतन्त्रता, सम्प्रभुता, नैतिकताप्रतिको क्युवाली आस्था उजागर गरेको प्रस्ट हुन्छ । नाकाबन्दीको प्रतिकूल प्रभावबीच क्युवाले खोपको विकासमा गरेको प्रगति तथा उपलब्धि प्रशंसनीय छ । प्रश्न उठ्छ, नाकाबन्दी हटाएर आवश्यक उपकरण सहज ढङ्गमा उपलब्ध भएको भए विश्व मानवजगतको कल्याण कति धेरै सम्भव हुने थियो !
दुई वटा क्युवाली खोप सोबेराना-०२ (Soberan02) र अब्डाला (Abdala) ले तेस्रो चरणको परीक्षण पार गरेको र त्यसको प्रभाव अत्यन्त राम्रो भएको जनाइएको छ । तीन डोज लगाइने सोबेराना-०२ दोस्रो डोजमै ६२ प्रतिशत प्रभावकारी भएको पाइएको छ । सोबेराना-०२ र अब्डाला ३० लाखभन्दा बढी क्युवाली जनतालाई दिइसकेको र खोप अभियान तीव्र पारिएको छ । जूनको तेस्रो सातादेखि १८ वर्षमुनिका क्युवाली बालबालिका तथा किशोर-किशोरीलाई सोबेराना (Soberana) खोप दिने अभियान सुरु गरिएको छ । सम्भावित तेस्रो लहरले बालबच्चालाई प्रभाव पार्ने विज्ञहरूको चेतावनी आएसँगै सो अभियान चलाइएको हो ।
अन्त्यमा,
क्युवाको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संस्था, आइक्याप (ICAP) का अध्यक्ष फर्नान्डो गोन्जालेज (Fernando Gonzalez)  भन्नुहुन्छ – “जब हामी नाकाबन्दीको अन्त्य गर्न सफल हुनेछौँ त्यो विजय क्युवाका सम्पूणर् मित्रहरूको हुनेछ ।” साथै, त्यो विजय क्षेत्रीय शान्ति तथा विश्वशान्तिका पक्षधर, साम्राज्यवादविरोधी शक्तिहरू र विश्वभरका न्यायप्रेमी जनताका निम्ति सुखद रहनेछ । नाकाबन्दीरहित विश्वको पर्खाइमा छन् विश्वका शान्तिकामी जनता ! विचार, सिद्धान्तमाथि दमनको नाममा लगाइने जुनकुनै नाकाबन्दी नाउँको युद्ध सदाका निम्ति अन्त्य हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *