भर्खरै :

सरकारको विभेदपछि जनताबीच भक्तपुर नपा

देशमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ । समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिनुहुने अग्रज व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै हामी नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूलाई अत्यधिक मत दिएर विजयी गराई नगर र नगरवासीहरूको सेवा गर्ने सुअवसर दिनुहुने सम्पूर्ण नगरवासीहरूमा कृतज्ञता व्यक्त गर्दछौँ । सोहीअनुरूप २०७४ को स्थानीय तह निर्वाचनमा दिइएको नेमकिपाको घोषणापत्रलाई नै आधार बनाई हामी अघि बढिराखेको यहाँहरूसमक्ष स्मरण गराउन चाहन्छौँ ।
नेमकिपाबाट प्राप्त मार्गनिर्देशन ‘घोषणापत्र’ लाई नै आधार एवं आत्मसात गरी आजको यस दसौँ नगरसभाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण हुन गइरहेको छ । २०७४ सालको स्थानीय चुनावताका प्रचार प्रसारको समयमा नेमकिपाले १५ वर्षको जनप्रतिनिधिविहीन अवस्थाबाट माथि उकास्न समाजमा सरकारात्मक परिवर्तनको लागि जनतामाझ दत्तचित्त भएर जनताको सेवामा लाग्ने वचन दिएका थियौँ र सोहीअनुसार अग्रजहरूको मार्ग निर्देशनमा जनताको साथ लिएर अघि बढ्यौँ । चुनावपछिको तीन वर्षसम्म हामीले सोचेअनुरूप काम गर्दै गयौँ । गत वर्षदेखि विश्वभर फैलिरहेको कोरोना महामारीले हाम्रो देशको साथै हाम्रो नगर पनि प्रभावित भएको छ । चौथो वर्षदेखि विश्वभरि फैलिएको कोरोना महामारीले गर्दा सोचअनुसारको विकास निर्माण, सम्पदा संरक्षणलगायतको काम हुन नसके पनि हामीले कुनै किसिमको कामलाई ठप्पै हुन दिएनौँ ।
नेमकिपाका श्रद्धेय अध्यक्षज्यूले भन्नुभएझैँ जनप्रतिनिधिहरूले ‘जनतालाई सर्वोपरि’ मा राखेर ‘जनताकै लागि जनताबाटै’ सहयोग लिएर काम गर्दा त्यसको प्रतिफल पाएको हामी जनप्रतिनिधिहरूले महसुस गरिरहेका छौँ । यस्तो महामारीबीच यो एक महिनामा जुन किसिमले जनताको माया, विश्वास र साथ सहयोग पायौँ यसबाट हामीले आत्मसन्तुष्टि पाइरहेका छौँ । अबका दिनमा अझ जिम्मेवारीका साथ जनताको सेवामा लाग्ने वचन यसै मञ्चमार्फत राख्न चाहन्छु ।
भक्तपुर न.पा.ले शिक्षा र स्वास्थ्यलाई एक सिक्काका दुई पाटाको रूपमा केन्द्रमा राखी काम गरिरहेको घामझैँ छर्लङ्गै छ । शिक्षित र सभ्यका साथै स्वस्थ हुन सकेमा हाम्रो समाज र देश अघि बढ्नेमा हामी विश्वस्त छौँ । हामी व्यवहारिक ज्ञानसहितको शिक्षित नागरिक तयार गर्नको लागि लागिपरेका छौँ । हाम्रो समाजलाई शिक्षितमात्र नभई व्यवहारिक राष्ट्रसेवक नागरिकको खाँचो रहेको हामी सबैले महसुस गरिरहेका छौँ । भ.न.पा.ले शिक्षालाई केन्द्रमा राखी शिशु स्याहार केन्द्रदेखि उच्च शिक्षालाई प्राथमिकतामा राख्ने काम गरिरहेको यहाँहरूमा विदित्तै छ । हाम्रो समाज व्यवस्थितरूपमा अघि बढ्ने विश्वासका साथ हामी अघि बढेका छौँ । हामी ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अठोट लिएर अगाडि बढिरहेका छौँ ।
नगरवासीहरू स्वस्थ भएमात्र हाम्रो समाज अघि बढाउन सहज हुने यथार्थलाई मध्यनजर गरी आधुनिक सुविधासतिको ख्वप अस्पताल निर्माण भइरहेको यहाँहरूमा जानकारी छ । कोभिड–१९ महामारीको पहिलो सङ्क्रमणको लहरमा भ.न.पा.ले Holding Center, क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गरी नगरवासीहरूलाई स्वास्थ्य सेवा दियो । यस वर्षको दोस्रो लहरको महामारीले आन्तरिक स्रोतको प्रमुख हिस्सा ओगटेको पर्यटन व्यवसाय र पर्यटन शुल्क ठप्पै भएको अवस्थामा केन्द्र सरकारले भ.न.पा.लाई गरेको भेदभावको कारणले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आर्थिक सहयोगको निमित्त हामी जनतासमक्ष जान बाध्य भयौँ । हाम्रा सहृदयी जनताबाट हिजोको दिनसम्म ४७९ व्यक्तिगत, १३७ सहकारी संस्था, २९८ सङ्घ संस्था, ६० वटा कलेज र विद्यालयहरूबाट गरी रु.६ करोडभन्दा बढी रकम विपद् व्यवस्थापन कोषमा जम्मा भएको छ । जनताबाट प्राप्त उक्त आर्थिक सहयोगलाई ख्वप अस्पतालको लागि आवश्यक उपकरणहरूसहितको आधुनिक अस्पताल ‘जनताको अस्पताल‘ को रूपमा अघि बढाई जनतालाई स्वास्थ्य सुविधा दिइने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र ‘भक्तपुर नगर स्वस्थ नगर सुरक्षित नगर’ को रूपमा परिचित गराउन यहाँहरूको पुनः साथ र सहयोगको अपेक्षा राख्दछु । यसको लागि हामी सम्पूर्ण नगरवासीहरूले ‘स्वास्थ्य मापदण्ड’ को साथै आफू सुरक्षित रही अरूको सुरक्षा गर्नु’ आजको एकमात्र धर्म हो भन्ने लाग्दछ । ‘सुरक्षित होऔँ, सुरक्षित राखौँ’ भन्ने कुरालाई हामी सबैले आत्मसात गरी अघि बढ्न सकेमा आउँदा दिनहरू चाँडोभन्दा चाँडो सहज परिस्थिति आउनेमा विश्वस्त हुन सकिन्छ ।
कोरोना महामारीको कारणले हाम्रोजस्तो सम्पदा र संस्कृतिको भण्डारमा प्रत्यक्षरूपमा असर परेको हामीले भोगिरहेका छौँ । तथापि, हामीले सम्पदाको पुनः निर्माण संरक्षण कामलाई निरन्तर अगाडि बढाइरहेका छौँ । यो महामारीबाट हामीले छुट्कारा पाउने बित्तिकै सांस्कृतिक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरी आन्तरिक एवं बाह्य पर्यटनलाई विस्तार गर्दै लानेछौँ । यसरी हाम्रो सभ्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कामलाई हामी निरन्तरता दिँदै जानेछौँ । सांस्कृतिक नगर भक्तपुरलाई पूर्ण सुरक्षित/संरक्षित र स्वस्थ नगर, ज्ञान विज्ञान र प्रविधिको आत्मनिर्भर नगर भक्तपुर नगरको रूपमा पु¥याउन नगरका सम्पूर्ण बुद्धिजीवी, सङ्घ संस्था, नगरवासीहरूको सधैँझैँ साथ पाउनेमा भ.न.पा. विश्वस्त छ ।
यस महामारीमा साथ दिनुहुने, आर्थिक, भौतिक सहयोग गर्नुहुने चिनियाँ कम्युनिस्ट पार्टी÷भ.न.पा.को भगिनी नगर शान्नान नगर, नेमकिपा परिवारलगायत सहकारी÷विभिन्न सङ्घ, संस्था, विद्यालय, कलेज एवं सम्पूर्ण महानुभावहरूलाई भ.न.पा. परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
(मङ्गलबारबाट सुरु भएको भक्तपुर नगरपालिकाको दसौँ नगरसभामा उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत आ.व. २०७८/७९ को नीति तथा कार्यक्रममा व्यक्त मन्तव्य –सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *