भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुरका मल्ल राजा भूपतीन्द्र मल्लले नेपाल संवत् ८२२ (वि.सं. १७५८) पुस कृष्ण त्रयोदशी बुधबार ङातापोल्हँ मन्दिर निर्माण सुरु गराए । सोही वर्ष आषाढ सुदि १ (वि.सं. १७५९) मा गजुर राखेपछि मन्दिर निर्माण सम्पन्न गरियो । यसअनुसार ६ महिनामै आजको पाँचतले मन्दिरको निर्माण कार्य सम्पन्न गरिएको थियो ।
लगभग नगरको मध्तगमा पर्ने टौमढी टोलमा ङातापोल्हँ मन्दिर बताइएको छ । यो मन्दिरको उचाइ १०८ फिट (३३.२३ मिटर) छ । यो मन्दिर चारकुने जगमा ९० डिग्रीको कोणमा बनेको छ । पाँचै छाना भने ४५ डिग्री कोणमा रहेका छन् । तले छाना अर्थात् छत्रे नेपाली शैलीमा (प्यागोडा) मन्दिर बनेको छ । मन्दिरको बनावट अद्वितीय छ । नेपालको सबभन्दा अग्लो यो मन्दिर, तल्लो भागमा पेटीको पाँच तह छ भने माथिल्लो भागमा मन्दिरको पाँच तहका छाना छन् । मन्दिरको जमीन भागको चारै कुनामा ४ गणेशका स–साना मन्दिर रहेका छन् । मन्दिर दक्षिणाभिमुख छ ।
मन्दिरको तल सिँढीको दुवैतिर १०।१० गुणा शक्तिले युक्त भएका जोडी ढुङ्गाका सुन्दर मूर्तिहरू राखिएका छन् । ती मूर्तिहरू भगवती माता सिद्धिलक्ष्मीको पहराका लागि स्थापना गरिएका हुन् । प्रायः सबै मन्दिरमा मन्दिरका स्वामीको बाहनलाई पहरेदारको रूपमा राखिएको पाइन्छ । मानवभन्दा दस गुणा बलियो जैमल प्रताप स्थानीय बोलीमा कुतुवा भनिने मानव मूर्ति, त्यसभन्दा माथि दस गुणा शक्तिशाली हौदा कसेको हात्तीको मूर्ति, त्यसभन्दा माथि हात्तीभन्दा दस गुणा बलियो सिंहको मूर्ति, त्यसभन्दा माथि सिंहभन्दा दस गुणा बलियो गरुड जस्तो मुखाकृति भएको शार्दूलको मूर्ति र सो शार्दूलभन्दा दस गुणा शक्तिशाली सिंहिनी ब्याघ्रिनी देवीका एक जोर मूर्तिहरू रहेको पाइन्छन् । (सिद्धाग्नि…. पृ.६८)
यो मन्दिरमा पूजा आजा गर्न पुजारी र तोकिएका बाहेक अन्य मन्दिरमा जस्तो सर्वधारणको प्रवेश छैन । मन्दिर कहिल्यै खुला रहँदैन । भित्र एउटै ढुङ्गामा कलात्मक सिद्धिलक्ष्मीको मूर्ति रहेको छ । ङातापोल्हँ मन्दिरको गर्भस्थानमा वीर बेतालको मूर्तिमाथि महारुद्र (भैरव) को मूर्तिमाथि सिद्धिलक्ष्मी देवीको नौ मुख (सबभन्दामाथि एक मुख, त्यसको तल तीन मुख, त्यसको तल पाँच मुख गरी नौ मुख) १८ हात भएको तीन तहको संयुक्त मूर्ति प्रतिस्थापन गरिएको पाइन्छ । देवीको बायाँ श्री मसान भैरव र दायाँ महाकाल भैरवको मूर्ति रहेको छ । मन्दिर पूजाको लागि खुला नरहेकोले यो कुन देवताको मन्दिर भनी चिनिँदैन । पाँचतले मन्दिरको नामले प्रसिद्ध छ ।
मन्दिरको पाँचै तला विभिन्न देवदेवीका कलात्मक मूर्तिहरू कुँदिएका १०८ टुँडाल रहेका छन् । पाँचै तलाको छानाको बलेसी चुहिने ठाउँ अर्थात् मुठलमा हावाको झोक्काले बज्ने फय् गं भनिने बतासे ५२९ घण्टहरू झुन्डिरहेका छन् । (पहिलो तलामा १६८, दोस्रो तलामा १२८, तेस्रो तलामा १०४, चौथो तलामा ८० र पाँचौँ तलामा ४८) (पृ.१११) गरी जम्मा ५२९ बतास घण्ट बनेकोमा प्रयोग नभई एउटा बचेछ । जसलाई अपशकुनको रूपमा थन्काइएको छ । सो घण्ट बजे, बजाएमा ठूलो हावाहुरीसहित बेसरी पानी पर्छ भन्ने लोकोक्ति रहेको पाइन्छ ।
हावाको लहरमा ५२९ घण्टको मृदु आवाजले परिसर नै घन्किन पुग्छ । त्यतिबेला भैरवनाथले ज्यादै दुःख दिएकोले तान्त्रिक मतानुसार भैरव आसन स्थापना गरेर माता सिद्धिलक्ष्मीले शान्त पारेको भन्ने किंवदन्ती रहेको पाइन्छ । राजा भूपतीन्द्र मल्लले मन्दिरको आग्नेय कोणमा ठूलो घण्ट चढाएको अभिलेख पाइन्छ । जसमा ‘फ् ३ श्री जय भूपतीन्द्र मल्ल देवसन डातापोल देवलया देवता सम दुंता ने.सं. ८२४ आषाढ शुदी ४ सुभम्’ भनी लेखेको पाइन्छ ।
पहिले २०५६ सालमा पनि यही डातापोल्हँ मन्दिर, ५५ झ्याले दरबार, भाजु पुखु, रानी पुखु, सिद्धपोखरी, भैरवनाथ मन्दिरलगायत थुप्रै सम्पदा पुनर्निर्माणको काममा भक्तपुर नगरपालिकाको श्रेष्ठता देखिइसकेको हो ।
यसपाला जीर्णोद्धार गर्नुपूर्व ख्वप इन्जिनियरिङ्ग कलेजबाट प्राविधिक अध्ययन गरिएको थियो । भक्तपुर नगरपालिकाले पुरातत्वविद, स्थानीय उपभोक्ता, संस्कृतिकर्मीलगायत र प्रविधिविद्हरूसमेत समावेश गरेर कार्यशाला गरेको थियो । सो कार्यशालाको सुझावसमेतको आधारमा जीर्णोद्धार गरेको देखिन्छ ।
२०७२ को भूकम्पपछि मन्दिरको यथार्थ स्थिति पत्ता लगाइयो । १९९० सालको भूकम्पमा जस्तै यस पटक पनि मन्दिरको पाँचौँ तलामा भूकम्पले क्षति पु¥यायो । चारैतिरका गारोमा इँटाले ठाउँ छाडेको देखियो । पूर्व र पश्चिमतिरको जगको भागमा पनि सामान्य धसिएको पाइएको छ ।
१९९० सालमा भैरवनाथ मन्दिर पाताल भएछ । पाँचतले मन्दिर भने यथावत रहेछ । त्यसैले पाँचतले मन्दिरको एक तला छैन, भैरवमन्दिरको पत्तो छैन, ‘ङातापोल छता मरु भैल द्यो पत्ता मरु’ भनी स्थानीय भाषामा भनिने रहेछ । १८९० र १९६५ को भूकम्पमा भएको क्षति थाहा पाउन सकिएन । २०१९ सालमा राजा महेन्द्रले धेरै मठ मन्दिरसँगै यो ङातापोल्हँको पनि जीर्णोद्धार गराएका थिए । भक्तपुर नगरपालिकाले २०५६ सालमा पूरै जीर्णोद्धार गरेकोले नै २०७२ को भूकम्पमा जोगिन पुगेको हो ।
त्यत्रो भूकम्पमा पनि पाँचौँ तलामा मात्र केही क्षति पु¥यायो । मन्दिर निर्माणको मल्लकालीन शैली, प्रविधि, सीप र परम्परागत निर्माण सामग्रीको प्रयोगले भूकम्पबाट ढल्न पाएन । मन्दिरको बनोटमा ढुङ्गा, माटो, इँटा र काठको प्रयोग भएको छ । फलामे सत्तरीलगायत फलामको प्रयोग भएको छैन । यसपाला पाँचौँ तला पूरै भत्काएर जीर्णोद्धार गरियो । भूकम्पमा चारै तलाका झिँगटी चिप्लेकाले सबै तलाको छानामा झिँगटी निकालेर पुनः राख्ने काम गरियो ।
मानव जातिकै सम्पत्ति ः
डातापोल्हँ मन्दिरले भक्तपुरको मात्र शोभा बढाएको छैन, मल्लकालीन सीप र कलाले नेपाल र नेपालीकै गौरव पनि बढाएको छ । युनेस्कोले उपत्यकाका अन्यका साथै भक्तपुर दरबार परिसरलाई पनि विश्व सम्पदा सूचीमा राखेकोले यो नेपालको मात्र सम्पत्ति नभई विश्वकै सम्पत्ति घोषणा भइसकेको छ ।
“Were there nothing else in Nepal, save the Durbar Square of Bhatgaun, it would still be amply worth making a journey half way round the globe to se” E.A. Powel (The Last Home of Mystry, 1929 London) बेलायती लेखकले आधी विश्व घुम्नुभन्दा भक्तपुर दरबार परिसर घुम्नुलाई महत्ता बताएको पाइन्छ । राज्यले चाहेर पनि यस्ता सम्पदाको नाश गर्न र साविकको स्वरूपमा परिवर्तन गर्न पाइँदैन । भूकम्पमा क्षति पुगेका र १९९० सालको भूकम्प र त्यसअगाडि पनि स्वरूप परिवर्तन गरेर बनाइएका तथा पुनर्निर्माण गर्न छुटेका भक्तपुरकै दरबार परिसरको हरिशङ्कर (लापाँ देग) र यन्त्रशाला मन्दिर, खौमाको उमामहेश्वर, शारदा स्कूलको नारायण मन्दिर, अरनिको सभा भवन परिसरको जगन्नाथ मन्दिर, ९९ चोक, वसन्तपुर दरबार, भाजुपोखरीको मन्दिर, रानीपोखरी आदि पुरातात्विक सम्पदाहरूलाई साविक स्वरूपमा भक्तपुर नगरपालिका र पुरातत्व विभागले पुनर्निर्माण र जीर्णोद्धार गरिनुपर्दछ ।
६ महिनामा मन्दिर निर्माण सम्पन्न ः
२०७६ कार्तिकमा ङातापोल्हँ मन्दिरको जीर्णोद्धारको काम सुरु गरियो । २०७७ वैशाख २४ मा गजुर राखियो । सबै काम २०७७ असार मसान्तमा सम्पन्न भएछ । बीचमा एक महिना लकडाउनमा काम गरिएनछ । लगभग ८ महिनामा कार्य सम्पन्न भएछ । पाँचै तलामा खट बाँध्नु परेकोले पनि सम्पन्न गर्न बढी समय लाग्न गएको देखिन्छ । लकडाउनमा पनि काम गरेर सम्पदा निर्माणमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले छोटै समयमा काम सम्पन्न गरेको देखियो ।
अहिले एकतला मर्मत गर्न र छाना मर्मत गर्न ८ महिना लाग्यो भने त्यतिबेला ३ सय १९ वर्ष अगाडि अत्यन्त छोटो समय ६ महिनामा नै मन्दिर बनाइएको थियो । त्यतिबेलाको प्रविधि र जनशक्ति कति उँचो, अब्बल र सबल रहेछ । यत्रो पाँच तलाको मन्दिर ६ महिनामा बनाउन सक्नु त्यति बेलाको प्रविधि र सीपको पराकाष्ठा मान्नुपर्दछ । यत्रो मन्दिरको परिकल्पना, नक्सा, कलात्मक ढोका, आँखीझ्याल, टुँडाल, मूर्तिहरूको जोहो गर्नसक्नु, कुन मूर्ति कहाँ राख्ने, कुन टुँडाल कहाँ राख्ने आदि कुराहरू तान्त्रिक साधनानुसार सम्पन्न गरिएको छ । राजा भूपतीन्द्र मल्लले यो एउटा मन्दिरमात्र बनाउन दिएका थिएनन् । भैरवनाथलगायत अन्य मन्दिर र सम्पदा पनि बनाउन दिएका थिए । यो मन्दिरको अवधारणा (concept) उनको मगजमा उब्जेको भरमा मात्र काम सम्पन्न भएको छैन । यो अवधारणालाई कार्यरूपमा परिणत गराउन मोनालिशाका कलाकार सर्जक लियोनार्डो दा भिन्चीको झैँ जगदेखि गजुरसम्मको एक एक नापो उनको मगजबाट निस्केर कागजमा उतारेको हुनुपर्दछ । त्यसैअनुसार झ्याल, आँखीझ्याल, ढोका, पेटीमा ढुङ्गाका मूर्तिहरू, तोरण, तलैपिच्छेका फरक फरक नापोका टुँडालहरू, खोपाका मूर्तिहरू, चार कुनाका विभिन्न जातका इँटाहरू आदि दिमागबाट निकालेर कसरी कार्यरूपमा परिणत गरे होलान् भनी कल्पना गर्न पनि सकिन्न ।
त्यतिबेला भक्तपुरका चारैतिरबाट काठ ल्याइएको, बनेपा, पनौतीबाट समेत काठ ढुङ्गा ल्याइएको ठाउँ–ठाउँमा इँटाभट्टा खडा गरिएको पाइन्छ । सम्बन्ध राम्रो नरहेको कान्तिपुरबाहेक ललितपुर, उपत्यकाबाहिर गोरखा, पाल्पा, मकवानपुर राज्य र अन्य पहाडी भेगबाट पनि सुमधुर सम्बन्धले गर्दा राजा भूपतीन्द्र मल्लले सहयोग पाएको देखिन्छ ।
मन्दिर निर्माणको एक एक विवरण कुन दिन के काम गरियो ? ढोका कहिले राखियो ? टुँडालमा कुन कुन देव देवीको मूर्ति रहेको छ ? मुठलमा घण्ट कतिओटा छन् ? गजुरको तौल कति छ ? पाँचतले मन्दिरको अभिलेखमा सबै निर्माण र खर्चको विवरणसमेत सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा किताबमा पाइन्छ । तर, मन्दिरको नक्सा र कलाकृतिलगायतको नापोको विवरण भने पाइँदैन ।
राष्ट्रिय अभिलेखालयमा रहेको नेपालभाषा नेवारी अभिलेख ग्रन्थसूची तयार गर्ने क्रममा नेवारी भाषा र लिपिमा लेखिएको यो कृति डा. जनकलाल वैद्यले पत्ता लगाउनुभएको हो । अनि उहाँले नेपाली भाषामा अनुवाद गरेपछि २०६१ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।
यो मन्दिर बनाउन ३२ लाख ७८ हजार ८८६ गोटा इँटा खरिद गरिएको थियो । (पु.२८) तेलिया ईँटा, छाना छाउने झिँगटी, अन्य बुट्टे विभिन्न आकारका इँटा आदि प्रयोग भएका छन् । गजुरको तौल ४० धार्नी १०० केजी रहेको छ । जसमा ३७ तोला सुनको जलप लगाइएको छ ।
राज्य बाहिरका समेत धेरैको सहयोगमा मन्दिर निर्माण सम्पन्न भएकोमा राजा भूपतीन्द्र मल्लले ठूलो भोज तःभ्वय् आयोजना गरेका थिए । जसमा सबै जातका गरी २० हजारभन्दा बढी अतिथिको उपस्थिति थियो ।
मन्दिर निर्माण पूरा भई गजुर राखेको शुभ दिनको स्मरण गर्दै अहिले पनि हरेक वर्षको असार सुदी १ मा वर्षबन्धन पूजा र झन्डा फेरिन्छ । तोकिएका अवाल जातिले झन्डा फहराउँछन् । मन्दिर भित्रभित्रैबाट गजुर रहेको पाँचौँ तलासम्म जान प्रत्येक तलाको उत्तरपट्टि छानामा मान्छे जानसक्ने गरी खोल्ने र बन्द गर्ने सानो प्रवेश (प्वाल) राखेको छ । प्रत्येक वर्ष झिँगटीमा उम्रेको घाँस वर्षा सकिने बित्तिकै उखेलेर सफा गर्ने गरिन्छ । गाउँतिर पनि झिँगटीको छानामा यस्तै गर्ने चलन मैले आफ्नै घरमा बाल्यकालमा देखेको थिएँ । फुटेका झिँगटी फेर्न र मर्मत गर्नको लागि यो बाटो सुरुदेखि नै बनाएको पाइन्छ ।
उपभोक्ता समितिबाट निर्माण ः
मन्दिर निर्माण उपभोक्ता समितिबाट गरिएछ । अध्यक्ष केशव तमखुको सक्रियतामा जीर्णोद्धार सम्पन्न भएको पाइन्छ । नगरपालिकाले सबै निर्माणको काम ठेक्का होइन उपभोक्ता समितिबाट गराउने गरेको पाइन्छ । भक्तपुरमा जति सम्पदा पुनर्निर्माण वा जीर्णोद्धार भएका छन् सबै सरकारी लागत अनुमानभन्दा धेरै थोरै लागतमा सम्पन्न भएका छन् । यो मन्दिर जीर्णोद्धार गर्न रु. ६५ लाख १३ हजार सरकारी लागत अनुमान भएकोमा ज्याला, सामान र भाडामा गरी रु. ३८ लाख ७७ हजार अर्थात् लागत अनुमानको ५९.५२ प्रतिशत घटीमा काम सम्पन्न भएको देखिन्छ । यो खर्चमा सर्वसाधारणलगायतबाट प्राप्त आर्थिक सहयोग रु. १५, ४७, ५७०। समेत समावेश भएको देखिन्छ । यसअनुसार आर्थिक सहयोगबाहेक नगरपालिकाको खुद लगानी रु. २३,३०,०५८।४१ पर्न गएको देखिन्छ । जिन्सी सामान बाँस, झिँगटी, इँटाहरूमा रु. ५,६३, ७००। बराबरको सहयोग मिलेको देखिन्छ । लागत अनुमानभन्दा रु. २६, ३५, ७२९।८६ अर्थात् ३९ प्रतिशत कम खर्चमा निर्माण काम सम्पन्न भएको देखिन आयो ।
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिबाट स्थानीय सीप, जनशक्तिसमेतको प्रयोग गरी कम खर्चमा लागत अनुमानबमोजिमको उच्च गुणस्तरमा काम गर्ने गरेको पाइन्छ । सम्पदा निर्माणमा ठेक्काबाट गराउँदा नाफाको कुराले गुणस्तरमा कमी आउला भन्ने डर हुन्छ । ठेक्कामा कम गुणस्तरको निर्माण सामग्री, अनुभवहीन कालिगडको प्रयोग हुनसक्छ । तर, उपभोक्ता समितिले स्थानीय अनुभवी कालीगड र सीपको प्रयोग गराउँछ । नगरपालिकाले ठेक्कामा काम नगराएकोमा केही राजनीतिक र निजी क्षेत्रबाट विरोध भएको पाइन्छ । राजनीतिकरूपमा नगरपालिकाले फाइदा लियो भनिन्छ । तर, लागत अनुमानभन्दा विभिन्न सम्पदा जीर्णोद्धारमा ५० प्रतिशतसम्म खर्च कम लागेको सम्बन्धमा भने कुनै प्रतिक्रिया आएको पाइँदैन । उपभोक्ता समितिबाट काम गराउँदा सार्वजनिक खरिद ऐनको प्रावधान मिचियो भनिन्छ । तर, कम खर्चमा काम सम्पन्न गरेर राष्ट्रिय सम्पत्तिको जगेर्ना गरेतर्फ भने कुनै प्रतिक्रिया पाइँदैन ।
राजा भूपतीन्द्र मल्लले मन्दिर बनाउन टुँडाल, मूर्ति आदि सामानको कति वर्षदेखि तयारी गरेका थिए होलान् । त्यस्ता कलात्मक टुँडाल २।४ महिनामा तयार हुनसक्ने पनि होइन । पहिलेदेखि नै तयारी गरिँदै आएको थियो भन्ने कुरा कर्मी छत्र सिंहले २९५ दिन काम गरेको (पृ.१४३) लोहंकर्मी तुल सिंहले ४९९ दिन (पृ.१३८) काम गरेको अभिलेखबाट नै काठमा बुट्टा, मूर्तिको काम, ढुङ्गाको मूर्ति बनाउने आदि काम २ वर्ष अगाडिदेखि नै तयारी गरिँदै गरेको पुष्टि हुन्छ । यो मन्दिरको अहिलेको भाषामा विस्तृत डिजाइन भने पहिले नै गरिएअनुसार नै सामान तयारी हुँदै गरेको देखिन आयो । तयार पार्न धेरै समय लाग्ने टुँडाल, आँखी झ्याल, मूर्तिहरू पहिले नै तयार पारिएकोले नै पाँचतले मन्दिर ६ महिनामा निर्माण सम्भव भएको अभिलेखबाट नै देखियो । यो अद्भूत कार्य विश्वको आठौँ आश्चर्य मान्नुपर्दछ भनी डा. पुरुषोत्तमलोचन श्रेष्ठले लेख्नुभएको पाइन्छ ।
राजा भूपतीन्द्र मल्ल कति जनप्रेमी रहेछन् भन्ने कुरा यो मन्दिरको निर्माणबाट पनि देखियो । उनको मन्दिरसम्बन्धी कलात्मक र प्राविधिक ज्ञान कति अब्बल रहेछ । उनका त्यतिबेलाका शिल्पीहरू (आर्किटेक्ट, इन्जिनियर), अन्य कलाकार, काष्ठकर्मी, लौहकर्मी, डकर्मी, सिकर्मी आदि कति सिपालु र उत्कृष्ट रहेछन् भन्ने देखिन्छ । इँटा, काठलगायत जनशक्तिको जोहो आजको भाषामा व्यवस्थापन (Management) क्षमता कति उम्दा रहेछ भन्ने पुष्टि हुन्छ । चारैतिरबाट जिन्सी र जनशक्तिको सहयोग लिएका थिए ।
लोकतान्त्रिक र गणतान्त्रिक नेपालमा २६।२७ वर्षमा पनि मेलम्चीबाट राजधानीमा पानी ल्याउन सकिएको छैन, समस्यामाथि समस्या थपिरहेका छन् । कैयौँ वर्षदेखि पुल र विकास आयोजना अलपत्र छन्, दशकौँदेखिको राष्ट्रिय प्राथमिकताको सिक्टा सिँचाइजस्तो योजना अलपत्र छ ।
यो पाँचतले ङातापोल्हँ मन्दिर नयाँ बनाउने हो भने डिजाइन र लागत अनुमानमै कम्तीमा २ वर्ष लाग्न बेर छैन । नेपालको अहिलेको रानीपोखरी, पुल, सिँचाइ योजनालगायत राष्ट्रिय प्राथमिकता प्राप्त निर्माण व्यवस्थापन क्षमता हेर्ने हो भने दस वर्षमा पनि यस्तो मन्दिर निर्माण सम्पन्न होला जस्तो लाग्दैन ।
युरोप अमेरिकामा आधुनिक व्यवस्थापन सिक्न गइन्छ । अधिकांश इन्जिनियरिङ जनशक्ति समुद्रपारमै दीक्षित छन् । तर, आफ्नै देशको ३०० वर्षअगाडिको डिजाइन, निर्माण, व्यवस्थापन, प्रविधि र कार्यान्वयनतर्फ हामीले अध्ययन, अनुसन्धान र मनन गर्न समय नै पाएनौँ ।
भक्तपुर नगरपालिकाले यो राष्ट्रिय धरोहरलाई जीर्णोद्धार सम्पन्न गरेकोमा बधाई । राष्ट्रिय कला सङ्ग्रहालय, लाल बैठक भवनलगायत बाँकी अन्य सम्पदाको पनि शीघ्र जीर्णोद्धार हुन हतार भइसकेको छ ।
सन्दर्भ स्रोत
१. लीलाभक्त मुनंकर्मी, नेपालका सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन, २०४१, प्रकाशिका श्रीमती भवानीकेशरी मुनंकर्मी, भक्तपुर ।
२.पुरुषोत्तमलोचन श्रेष्ठ, पाँचतले मन्दिरका अनौठा कुरा, कान्तिपुर कोसेली, ९ कार्तिक २०७६
३.Damage Assemssment of Nyatapola Temple, Technical Section, Khopa Engineering College, Bhakatapur and Bhaktapur Municipality. 3rd Feb 2020
स्रोत ः ङातापोल्हँ जीर्णोद्धार– २०७७
Leave a Reply