भर्खरै :

दुःखमा सघाउने ? कत्रो उच्चता ?

पुर्खाको कत्रो दीर्घकालीन सोच ! एकदिन बूढो भइन्छ । मान्छे जन्मन्छ, हुर्कन्छ, युवा हुन्छ र हुन्छ एकदिन वृद्ध पनि । यो प्रकृतिको शाश्वत नियम हो । मान्छे नियमित नजन्मँदो हो, नमर्दो हो त मान्छे मान्छे हुन्थ्यो, हुन्नथ्यो त ? यो विषय निश्चय नै सजिलो होइन । मान्छे आफ्नै बारेमा कत्तिको भेउ पाउँछ ? त्यो प्रश्न पनि छ एकातिर । अर्को प्रश्न पनि छ ल भेउ पायो रे । के गर्नसक्छ मान्छेले मान्छेकोबारे भेउ पायो रे । छ्याङ्ग भयो रे केही गर्न सक्छ त ! सक्दैन । गर्न खोज्छ तर सक्दैन । किनभने हरेक प्राणीका आ–आफ्नै नियम हुन्छन् प्रतिनियम, उपनियम हुन्छन् । त्यो आफैले बनाएको हुन्छ जो उल्लङ्घन गर्नसक्दैन । यस्ता गन्थन जति लम्काए त्यति लम्बिन सक्छ, जति छोट्याए पनि छोटिन सक्छ । हाम्रा मानव बस्ती बसे । मान्छे यस्तो अप्ठेरो प्राणी हो जो सर्वदा एक्लै निर्वाह गर्नसक्दैन ? एकदिन बुढो हुन्छ, अशक्त हुन्छ । अपवादमा बाहेक अर्को सहायताको खाँचो पर्छ । त्यो दीर्घकालीन सोच र चिन्तनको कारण टोल–टोलमा जब बाक्लो बस्ती बस्न लाग्यो, सबैले सोच्न लागे यस्ता ठाउँमा कोही न कोही राजनीतिक खुला ठाउँ नभई हुँदैन । तब हाम्रा पाटी, पौवा र सत्तल बनाउने प्रवृत्ति प्रारम्भ भयो होला । आज ती समाजको अमूल्य निधि भएका छन् ।
पाटी, पौवा र सत्तल
अन्यथा आज कृष्णलालहरू कहाँ सास फेर्थे होलान् ! कसरी सुरक्षित बस्थे होलान् ? यस्ता सार्वजनिक खुला र खाली ठाउँ मेरो सरसरती अवलोकन एवं अध्ययनअनुसार यस्ता फल्चाहरू तुलनात्मकरूपमा हाम्रो भक्तपुर नगरपालिकाभित्र धेरै छन् । अहिले पनि त्यस्तै त्यस्ता सबैका साझा ठाउँ सफा छन्, सुन्दर छन् । एकैछिन भए पनि आराम गरौँ गरौँ लाग्छ । के यी काम पुर्खाले थालेको उत्तम, अति उत्तम र सफल होइन र ? हिजो त्यस्ता फल्चा, पाटी बनाउनेहरू आज कति जना छन्, कति जना छैनन् । तर पाटी, सत्तल र सार्वजनिक ठाउरूहरू अझै सुरक्षित, सुन्दर र सफा छन् । आज ती ऐतिहासिक धरोहरहरूमा गर्वसाथ बसेर उतिबेला गरिएका यस्ता निर्माण र विकासका कामहरूप्रति अत्यन्त गर्व र गौरव गरिरहेको देख्दा आज हामी झन् बढी गौरवान्वित हुने गर्छौँ । आज भक्तपुर नगरपालिकामा जन्मेका, हुर्केका सबैलाई समानरूपमा हुर्काउन सक्दै सक्दैन र काममा समान अवसर पनि दिन समर्थ छैन नगरपालिका । तसर्थ आजको भक्तपुर सहरबाट कता लम्कन्छ युवा पुस्ता खासै टुङ्गो हुँदैन । तर, जुन दिशा गए पनि आफू र परिवार बस्ने घर बनाउँदा भक्तपुरमा आफ्नो आदरणीय पुस्ताले गरेका सार्वजनिक पाटी, पौवा, सत्तल बनाउने उच्च संस्कृति कायम राखौँ ।
बुद्धि चाहिने नै यही बिन्दुमा हो ।
हिजोको परिस्थिति हिजो नै थियो । आजको परिस्थिति आज नै छ । भोलि भोलिकै परिस्थिति आउने हो । आजको भौतिक अवस्था पनि आजकै छ । हिजोको खोजेर पाइँदैन । हिजोकै स्वरूप, आकृति एवं प्रकृतिमा आज खोजेको कुरा पाउन सबैतिर सम्भव पनि नहुन सक्छ । आजको पुस्ता समाजको बदलिँदो कामको स्वरूप, स्वभाव र उपकरणहरूको उपलब्धताका कारण पनि यस्ता सार्वजनिक पाटी, पौवा र सत्तलको आकार–प्रकार बाँकी छ र नाममै पनि नितान्त अन्तर पर्नसक्छ । आज निर्माण हुने यस्ता सार्वजनिक वस्तुको नामकरण, निर्माणको ढाँचा, प्रयोग गरिने वस्तु, निर्माण विधिजस्ता सबै विषयमा युगसापेक्ष परिवर्तन स्पष्ट नै आत्मगत हुनसक्नुपर्छ । आज बन्ने पाटी भक्तपुरको ब्रह्मायणी, सुकुलढोका, भैरवथानमा हिजो बनेजस्ता अवश्यक हुँदैनन् । यो वस्तुसत्य नयाँ पुस्ताले सदुपयोग गर्नसक्नुपर्छ । यो नै वस्तुतः युगबोध भो । आज बन्ने यस्ता सार्वजनिक संरचना घाम ताप्नमात्र सहज हुनुहुँदैन । बदलिँदो समाज भोलि कहाँ गएर रूपान्तरण हुनखोज्छ, भविष्यवाणी गर्न कोही सक्दैन । कामको खोजी, रोजगारी, अध्ययन, तालिम, व्यापार, व्यवसाय आदिको सिलसिलामा आज लाखौँलाख युवा आफ्नो परिवार, थातथलो छोडेर अर्कै ठाउँ गइरहेको छ । यो क्रम अब रोकिन पनि सहज छैन । त्यस्तो अवस्थामा घरका ज्येष्ठ नागरिक, आमा वा हजुरबुबा–हजुरआमालाई के गर्ने, कसरी उचित व्यवस्थापन गर्ने गम्भीर परिस्थिति सिर्जना भएको छ । हो, बुद्धि यहीँ चाहिन्छ ।
दुःखमा सघाउने चलन मास्नु हुन्न
अघिल्लो अघिल्लो पुस्ताले यस्तो कुराको औचित्यको विश्लेषण ग¥यो र उचित काम गर्दै आयो । टोल गाउँमा बिरामी कुर्ने, घाट लैजाने, यदि कसैको घरमै निधन भएमा युवाहरूले मृतकको शव बोक्ने, श्मसान घाट पु¥याई अन्तिम संस्कार गर्ने बन्दोबस्त मिलाइन्थ्यो । यो दश क्रिया नेपाली समाजमा आ–आफ्नो परम्पराअनुसार गरिन्छ । कतिपय परिवारको त्यसरी दशक्रिया पनि गरिँदैन । नेपाली समाज थरीथरीको छ । मृतकको विचार लैजाने प्रचलन छ । कुनै घरको घरमुली म¥यो भने उसकोमा घ्यू, चामल, मरिच, अदुवा, चिनी, मिश्री, शखरजस्ता उपभोग्य वस्तु लगिदिएर प्रत्यक्ष सहयोग गर्ने प्रचलन अद्यापि कायमै छ । यसलाई विचार लैजाने भनिन्छ । विचार लैजाने भनेको दुःखको बेला सघाउने भनेको रहेछ । नाम जे भने पनि विचार लैजाने भनेको दुःखको बेला सघाउने भन्ने रहेछ ! अब अहिले परिस्थितिमा परिवर्तन आएको छ । तसर्थ, यो विचार लैजाने विषयमा पनि परिवर्तन आएको छ । नेपाली समाजको चिन्तनदेखि यावत् कुरामा फरकपन आएकोले विचार लैजाने चलनमा अन्तर आएको छ । जे नाम दिए पनि दुःखमा साथ दिने चलन मास्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *