भर्खरै :

अफगानिस्तानमा संरा अमेरिकाको द्वैध भूमिका

अल कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा संरा अमेरिकाको न्यु योर्क सहरमा अवस्थित जुम्ल्याहा भवन र वाशिङ्टनको पेन्टागन भवनमा भएको हमलापछि एसियाली देश अफगानिस्तानमाथि संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी गठबन्धनले हमला ग¥यो । अफगानिस्तानमा शासन गरिरहेको तालिबान समूहको अल कायदा समूहसँग सम्बन्ध रहेको आरोपमा अमेरिकाले अफगानिस्तानलाई युद्धको दावानलमा धकेल्यो । अफगानिस्तानको लडाइँ अमेरिकी इतिहासकै सबभन्दा लामो इतिहास बन्यो । २० वर्ष लामो लडाइँमा २४ सत्न्दा बढी अमेरिकी सिपाहीं मारिए भने २० हजार सिपाहीं घाइते भएका छन् । अमेरिकी सेनाले कति जना अफगानी जनताको हत्या ग¥यो, त्यसको कुनै हिसाबकिताब नै हुन सकेको छैन । त्यस्तै अमेरिकी सेनाले भाडाका सिपाहींको रूपमा प्रयोग गरिएका विभिन्न देशका युवाहरू पनि ठूलो सङ्ख्यामा मारिए । गत मेबाट अमेरिकी सेना अफगानिस्तानबाट स्वदेश फर्किने क्रम सुरु भएको छ । सेप्टेम्बर ११ कै दिन त्यहाँबाट अमेरिकी सेनाको अन्तिम टोली स्वदेश फर्किनेछन् ।
सार्वभौम देश अफगानिस्तानमाथि दुई दशकको विध्वंसात्मक लडाइँबाट संरा अमेरिकाले के प्राप्त ग¥यो ? अमेरिकी युवाहरूको मृत्यु, उनीहरूका परिवारको दुःखको आँसु अनि दसौँ लाख अफगानी जनताको हत्या र परिवारको वियोगबाट त्यो लडाइँबाट के हात लाग्यो ? निःसन्देह तालिबानको शासन गलत थियो । अल कायदाले अमेरिकी संरचनामाथि हमला गर्नु पनि गलत थियो । अमेरिकीहरूको शब्दमा अल कायदाको हमला आतङ्कवादी थियो । आतङ्कवादी हमलाको बदला भने अमेरिकाले पनि अफगानी जनतामाथि आतङ्कवाद थोपरेर नै लियो । फलतः एसियाली सभ्यताले वैभवपूर्ण सार्वभौम देश अफगानिस्तान आज युद्धले क्षतविक्षतमात्र बनेको छैन, बरु कुनै पनि बेला मृत्युको शिकार हुने खतरामुनि अफगानी जनता सन्त्रासपूर्वक बाँच्न बाध्य छन् ।
अमेरिकी सेनाको फिर्ता जान थालेसँगै तालिबानले अफगानिस्तानका विभिन्न जिल्लाहरू कब्जा जमाउन थालेका छन् । तिनको सामना गर्न सरकारी सेनालाई हम्मेहम्मे हुन थालेपछि राष्ट्रपति असरफ घानी अमेरिकी राष्ट्रपतिसमक्ष हारगुहार गर्न पुगेका छन् । अफगानी समकक्षीलाई बाइडेनले अफगानिस्तानमा अमेरिकी सहायता जारी रहने वचन दिएका छन् । यसबाट अफगानिस्तानमा अमेरिकी द्वैध भूमिका प्रष्ट हुँदै गएको छ । अमेरिकीहरू एकातिर अफगानिस्तान छोडेर संसारमा आफ्नो रक्ताम्य अनुहारको थोरै भए पनि दाग पुछ्न खोजिरहेका छन् । तर, आफ्नै मानसपुत्र तालिवानलाई हमलाको लागि उद्यत बनाएर अफगानिस्तानमा फेरि पनि आफ्नो जरा बलियो बनाउने जाल गरिरहेको छ ।
अमेरिकी सेनाले पाइला टेकेको संसारको कुनै पनि ठाउँबाट कहिल्यै फर्केको छैन । भियतनाममा ऊ पराजित भयो र फर्किन बाध्य भयो । नत्र, अझै पनि जर्मनी, जापान र कोरियामा अमेरिकी सेना तैनाथ छन् । त्यसकारण, अमेरिकी सेना अरू कुनै पनि बहानामा अफगानिस्तानमा फर्किने परिस्थिति बनाउँछ । अमेरिकी गुप्तचर रिपोर्टअनुसार अमेरिकी सेनाले अफगानिस्तान छोडेको ६ महिनाभित्र तालिबानले राज्य कब्जा गर्नेछ । तालिबानले कब्जा जमाएको अवस्थामा फेरि पनि अमेरिकी सेना फर्किने सम्भावना कायम नै छ ।
अमेरिका एकातिर आफ्नो गुमेका छवि जोगाउने अनि अर्काेतिर आफ्नो साम्राज्यवादी नङ्ग्रालाई अझ गाड्ने दोहोरो भूमिका खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *