भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
नेपालका कति दलहरू आफूलाई कम्युनिस्ट भन्छन्, कम्युनिस्ट भन्न रुचाउँछन् तर कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गर्दैनन्, जनताको घर आँगनमा पु¥याउँदैनन् किन ? तिनै कम्युनिस्ट पार्टीहरू आफ्नो मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद राख्छन्, आफ्नो विधानमा लेख्छन् तर त्यस दर्शन र सिद्धान्तबारे प्रचार त के नाउँ पनि लिन चाहँदैनन् किन ? कम्युनिस्ट पार्टी दाबी गर्छन् तर सिद्धान्त र विचार व्यवहारमा लागू गर्न पटक्कै चाहँदैनन् । अझ सिद्धान्त र विचारलाई बन्धक या थाती राखेर उल्टो त्यही सिद्धान्त र विचार तोडमरोड गरी पुँजीवादको पृष्ठपोषण गर्छन् किन ?
राजनीति दर्शन, सिद्धान्त र विचारको आधारमा गर्ने हो । पार्टीको पथ प्रदर्शक नै सिद्धान्त र विचार हो । सिद्धान्त र विचार छोडेर, भुलेर राजनीति गर्छ भने त्यो दल गन्तव्यहीन, दिशाहीन हुन्छ या त्यस्तो दलले पार्टी र देशको लागि दिशा निर्देश गर्नसक्दैन । जनताको विश्वास लिन र अभिमत पाउन कम्युनिस्ट पार्टी खोलेपछि जनताको सेवा गर्न अघि बढ्नु पर्दैन ? जसरी भए पनि दल ठुलो बनाउनु र सरकारमा जानु नै कम्युनिस्ट पार्टीको उद्देश्य हो ? आमूल परिवर्तनको लागि बाटो खोल्नु पर्दैन ? पूर्वाधार तयार गर्नुपर्दैन ?
मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद ठान्ने कति कम्युनिस्ट पार्टीहरू माक्र्सवाद मान्दैनन् । ती दलका नेताहरू द्वन्द्वात्मक भौतिकवाद र वर्गसङ्घर्षलाई स्वीकार्दैनन् । उनीहरू वर्गसङ्घर्षले मात्रै आमूल परिवर्तन हुन्छन् भन्ने कुरा भुल्छन्, पुँजीवादी बन्दोबस्तको सरकारमा रहेरै आमूल परिवर्तन गर्ने विश्वास गर्छन् । यही उद्देश्यले विगतमा कम्युनिस्ट पार्टीहरू सरकारमा गए र अहिले पनि छन् । पुँजीवादी सरकारमा गएर कसरी आमूल परिवर्तन हुन्छ ? आमूल परिवर्तन भनेको सरकारको हेरफेर होइन, व्यवस्था उल्ट्याउनु हो ।
कम्युनिस्ट भनिने दलले सरकारको नेतृत्व पटक–पटक गरिसकेको छ । कम्युनिस्ट पार्टी भन्ने दलका नेताहरू मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, केपी ओली, सीपी मैनाली, चित्रबहादुर केसीहरू सरकारमा गए, प्रधानमन्त्री र उपप्रधानमन्त्री बने । तर, श्रमजीवी वर्गका जनताले राहत पाएनन् या सरकारले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्न सकेन । सङ्घर्ष नगरेको भए गणतन्त्रको स्थापना हुँदैनथ्यो, राजतन्त्र हट्दैनथ्यो । हो, राजतन्त्र हट्दैमा या गणतन्त्र स्थापना हुँदैमा समाजवादी व्यवस्था स्थापना हुन्छ भन्ने होइन । हालको गणतन्त्रात्मक व्यवस्था पुँजीवादी गणतन्त्र हो । कम्युनिस्टहरू समाजवादी गणतन्त्र चाहन्छन्, समाजवादी गणतन्त्र स्थापना गर्न सङ्घर्षरत हुन्छन् । तर, विडम्बना ¤ समाजवादी गणतन्त्र स्थापनातिर सरकारको नेतृत्व गर्न चाहने, सरकारमा जाने या जान चाहने कम्युनिस्ट पार्टीहरूले पाइला चालेनन्, अभ्यास गरेनन्, पूर्वाधार तयार गरेनन् ।
कति कम्युनिस्ट नेताहरू, कम्युनिस्ट पार्टीका बुद्धिजीवीहरू वर्गसङ्घर्ष गर्ने पार्टी कुनै हालतमा कम्युनिस्ट पार्टी होइन भनी फुक्छन् । उनीहरू वर्गसङ्घर्षको निम्ति तयारीमा लागेका, जनतालाई सचेत र सङ्गठित गरिरहेका दलहरूलाई वर्गसङ्घर्षको बाटो छोड्न आग्रह गर्छन् । उनीहरू पुँजीवादी सरकारमा रहेरै कम्युनिस्टको उद्देश्य पूरा गर्नसक्छन् भन्ने धारणा राख्छन् । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् तर अन्धानुकरण गर्दैनन् । कति कम्युनिस्ट नेताहरू राजनीतिमा दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न अवसरवादी र संशोधनवादी बाटो लिन्छन् । त्यसैलाई सुधार भनी आमूल परिवर्तनको सुरुवात ठान्छन् । माक्र्सवादको मूल आधार या मान्यता वर्गसङ्घर्षको सिद्धान्तलाई हेरफेर गर्ने या संशोधन गर्ने काम कम्युनिस्टहरूको होइन, संशोधनवादीहरूको काम हो ।
पुँजीवादी संसदीय प्रणालीले वर्ग विभाजन अन्त्य गर्दैन । यस्तो संसदीय प्रणालीले पुँजीवादी गणतन्त्रको संरक्षण गर्छ, उत्पीडित वर्गको सेवा गर्दैन । पुँजीवादी संसदीय प्रणालीलाई मुख्य लक्ष्य मान्ने र विश्वास गर्ने कम्युनिस्टहरू माक्र्सवाद–लेनिनवाद पुरानो भयो, कम्युनिस्ट घोषणापत्र पुरानो भयो अब काम लाग्दैन भन्छन् । माक्र्सवाद विज्ञानसम्मत छ । विज्ञानसम्मत माक्र्सवाद कसरी पुरानो हुन्छ ? वर्गीय समाजमा वर्गसङ्घर्ष हुन्छ या द्वन्द्व हुन्छ । द्वन्द्वात्मक भौतिकवाद कसरी पुरानो हुन्छ ? विज्ञानसम्मत सिद्धान्त र विचार कुनै दलले छोड्दैमा त्यो काम लाग्दैन भन्ने होइन ।
समाजवादी आन्दोलनभित्र विभिन्न देशमा विभिन्न थरीका आन्दोलनमात्र होइन प्रवृत्तिहरू देखिएका छन् । क्रान्ति सफल नहुञ्जेल यस्ता प्रवृत्ति या परिस्थिति कायम भएको हुन्छ । नेपालमा पनि यस्तै अवसरवादी र संशोधनवादी कम्युनिस्टहरू देखिएका छन् । माक्र्सवादीहरूले तिनै संशोधनवादको विरुद्ध सैद्धान्तिक सङ्घर्ष गरेका थिए । नेपालमा पनि माक्र्सवादी पार्टीहरूले अवसरवादी र संशोधनवादी कम्युनिस्टहरूको विरोध गरिरहेका छन्, सैद्धान्तिक सङ्घर्ष गरिरहेका छन् । माक्र्स र एङ्गेल्सको शिक्षा क्रान्तिकारी सिद्धान्तमा आधारित छ । त्यस सिद्धान्त र विचारलाई जनताको घर आँगनमा पु¥याएर शिक्षित, सचेत र सङ्गठित पार्नु हरेक कम्युनिस्ट पार्टीको उद्देश्य हो ।
आमूल परिवर्तन समाजवादी समाज निर्माणको लागि हो । कम्युनिस्टहरूको उद्देश्य श्रमजीवी वर्गका पक्षमा राजनीतिक सत्ता प्राप्ति गर्नु हो र समाजवादी समाज निर्माण गर्नु हो । त्यो समाज निर्माण गर्न कहिले आर्थिक, सामाजिक, सङ्घर्ष त कहिले राजनीतिक सङ्घर्ष हुन्छ । किसान, मजदुर, उत्पीडित जनजाति, शोषित पीडित जनताको आर्थिक स्तर उठाउन आर्थिक सङ्घर्ष हुन्छ त जनताको अधिकार प्राप्त गर्न, अधिकार सुनिश्चित गर्न र सामन्त, पुँजीपति वर्गको शासन उल्टाउन राजनीतिक सङ्घर्ष हुन्छ । नेपाल मजदुर पार्टीले गरिरहेको सङ्घर्ष समाजवादी समाज निर्माण गर्न हो । नेमकिपा समाजवादी विचार प्रचार अभियानमा छ । नेमकिपाले अवसरवादी र संशोधनवादी कम्युनिस्टहरूको विचारको आलोचना गरिरहेको छ, खबरदारी गरिरहेको छ । नेमकिपाले खोटा विचारको खण्डन गरिरहेको छ । गलत सिद्धान्त र विचारको आलोचनात्मक सङ्घर्ष गर्दै देशमा सच्चा कम्युनिस्ट पार्टीको विस्तार गर्न र कम्युनिस्ट आन्दोलन अघि बढाउने काम गरिरहेको छ ।
आम जनता समाजवादी सिद्धान्त र विचारबाट सुसूचित नभइकन समाजवादी सङ्घर्ष सफल हुँदैन । विगतमा नेकपा माओवादीको ‘जनयुद्ध’ असफल हुनुको कारण जनता सिद्धान्त र विचारबाट सुसूचित नहुनु हो, सङ्गठित नहुनु हो । जनता सिद्धान्त र विचारबाट सुसूचित नभइकन या आन्तरिक परिस्थिति तयार नभइकन ‘जनयुद्ध’ थालेकैले त्यो असफल भएको हो । बाह्य परिस्थिति अर्को पाटो हो । फलतः सत्ता उल्टाउनको निम्ति सशस्त्र ‘युद्ध’ मा होमेको नेकपा माओवादीले क्रान्तिकारी बाटो नै छोड्यो । तिनै दलका नेताहरू निर्वाचनमार्फत सरकारमा पुगे, सरकारको नेतृत्व गरे र समाजवादी सिद्धान्त र विचार छोडेर समाजवादी आन्दोलन या सङ्घर्ष त्यागे । ती दलका नेताहरूको ध्यान अहिले पनि समाजवादी आन्दोलन र कम्युनिस्ट आन्दोलन गर्नेतर्फ गएको छैन । कम्युनिस्ट बाटो छोडेको, धोका दिएको भनी फरक धारमा लागेका एमालेका नेताहरूले पनि भाषणबाहेक कम्युनिस्टको सिद्धान्त र विचार प्रचार गरेका छैनन्, जनतालाई सिद्धान्तनिष्ठ बनाउन लागेका छैनन् । तिनीहरूको ध्यान ओलीको सरकार ढालेर पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेकाको नेतृत्वमा सरकार गठन गर्नेतर्फ लागेको छ ।
नेपालमा बहुमत जनता कम्युनिस्टको सरकार चाहन्छन्, कम्युनिस्ट शासन चाहन्छन् । बहुमत जनता कम्युनिस्टको पक्षमै छन् । तर, कम्युनिस्ट पार्टी भनिने ठुला दलहरू नै कम्युनिस्टरुको सिद्धान्त र विचार मान्दैनन् । नेपालमा कम्युनिस्ट पार्टी भनी खोलेका सबै दलहरू साँच्चै माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुसार लागेका भए, जनतामाझ पुगेर सैद्धान्तिक र वैचारिकरूपले सचेत र सङ्गठित गर्दै लगेका भए वर्गसङ्घर्ष गर्न सजिलो हुन्थ्यो र कम्युनिस्ट शासन ल्याउन धेरै टेवा पुग्थ्यो । माक्र्सवादी र लेनिनवादी सिद्धान्तअनुसार वर्गसङ्घर्ष गर्न सबभन्दा पहिले देशको परिस्थिति तयार हुनुपर्छ । माक्र्सवादी–लेनिनवादी दलहरूले कम्युनिस्टको सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्छ ।
देशमा साँच्चै कम्युनिस्ट पार्टी बलियो बनाउने हो र कम्युनिस्ट आन्दोलन अघि बढाउने हो भने कम्युनिस्ट भनिने दलहरूले सरकार छोड्नुपर्छ, सत्ताको राजनीति त्याग्नुपर्छ । संसदीय निर्वाचनबाटै आमूल परिवर्तन हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ । कम्युनिस्ट भनिने सबै दलहरू सरकार बाहिर बसेर पुँजीवाद र समाजवादको भेदबारे जनतालाई बताउनुपर्छ, कम्युनिस्टको उद्देश्य, सिद्धान्त र विचार जनतामाझ बताउनुपर्छ । अनि देशमा आन्तरिक परिस्थिति तयार हुन्छ ।
गौरव प्रधान
Leave a Reply