भर्खरै :

दोस्रो विश्वयुद्धको ‘दोस्रो मोर्चा’–२

तेहरान सम्मेलन
स्तालिनग्रादको लडाइँपछि एकाएक विश्वभरिका जनतामा सोभियत सङ्घप्रतिको सम्मान बढ्यो । स्तालिनग्राद फासीवादविरोधी प्रतिकारको प्रतीक बन्यो । स्तालिनग्रादको लडाइँ सुरु भएको झन्डै एक वर्षपछि रुसको क्रुस्कमा अर्को महत्वपूर्ण लडाइँ भयो । क्रुस्कको ५० दिने लडाइँमा लालसेना विजयी भयो । ४० लाख सेनाले भाग लिएको यो लडाइँ सन् १९४३ को अगस्तमा टुङ्गियो । सोभियत सङ्घमा जर्मन सेना अब पूरै हतास भइसकेको थियो । तर, उसको शक्ति घटिसकेको थिएन । रुसी रगत बगिरहेकै थियो । यसले एकातिर सोभियत सङ्घप्रति विश्वका जनताको मोह बढ्दै थियो भने यो मोह देखेर बेलायत र अमेरिका तर्सिँदै थिए । त्यसैले उनीहरू युद्धमा आफ्नो उपस्थिति देखाउन लालायित हुँदै गए, अग्रसर भए ।
युरोप र उसका उपनिवेश मुलुकहरूको बाँडफाँटमा आफ्नो हात माथि पार्न र सोभियत सङ्घको जगजगीलाई निस्तेज पार्न वा विजयको जस लिन हानथापमा बेलायत र अमेरिका उछिनपाछिन गर्न थाले । सोभियत सङ्घसँग हिमचिम बढाउने गरी बेलायती र अमेरिकी वार्ताहरू बाक्लिन थाले । यसकै परिणामस्वरूप १९४३ को नोभेम्बरमा मार्सल स्तालिन, प्रम चर्चिल र राष्ट्रपति रुजवेल्ट इरानको राजधानी तेहरानमा त्रिपक्षीय बैठक बस्ने निश्चित भयो ।
दस्तावेजहरूको अध्ययनबाट वार्तामा दोस्रो मोर्चा खोल्नुपर्ने सोभियत सङ्घको प्रस्ताव हावी भएको छर्लङ्ग हुन्छ ।
२८ नोभेम्बर १९४३, दिउँसो ४ बजे सम्मेलन सुरु भयो । सबैभन्दा कान्छो सरकार प्रमुखको नाताले रुजवेल्टले सम्मेलन सुरु गरे । उनले तीन देशबीच खुलस्त कुरा हुने आशा लिएको बताए । सामान्य शिष्टाचारपछि स्तालिनले काम थाल्न भन्नुभयो । रुजवेल्टले यसअघि क्यानेडाको क्युबेकमा बसेको बेलायत र अमेरिकाको बैठकले भूमध्यसागरमा लडाइँ चलाउन छलफल गरेको र यस विषयमा स्तालिनको राय चाहेको बताउँदै चर्चिललाई बोल्न भने । चर्चिलले स्तालिनको कुरा सुनेपछि मात्र आफ्नो धारणा राख्ने बताए । स्तालिनले कुरा थाल्नुहुँदै लामो भएमा आफूलाई छोट्याउन भन्न भन्नुभयो । चर्चिलले “हामी तपाईँले भन्न चाहेका हरेक कुरा सुन्न तयार छौँ” भने ।
स्तालिनको विचार सारमा यस्तो थियो – अहिले जर्मनी र उसका सहयोगी देशहरूका २६० डिभिजन सेना रुसविरुद्ध लड्दै छन् । त्यसविरुद्ध ३००–३३० डिभिजन लालसेना लडिरहेका छन् । हामीले सबैथोक पहिले नै तयारी गरेका थियौँ । जर्मनहरू हामीले सोचेभन्दा कमजोर देखिए । पछाडि फर्किँदै गर्दा उनीहरूले रेलमार्गलगायत सबथोक ध्वस्त पारिरहेको हुनाले हाम्रो आक्रमणको गति सुस्त छ । युरोपको कुरा गर्दा भूमध्यसागरको लडाइँ महत्वपूर्ण छैन । (माथि पनि चर्चा भयो, यसबेला बेलायती र अमेरिकी सेना भूमध्यसागरमा ‘निर्णायक युद्ध’ को चाँजो मिलाउँदै थिए । सारमा त्यो जर्मनी र इटालीले कब्जा गरेको क्षेत्र हत्याउने लडाइँ मात्र थियो ।) किनभने, एल्प्स पर्वतमालाले जर्मनीमाथि आक्रमण गर्ने बाटो छेक्छ । फ्रान्सको उत्तरी वा उत्तरपश्चिम दिशाबाट आक्रमण गर्नुपर्छ भन्ने हाम्रो विचार छ । टर्कीले साथ दिएमा त्यहाँबाट आक्रमण गर्न पनि सजिलो पर्छ । तर, फ्रान्स जर्मनीको सबैभन्दा कमजोर बिन्दु हो । यो नै सबैभन्दा उपयुक्त समाधान हो । (यहाँ स्तालिनले फ्रान्सबाट ‘दोस्रो मोर्चा’ खोल्नुपर्ने कुरा औँल्याउनुभएको हो ।)
स्तालिनपछि चर्चिलले बोले । उनको विचार सारमा यस्तो थियो – जर्मनीमाथि उत्तरी वा उत्तरपश्चिम दिशाबाट आक्रमण गर्ने कुरामा अमेरिकासँगै हामी सहमत भएका थियौँ । १९४४ मा हामी जर्मनीमाथि धावा बोल्दै छौँ । यसमा १६ बेलायती र १९ अमेरिकी डिभिजन संलग्न हुनेछन् । यो ‘अपरेसन ओभरलर्ड’ को लागि मे, जून र जुलाईमा १० लाख सेना जम्मा हुनेछन् । ४ करोड ६० लाख जनसङ्ख्या भएको देशले कति नै योगदान गर्न सक्छ र । बाँकी सेना अमेरिकाबाट आउनेछ । ६ महिनाभित्र मिति तय हुनेछ । अलिकति ढिलो हुनसक्ला तर रुसलाई सघाउन राष्ट्रपति रुजवेल्ट र मैले भूमध्यसागरको सेनालाई कसरी परिचालन गर्ने होला भनी छलफल गरेका थियौँ । पहिले हामी रोम कब्जा गर्नेछौँ, शत्रुका १०–१२ डिभिजन ध्वस्त पार्नेछौँ, अनि बल्ल दक्षिण फ्रान्स ओर्लिने र बेलायत अनि फ्रान्सको बीचको नहर पार गर्ने काम हुनेछ । रुसलाई दिँदै आएको सैन्य सामग्रीको सहयोग जारी रहनेछ ।
स्तालिनको कटाक्ष थियो – यो सहयोग क्षतविक्षत अवस्थामा नआओस् ¤ पश्चिमा सैन्य सहयोगबारे तल अलग्गै चर्चा गरिनेछ ।
रुजवेल्ट र चर्चिलले विषयलाई पुनः भूमध्यसागरतिर मोड्दै गर्दा स्तालिनले वार्तालाई प्रश्न–उत्तरतिर लग्नुभयो । शिष्टाचार हटाएर कुराकानीको सार यस्तो थियो –
स्तालिन : एउटा प्रश्न छ – उत्तरी फ्रान्स कब्जा गर्न हामीसित ३५ डिभिजन सेना छन् ?
चर्चिल : हो ।
स्तालिन : फ्रान्समा आक्रमण गर्नुअघि रोम कब्जा गरेर निस्क्रिय हुने सोच छ ?
चर्चिल : हो । अहिले नै इटलीबाट ७ डिभिजन सेना झिक्दै छौँ ।
स्तालिन : अरू तीनवटा अपरेसनको योजना छ ?
चर्चिल : यसले रुसलाई सघाउ पुग्न सक्छ । अपरेसन ओभरलर्डको लागि ३५ डिभिजन सेना हुनेछ । त्यसमा अमेरिकाबाट थप डिभिजन आएर ५०–६० डिभिजन पुग्नेछ । अबको ६ महिनामा हाम्रो वायु सेनाको शक्ति दोब्बर–तेब्बर हुनेछ ।
स्तालिन : अर्को प्रश्न – रोम बाहेकको एड्रियटिक सागर र दक्षिण फ्रान्समा पनि अपरेसन चलाउने योजना छ ?
चर्चिल : अपरेसन ओभरलर्ड सुरु भएपछि दक्षिण फ्रान्समा आक्रमण गर्ने योजना छ । तर, यसबारे विस्तृत योजना बनिसकेको छैन ।
स्तालिन : युद्धमा टर्की प्रवेश गरेमा के हुन्छ ?
चर्चिल : अन्य अपरेसनलाई हानी नपुग्ने गरी टर्की वरपरका टापुहरू कब्जा गरिनेछ र कालो सागरको बाटो खुल्नेछ ।
स्तालिन : मेरो विचारमा १९४४ मा गरिने सम्पूर्ण अपरेसनको आधार अपरेसन ओभरलर्डलाई बनाउनुपर्छ । दक्षिण फ्रान्समाथिको आक्रमण सहायक अपरेसन हुनसक्छ । रोमको अपरेसन शत्रुको ध्यान मोड्ने अपरेसन हुनेछ । उत्तर र दक्षिणबाट आक्रमण गर्दा फ्रान्समा सेनाको तादात्म्य मिल्न पुग्छ । फ्रान्स जर्मनीको कमजोर बिन्दु हो । टर्की लडाइँमा नपस्ला ¤
चर्चिल : प्रयास गर्नु राम्रै होला !
स्तालिन : राम्रै हो ।
चर्चिल : युरोपमा ठूलो अपरेसनको तयारीको बेला अन्त शत्रुमाथिको दबाब कम पो हुने हो कि ? संसद्मा ममाथि दबाब पर्ने हो कि ?
स्तालिन : ओभर ठूलो अपरेसन हो । दक्षिणबाट सहयोग भएमा यसले राम्रो परिणाम ल्याउनेछ । म हुन्थेँ भने यसमा यति हदसम्म जाने थिएँ । इटलीमा रक्षात्मक हुने थिएँ, रोम कब्जा गर्ने कुरा त्याग्ने थिएँ र दक्षिण फ्रान्समा अपरेसन सुरु गर्ने थिएँ । यसले उत्तरी फ्रान्सबाट जर्मन सेना तल तानिने थियो । त्यसको दुई वा तीन महिनापछि मैले उत्तरी फ्रान्सबाट अपरेसन थाल्ने थिएँ । यसले अपरेसन ओभरलर्डको विजय सुनिश्चित हुने थियो । दुवै सेना भेट भएपछि बलियो शक्ति स्थापना हुने थियो ।
चर्चिल : यत्ति भन्छु, रोम कब्जा गरिएन भने हामी कमजोर हुन्छौँ । यस विषयमा मैले सैन्यविद्हरूको सल्लाह लिनुपर्छ । लडाइँ सुरु भइसकेको छ । हामी पछि हट्नुको अर्थ हाम्रो हार हो । फेरि संसद्मा जवाफ दिनु पनि पर्छ ।
रुजवेल्ट : अपरेसन ओभरलर्ड समयमा सुरु हुनेछ । भूमध्यसागरमा अपरेसनहरू सञ्चालन भएमा यसले ओभरलर्ड ढिलो हुनेछ । म ओभरलर्डमा ढिलो गर्न चाहँदिनँ । (यहाँ रुजवेल्टले स्तालिनको प्रस्ताव समर्थन गर्छन् ।)
स्तालिन : हाम्रो अनुभवअनुसार दुईतिरबाट हिर्काउँदा अपरेसन सफल हुने देखिँदै आएको छ । फ्रान्समा पनि त्यसै गर्नुपर्ला !
चर्चिल : हुन त हो, तर भूमध्यसागरमा हाम्रा सेना हात बाँधेर बसेको राम्रो होइन । युगोस्लाभिया र टर्कीमा ध्यान मोड्ने अभियान थाल्न सकिन्छ । त्यसैले मे १ तारिखमा अपरेसन ओभरलर्ड सुरु गर्ने कुरामा म वचन दिन सक्दिनँ । त्यो मितिको लागि म भूमध्यसागरका अपरेसनहरू बलि चढाउन सक्दिनँ । यस विषयमा हाम्रा सैन्य सल्लाहकारहरूले छलफल गर्नेछन् ।
स्तालिन : हुन्छ । तर, सैन्य छलफल होला भन्ने हामीलाई थाहा थिएन । त्यसैले हामी सैन्य स्टाफ नलिई आयौँ । तैपनि मार्सल भोरोसिलो र मैले केही चाँजो मिलाऔँला ।
चर्चिल : टर्कीको कुरा के गर्ने ?
स्तालिन : टर्की हामी सबैको मित्र हो । उसले हामी र जर्मनीबीच बसेर खेल्नुहुँदैन ।
चर्चिल : टर्कीको विषयमा मसित छ वा सात प्रश्न छन् । तिनलाई ध्यान दिनुपर्ला ।
स्तालिन : राम्रो ।
रुजवेल्ट : टर्कीलाई युद्धमा ल्याउने कुरामा म राजी छु । तर, म टर्कीको राष्ट्रपति हुन्थेँ भने अपरेसन ओभरलर्डलाई क्षति पुग्ने खालको मूल्य माग्ने थिएँ ।
स्तालिन : टर्कीलाई लडाइँमा तान्ने कोसिस हुनुपर्छ । उसका धेरै सैन्य डिभिजन हात बाँधेर बसेका छन् ।
चर्चिल : हामीबीच स्वाभाविक भिन्नताहरू छन् तर मैत्रीको भाव पनि हुनैपर्छ । समय र धैर्यको खाँचो छ ।
स्तालिन : हो ।
रुजवेल्ट : त्यसो भए भोलि बिहान सैन्यविद्हरूको छलफल हुने भयो र ४ बजे वार्ता पुनः सुरु हुने भयो ।
‘दोस्रो मोर्चा’ खोल्ने विषयमा प्रम चर्चिलले देखाएको अरूचि २९ नोभेम्बर बिहान सैन्य प्रतिनिधिहरूको छलफलमा पनि प्रकट भयो । छलफलमा अमेरिकी जनरल मार्सल, बेलायती जनरल ब्रुक, रुसी मार्सल भोरोसिलोभ तथा अन्य केही अफिसरहरूले भाग लिए । सबैले आआफ्ना सरकार प्रमुखका कुरा दोहो¥याए । छलफलमा अमेरिकी र बेलायती अफिसरहरूले फ्रान्समा सैन्य अवतरणको समस्या नै सबैभन्दा चुनौतीपूर्ण देखाए । मार्सल भोरोसिलोभको एउटा प्रश्नले पूरै छलफलको मुकुन्डो उघ्रियो । उहाँको प्रश्न थियो – “अपरेसन ओभरलर्ड सबैभन्दा प्रमुख अपरेसन हो कि होइन ?”
“त्यो अपरेसन विफल होस् भन्ने चाहँदिनँ तर त्यो अपरेसन विफल हुने मेरो ठहर छ” – जनरल ब्रुकले बताए । भोरोसिलोभले उत्तर अफ्रिकामा बेलायत र अमेरिकाले सङ्गालेको अनुभवहरूको आधारमा त्यो विफल नहुने बरु इच्छा गरेमा राम्रो सङ्गठन, योजना र कार्यनीतिको भरमा त्यो सफल हुने बताउनुभयो । उहाँले मार्सल स्तालिनले ओभरलर्डलाई प्रमुख मान्नुभएको र भूमध्यसागरका अन्य कारबाहीहरूलाई तपसिलको मान्नुभएको बताउनुभयो । सैन्यविद्हरूको बैठक मार्सल भोरोसिलोभका प्रश्न र बेलायती–अमेरिकी अफिसरहरूको उत्तर र टिप्पणीहरूमै टुङ्गियो ।
सैन्य अफिसरहरूको चालामाला थाहा पाएर साँझको बैठकमा स्तालिनले सरकार प्रमुखको तहमा नै समस्या किनार लगाउनुपर्नेमा जोड दिनुभयो । सैन्य प्रतिनिधिहरूले आआफ्नो बुझाइ राखेपछि छलफल सुरु भयो । शिष्टाचार हटाएर कुराकानीको सार यस्तो थियो ः
स्तालिन : अपरेसन ओभरलर्डको कमान कसले समाल्ने हो ?
रुजवेल्ट : निधो भएको छैन ।
स्तालिन : यसरी अपरेसनबाट केही हात लाग्नेछैन । त्यसको तयारी र सन्चालनको नैतिक र सैन्य जिम्मेवारी कसले लिन्छ ? यति गरिएन भने अपरेसन गफमै सीमित हुनेछ ।
रुजवेल्ट : यसको तयारी बेलायती जनरल मोर्गनले गर्दै छन् ।
स्तालिन : तयारी एउटाले गर्ने, सन्चालन अर्कोले गर्ने कुरा मिल्दैन । एउटै व्यक्ति जिम्मेवार हुनुपर्छ ।
चर्चिल : मोर्गनलाई प्रारम्भिक तयारीको जिम्मा दिइएको हो ।
स्तालिन : कसले दियो ?
चर्चिल : बेलायत र अमेरिकाको संयुक्त समितिले । तयारीमा दुवै देशका सल्लाहकारहरूले मिलेर काम गरेका छन् । त्यसो त बेलायतले आफ्ना सेनाप्रमुखलाई भूमध्यसागरमा खटाएको छ । अपरेसनको जिम्मेवारी कसलाई सुम्पिने भन्ने कुरा यति ठूलो जमघटमा तय गर्ने कुरा होइन । तीन सरकार प्रमुखबीच गोप्यरूपमा तय गर्नुपर्छ ।
स्तालिन : हामी तयारीभित्र पस्न चाहँदैनौँ । तर, कमान्डर कसलाई बनाइन्छ, जान्न चाहन्छौँ । छिट्टै कमान्डर नियुक्त भएको र द्रुत गतिमा तयारी हुँदै गरेको हेर्न चाहन्छौँ ।
चर्चिल : तपाईँको कुरामा सहमत छु । १५ दिनभित्र कमान्डर तोकेर तपाईँलाई नाम बताऊँला !
त्यसपछि चर्चिलले भूमध्यसागरको आफ्नो सैनिक स्थिति, बाल्कनमा रहेका २१ डिभिजन जर्मन सैनिक, टर्कीको निष्पक्षता, हङ्गेरी र रुमानियाको बारेमा लामो कुरा राखे र यी सबैको अभिप्राय रुसलाई सघाउनु नै हो भनी दाबी गरे । उनले घुमाउरो पाराले बाल्कनमा बेलायतले आँखा नगाडेको भन्दै सोभियत सङ्घलाई ढाडस दिन खोजेको देखिन्छ । त्यसपछि स्तालिनले विषयलाई फेरि ‘दोस्रो मोर्चा’ मा फर्काउनुभयो ।
स्तालिन : सैन्य कुरा गर्ने हो भने हामी अपरेसन ओभरलर्डलाई नै प्रमुख र निर्णायक विषय मान्छौँ । हो हामीलाई सहयोग चाहिएको छ तर अपरेसनको योजना बुन्नेले नै हामीलाई सघाउन सक्छन् । सैन्य समितिले तीनवटा निर्देशिका बनाउनुपर्ला ! एक, ओभरलर्डको भाका नसरोस् भनी निश्चित गर्नुपर्छ र मे महिनाभन्दा उता जानुहुन्न । दुई, दक्षिण फ्रान्समाथि दुईतीन महिनाअघि नै हमला गरेर त्यसलाई सफल तुल्याउन सकिन्छ । तीन, छिटोभन्दा छिटो ओभरलर्डको कमान्डर टुङ्गो लगाउनुपर्छ । कसलाई बनाउने भन्ने कुरा बेलायत र अमेरिका मिलेर तय गर्दा हुन्छ । यत्ति निर्देशिकाभित्र रहेर काम छिट्टै सम्पन्न हुने हामी देख्छौँ ।
रुजवेल्ट : ओभरलर्डको मिति मुख्य कुरा हो । भूमध्यसागरका अन्य दुई अपरेसनले त्यसलाई असर गर्नुहुन्न ।
स्तालिन : जर्मनीले युगोस्लाभियामा ८, ग्रीसमा ५, बुल्गेरियामा ३ वा चार र इटालीमा ९ डिभिजन सेना राखेको छ ।
चर्चिल : हाम्रो सूचना अर्कै छ ।
स्तालिन : गलत छ । फ्रान्समा २५ डिभिजन जर्मन सेना छ ।
रुजवेल्ट : बाल्कनको योजना र अन्य अपरेसनले ओभरलर्डलाई असर गर्नुहुन्न ।
स्तालिन : हो ।
चर्चिल : बाल्कनमा ठूलो शक्ति प्रयोग नगरौँ भन्न खोजेको थिएँ ।
स्तालिन : मे १०, १५, २० मा ओभरलर्ड सुरु गर्न सकिन्छ ।
चर्चिल : म यसको जिम्मा लिन सक्दिनँ ।
स्तालिन : चर्चिलले हिजो भन्नुभएझैँ अगस्तमा सुरु गरेमा मौसमका कारण केही हात लाग्नेछैन । अप्रिल र मे नै ओभरलर्डका लागि उपयुक्त समय हुनेछ ।
चर्चिल : हाम्रो आसय फरक होइन होला । सक्दो चाँडो ओभरलर्ड सुरु गर्नुपर्छ । तर, भूमध्यसागरका धेरै सम्भावनाहरूलाई च्वाट्टै छोड्नुहुन्न भन्ने लाग्छ । त्यसले गर्दा ओभरलर्डलाई दुई वा तीन महिना रोक्नुपर्ने हुन्छ ।
स्तालिन : चर्चिलले भन्नुभएका अपरेसनहरू ध्यान मोड्ने खालका छन् । मैले यी अपरेसनलाई न्यूनाङ्कन गरेको छैन ।
चर्चिल : त्यसो भए भूमध्यसागरको बेलायती सेनाले ६ महिनासम्म हात बाँधेर बस्नुपर्ने भयो । अमेरिकी सहयोगमा हामी इटलीमा जर्मनहरूसँग लड्छौँ लड्छौँ । हामीले रुसी मित्रहरूलाई सघाउनैपर्छ ।
स्तालिन : चर्चिलजीको कुराबाट रुसले बेलायतलाई हात बाँध्न लगाएको बुझिन्छ ।
चर्चिलले पुनः लामो कुरा राखे । सार यस्तो थियो – इटलीमा जर्मनीविरुद्ध नलडेमा उसका धेरै सैनिक फ्रान्सतिर लाग्नेछन् र त्यसले ओभरलर्डलाई असर गर्नेछ । इटली, बाल्कन र टर्कीमा जर्मन सेनालाई व्यस्त राख्न सकिनेछ । टर्की युद्धमा आएमा एजियन सागरका समस्त टापु हाम्रो हुनेछ । सबथोक अवतरण क्षमतामा निर्भर छ । सैन्य निर्देशिकाको सम्बन्धमा अमेरिकासँग हाम्रो धेरै कुरा मिल्ने हुनाले दुई जना बीच छलफल गर्नुपर्ला ।
स्तालिन : तेहरानमा हामी बस्ने हो ?
चर्चिल : निर्देशिका नबन्दासम्म बस्नुपर्ला ।
स्तालिन : हैन, सम्मेलन कहिले टुङ्ग्याउने भनेको ।
रुजवेल्ट : मार्सल स्तालिन तेहरानमा रहनुहुँदासम्म म यहाँ बस्न तयार छु ।
चर्चिल : आवश्यक परे म पनि बसूँला । (खासमा रुजवेल्ट स्तालिनसँग अलग्गै छलफल गर्न चाहन्थे तर चर्चिल उनलाई एक्लै छोड्न तयार थिएनन् ।)
प्रस्तुति : गणेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *