भर्खरै :

विश्वले भन्यो – क्युवामाथिको नाकाबन्दी अन्त्य गर !

गएको बुधबार संयुक्त राष्ट्र सङ्घको महासभा बैठकमा क्यारिबियाली देश क्युवाले संरा अमेरिकी सरकारको विरोधमा अर्को कूटनीतिक जीत प्राप्त ग¥यो । महासभा बैठकमा अत्यधिक बहुमत (१८४) देशले क्युवामाथिको नाकाबन्दी अविलम्ब हटाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरे । उक्त आशयको प्रस्ताव १९९२ देखि हरेक वर्ष लगातार पारित हुँदै आएको छ, सन् २०२० मा बाहेक । सन् २०२० मा कोभिड–१९ को महामारीका कारण राष्ट्रसङ्घीय महासभा बैठक छोटो अवधिका लागि मात्र बस्यो भने आफै कोभिड –१९ को महामारीको सामना गरिरहेको हुँदा क्युवाली सरकारले प्रस्ताव ल्याउन सकेन । यो जीतले क्युवाली जनताले आफूमाथि भइरहेको अन्याय अन्त हुने लामो समयदेखि गरिरहेको पर्खाइलाई पुनः स्मरण गराएको छ र त्यहाँको चिन्ताजनक स्थितिबारे विश्वलाई झक्झकाएको छ । क्युवामाथिको संरा अमेरिकी नाकाबन्दी शक्ति र अधिकारको दुरुपयोग हो, अनुपातै नमिलेको हिंसाको प्रयोग हो र पूर्णतया वा आंशिकरूपमा क्युवाको राष्ट्रिय वा जातीय सफाया गर्ने विशेष नियतले लगाइएको हो । यो कार्य संयुक्त राष्ट्र सङ्घको आमनरसंहारसम्बन्धी १९४८ को महासन्धि अनुसारको अपराध हो ।
अन्तर्राष्ट्रिय समुदायले निर्विवादरूपमा केही व्यापक हत्याका घटनालाई मात्र आमनरसंहार मानेको छ । तरैपनि यहाँ ६० वर्ष अगाडिदेखि लादिएको यस किसिमको नृशंसता वा त्रास फैलाउने कसुरको लागि अर्को कुनै नाम छैन । अमेरिकी नाकाबन्दीका कारण क्युवाली जनताका तीनचार पुस्ताले आफ्नो दैनिक जीवन अभाव र अनिश्चिततामा बिताउनुप¥यो । त्यस शक्तिशाली छिमेकी देशले क्युवाका एक करोड बढी जनताविरुद्ध अमानवीय राक्षसीपन लाद्दै आयो । क्युवाली जनताको अपराध मात्र यति थियो र छ कि उनीहरूले कसैको मातहत नभई स्वतन्त्र र स्वाधीन भई बाँच्न चाहे । महामारीको बीचमा पनि औषधी र खाद्य वस्तु ल्याउन नदिनु, खोप र सिरिन्ज बोकेका पानीजहाजलाई रोक्नु, बहुमत जनतालाई इन्टरनेटको पहुँच पु¥याउने क्युवाली सरकारको काममा अवरोध गर्नु र समान देशहरूबीच वित्तीय कारोबार व्यापार गर्न रोक लगाउनु आमनरसंहार नभए के हो त ? यदि यी कदम आमनरसंहार होइन भने यस नामविहीन अपराधको लागि हामीले राफेल लेमकिनले जस्तै एउटा नयाँ शब्द आविष्कार गर्नुपर्ने हुन्छ ।
यस ६ दशक लामो नाकाबन्दीको अवधिमा अत्यावश्यक औषधी नपाएर वा समयमा अस्पताल पुग्न नपाएर कतिजना क्युवालीले ज्यान गुमाए यो हिसाब गर्न कठिन छ । क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले एउटा पनि विशेषण प्रयोग नगरिकन नाकाबन्दीले सन् २०२० मा मात्र के कति क्षति भयो भन्नेबारे एउटा प्रतिवेदन पेश गर्नुभयो । उक्त प्रतिवेदन औषधी र चिकित्सा सामग्री समयमा क्युवा आइनपुग्दा शुद्धतया के के भयो, त्यसको निम्नतम् क्षति के कति भयो भन्ने कुराको सूचि मात्र हो । त्यसमा संरा अमेरिका जिम्मेवार हो किनभने अमेरिकी प्रतिबन्ध र नाकाबन्दीकै कारण महामारीको समयमा पनि अमेरिकी, युरोपेलीमात्र नभई ल्याटिन अमेरिकी कम्पनीहरूले समेत बिरामीको जीवनरक्षाका लागि आवश्यक साधन आईसीयू यूनिट बेड, अक्सिजन उत्पादक मेसिन, भेन्टिलेटर र त्यसको प्रविधि आदि त्यस टापु देशलाई प्रदान गर्न अस्वीकार गरिदिए । त्यतिमात्र होइन संरा अमेरिकाले स्वास्थ्य प्रयोगशालामा प्रयोग हुने कच्चा पदार्थ, रियाक्टिभ एजेन्टहरू, डाइग्नोस्टिक किटहरू, औषधीहरू, सिरिन्जलगायत विभिन्न चिकित्सा साधनहरू र जन स्वास्थ्य प्रणालीमा अत्यावश्यक हुने कैयौँ साधनको पार्टपुर्जामा समेत प्रतिबन्ध लगाइरहेको छ ।
एक मित्रले मलाई जानकारी दिए कि जर्ज फ्लोइडको हत्या हुँदाको तस्बिरले क्युवामा गहिरो प्रभाव प¥यो । भुर्इँमा लडाइएका फ्लोइडले आफूले राम्ररी स्वास फेर्न नसकिरहेको भनिरहँदा पनि प्रहरी अधिकारीले उनको घाँटीमा थिचिराखेको घुँडा निकाल्दैन बरु अझै कसेर थिच्छ । उक्त घटनाको भिडियो विश्वभर भाइरल भएको थियो र त्यसले संरा अमेरिकामा १९६० को दशकको नागरिक अधिकार आन्दोलनपछिकै सबैभन्दा ठूलो जातिवादविरोधी प्रदर्शनहरू उठाउन उत्प्रेरकको भूमिका निभाएको थियो ।
शक्तिको प्रणालीगत दुरुपयोगका भुक्तभोगी संरा अमेरिकाका प्रदर्शनकारी जनताको भावनाको मर्म हामी राम्ररी बुझ्छौँ । जर्ज फ्लोइडको ८ मिनेट ४६ सेकेन्ड लामो पीडा तर भिजुअल खिचिएको घटना थियो र कसैले पनि उक्त घटना नभएको दाबी गर्न सक्दैन । मुख्य प्रश्न यो हो कि ती हत्यारा प्रहरीमाथि मुद्दा चलाइसकेपछि अरू कतिजना मानिस चुपचाप मारिए ? त्यस्ता घटना भएका छन् तर चर्चामा आउन सकेनन् किनभने ती सबै ठाउँमा क्यामेरा उपलब्ध थिएन । संरा अमेरिकाको प्रणालीले नै सबैलाई समानरूपमा स्वास फेर्न दिँदैन । हामीलाई थाहा छ त्यहाँ सधैँ नै कसै न कसैको घाँटीमा शासकहरूको घुँडा रहेको हुन्छ र तिनीहरूलाई स्वास लिन रोकिरहेको हुन्छ । अमेरिकी नाकाबन्दीले पनि क्युवाली जनतालाई त्यसरी नै स्वास फेर्न रोकिरहेको छ । मैले यसो भन्दा तपाईँलाई आश्चर्य लाग्नसक्छ तर तिनीहरूलाई सम्झनुहोस् जसका केटाकेटी, परिवारका सदस्य र आफन्त बिरामी भएर क्युवाको कुनै अस्पतालको आकस्मिक कक्षमा छन् र चाहिएको औषधी र चिकित्सा साधन त्यहाँ मिलिरहेको छैन ।
ती आमाहरूकाबारे कल्पना गर्नुहोस् जसका केटाकेटी रोगले छटपटाइरहेका छन् र अमेरिकी राष्ट्रपति ट्रम्पले थोपेका थप २४२ प्रतिबन्धका कारण क्युवामा आवश्यक औषधी पर्याप्त उपलब्ध छैन । अत्यावश्यक औषधी राज्यका निकायबाट पाउन घण्टौँ पर्खिनुपर्छ । कोभिड–१९ को महामारीले त त्यस्तो कठिनाइ अझै बढाइदिएको छ ।
संयुक्त राष्ट्र सङ्घमा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रतिनिधिको आपराधिक मनसायको तह त अझै उक्लेको छ, उनले भने–“नाकाबन्दी क्युवाली सरकारको जिम्मेवारी हो ।” क्युवाली सरकारले नाकाबन्दीलाई क्युवाको सत्तामा रहिरहने बहाना बनाएको आरोप उनको थियो । यो त यस्तै भयो जस्तो जर्ज फ्लोइडका हत्याराले भनेको थियो – उसको घुँडा कसैको घाँटीमाथि पर्नु नै पीडितको गल्ती हो ।
यस्तो क्षणमा संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालय न्यूयोर्कमा अमेरिकी नाकाबन्दीविरुद्धको प्रस्ताव पारित हुनेबित्तिकै क्युवाभरि खुसीको वातावरण बन्नु अस्वाभाविक पनि भएन । यति मात्र होइन क्युवाबाट अरू पनि आशावादी समाचार आएका छन् : क्युवाली वैज्ञानिकहरूले पहिलो दुईटा ल्याटिन अमेरिकी कोरोनाविरुद्धको खोप अन्तिम रूपमा सफल पार्न सकेका छन् । तीमध्ये एक अब्डालाको प्रभावकारिता दर ९२.२८ प्रतिशत रहेको छ ।
कोरोना भाइरस महामारीमा अमेरिकी नाकाबन्दीले क्युवामा भएको क्षति
कोरोना भाइरसको महामारीबीच ६ दशक लामो अमेरिकी नाकाबन्दीको प्रभावका कारण गत वर्ष क्युवाली अर्थतन्त्रमा ८ अर्ब अमेरिकी डलर (६.५ अर्ब क्युवाली पेसो) नोक्सान भएको क्युवाले बताएको छ ।
सन् २०१९ मा ५.६ अर्ब अमेरिकी डलर मात्र नोक्सान भएकोमा २०२० मा कोरोना महामारी र थप अमेरिकी प्रतिबन्धहरूका कारण नोक्सानी बढेको विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले बताउनुभयो ।
“क्युवाली परिवारहरूको मानवीय क्षति, दुःखकष्ट र अभावको पीडा त हिसाबै गर्न नसकिने छ ।”–उहाँले भन्नुभयो ।
संरा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले १९६२ मा नाकाबन्दी थालनी गरेयता त्यसबाट क्युवाको अर्थतन्त्रका ७५ अर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुगिसकेको छ । केनेडीले क्युवाली क्रान्तिलाई कोपिलामै निमोठ्ने र फिडेल क्यास्ट्रो नेतृत्वको सरकार अपदस्थ गर्ने नियतले अमानवीय नाकाबन्दी लादेका थिए ।
क्युवाली क्रान्तिले १९५९ मा अमेरिकी कठपुतली फुल्जेन्सियो बाटिस्टाको तानाशाही उखेलेर सत्ता प्राप्त गरेको थियो । क्युवामाथिको नाकाबन्दी क्रान्तिकारी सरकारको अमेरिकी कम्पनीहरूका सम्पत्ति राष्ट्रियकरण गरेकोमा थोपेको बदलाको कारबाही थियो ।
क्युवामाथिको नाकाबन्दीको विश्वभर नै व्यापक निन्दा र विरोध भइसक्दा पनि अमेरिकी सरकार आफ्नो हठबाट पछाडि हटेको छैन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त २०१९ मा निष्क्रृय भइसकेको हेल्मस बर्टोन ऐनको अनुच्छेद ३ पुनः सक्रिय पारेर लयमा फर्किन खोजेको क्युवाली अर्थतन्त्रलाई निमोठ्न खोजेका थिए । सन् १९९६ मा पारित गरेको उक्त ऐनलाई ट्रम्पका पूर्ववर्ती प्रशासनहरूले स्थगित गरिराखेका थिए ।
सन् २०२० मा कोरोना भाइरस महामारीबीच ट्रम्प प्रशासनको कडाइका कारण संरा अमेरिकाबाट क्युवासहित अर्जेन्टिना, ब्राजिल, चिली, इक्वेडर, द डोमिनिकन गणतन्त्र र पेरुमा लान ठिक पारिएका २० लाख वटा चिकित्सक मास्क, ४ लाख शिघ्र परीक्षण किट र १०४ वटा भेन्टिलेटर अमेरिकी विमानस्थलहरूमै रोकिएका थिए । ह्वाइट हाउस छोड्नु केही दिन पहिले ट्रम्पले कुनै प्रमाणविना नै क्युवालाई आतङ्कवादलाई प्रायोजन गर्ने राज्यहरूको सूचिमा राखेका थिए ।
(The world says no to the blockade of Cuba)-People’s Dispatch/MRonline (June 23,2021)
अनुवाद :प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *