भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीलाई धन्यवाद !

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० औँ वर्ष तथा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको ७० वर्ष पुगेको अवसरमा जेठ १२ गते चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका ६ वटा राजनीतिक दल (नेमकिपा, नेपाली काङ्ग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा र जसपा) सँग अनलाइन बैठक ग¥यो । उक्त बैठकमा चीनमा जनवादी क्रान्तिपश्चात् अहिलेसम्म विकास निर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीले निर्वाह गरेको भूमिका र कोभिड – १९ विरुद्धको लडाइँमा सहयोग तथा सहकार्य गर्ने विषयमा छलफल भयो ।
अमेरिकी साम्राज्यवादले हिन्द–प्रशान्त रणनीति (Indo Pacific Strategy) अन्तर्गत चीनलाई घेराबन्दी गर्न दक्षिण एसियाका विभिन्न देशमा ‘एमसीसी’ तथा अन्य मानवीय सहयोगको नाममा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको अवस्थामा चीनले विभिन्न देशका सरकार प्रमुख र राजनीतिक दलहरूसँग कोभिड–१९ रोकथामको लागि सहकार्यको हात बढाउँदै छ ।
चीनले ‘एक क्षेत्र एक मार्ग’ (One Belt One Road) को विश्व साझा लक्ष्य नीति अघि सारी विश्वका विभिन्न देशसँग समानताको आधारमा भ्रातृत्वपूर्ण सम्बन्ध तथा आत्मियता बढाउँदै छ । यसले आफ्नो पुरानो ‘रेशम मार्ग’ अनुसार संसारलाई पुनः जोड्ने सहकार्य अघि बढाउँदै छ । चीनको ‘बीआरआई’ सहकार्यसँग विश्वका अधिकांश देशले आफ्नो सुनिश्चित भविश्य देखिरहेका छन् । यसरी चीन प्रति विश्व समुदायको भरोसा विश्वास बढ्दै छ ।
सोभियत रुसमा पुँजीवादको पुनःस्थापना भएपछि अमेरिकी साम्राज्यवादले विश्वमा एकछत्र हैकम चलाउन खोज्यो । चीनले गरेको आर्थिक विकास, विज्ञान र प्रविधिको क्षेत्रमा गरेको अभूतपूर्व आविष्कार, विश्वका विभिन्न देशसँगको चीनको सम्बन्धबाट अमेरिकी साम्राज्यवाद तिरमिराएको छ । यसकारण, ऊ चीनलाई घेरा हालेर कमजोर पार्ने अनेक तानाबाना बुन्दै छ ।
चीनका एक विद्वानले भनेका थिए – “संयुक्त राज्य अमेरिका बलियासँग डराउने र निर्वलियालाई आक्रमण गर्ने देश हो ।” चीनलाई संयुक्त राज्य अमेरिकाको चरित्रबारे ज्ञान छ । विश्वका कमजोर देशहरूले पनि चीनको उपस्थितिमा आफू सुरक्षित हुने अपेक्षा गरेका छन् ।
नेपालका विभिन्न राजनीतिक दलहरूसँगको यो बैठकले चीनको विश्व समुदायको साझा भविश्यतर्फ सङ्कल्प रहेको सङ्केत गर्छ । उक्त बैठकलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक दलहरूलाई कोभिड–१९ सँग लड्न सहयोग र सहकार्य ग¥यो । जेठ १७ गते ६ ओटा राजनीतिक दलहरूलाई ‘विकास र शान्तिको निम्ति चीनको संस्था’ China Fondation for Peace and Development) बाट स्वास्थ्य सामग्री पठायो ।
नेपाल मजदुर किसान पार्टीलाई चिनियाँ संस्थाबाट १ लाख थान एन ९५ मास्क र ८ वटा हाइड्रोजन अक्सिजन मेसिन प्राप्त भयो । नेपाल मजदुर किसान पार्टीले उक्त स्वास्थ्य सामग्री देशभरिका सरकारी एवम् सामुदायिक अस्पताल तथा स्वास्थ्य चौकीहरूमा पठाउने निर्णय ग¥यो । सोही निर्णयअनुसार पार्टीका कार्यकर्ताहरू पूर्व मोरङ्गदेखि पश्चिम कैलालीसम्म स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागिपरे ।
नेपालमा मनसुन भित्रिसकेको थियो । वर्षात्को समयमा कठिन भूगोल भएको स्थानमा स्वास्थ्य सामग्री पु¥याउनु झन् कठिन थियो । तर, पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरू स्वास्थ्य सामग्री जिल्ला – जिल्लामा पु¥याउन अघि सरे ।
एन ९५ मास्क विशेषगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीका लागि उपयुक्त हुन्छ । यसकारण, पार्टीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूलाई यो मास्क उपलब्ध गराउने निर्णय गरेको थियो । कोभिड–१९ विरुद्धको लडाइँमा स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न नेपाल मजदुर किसान पार्टीले निर्वाह गरेको भूमिका उल्लेखनीय छ ।
पार्टीको निर्णयपछि जेठ २९ गतेबाट पश्चिमका जिल्लाहरूमा स्वास्थ्य सामग्री पु¥याउन पार्टी सचिव प्रेम सुवाल आफै लाग्नुभयो । पार्टी सचिव सुवालको नेतृत्वमा हामी पाँच जना पश्चिमतर्फ लाग्यौँ । चितवनदेखि बुटवल, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, अछाम हुँदै सुदूरपश्चिमको धनगढीसम्मका सरकारी अस्पतालहरूमा हामी स्वास्थ्य सामग्री हस्तान्तरणको निम्ति पुग्यौँ ।
सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले नेपाल सरकारले स्वास्थ्यसम्बन्धी पूर्वाधार तयार नगरेको हुँदा कोभिड–१९ सामना गर्न नसकेको बताउनुभयो । उहाँले कोभिड–१९ को सुरुको अवस्थामा एन ९५ मास्क र पीपीए नपाएर बिरामीको उपचार गर्न कठिन भएको बताउनुभयो । सुरुका दिनमा एन ९५ मास्क बजारबाट प्रति गोटा १२०० रूपैयाँ तिरेर खरिद गरेको अनुभव पनि सुनाउनुभयो । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीमा स्वास्थ्य माफियाले अत्याधिक नाफा कुम्ल्याएको अनुगमनसमेत भएन । अक्सिजन सिलिन्डर र रेम्डेसिभिरमा पनि व्यापक कालोबजारी भएको समाचार प्रकाशित भएको थियो । डा. पाण्डेले देशमा स्वास्थ्य क्षेत्रका विकृति रोक्न शिक्षा, स्वास्थ्य सरकारले आफ्नो हातमा लिनुपर्ने बताउनुभयो ।
बर्दिया अस्पतालका चिकित्सक डा. सुवास पाण्डेले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई सरकारबाट प्रोत्साहन नभएको, करारमा नियुक्त भएका स्वास्थ्यकर्मीलाई स्थायीको बन्दोवस्त नभएको बताउनुभयो ।
चिकित्सकहरूको यस्ता अभिव्यक्तिबाट सरकारी तथा सामुदायिक अस्पतालहरूमा सरकारको ध्यान नगएको ठहर गर्न सकिन्छ । सरकार जनताको स्वास्थ्य उपचार एक एक पाइला गरी निजी क्षेत्रलाई सुम्पँदै छ । सरकारी अस्पतालमा राम्रो उपचार नपाउँदा निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्न नेपाली जनता बाध्य छन् । जिल्ला–जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरू जर्जर अवस्थामा छन् । कम्युनिस्ट दाबी गरेका सरकारमा निजी अस्पताल तथा क्लिनिकहरू फस्टाएका छन् भने नेपालको स्वास्थ्य प्रणाली पनि जीर्ण हुँदै छ । गरिब जनता स्वास्थ्य उपचारबाट विमुख हुँदै छन् ।
सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरू थोरै समय सरकारी अस्पताललाई दिएर निजी अस्पतालमा धाउने गरेको गुनासो पनि सुनियो । सरकारी अस्पतालका प्रमुख तथा व्यवस्थापकहरूले आफ्नै लगानीमा सरकारी अस्पताल नजिकै निजी अस्पताल तथा क्लिनिकहरू सञ्चालन गरिरहेको पनि सुनियो ।
दुर्गम जिल्लाका अस्पतालहरूमा चिकित्सकहरू जान मान्दैनन् । दुर्गम जिल्लाका गाउँमा गरिबी धेरै छ । त्यस्ता ठाउँमा स्वास्थ्य संस्था र चिकित्सकहरूको कमीले गरिब जनता पीडित छन् । दैलेख जिल्लाको अस्पतालमा काम गर्ने चिकित्सक र प्राविधिकहरूको कमीले २ वटा भेन्टिलेटर र ५ वटा आईसीयू कोठाभित्र थन्किएको छ । अस्पतालको अवस्था पनि दयनीय छ । हुनेखाने बिरामी महँगा निजी अस्पताल पुगेर उपचार गराइरहेका छन् भने गरिब जनता छट्पटाउँदै मर्न बाध्य छन् ।
अविरल वर्षाको कारण दैलेख–कालिकोट–जुम्ला सडक अधिकांश ठाउँमा पहिरो खस्ने र अवरोध हुने भइरहेको छ । १२/१३ टनसम्म सामान बोक्ने मालगाडीहरूको कारण राजमार्गको सडक खण्डको ठाउँ – ठाउँमा ठूल्ठूला खाल्डा परेका छन् । सडकको विभिन्न ठाउँमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । वर्षा सुरु भएपछि पहिरोले माटोसँगै ढुङगा खस्ने नेपालको पहाडी क्षेत्रको विशेषता हो । यसको स्थायी समाधानको निम्ति सरकारले उचित ध्यान दिन सकेको छैन । कर्णाली राजमार्ग सडक ‘मृत्युमार्ग’ बाट मुक्त भएको छैन ।
प्रतिकूल मौसममा पनि नेपाल मजदुर किसान पार्टीले दुर्गम जिल्लाका ती ठाउँहरूमा स्वास्थ्य सामग्री पु¥यायो । नेपाल मजदुर किसान पार्टीले इमानदारीपूर्वक देश र जनताको सेवा गरेको यो अर्को एउटा उदाहरण हो । चिनियाँ कम्युनिस्ट पार्टीद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्रीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मी जनतालाई राहत प्रदान गर्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *