भर्खरै :

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुसार चार किलोमिटरसम्मको दर रु. १४ उल्लेख छ । त्यसपछि भाडा बढेको छैन । गत वर्ष बन्दाबन्दीपछि कोरोना महामारीबाट बच्न सरकारले सीट क्षमताको आधामात्र यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिन पाउने निर्णय गरेको थियो ।
यस वर्ष दुईमहिने निषेधाज्ञापछि असार १५ गतेदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुला गर्दा यस्तो निर्णय भएको तर सार्वजनिक यातायातका परिचालकले डिजेलको भाउ बढेको भन्दै रु. १४ न्यूनतम भाडाको स्थानमा रु. २५ असुल गर्न थालेका छन् । आफूखुसी रु. ११ भाडा बढाएर लिएको यात्रु मङ्गलबहादुर तामाङले गुनासो गर्नुभयो ।
गौशालाबाट रत्नपार्क झर्दा रु. १४ भाडा लिनुपर्नेमा बढेको छ भन्दै रु. २५ लिएको उहाँले सुनाउनुभयो । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रि«य महासङ्घले भाडा बढाउन सरकारसँग माग गरेको थियो । तीन वर्षअघि डिजेलको मूल्य रु. १०१ हुँदा भाडा समायोजन भएको थियो । यसअघि तेलको भाउ घट्दा सार्वजनिक यातायातको भाडा घटेको छैन ।
महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने विसं २०६९ देखि सार्वजनिक यातायातको भाडा समायोजन नभएको दाबी गर्नुहुन्छ । महासङ्घको मागअनुसार विभागका महानिर्देशकले भाडा समायोजन हुनुपर्ने निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीकहाँमा पेश भएको छ । सरकारले समायोजन नगरे व्यवसायीले गरेको गृहकार्यका आधारमा महासङ्घले बढेको घोषणा गर्ने अध्यक्ष कर्माचार्य बताउनुहुन्छ ।
बढी भाडा लिने आठ पक्राउ
ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाडा लिने आठ जनालाई मङ्गलबार र आज बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दाङ घर भएका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गीमबहादुर गाहामगर, रुपन्देहीका ३६ वर्षीय दीपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे, मोरङका ३१ वर्षीय युवराज ढकाल, उदयपुरका २९ वर्षीय राकेश रसाइली र सोलुखुम्बुका २५ वर्षीय झनकबहादुर घिमिरे रहेका छन् ।
प्रहरीले ६ जनालाई नयाँ बसपार्क र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैजनाले यात्रुसँग सरकारले तोकेको भन्दा बढी भाडा लिएर यात्रु ओसारपसार गरेको पाइएको महाशाखाका प्रमुख र प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका ६ जनालाई कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र दुई जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ । महाशाखाले निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिने ६१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ ।
यसैगरी, निषेधाज्ञाको समयमा भाडामा यात्रु ओसार्ने ४७ निजी सवारी साधनलाई समेत कारबाही गरेको छ । विशेषगरी काठमाडौँ उपत्यका बाहिरिने यात्रुसँग भाडा लिई ओसारपसार गर्ने ४७ निजी सवारी साधनलाई कारबाही गरेको हो । महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएको वा निजी सवारी साधनले यात्रु बोकेको थाहा पाएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *