कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
राजनीति राम्रो भयो भने देश राम्रो हुन्छ भन्ने उदाहरण क्युवा हो । क्युवाको राजनीति राम्रो छ । तसर्थ, त्यहाँ सबै कुरा राम्रो छ । त्यहाँ उमेर पुगेका सबै नागरिक शिक्षित छन् । सबै युवाहरूले रोजगारी पाएका छन् । किसान मजदुरलगायत सबै क्युवालीले उमेर पुगेपछि निवृतिभरण (पेन्सन) पाउँछन् । महिला ५९ र पुरुष ६० वर्ष पुगेपछि पेन्सन पाउँछन् । शिक्षा निःशुल्क र अनिवार्य तथा स्वास्थ्य उपचारको निःशुल्क बन्दोबस्त छ । शिशुशाला, बालउद्यान र आदर निकेतनको राम्रो व्यवस्था छ । सबै युवाहरूले सैनिक प्रशिक्षण पाउने बन्दोबस्त छ । समाजवादी सिद्धान्तअनुसार क्युवामा जनताको कल्याणकारी कार्य भइरहेको छ । समाजवादी देश क्युवाले ल्याटिन अमेरिका, अफ्रिका र एसियाका विकासशील देशहरूमा स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको छ । अमेरिकी प्रशासनले ६० वर्षदेखि नाकाबन्दी लगाए पनि क्युवा आफूलाई सक्षमताका साथ उभ्याउन सफल छ ।
भूगोलको हिसाबले क्युवा सानो देश हो । क्युवाको क्षेत्रफल १,०९,८८४ वर्ग किमि छ । क्युवाको जनसङ्ख्या १,११,००,००० छ । संरा अमेरिकाको क्षेत्रफल ९८ लाख वर्ग किलोमिटर र जनसङ्ख्या ३३ करोड रहेको छ । सानो देश क्युवाले ठूलो मानवीय कार्य गर्दै छ । संरा अमेरिका आफूभन्दा सानो देशलाई दवाउन उद्यत छ । क्युवाली क्रान्तिको प्रकाशले विश्वमा उज्यालो फैलाउने डरले ऊ आत्तिरहेको छ । ऊ क्युवाली क्रान्तिको इतिहास मेट्न चाहन्छ । क्युवाली क्रान्ति र क्युवाली समाजवादी शासन व्यवस्थाको निमित त्यहाँको नेतृत्वको ठूलो भूमिका छ । फिडेल क्यास्ट्रो र राहुल क्यास्ट्रोजस्ता कुशल नेतृत्वले गर्दा संसारमा क्युवाको छवि राम्रो छ ।
युद्धको बेला गोलाबारुद र बन्दुकको अभावले हरेक लडाइँमा समस्या हुन्छ । क्रान्तिको समयमा जस्तोसुकै कठिनाइमा पनि हतियार नछोड्नु र नबिसाउनु भन्ने निर्देशन साह्रै महत्वपूर्ण हुन्थ्यो । त्यसबेला ‘मातृभूमि या मृत्यु’ लडाकुमा ऊर्जा थप्ने नारा थियो । लडाइँमा हजारौँ क्युवालीहरूले आफ्नो जीवनको आहुति दिए । परिणामस्वरूप क्युवाली जनताले मातृभूमि र समाजवाद पाए ।
आजको विश्वमा ज्ञान र बुझाइको कमीले पनि युद्धमा हारेको हुन्छ । सुन्दर विश्वको निम्ति ज्ञानरूपी हतियार तिखार्दै सँगसँगै लडौँ, हामी विजयोन्मुख छौँ” भनी चेग्वेभारा पुत्री अलेदा ग्वेभाराले भन्नुभएको भनाइ स्मरणयोग्य छ । संयुक्त राज्य अमेरिकाले लगाएको मानवताविरोधी नाकाबन्दी ६० वर्ष भइसकेको छ । क्युवामा वस्तु आयात निर्यात गर्न प्रतिबन्ध छ । क्युवामा खाद्यान्न र औषधिसमेत आयात निर्यात गर्न दिइँदैन । कोभिड–१९ भाइरसभन्दा यो अमेरिकी नाकाबन्दी खतरनाक छ भन्ने कुरा उठेको छ । क्युवाली कम्युनिस्ट पार्टीले क्युवालाई बचाइराखेको हो भन्ने कुरा सन् २०२१ अप्रिलमा भएको क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा व्यक्त भएको थियो ।
महाधिवेशनमा क्युवाली कम्युनिस्ट पार्टीमा ७ लाख पार्टी सदस्यहरू र ५८,००० पार्टी समितिहरू भएको प्रतिवेदनमा उल्लेख छ । कुल जनसङ्ख्याको ६ प्रतिशत पार्टी सदस्यहरू रहेका छन् । कोभिडको कारण ३ सय प्रतिनिधिहरूको सहभागितामा आर्ठांैँ महाधिवेशन सम्पन्न भएको थियो ।
संरा अमेरिकी नाकाबन्दीले क्युवाको औषधि बाहिर लैजान कठिन भइरहेको छ । सोभेराना ०२ खोप ९३ प्रतिशत र अब्डाला ९६.६ प्रतिशत प्रभावकारी भएको उल्लेख छ । यी दुई खोपले गर्दा क्युवालीहरू कोभिडविरुद्ध लड्न सफल छन् । यसले अरू देशहरूलाई पनि सहयोग गर्न सक्षम छ भन्ने देखाउँछ ।
फिडेल क्यास्ट्रोले सन् १९९२ मा भन्नुभएको थियो, “बिनाअठोट केही हुन्न, शत्रुप्रति नरम बन्नेले केही गर्दैन । क्रान्तिको स्थायित्व पार्टीले दिन्छ ।” सम्पूर्ण जनता सुख सुविधासाथ बाँच्न पाउँछ भन्ने उदाहरण समाजवादी देश क्युवाले देखाइसकेको छ । संरा अमेरिकी सरकारले लगाइराखेको नाकाबन्दीविरुद्ध क्युवाले सङ्घर्ष गरिरहेको छ । त्यसमा विश्वका न्यायप्रेमी र सचेत कामदार जनताले ऐक्यबद्धता जनाइराखेका छन् ।
सन् १९२२ तिर अमेरिकी साम्राज्यवादले संसारका विभिन्न देशमा आक्रमण र दमन गरी पक्राउ गरिएका बन्दीहरूलाई अमेरिकी सेनाले आफ्नो जमीन ग्वान्टानामो टापुमा यातनागृह बनाइरहेको छ । त्यो जमीन फिर्ता लिन क्युवाले सङ्घर्ष गरिरहेको छ । भेनेजुयला, निकारागुवा, क्युवामा सत्ता उल्टाउने प्रयास अमेरिकाले गरिरहेको छ । पेरुमा पनि उसले हस्तक्षेपकारी भूमिका खेलिरहेको छ । हालै जून महिनामा भएको पेरुको राष्ट्रपतीय निर्वाचनबाट वामपन्थी नेता पेड्रो कोस्तिल्लो विजय भइसकेको मत परिणामले देखाइसकेको छ । तर, संरा अमेरिकाको हस्तक्षेपको कारण त्यहाँको निर्वाचन आयोगले विजय घोषणा गर्न रोकिराखेको अवस्था छ । अमेरिकी सैनिकले ‘कू’ गरी शासन सत्ता हत्याउने प्रयास गर्दै छ । यसले अमेरिकी साम्राज्यवाद कतिको क्रूर छ भन्ने प्रस्ट छ ।
समाजवादी देश क्युवाले विगत ६० वर्षदेखि साम्राज्यवादी देश संरा अमेकिाको नाकाबन्दीको सामना गर्दै आइरहेको छ । समाजवादी क्रान्ति सफल भएको ३ वर्षभित्र क्युवाविरुद्ध अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले नाकाबन्दी घोषणा गरेका थिए । यस नाकाबन्दीले साम्राज्यवादी अमेरिका कति मानवताविरोधी, कति निरङ्कुश र कति अत्याचारी छ भन्ने प्रस्ट छ ।
नाकाबन्दी समाजवादी क्रान्तिको तेज निस्तेज बनाउने उद्देश्यसाथ साम्राज्यवादी देश संरा अमेरिकाले गरेको एकखालको युद्ध हो । यो नाकाबन्दी हटाउन पर्छ कि पर्दैन भनी असार ९ गते (२३ जुनमा) संयुक्त राष्ट्र सङ्घमा भएको निर्वाचनमा क्युवामाथिको नाकाबन्दी हटाउनुपर्ने पक्षमा १८४ देश रह्यो भने अमेरिकालाई साथ दिने इजराइल एक देशमात्र रह्यो । ब्राजिल, कोलम्बिया र युक्रेन देश अनुपस्थित रहे । २९ औँ पटकको यो मतदानमा, सबैजसो देशले नाकाबन्दी हटाउनुपर्ने पक्षमा मत दिए । तर पनि संरा अमेरिकाले नाकाबन्दी कायम गरिराखेको छ ।
नाकाबन्दी भए पनि क्युवाका नयाँ पुस्ताका प्रेरणाका स्रोत फिडेल क्यास्ट्रोले “घाम नपुगेको देशमा क्युवाली डाक्टरहरू पुग्छन् ।” भनेझैँ चिकित्सकहरू विभिन्न देशमा पुगे । यसरी विश्वको कामदार जनताको पक्षमा क्युवा कार्यरत छ ।
कोभिड महामारीको बेला बाह्य मुलुकबाट कच्चापदार्थ प्राप्त गर्न सकेको भए क्युवाले अझ धेरै काम गथ्र्यो होला । क्युवाको खोप ल्याटिन अमेरिका, अफ्रिका, एसियाली मुलुकहरूमा आयात गर्न सहज भइदिएको भए मानव समुदायको ठूलो कल्याण हुने थियो ।
क्युवाली क्रान्तिको तेज आज पनि तेजिलै छ । मानव समुदायको रक्षा गर्न र विश्वलाई युद्ध मैदान बनाउन उद्यत साम्राज्यवादबाट विश्वलाई जोगाउने सङ्घर्षमा क्युवा एक्लो छैन । क्युवामाथिको नाकाबन्दी अन्त्य नगरी सुखै छैन । क्युवामाथिको नाकाबन्दी अन्त्य भएको दिन क्युवामात्र होइन ल्याटिन अमेरिकी महादेशमा थप उज्यालो हुने निश्चित छ । ल्याटिन अमेरिका र अफ्रिकी देशहरूमा समाजवादी परिवर्तनको लहर चल्नेछ । त्यो समय संसारका सम्पूर्ण न्यायप्रेमी जनताको निमित सबैभन्दा खुसीको दिन हुनेछ । त्यो दिन निश्चय पनि आउनेछ किनकि त्यो सत्यको पक्षमा छ, अन्यायको विरोधमा छ र सम्पूर्ण मानव जातिको कल्याणको पक्षमा छ । क्युवामा अशान्ति सृजना गरी सत्ता परिवर्तन गर्ने, ल्याटिन अमेरिकामा प्रभाव कम गर्ने अमेरिकी प्रयास सफल हुनेछैन । किनकि, अमेरिका मानव कल्याणको पक्षमा छैन, कामदार वर्गको पक्षमा छैन र मानवताको पक्षमा छैन ।
२०७८ असार १४
Leave a Reply