भर्खरै :

साम्राज्यवादीहरूलाई गतिलो जवाफ

उत्तर अमेरिकी महादेशमा रहेको एउटा देश संरा अमेरिकाको सरकार एसिया महादेशका देशहरूबीचको सम्बन्ध हुनुपर्छ कि हुनुहुँदैन ? र भएमा पनि कुन स्तरको मात्र हुनुपर्छ भनी निर्णय गर्न खोज्छ । यो नै साम्राज्यवादी सोचको ज्वलन्त उदाहरण हो । संरा अमेरिका र त्यसका पक्षधर पश्चिमा देशहरू चीन र भारतको सम्बन्ध, पाकिस्तान र चीनको सम्बन्ध, नेपालको चीन र भारतसितको सम्बन्ध कस्तो हुनुपर्छ भनी निर्धारण गर्न खोज्छन् । उनीहरूले भनेको जस्तो भएन भने विभिन्न माध्यमले कुनै देशका सरकारविरूद्ध हमला बोल्नु तिनीहरूको स्वभाव नै हो । पश्चिमा शासकहरूलाई अहिले चीनसित छिमेकी देशहरूको मित्रवत् र घनिष्ठ सम्बन्ध पटक्कै मन परेको छैन । विशेषतः चीनसित पाकिस्तानको घनिष्ठ सम्बन्ध तिनीहरूको आँखामा बिझिरहेको छ । त्यसैले पश्चिमा देशका सञ्चारमाध्यममा हरेक दिनजसो पाकिस्तान र चीनबीचको मित्रवत् सम्बन्धलाई गलत दावा गर्दै र कस्तो हुनुपर्छ भन्दै लेखरचना प्रकाशित भइरहेका छन् । त्यही विषयलाई लिएर पश्चिमा सञ्चार माध्यमहरूमा पाकिस्तानको वर्तमान सरकार र नेतृत्वमाथि अनेक आक्षेप लगाई हमला पनि भइरहेका छन् ।
अति भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यसको प्रतिकारमा बयान नै दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री खानले सीजीटीएन टीभीसितको अन्तर्वार्तामा चीनसित पाकिस्तानको सम्बन्ध कस्तो हुनुपर्छ भनी संरा अमेरिका र पश्चिमा देशहरूले सिकाउनु पर्दैन भन्नुभयो । उहाँले पाकिस्तानजस्तो सार्वभौम देशहरूमाथि चीनसितको सम्बन्ध कटौती गर्न दबाब सिर्जना गर्न खोज्नु पनि अनुचित र गलत भएको र कसैले भन्दैमा चीनसितको आफ्नो सम्बन्ध तल्लो स्तरमा पु¥याउने मूर्खता पाकिस्तानले नगर्ने बताउनुभयो ।
पाकिस्तानी प्रधानमन्त्रीले भन्नुभयो, “राम्रो समयमा जो कोही पनि तपार्इँको साथ उभिने गर्छ तर नराम्रो समयमा पनि जो तपाईँसित हुने गर्छ उही असल मित्रको रूपमा चिनिन्छ । चीनको बारेमा पनि पाकिस्तानका जनताले बुझेका छन् कि कठिन समयमा चीन पाकिस्तानको साथमा थियो । त्यसैले पाकिस्तानका जनताको मनमा चीनको निम्ति प्रेम छ ।”
पाकिस्तानी प्रधानमन्त्री खानको अभिव्यक्ति पश्चिमा साम्राज्यवादीहरूका निम्ति गतिलो जवाफसिद्ध भएको छ । उनीहरूले आफ्ना सञ्चारमाध्यमहरूको प्रयोगमार्फत महिनौँ लगाएर तयार गर्न खोजेको धारणा पानीको फोका साबित भएको छ । आउने दिनमा पश्चिमा सञ्चारमाध्यमहरूले पाकिस्तानविरूद्ध अझ कडा हमलाहरू गरेमा कुनै आश्चर्य हुनेछैन । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *