भर्खरै :

चीनमा सामाजिक स्थायित्व

दक्षिण चीनको प्रमुख औद्योगिक क्षेत्र क्वाङतोङ प्रान्तमा हालै फैलिएको कोभिड–१९ को सङ्क्रमण झन्डै एक महिनाभित्र नियन्त्रणमा लिइयो । यसले भाइरस नियन्त्रणमा चीनको कौशल फेरि एकपल्ट प्रदर्शित भयो ।
आफ्नो १०० औँ स्थापना दिवसको तयारीमा रहेको झन्डै ९ करोड २० लाख सदस्य रहेको संसारकै सबभन्दा ठुलो राजनीतिक पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको लागि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारी एउटा नयाँ परीक्षा बनेको थियो । चिकपा यो परीक्षामा खह«ो उत्रेको छ । महामारी नियन्त्रण र अर्थतन्त्रको पुनः स्थापनामा चीनले संसारलाई नेतृत्व गरेको छ ।
नयाँ चीनको स्थापनायता चिकपाले विभिन्न देशभित्र र बाहिरका परीक्षामा जनताको नेतृत्व गरेको छ । चीनका सबै जातिका जनताको कठिन र लगातारको प्रयासबाट चिकपाले बृहत् र ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ ।
दुई ‘चमत्कार’ भनी व्याख्या गरिएको तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थायित्व बितेका सात दशकमा चिकपाले हासिल गर्न सफल भयो ।
सन् १९७८ अघि चीनले संरा अमेरिकाविरुद्धको युद्ध तथा कोरियालाई सहायता (१९५०–५३) र सन् १९७६ को तानशान भूकम्पजस्ता प्रमुख परीक्षाको सामना गरेको थियो । सुधार र खुलापनको नीति सुरु भएको ४० वर्षको अवधिमा चीनले सन् १९९७ मा एसियाली वित्तीय सङ्कट, सन् १९९८ मा याङ्जी नदीको बाढी, सन् २००३ मा सार्सको महामारी र सन् २००८ मा विश्वव्यापी वित्तीय सङ्कटजस्ता प्रतिकूल परिस्थितिको सामना गरेको थियो ।
चिकपाको बलियो नेतृत्वमा चीनले विकासका यी सबै प्रक्रियामा आइपरेका सबै प्रतिकूलतालाई छिचोल्दै आएको छ ।
निरपेक्ष गरिबी उन्मूलनका साथै चीनले देशभित्र र बाहिरका अनेकन चुनौतीहरूबीच हालैका वर्षमा विभिन्न माध्यमबाट रोजगारीको दर विस्तार गरेको छ । सन् २०१६ देखि २०२० सम्ममा चीन ६ करोडभन्दा बढी रोजगारी सिर्जना गर्न सफल भयो ।
चीनको दीर्घकालीन सामाजिक स्थायित्वको सुनिश्चितता चिनियाँ विशेषतासहितको समाजवादले मात्र गर्नसक्छ । त्यसको निम्ति चिकपाको नेतृत्व पारिभाषित विशेषता र बलियो शक्ति हो ।
चीनको राजनीतिक र सामाजिक स्थायित्व, आर्थिक विकास र सबै जातिबीच एकता संसारका अन्य देशहरूले आफ्नो प्रणालीगत विराम र स्वार्थमा आधारित दलगत झगडाको कारण भोगिरहेको सामाजिक विभाजन र राजनीतिक अस्थिरताभन्दा ठीकविपरीत छ ।
जनताको दिलोज्यानले सेवामा समर्पित चिकपाले जनताको हित र जनताको जीवनस्तरमा सुधारलाई सदैव सर्वोपरि मान्दै आएको छ । अर्थतन्त्रको विकास, गरिबी र महामारीविरुद्ध लडाइँ र सबैको समृद्धिको लक्ष्यमा अडिग रहने कुरालाई चिकपाले प्राथमिकतामा राख्दै आएको छ । यही वर्ष चिकपाले सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज बनाउने लक्ष्य हासिल गर्दै छ ।
आयमा वृद्धिका साथै चीनका जनताले आज गुणस्तरीय शिक्षा, स्वास्थ्योपचार र सफा वातावरणजस्ता विकासका लाभहरू पनि लिइरहेका छन् । उदाहरणको लागि हालैका वर्षमा भएको ‘शौचालय क्रान्ति’ ले किसानहरूलाई फोहोर शौचालयबाट मुक्त गरेको छ । आज गाउँका किसानहरूले पनि सहरका बासिन्दाले जस्तै फल्स भएको शौचालय प्रयोग गरिरहेका छन् ।
चिकपाले सुधार, विकास र स्थायित्वबीच सम्बन्ध स्थापना गर्नुलाई विशेष महत्व दिएको छ । चीनका जनता सबैले आफूले केही पाएको, खुसी रहेको र सुरक्षित रहेको अनुभव गर्छन् । कानुनी शासनअघि बढाउने र ‘सुरक्षित चीन’ स्थापना गर्ने शिलशिलामा आज चीन संसारकै सबभन्दा सुरक्षित देशमा गनिएको छ ।
यसैबीच सहकार्य, सहभागिता र आपसी हितको सिद्धान्तमा आधारित सामाजिक शासनमा चीनले गरेको सुधारले सामाजिक स्थायित्व कायम गर्न पनि उल्लेखनीय भूमिका निभाएको छ ।
संसारमा अहिले बितेका एक शताब्दीमा नदेखिएका परिवर्तनहरू भइरहेका छन् । कोभिड–१९ को महामारीले त परिवर्तनलाई अझ गतिशील बनाएको छ । यस्तो जटिल र अनिश्चित अन्तर्राष्ट्रिय परिस्थितिमा चिकपाले एउटा आधुनिक समाजवादी देश बनाउन सुधार, विकास र स्थायित्वलाई थप अघि बढाएको छ ।
चिकपा प्रगति पथमा हिँड्दै गर्दा, चिनियाँ समाजवादमा सुधार गर्दै गर्दा र राज्यको शासन प्रणाली र क्षमतालाई आधुनिकीकरण गर्दै गर्दा चीनमा दीर्घकालीन सामाजिक स्थायित्वको चमत्कार चालु छ । यसले विश्वको विकासमा पनि उल्लेखनीय योगदान पु¥याइरहेको छ ।
स्रोत : पिपुल्स डेली
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *