भर्खरै :

नीति तथा कार्यक्रमबारे

सदाचारको टापु, एसियाको रोम भनेर सुशोभित भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम परिषद्कै दिन प्राप्त भयो ।
कोभिड–१९ को महामारीमा भक्तपुर नपाको प्रमुख आम्दानीको स्रोत शून्य प्रायः भएपछि नीति तथा कार्यक्रमप्रति एक प्रकारको कौतुहलता थियो । पाँचवर्षे कार्यकालको अन्तिम साल भएकोले पनि यो नीति तथा कार्यक्रमप्रति कस्तो हुने हो भन्ने चासो थियोे ।
नीति तथा कार्यक्रम सरसरती अध्ययन गर्दा कोरोना प्राथमिकतामा परेको देखिन्छ, जुन स्वाभाविक छ । कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन नदिन जनताको स्वास्थ्यमा भक्तपुर नपाले आफ्नो बलबुत्ताले भ्याएसम्म गरेको योगदानको मूल्याङ्कन गरेर एउटा सूचनाको भरमा जनताले ६ करोडभन्दा बढी सहयोग गर्नु भनपाप्रतिको विश्वास हो ।
स्वास्थ्य, शिक्षा, संस्कृति र सम्पदा पुनःनिर्माण, युवा तथा खेलकुदलगायतका विभिन्न उपशीर्षकसहित ११ वटा शीर्षकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
कोभिड–१९ लक्षित अक्सिजन प्लान्ट र आइसीयू युनिटको स्थापना अर्को एउटा उदाहरणीय काम हो । भक्तपुर नपाको सफल नेतृत्व र दीर्घकालीन सोचले पक्कै पनि ख्वप हस्पिटल ‘जनताको अस्पताल’को रूपमा विकास हुनेछ । घर दैलो नर्सिङ्ग सेवा प्रत्येक वडासहित विद्यालय र कलेजसम्म विस्तार गर्ने नीतिले सस्तो र सुलभ स्वास्थ्य सेवा जनताले महसुस गर्नसक्नेछन् ।
नियमित स्वास्थ्य शिविर सञ्चालन र नसर्ने कडा रोगहरू बिरामी परिवारलाई दिइने आर्थिक सहयोग विगतमा जस्तै स्वागतयोग्य छ । डाइलोसिस गर्ने कार्य जति आर्थिकरूपमा महँगो छ, त्यति नै सकसपूर्ण छ । तसर्थ, ख्वप हस्पिटलमा डाइलोसिस कार्य सस्तोमा गर्न पाए अझै उत्तम हुने थियो ।
शिक्षामा भक्तपुर नपा सस्तो र गुणस्तरीयताको लागि नमुना रहेको छ । एसईईको राम्रो नतिजा, मानविकी र व्यवस्थापनको स्नातकोत्तरसम्म घरदैलो नजिकै कलेजहरूको उपलब्धता, इन्जिनियरिङ्ग कलेजमा सहुलियतमा गुणस्तरीय शिक्षा भक्तपुरको परिचय भएको छ । नीति तथा कार्यक्रममा कृषि, विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याव, फार्मेसी एवं मेकानिकल इन्जिनियरिङ्ग, बीएससी नर्सिङ्गजस्ता नयाँ नयाँ विषयहरूको स्वीकृति लिने प्रक्रिया अगाडि बढाइने कुरा सकारात्मक छ ।
कला र संस्कृतिको राजधानी भनेर परिचित भक्तपुरमा कलाकै मात्र विशेष सङ्कायसहितको क्याम्पस आवश्यक छ । भक्तपुरको मौलिक कला (मूर्तिकला, काष्ठकला, ढुङ्गा/तामाको मूर्तिकला), ऐतिहासिक सङ्गीतकलासम्बन्धी भक्तपुरमै अध्ययन गर्ने कला क्याम्पस सुरु भए सुनमा सुगन्ध हुनेछ ।
भनपाले ऐतिहासिक पाटी, मठ र मन्दिर संरक्षण गरिरहेको सर्वविदित्तै छ । त्यसको लागि आवश्यक पुरानो प्रविधिका सीपयुक्त कामदारहरू अभाव भएको उपभोक्ता समितिमा सहभागीहरूको अनुभव रहेको छ । उक्त अभाव पूर्ति गर्ने गरी व्यवसायिक तालिम केन्द्र सञ्चालन गर्नुपर्ने देखिन्छ । जसले सिकर्मी, दाची अप्पा डकर्मी, लोहकर्मी कामदारहरू उत्पादन गर्न सकोस् । ख्वप इन्जिनियरिङ्ग कलेजमै मल्लकालीन आर्किटेक्चरबारे छुट्टै पाठ्यक्रम विकास गरी सिभिल र आर्किटेक्चर सङ्कायमा भक्तपुरको मौलिक तथा ऐतिहासिक मल्लकालीन वास्तुकलाबारे अध्ययन, अध्यापन तथा अनुसन्धान हुनुपर्ने देखिन्छ ।
कहिलेकाहीँ विश्वविद्यालय तथा क्याम्पसहरूलाई बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा चित्रण गर्ने गरिन्छ । तर, शिक्षा वा अध्ययन रोजगारीको लागि सीमित हुने गर्दैन । शिक्षाले व्यक्ति र समाजकै सांस्कृतिक स्तर वृद्धि गर्न महत्र्वपूर्ण भूमिका खेलेको हुन्छ । व्यक्ति र परिवारले अध्ययनपश्चात् रोजगार पाऊन् भन्ने चाहना राख्नु एक हिसाबले स्वाभाविक हो । अतः भनपाद्वारा सञ्चालित इन्जिनियरिङ्ग, मानविकी, व्यवस्थापन पोलिटेक्निक क्याम्पसहरूको साथमा भक्तपुरकै अरू निजी तथा सामुदायिक कलेजहरू, रोजगारदाता सङ्घ संस्थाहरू, औद्योगिक सङ्घ संस्थाहरू, घरेलु तथा साना उद्योगहरू, सहकारी तथा अन्य कर्पोरेट कार्यालयहरूसहितको रोजगार मेला (Job Fair) वर्षको एकपल्ट गर्न सकेमा राम्रो हुन्छ कि ?
जनज्योति पुस्तकालय भक्तपुरकै पुरानो पुस्तकालय मानिन्छ । अहिले जनज्योति पुस्तकालय रहेको नपुखु नजिकै रहेको भवन र स्थान पुस्तक अध्ययनको लागि उपयुक्त छ । तर, त्यतिले मात्रै पुस्तक अध्ययन संस्कृतिको विकास यथोचितरूपमा हुनसक्दैन । पुस्तकालय परिवारले पुस्तकबारे चर्चा, अध्ययन गोष्ठी तथा स–सानो पुस्तक प्रदर्शनी गर्नसके पुस्तक र पुस्तक संस्कृतिबारे जनचेतना जगाउन सक्नेछौँ ।
स्थानीय पाठ्यक्रमको तयारी तथा कार्यान्वयनमा भक्तपुर नपाको प्रयास प्रशंसायोग्य छ । स्थानीय पाठ्यक्रममा भक्तपुरको कला, संस्कृति, दैनिक जनजीवन, रहनसहनबारे राम्रो सङ्कलन छ । त्यसमा अझै थप मल्लकालीन वास्तुकलाहरूको परिचय, भक्तपुरको मौलिक गृह निर्माण, डकर्मी, सिकर्मीबारे पनि नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान गराउन प्रेरित गर्नसके सुनमा सुगन्ध हुने छ ।
कोरोना महामारीको कारण विदेशी पर्यटकको आगमन अझै २/३ वर्ष नहुने अनुमान गर्न सकिन्छ । अतः आन्तरिक पर्यटन वृद्धिका विशेष कार्यक्रमहरू यो वर्षको नीति तथा कार्यक्रममा समावेश हुनुपथ्र्यो । अनुशासित र सभ्य सन्ध्याकालीन जीवन कमलविनायक वरिपरिको परिसर, नपुखु र भाज्या पुखु वरिपरि सञ्चालन गर्न सकिन्छ ।
पुनः निर्माण तथा सम्पदा संरक्षणमा अगाडि बढेको भक्तपुर नपाले कलाकारहरूको चित्रकला तथा मूर्तिकला प्रदर्शनी स्थलको अभाव पूर्ति गर्ने कुनै कार्यक्रम देखिँदैन ।
कृषकहरूको लागि कृषि बजार कमलविनायक, दूधपाटी, भिसिंखेलमा व्यवस्था गर्नसके वास्तविक कृषकहरूले उचित मूल्य पाउने थिए ।
युवा लक्षित तालिमहरू सूचना प्रकाशित गरेर पनि कोभिडका कारण सञ्चालन हुन सकेनन् । यस वर्ष ती तालिमहरू पक्कै हुनेछन् । तर, नपाले दिने तालिमहरू साबिकै जस्तो पाक शिक्षा, चिनियाँ भाषा, कम्प्युटर, वेबपेज, कम्प्युटर हार्डवेयर, हाउस वाइरिङ, मोबाइल रिपेरिङ, थाङ्का बनाउने मोटरसाइकल मर्मत गर्ने आदि तालिमहरू पनि सञ्चालन गर्नुपर्छ । ती तालिमहरूको सीप परीक्षण गर्ने व्यवस्था भए गजब हुनेछ ।
सरकारी, सार्वजनिक तथा पर्ती जग्गा संरक्षण गर्नेमात्र भनिएको छ । भनपाको छुट्टै भूउपयोग नक्सा तथा भूउपयोग योजनाको तर्जुमा पनि हुनुपर्ने देखिन्छ । छिट्टै मालपोत तथा नापीको काम स्थानीय तहबाट हुने सङ्घीय सरकारको तयारी रहेकोमा भनपाको यसबारे केही कार्यक्रम आवश्यक थियो कि ?
अन्तमा, कोभिडको महामारीबीचमा आम्दानीका स्रोतहरू न्यून रहे पनि १०० बेडको हस्पिटल तथा ख्वप विश्वविद्यालयको लक्ष्य लिएको भनपाको नीति तथा कार्यक्रम निर्वाचनको घोषणापत्रअनुरूप नै जनपक्षीय छ । कुशल नेतृत्व र जनताको साथले त्यो पक्कै साकार हुनेछ ।

One response to “नीति तथा कार्यक्रमबारे”

  1. sanjaya says:

    राम्रो प्रस्तुती।

Leave a Reply

Your email address will not be published. Required fields are marked *