भर्खरै :

खोइ प्राकृतिक विपत्तिको पूर्वतयारी ?

मनसुनी वर्षा सुरु भएदेखि नै नेपालका विभिन्न जिल्लामा बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिका घटना भएका छन् । देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएका समाचार आइरहेका छन् । देशका प्रमुख राजमार्गहरूसहित विभिन्न सडक खण्डहरू पनि प्रभावित भएका छन् । निरन्तर वर्षाका कारण आएको बाढी र नदीमा बढेको बहावका कारण कतिपय स्थानमा पुल र सडकलगायतका संरचनाहरू भत्किएका छन् ।
शुक्रबारसम्मको अद्यावधिक सरकारी विवरणअनुसार गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १७८ घटना भएका छन् । त्यसमा हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । घाइतेको सङ्ख्या ३२ पुगेको छ । वर्षाका कारण भएका विभिन्न विपद्का घटनाहरूमा ४८३ घरहरू पूर्णरूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ । त्यस्तै ३६ वटा सरकारी कार्यालय, ६ वटा सामुदायिक भवन÷विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल र त्यति नै सङ्ख्यामा जलविद्युत् आयोजना, पाँच वटा सवारी गुड्न योग्य काठका पुल र दुई वटा बैङ्क तथा वित्तीय संस्थामा क्षति भएको विवरण सार्वजनिक भएको छ ।
कर्णाली राजमार्ग, पृथ्वी राजमार्ग, मुग्लिङ नारायणगढ खण्ड र बीपी राजमार्गमा हरेक दिन पहिरोले सडक बन्द गर्ने र एकतर्फीरूपमा खुलाउने क्रम जारी छ । हुलाकी राजमार्ग, अरनिको राजमार्ग, मध्य पहाडी राजमार्गलगायत दर्जनौँ सडक खण्ड हाल अवरुद्ध रहेका छन् । सडक अवरुद्ध हुँदा हिमाली र पहाडी जिल्लाहरूमा खाद्यान्न र अरु उपभोग्य वस्तुको अभाव भएका खबर पनि आइरहेका छन् ।
प्राकृतिक विपत्तिका समाचार सुनेर देखेर कतिपयले भूगोललाई दोष दिँदै कस्तो देशमा जन्मिएछौँ भनी गुनासो गरेका पनि सुनेका छौँ । प्राकृतिक सुन्दरतासँगै विपत्तिको जोखिम नभएको देश संसारमा सायदै होला । हाम्रो देशको अधिकांश प्राकृतिक विपत्ति र जनधनको बढी नोक्सानीको कारण भने हाम्रो विपत्तिको पूर्वतयारीको कमी नै हो । एकातिर हामीले देशको भूगोलको विशेषता र आवश्यकतालाई बेवास्ता गरी मनपरी रुख कटान, सडक र अन्य संरचना निर्माणको नाममा भिरालो भूमि कटान गरिरहेका छौँ । निर्माण सामग्री आपूर्तिका लागि भन्दै नदीहरूमा लापरवाहपूर्ण खाल्डोहरू बनाइरहेका छौँ । त्यसले बाढी र पहिरोको जोखिम बढाउन र बढी धनजनको क्षति गराउन भूमिका खेलिरहेको छ । त्यस्तै जोखिमयुक्त क्षेत्रमा साइरन प्रणालीको स्थापना र सञ्चालन तथा विपत्तिपछि शिघ्र उद्धार टोलीको व्यवस्था गर्नतिर ध्यान दिइएको छैन । शीघ्र उद्धार टोली र बचाउ दलको तैनाथीले बाढी र पहिरोजन्य विपत्तिमा मानवीय क्षति कम गर्न सकिने हुन्छ । आजको एक्काइसौँ शताब्दीमा पनि प्राकृतिक विपत्तिको पूर्वतयारीमा देशका सरकारहरू किन उदासीन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *