भर्खरै :

पसल खोल्न सूचना जारी भएसँगै चितवनका बजारमा चहलपहल

भरतपुर, २२ असार । चितवन जिल्लामा हप्ताको तीन दिन पसल खोल्न पाउने प्रशासनको निर्देशन भएसँगै भरतपुर नारायणगढ बजारमा मानिसहरूको चहलपहल सुरु भएको छ । सार्वजनिक सवारीसाधन नखुलेसम्म व्यापार नहुने व्यवसायीहरूको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरे पनि सार्वजनिक सवारीसाधन चलाउन भने अहिलेसम्म निर्देशन दिएको छैन ।
सार्वजनिक सवारीसाधनलाई सहज गराउँदै जाने क्रममा असार १७ गते रातिदेखि लागू हुने गरी तीनपाङ्ग्रे सवारीसाधनअन्तर्गत अटो, ई. रिक्सा, भाडाको ट्याक्सीसहित बढीमा दुई जना प्यासेन्जर राखेर चलाउन पाउने प्रशासन कार्यालयले बताएको थियो । फेन्सि पसल, कपडा पसल, खाद्यान्न पसल, इलेक्ट्रीकल एन्ड इलेक्ट्रोनिक्स पसल, पूजा सामग्री पसल, भाँडाकुँडा पसल, गिफ्ट हाउस, अटोमोबाइल पसल, फर्निचर पसल, सुनचाँदीलगायत पसलहरू खुल्न थालेको दुई हप्ता पुग्न लाग्यो । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नियमितरूपमा पसल चलाउन पाउनुपर्ने व्यवसायीहरूको माग छ ।
नारायणगढको जुनहल रोडमा पुराना जुत्ता चप्पल मर्मत तथा व्यवसाय गर्दै आउनुभएका भीमसेन सु हाउसका भीम मिजारको व्यथा भने फरक छ । उहाँलाई निषेधाज्ञा खुकुलो हुँदै जानुले कत्ति पनि राहत मिलेको छैन । स्कूल, कलेज, बिहे भोजभतेर राम्रोसँग नचलेसम्म उहाँको व्यवसायलाई निषेधाज्ञाले प्रभाव पारिरहने भएको छ । विद्यार्थीहरूको ड्रेसको जुत्ता, बिहेमा प्रयोग हुने ढाकाका जुत्ता बनाएर बेच्नुपर्ने सिजनमा सबै काम कुरा बन्द हुँदा आफ्नो पेशा नै चौपटमा परेको उहाँको गुनासो छ । पसलमा आउने, सटर खोल्ने र बन्द गर्ने काम मात्र भएको मिजारको भनाइ छ । गएको साल पनि कोरोना सङ्क्रमण नियन्त्रण भनी सरकारले गरेको लकडाउनले ठुलो समस्यामा पार्यो । यो साल पनि कोरोना नियन्त्रण भन्दै निषेधाज्ञा लम्ब्याउँदै तीन महिना नाघिसक्यो । दैनिक काम गरिखानेहरू मर्नु न बाँच्नु भएको मिजारको दुखेसो थियो ।
बजारमा फुटपाथ पसलहरू देख्न सकिन्छ । सार्वजनिक सवारीसाधन नचलेसम्म व्यापार नहुने उनीहरूको भनाइ छ । बजारमा गाउँघरबाट मानिसको आवतजावत भएमा मात्र व्यापार हुने व्यापारीहरूको विचार हो ।
स्वास्थ्य कार्यालय चितवनका कोभिड रेकर्डअनुसार असार २१ गते १६५ र २२ गते ११७ जनामा कोरोना पुष्टि भएको छ । रेकर्डअनुसार जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रणमा अझै आउन नसकेको स्थिति छ । व्यापार व्यवसायीहरूले निषेधाज्ञा खुकुलो बनाउन माग गर्दै गर्दा कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्नुपर्ने देखिन्छ । विश्व महामारी रोग कोरोना सङ्क्रमणबाट बच्न र भयावहको स्थिति आउन नदिन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्न निषेधाज्ञा नै अन्तिम उपाय ठानेको सरकारले निषेधाज्ञाका कारण गाँस, बासमा नै ठेस पर्न पुगेका पीडितहरूलाई सरकारले अहिलेसम्म कुनै राहत मिलाउन नसकेको उनीहरूको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *