भर्खरै :

पराजय– २

चोटपटकले रगतपच्छे भएको घोडा मसिनो हिनहिनाहटका साथ आफ्ना नाथ्रा फुलाएर दम भर्दै पहाडको टाकुरामा पुग्यो ।
केही क्षणमै उडान भर्दै गरेको पक्षीले जस्तै हात फैलाउँदै मोरोजका जौको खेतमाथि उडिरहेको थियो । भयानक गर्जनसहित सिसाका दन्किँदा झिँगाहरू उसको माथिमाथि बत्तिँदै जान्थे । घोडाको पिठ्यूँ मानौँ कुनै गल्छेडोमा खसेको थियो । जौका बालाहरू उसको पाइतालामुनि चर्मराउँथे ।
“पसार्री !” लगामलाई एकातिर फालेर र मिश्काको कम्मरमा आफ्ना कुर्कुच्चा चरप्प गाडेर मोरोजका चिच्यायो ।
मिश्का गोलीहरूको वर्षामुनि पसारिन चाहँदैनथ्यो । टाउकोमा रगत भिजेको सेतो रुमाल बाँधेको युवकको वरिपरि उसले चक्कर लगाउन थाल्यो । युवक चार हातखुट्टा फालेर कराइरहेको थियो ।
“पल्टी !” मोरोजका लगाम झट्कार्दै घोडाका ओठ चिरेर कड्किलो स्वरमा चिच्यायो ।
काम्दै घुँडा मोडेर मिश्का भुइँमा पसारियो ।
घाइते युवकलाई उठाएर अर्दलीले जब काठीमाथि राख्यो ऊ करायो, “दुख्यो… दुख्यो… ।” युवकको अनुहार गोरो र सफा थियो । जुँगाको रेखी बसिसकेको थिएन । ऊ रगतले रुझेको थियो ।
“चुप लाग, एइ ¥याले !” मोराजकाले झपार्दै भन्यो ।
केही मिनेटमै लगामलाई ढिलो छोड्दै र आफ्नो भारीलाई दुवै हातले सम्हाल्दै ऊ हत्तपत्त दौडियो र पहाडको परिक्रमा गर्दै त्यस गाउँमा पुग्यो जहाँ लेभिनसनको डफ्फाले डेरा जमाएको थियो ।
२ मेतचिक
साँच्चै भन्ने हो आफूले मृत्युको मुखबाट बचाएर ल्याएको ठिटाको सक्कल मोरोजकालाई मन परेन ।
मोरोजकालाई राम्रा र सफासुग्घर मान्छे मनपर्दैनथ्यो । अनुभवबाट उसलाई तिनीहरू चञ्चले, बेकम्मा र अपत्यारिला हुन्छन् भन्ने थाहा थियो । यसबाहेक सुरुदेखि नै घाइते ठिटाले अत्यन्त झिनो आत्मबल देखाएको थियो ।
रियाबेत्सको झुप्रोमा अचेत ठिटालाई एउटा ओछ्यानमा पल्टाइयो । दाँत बाँधेर मोरोजका एकोहोरो बर्बराइरहेको थियो, “नामर्द, एउटै चोटले यसलाई ठहरै बनायो ।”
मोरोजकाले व्यङ्ग्यवाण प्रहार गर्न चाह्यो तर उपयुक्त शब्दहरू भेटाउन सकेन ।
“सिँगानेहरू, यिनीहरू सबै उस्तै हुन्छन्…” रिसले ऊ भुत्भुतायो ।
“बकबक बन्द गर !” लेभिनसनले उसलाई फट्का¥यो । “बाक्लानोभ ! अँध्यारो हुनुुअघि नै यसलाई अस्पताल लगिहाल ।”
ठिटाको घाउमा पट्टी बाँधियो । उसको ज्याकेटको खल्तीमा उनीहरूले केही रुपियाँ, कागतपत्र (नाम : पाभेल मेतचिक), चिठीहरूको पोको र एउटी तरुनीको तस्बिर भेटाए ।
झन्डै दुई दर्जन मान्छेहरूले पालैपालो तरुनीको सौम्य मुखाकृति र सुन्दर चुल्ठो हेरे र चुपचाप तस्बिरलाई यथास्थान राखिदिए । उनीहरू सबैको हाउभाउ खिन्न थियो । दाह्री बढेको थियो र अनुहार घामले डढेको थियो । घाइते ठिटो बेहोस थियो । उसको ओठ अचल र सुख्खा थियो । हातहरू निष्प्राण भई कम्बलमा फैलेका थिए ।
त्यो निलो उत्तप्त साँझमा जब उसलाई एउटा गाडीमा राखेर गाउँबाहिर लगियो, तब झ्याकझुक पार्दा पनि उसले महसुस गरेन । स्ट्रेचरमा पल्टाएपछि उसको होस खुल्यो । स्ट्रेचरको हलुका झट्का थाहा पाउँदाघरि उसले आफ्ना आँखासामु ताराहरू छरिएको आकाशको धुमिल दृश्य देख्यो । चारैतिरबाट झुसे र अन्धो अन्धकारले मानौँ उसलाई अँठ्याइरहेको थियो । सल्लाका सुइराजस्ता पात र सडिरहेका पातपतिङ्गरको कडा गन्ध उसको नाकमा ठोक्कियो । यस्तो लाग्यो मानौँ त्यो हस्को रक्सीमा डुबेको थियो ।
उसको हृदयमा ती मान्छेहरूप्रति कृतज्ञताको एउटा कोमल भावना जाग्यो । उनीहरूले उसलाई अति होशियारी र सावधानीपूर्वक उचालेर लगिरहेका थिए । ऊ उनीहरूसँग कुरा गर्न चाहन्थ्यो । उसले आफ्नो ओठ चलायो । तर, मुखबाट केही निस्किनुअघि नै ऊ फेरि अचेत भयो ।
दोस्रोचोटि होस खुल्दा दिउँसो भइसकेको थियो । देवदारका रूखहरूका हाँगाबाट उडिरहेको बाफबीच उन्मत्त सूर्यले सुस्तरी सुन घोलिरहेको थियो । मेतचिक छायाँमा एउटा ओछ्यानमा पल्टेको थियो । उसको दायाँतिर स्लेटी रङको अस्पताली पोशाक बाँधेको एकजना अग्लो मान्छे तन्केर उभिएको थियो । र, बायाँतिर एउटा सौम्य कोमल आकृति उसको ओछ्यानमा झुकेको थियो । उसको सुनौलो चुल्ठो उसको काँधमा लत्रिरहेको थियो ।
मेतचिकलाई सबैभन्दा पहिले त्यो शान्त आकृति, उसका ठूलाठूला स्वप्निल आँखा, नरम चुल्ठो र उसका न्याना गोरा हातहरूबाट निस्किरहेको कोमलता र नम्रताको भावनाले छोयो । त्यो भावना झन्डै असीम थियो, त्यो सबैको लागि थियो र सबैलाई समेट्ने कोटीको थियो ।
“म कहाँ छु ?” मेतचिकले कोमल स्वरमा सोध्यो ।
अग्लो, तन्किएको व्यक्तिले एउटा सुख्खा, दुब्लो हात अगाडि बढायो र उसको नाडी छाम्यो ।
“ठीक छ,” उसले शान्त स्वरमा भन्यो, “भार्या, पट्टीको लागि सारा सामान तयार राख र खारचेन्कोलाई बोलाऊ…” ऊ क्षणभर मौन रह्यो । अनि यत्तिकै अकारण बोल्यो, “…त्यसै बेला, बुझ्यौ ।”
मेतचिकले बल्लतल्ल आफ्ना आँखा खोल्यो र बोल्ने व्यक्तिलाई हेर्न थाल्यो । उभिएको व्यक्तिको अनुहार लाम्चो र पहेँलो थियो, आँखा चम्किला र भित्र गडेका थिए । उसका उदासीन आँखा मेतचिकमाथि अडिएका थिए र अकस्मात् उसको एउटा आँखा नमुस्काई अन्तै मोडियो ।
भरिँदो घाउभित्र मसिनो गेज घुसाउँदा खुब दुख्यो । तर, महिलाको हातको स्नेही र कोमल सुम्सुमाइले गर्दा मेतचिक चिच्याएन ।
“ठीक छ,” अग्लो व्यक्तिले पट्टी बाँध्ने काम सकाउँदै भन्यो, “तीनटा घाउ छन्, तर टाउकोमा मामुली दरफरिएको मात्र छ । हेर्नू महिनाभरमा घाउ भरिनेछ, नत्र मेरो नाम स्ताशिन्स्की होइन ।” ऊ अलि फूर्तिलो भयो र उसका औँलाहरू चल्मलाउन थाले । तर, उसका आँखाहरूमा अझै पनि त्यही वेदनापूर्ण चमक थियो र बायाँ आँखा भावहीन तवरले फरफराइरहेको थियो ।
उनीहरूले मेतचिकको हातमुख धोइदिए । त्यसपछि ऊ आफ्ना कुहिनाहरूको बलमा उठ्यो र उसले आफ्नो चारैतिर हेर्न थाल्यो ।
काठको ब्यारेकनिर केही मान्छे चहलपहल गरिरहेका थिए । चिम्नीबाट निलो धुँवा माथि उठिरहेको थियो । छतहरू घामले टल्किरहेका थिए । वनको किनारमा एउटा लाहाँचे चराले एकतमास टकटक गरिरहेको थियो । लौरोमाथि कुप्रेको र जेलिएको दाह्री पालेको एकजना शान्त बुढाले स्नेही आँखाले चारैतिर हेरिरहेको थियो । उसले पनि अस्पतालको पोशाक लगाएको थियो ।
बुढो, ब्यारेक र मेतचिक सबैमाथि ताइगाको सल्लाको गन्धमा डुबेको चकमन्नता फैलेको थियो ।
…..
लगभग तीन सातापहिले, आफ्नो जुत्तामा एक सरकारी आदेश पत्र लुकाएर र खल्तीमा रिभोल्भर राखेर मेतचिक सहरमा पैदल हिँडिरहेको थियो । त्यसबेला आफूले कस्तो स्थितिको सामना गर्न जाँदै छु भन्ने उसलाई अलिकति पनि हेक्का थिएन । रमाउँदै उसले मीठो सहरी धुन सुसेल्दै हिँडिरहेको थियो । उसको नसानसामा रगत उम्लिरहेको थियो । सङ्घर्ष गर्न र केही गरेर मर्ने सोचले उसका नसाहरू जुर्मुराइरहेका थिए ।
बारुदको धुवाँ र वीरतापूर्ण कामहरूको तयारीमा व्यस्त ज्वालामुखी पहाडहरूमा बसोबास गर्ने रैथानेहरूले उसका आँखासामु वास्तविक जीवनको आकार लिइरहेका थिए । उनीहरूलाई उसले अखबार पढेर चिनेको थियो । उसको मन जिज्ञासा, साहसिक कल्पनाहरू र घुम्रिएको चुल्ठोसितकी ठिटीको मीठो र सुखद स्मृतिले भरिएको थियो । त्यस केटीले अझै पनि बिहानी खाजामा कफी र बिस्कुट खान्थी अनि निलो कागतको जिल्ला राखेका आफ्ना कापीकिताब फितामा बाँधेर पाठशालातिर जान्थी ।
जसै ऊ क्रिलोभ्कानिर पुग्यो, झ्याङहरूबाट अनेक मान्छेहरू आफ्ना राइफलहरू सोझ्याउँदै सडकमा देखिए ।
“तिमी को हौ,” नाविकको टोपी लगाएको एक व्यक्तिले सोध्यो । उसको अनुहार कोदालोको फालीजस्तै चेप्टो थियो ।
“म… मलाई सहरबाट पठाइएको हो… ।”
“कागतपत्र ?”
आफ्नो परिचयपत्र निकाल्न उसले आफ्नो जुत्ता खोल्नुप¥यो ।
“सामुद्रिक… प्रादेशिक समिति… समाजवादी… क्रान्–ति–का–री ।” नाविकले छिनछिनमा मेतचिकमाथि काँडाजस्ता तीखो नजर लगाउँदै अड्कीअड्की पढ्यो । “स…” ऊ अकारण भुनभुनायो ।
एकाएक उसको अनुहार रातो भयो । उसले मेतचिकको कोटको कलर समायो र तन्किँदो तीखो आवाजमा चिच्यायो :
“एइ, कुकुर्नीको छाउरो !…”
“के रे ? के भो ?” हडबडीमा मेतचिक भुतभुतायो, “तर यो कागतपत्र त म्याक्सिमालवादीहरूको हो, पढेर त हेर्नुस् कामरेड !” (म्याक्सिमालवादी : यिनीहरू पनि सामाजिक क्रान्तिकारीहरू नै थिए । तर, उनीहरू अलि उग्रवादी थिए । रुसी क्रान्तिमा उनीहरूले बोल्शेभिकहरूलाई साथ दिएका थिए ।– अनुवादक)
“यसको खानतलासी लेओ !”
केही मिनेटपछि आहत र निहत्था मेतचिकलाई एउटा व्यक्ति अगाडि धकेलियो । उसले भुवादार छालाको चुच्चे टोपी लगाएको थियो र उसका काला आँखाले मेतचिकको शिरदेखि पाउसम्म जाँचे ।
“यिनीहरूले बुझेनन्,” मेतचिकले हडबडाउँदै काम्दो स्वरमा हकार्दै भन्यो, “कागतमा सबथोक लेखिएको छ – म्याक्सिमालवादीहरूले पठाएका हुन्… ।”
“यसको कागतपत्र मलाई देऊ ?”
चुच्चे टोपी लगाएको व्यक्तिले आफ्ना आँखा परिचयपत्रमा गाड्यो ।
उसका बल्दा आँखामुनि कागत मानौँ जल्न लाग्यो । अनि उसले आफ्ना आँखाहरू नाविकतिर घुमायो ।
“बेकुफहरू !” उसले कडा स्वरमा भन्यो, “यति पनि देखेनौ, यो म्याक्सिमालवादीहरूको हो ?”
“हेर, मैले भनेको थिएँ नि !” मेतचिकले सहर्ष सास फे¥यो । “मैले भनेकै थिएँ नि, म्याक्सिमालवादीहरूले पठाएका हुन् भनेर ! यति भए त पुग्यो नि, हैन ?”
“बेकारमा यसलाई केरकार गरियो !” नाविकले निराश हुँदै भन्यो, “रमाइलै भयो ।”
त्यस दिनदेखि मेतचिक त्यही डफ्फाको सदस्य बन्यो ।
उसको वरपरका मान्छेहरू उसको रङ्गीन कल्पनामा चित्रित भएका ती व्यक्तिहरूसँग पटक्कै मिल्दैनथे । उनीहरू उसको कल्पनामा भन्दा धेरै फोहर, मैलाधैला, बलिया र सीधासादा थिए । उनीहरू आपसमा गोलीगठ्ठा साटफेर गर्थे, ससाना कुरामा पनि धमाधम गालीगलौजमा उत्रिन्थे र मासुको टुक्राका लागि जङ्गली पारामा झगडा गर्थे । स–साना कुरामा उनीहरू मेतचिकलाई तथानाम गाली गर्थे । कहिले सहरी ज्याकेटको लागि, कहिले उसको शुद्ध भाषाको लागि, कहिले उसले राइफल सफा गर्न नजानेकोमा उसले गाली खान्थ्यो । खाने बेला आधा सेरभन्दा बढी रोटी खानमा उसले अनिच्छा देखाएकोमा उनीहरूले उसलाई गाली गर्थे ।
तर, यी हुँदाहुँदै पनि उनीहरू किताबी पात्र थिएनन् बरु जिउँदाजाग्दा, हाडछालासहितका मान्छे थिए ।
ताइगामा वनजङ्गलले घेरिएको एउटा शान्त मैदानमा पल्टेको मेतचिकका आँखा अघि यी सबै सम्झना झल्झली आए । अब उसलाई आफ्नो त्यो सहज तर चोखो भावनाप्रति खेद भयो । यिनै भावना बोकेर ऊ यस दस्तामा सामेल भएको थियो । आफूप्रतिको आसपासका मान्छेहरूको स्नेह र ताइगाको पहाडी घरप्रति उसको हृदयमा एक विशेष, पीडादायी सजगता उत्पन्न भयो ।
अस्पताल दुई नदीको दोभानमा थियो । वनको किनारमा लाहाँचेको एकनासको टकटक जारी थियो । मञ्चुरियाली काला मेपलका रूखहरूमा राता किरणहरू छरिँदै र आपसमा ठोक्किँदै थिए र, तल भीरमुनि जलुकाको झाडीबीच नदीहरू कलकल गर्दै बगिरहेका थिए । अस्पतालमा थोरैमात्र बिरामी र घाइतेहरू थिए । त्यसमा पनि गहिरो घाउ लागेका दुईजना मात्र थिए । फ्रोलोभ नाउँको सुचानको एक छापामार सैनिकको पेटमा गोली लागेको थियो । दोस्रो मेतचिक थियो ।
हरेक बिहान उनीहरूलाई बन्द झुप्रोबाहिर ल्याइँदा जेलिएको दाह्री पालेको शान्त बुढो पिका मेतचिकनिर आउँथ्यो । उसलाई देखेर मेतचिकका आँखासामु एउटा पुरानो, विस्मृत चित्र मूर्तिमान हुन्थ्यो । शान्त स्तब्ध वातावरणमा प्राचीन, लेउले ढाकेको आश्रमनजिक लबेदा लगाएको एकजना शान्त र तेजिलो निधार भएको बुढो कुनै तालको हरियोपरियो किनारमा बसेर माछा मारिरहेको छ, बुढोको शिरमाथि नीरव आकाशको बर्को फैलेको छ, चारैतिर शान्त र हिमाली धुपी र सल्लाका बोटहरू उभिएका छन्, अग्लाअग्ला घाँसले घेरिएको गम्भीर ताल । शान्त, स्वप्निल र मौन… ।
के मेतचिकको आत्मा यसै सपनाका लागि व्यग्र थियो ?
ग्रामीण पादरीको जस्तो मन्त्र जपेको स्वरमा पिकाले उसलाई आफ्नो छोराको बारेमा बतायो । उसको छोरा पहिले लालरक्षक थियो ।
“हो, ऊ मनिर आयो, साँच्चै भनेको, मनिर आयो । म आफ्नो महघारीको बगैँचामा बसेको थिएँ… अरू कहाँ बस्ने ?… हामीले एकअर्कालाई एक जुनीदेखि देखेका थिएनौँ । त्यसैले हामीले एकअर्कालाई सुम्सुम्यायौँ । तर, उसको दिमागमा केही कुरा खेलिरहेको थियो भन्ने मैले चाल पाएँ । “बुबा,” उसले भन्यो, “म सहर जाँदै छु ।” “किन ?” मैले सोधेँ । “कुरा के भने नि बुबा,” उसले भन्यो, “त्यहाँ केही मर्न नसकेका चेकोस्लोभाकहरू घुसेका छन् ।” “तर चेकोस्लोभाकहरूको तिमीलाई के चासो ?” मैले भनेँ, “तँ यहीँ बस् ।” मैले भन्दै गएँ, “हेर त यहाँ तेरो जिन्दगानी कति रमाइलो छ ।” साँच्चै भनेको, मेरो महघारीको बगैँचा ठ्याक्कै स्वर्गजस्तो छ – भोजपत्रको रूख, फूल लागेको अमिलोको बोट, बुझ्यौ, अनि भुनभुन गर्ने मसिना मौरीहरू… भुन–भुन–भुन–भुन–भुन ।”
पिकाले आफ्नो मुलायम कालो टोपी खोलेर रमाउँदै हावामा फहरायो ।
“कुरो बुझ्यौ ? ऊ रोकिएन ! रोकिएन नि, ऊ कहाँ रोकिनेखाले थियो र ऊ गयो अहिले कोलचाकहरूले मेरो महघारीको बगैँचालाई जथाभावी कुल्चिसकेका छन् र मेरो छोरा पनि गइसकेको छ । बाबै कस्तो जिन्दगानी हो ।”
मेतचिकले उसका कुरा घोरिएर सुन्यो । उसलाई बुढाको सुस्त चालढाल, सीधै आत्मा छुने खालको उसको कोमल लचिलो स्वर सुनिरहुँझैँ लाग्यो ।
त्यसबाहेक पनि उसलाई आफ्नो हेरविचार गरिरहेकी नर्स राम्री लागी । उसले अस्पतालभरिका मान्छेहरूका लत्ताकपडा धुने र सिउने–टाल्ने काम गर्थी । झट्ट हेर्दा, उसको हृदयमा मानिसहरूप्रति अगाध प्रेम छ भन्ने लाग्थ्यो । मेतचिकप्रति उसले विशेष कोमलता र स्नेह देखाउँथी । उसको घाउ बिस्तारै भरिँदै जाँदा उसले नर्सलाई सांसारिक आँखाले हेर्न थाल्यो । उसको काँध अलि झुकेको थियो, उसको अनुहार अलि पहेँलो थियो र उसका हातहरू आइमाईका हातभन्दा अलि ठूला थिए । तैपनि, उसको चालमा एउटा विशेष लचक र सजीवता थियो । र, उसको स्वर सदा कुनै न कुनै आश्वासन भरिएझैँ थियो ।
ऊ उसको छेउमा ओछ्यानमा बस्नेबेला मेतचिकलाई शान्त बस्न अप्ठ्यारो लाग्थ्यो । तर, घुम्रिएको चुल्ठोसितकी युवतीसामु उसले कहिल्यै यो कुरा खोलेन ।
“भार्या मनमौजी छे,” पिकाले एकचोटि भनेको थियो, “उसको लोग्ने मोरोजका कम्पनीमा छ र यो यहाँ लहसिँदै हिँड्छे, लाज पचेकी ।”
बुढाले आँखा सन्काएर इसारा ग¥यो । नर्सले मैदानमा कपडा धुँदै गरेको मेतचिकले देख्यो । डाक्टरको सहयोगी खारचेन्को उसको वरिपरि मडारिरहेको थियो । खारचेन्कोले ऊतिर झुकेर खासखुस गरेपछि ऊ लुगा धुने काम भुलेर स्वप्निल आँखाले उसलाई हेर्थी । ‘मनमौजी’ शब्दले मेतचिकको हृदयमा एउटा उत्कट उत्सुकता उत्पन्न गरिदियो ।
“अनि ऊ… त्यस्ती किन छे त ?” उसले आफ्नो चिन्ता लुकाउन खोज्दै पिकालाई सोध्यो ।
“यसमा यति धेरै मायाममता किन भरिएको छ कुन्नि, दैव जानून् । यत्ति हो, उसलाई ‘हुन्न’ भन्न आउँदैन ।”
मेतचिकमाथि नर्सको जुन पहिलो छाप परेको थियो, त्यसलाई सम्झेर उसको हृदयमा एउटा विचित्र असन्तोष हुँडलिन थाल्यो ।
त्यस क्षणपछि मेतचिकले उसमाथि झन् कडा निगरानी गर्नथाल्यो । साँच्चिकै उसले अपाङ्गहरूलाई छोडेर मनग्य मान्छेहरूसँग ‘लहसिएको’ मेतचिकले देख्यो । तर, अस्पतालमा ऊ एकजनामात्रै महिला थिई भन्ने कुरा पनि एकातिर थियो ।
एक दिन बिहानपख उसले मेतचिकको घाउमा मलमपट्टी गरेर उसको ओछ्यान मिलाउँदै थिई ।
“अलिबेर त मसँग बस,” उसले भन्यो । उसको गाला राता भए ।
उसले धेरै बेरसम्म ऊमाथि आँखा गाढेर केही खोजिरहेजस्ती देखिई, जस्तो लुगा धुने बेला त्यसदिन उसले खारचेन्कोलाई हेरेकी थिई ।
“तिमी पनि…” उसले अनायासै अलि आश्चर्यपूर्वक भनी ।
तैपनि ओछ्यान मिलाइसकेपछि ऊ उसको बगलमै बसी ।
“के तिमीले खारचेन्कोलाई मनपराउँछ्यौ ?” मेतचिकले सोध्यो ।
उसले प्रश्न नसुनेको देखियो । मेतचिकलाई आफ्ना ठूला स्वप्निल आँखाहरूले वशीभूत गर्दै, आफ्नै विचार सुहाउँदो उत्तर दिँदै उसले भनी, “ल यति सानो उमेरमै ।” अनि अलि सम्हालिँदै उसले उत्तर दिई, “खारचेन्को ? ऊ राम्रै छ । तिमी लोग्ने मान्छेहरू सबै उस्तै हुन्छौ ।”
मेतचिकले आफ्नो सिरानीमुनिबाट अखबारले छोपिराखेको एउटा सानो पोको निकाल्यो । धमिलो फोटोबाट केटीको परिचित अनुहारले अझै पनि उसलाई हेरिरहेको थियो । तर, यसपालि उसलाई त्यो मोहक लागेन । उसको मुद्रा विचित्र थियो । उसको उल्लास बनावटी थियो । यो कुरा आफैसँग स्वीकार गर्न मेतचिकलाई डर लाग्थ्यो । त्यो केटीमा उसले त्यस्तो के देखेको थियो भन्ने कुरा उसले बुझ्न सकिरहेको थिएन । आफूले के गर्दै छु भन्ने मेसै नपाई र यसो गर्नु उचित हुन्छ वा हुँदैन भन्ने नबुझिकन उसले घुम्रिएको कपालसितकी केटीको फोटो नर्सको हातमा थमाइदियो ।
नर्सले पहिले त्यसलाई आँखानिर लगेर गडेर हेरी अनि अलि टाढा लगेर एकटक हेरिरही । अचानक मन्द चित्कारसहित उसले फोटो खसाली, ओछ्यानबाट जुरुक्क उठी र पछिल्तिर चकित आँखाले हेर्न थाली ।
“खुब राम्री केटी छ !” मेपलको रूखपछाडिबाट एउटा धोद्रो व्यङ्ग्यपूर्ण स्वर आयो ।
मेतचिकले नजरलाई उतै घुमायो र एउटा विचित्रै परिचित अनुहार देख्यो । आगन्तुकको टोपीभित्रबाट एउटा अल्लारे लर्कन लत्रिरहेको थियो । उसका हरिया आँखाको भाव कुनै बेला अत्यन्त भिन्न थियो भन्ने मेतचिकले सम्झियो ।
“किन, किन डरायौ ?” धोद्रो र खस्रो आवाजसितको व्यक्ति एकसुरले बोल्दै गयो, “तिमीलाई होइन, तिम्रो त्यो तस्बिरलाई भनेको हो । धेरै आइमाईसित म सुतिसकेको छु, तर कसैले पनि मलाई आफ्नो तस्बिर दिएनन् । कुनै दिन तिमीले दिन्छ्यौ कि ।”
भार्या सम्हालिई र खित्का छोडेर हाँसी ।
“तिमीले मलाई तर्साइदियौ !” एक निपुण पत्नीको जस्तो स्वरमा उसले भनी । यो उसको स्वरभन्दा एकदम भिन्न थियो, “एक्कासि हामफाल्यो त बाँदर ?” अनि मेतचिकतिर फर्केर भनी, “यी मोरोजका हुन्, मेरा लोग्ने । ठट्यौला छन्, साँच्चिकै… ।”
“ए, हामीले एकअर्कालाई चिन्छौँ… अलिअलि,” अर्दलीले सुस्त भन्यो । ‘अलिअलि’ को उच्चारणमा व्यङ्ग्य मिसिएको थियो ।
दुःखी र लज्जित मेतचिक पराजितजस्तो भइरह्यो । उसको बक फुटिरहेको थिएन । भार्याले फोटोको कुरा बिर्सिसकेकी थिई र लोग्नेसित कुरा गर्ने बेला उसको पाइला फोटोमाथि प¥यो । उसलाई फोटो उठाइदिन भन्न मेतचिकलाई लाज लागिरह्यो ।
त्यो जोडी ताइगामा पसेपछि ऊ उठ्यो । उसको पाइतला चस्किरहेको थियो । आफ्ना दाँत किट्दै र लङ्गडो चाल मार्दै ऊ कुल्चिएको तस्बिरतिर गयो र त्यसलाई च्यातचुत पारिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *