सरकार देश र जनताप्रति जिम्मेवार हुनुपर्ने
- असार ११, २०८३
चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा मङ्गलबार चिकपाको अग्रसरतामा संसारका १६० भन्दा बढी देशका पाँच सत्न्दा बढी राजनीतिक दलका दस हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा भएको अन्तर्राष्ट्रिय सम्मेलन संसारको निम्ति नवीन कार्यक्रम हो । पृथ्वीमा मानिसले एकपछि अर्को अभूतपूर्व चुनौतीहरू सामना गरिरहेको आजको परिस्थितिमा अन्तर्राष्ट्रिय र बहुपक्षीय ऐक्यबद्धता एवम् सहकार्यको महत्व अझ बढेको छ । आज मानिसले कुनै एउटा देश वा क्षेत्रले मात्र समाधान गरेर पार लगाउन नसकिने कोभिड–१९ महामारीजस्ता चुनौतीको सामना गरिरहेको छ । परिस्थितिको विशिष्टतालाई बुझेर चीनको कम्युनिस्ट पार्टीले बृहत् आकारको अनलाइन सम्मेलन आयोजना गरी संसारभर सान्दर्भिक महत्वपूर्ण सन्देश प्रवाह गर्न खोजेको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सी चिनफिङले भन्नुभयो, “समस्त मानव जातिको कल्याणको बाटोमा कुनै पनि देश वा राष्ट्रलाई पछाडि पार्नु हुन्न ।”
एकातिर संरा अमेरिका नेतृत्वको पश्चिमा देशहरूले संसारमा आफ्नो पुरानो प्रभुत्व कायम राख्न एकधु्रवीय संसारकै पक्षमा जोडबल गरिरहेका छन् भने अर्कोतिर संसारको उदयीमान देश चीनमा विगत सात दशकदेखि शासन गर्दै आएको कम्युनिस्ट पार्टीले संसारका सबै देशको विकास र समृद्धिको वकालत गरिरहेको छ । पश्चिमा देशहरूले अझै पनि आफ्नो प्रभाव फैलाउने होडमा निषेधको राजनीतिक त्याग्न सकेका छैनन् । तर, चीन भने संसारमा ऐक्यबद्धता र सहकार्यमा जोड दिइरहेको छ ।
निःसन्देह आज संसार र मानव जातिले सामना गरिरहेका चुनौतीको समाधान एकध्रुवीय विश्व प्रणालीबाट सम्भव छैन । उपनिवेशवादी र साम्राज्यवादी स्वार्थअनुरूपको मक्किसकेको पुरानो विश्व व्यवस्थाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनजस्ता गम्भीर जोखिम समाधान गर्नसक्दैन । बरु, त्यसले समस्यालाई अझ बढी गम्भीर बनाउनेछ । त्यसकारण, अबको संसारमा कसैलाई निषेध, दमन र उपेक्षा गरेर विश्व व्यवस्था चल्न सक्दैन । संसारको डाडुपन्युँ कुनै एउटा देश वा क्षेत्रको हातमा मात्र सीमित राख्नुपर्ने चिन्तनमा परिवर्तन आवश्यक छ । सबै देश र क्षेत्रका आ–आफ्ना विशेषता छन् र ती विशेषतालाई संसारले सामना गरिरहेका चुनौतीको संयुक्त समाधान र प्रगतिको बाटोमा अघि बढ्न उपयोग गर्नुपर्छ ।
चीनको कम्युनिस्ट पार्टीले संसारलाई अझ यही सन्देश दिइरहेको छ । संसारका सबै देश र राजनीतिक शक्तिसँग चीनको सहकार्यले इतिहासमा शक्तिशाली देशले गर्ने गरेका गल्तीबाट जोगिन चीन सजग रहेको प्रस्ट छ । पश्चिमा शक्तिहरूले चीनको आर्थिक र राजनीतिक उदयसँगै स्वभावतः चीनले पनि साम्राज्यवादी बाटो समात्ने भनी गरिएको विश्लेषण चीनको नेतृत्वले असत्य सिद्ध गरिसकेको छ । चिकपाको १०० औँ स्थापना दिवसको अवसरमा जुलाई १ मा आयोजित समारोहमा महासचिव सीले भन्नुभएको थियो, “चिनियाँहरूको रगतमै प्रभुत्ववाद छैन ।” उहाँको यो भनाइ साम्राज्यवादी चरित्रलाई आफ्नो अन्तरनिहीत स्वभाव बनाएका पश्चिमा साम्राज्यवादको निम्ति जवाफ र विशेषतः विकासशील देशहरूको निम्ति सहकार्य र ऐक्यबद्धताको आह्वान भएको छ ।
पश्चिमा पुँजीवादी देशहरू संसारमा आफ्नो राजनीतिक प्रणाली, मूल्य मान्यता निर्यात गर्न खोजिरहेको परिस्थितिमा चीन पञ्चशीलको परराष्ट्र नीतिमा अडिग भएर अघि बढिरहेको छ । संसारका सबै देशसँग सहकार्यको निम्ति चीनको यो प्रयास मङ्गलबार आयोजित अभूतपूर्व अन्तर्राष्ट्रिय सम्मेलनबाट अभिव्यक्त भएको छ ।
Leave a Reply